राजा झुक्याएर विर्ताको लालमोहर
पहिले जातीय बाहुल्य र अधिपत्य तथा शासकीय अधिकारका कारण लिम्बूहरूले चर्ची बेहोरी आएको लिम्बुवानमा पछि अन्य जाति तथा समुदाय पनि प्रवेश गरे।
लिम्बूहरू आफूलाई ‘याक्थुङ’ भन्छन्। आफू बसेको भूगोललाई ‘याक्थुङ लाजे’ भन्छन्। ‘थिबोङ याक्थुङ’को अर्थ १० लिम्बू हो। याक्थुङ लाजेको अर्थ लिम्बुवान हो। राज्यले विभिन्न मितिमा लिम्बुवानका लिम्बू तथा गैरलिम्बूलाई पुराना रुक्का तथा लालमोहरमा ‘१० लिम्बूको रीति अनुसार चल्नू’ भनेको पाइन्छ।
उदाहरणका लागि इतिहासकार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७:९६-९७) मा विसं. १८७७ मंसीर सुदी ४ रोज २ मा धनकुटाका आठपहरिया राजेन्द्र राई र नौपगरीलाई दश लिम्बू सरह धनकुटा, साधन्या (सान्ने?), हिले र किन्ताङ क्षेत्रको जिम्मेवारी दिएको उल्लेख छ।
यसैगरी सेनकालीन एक ऐतिहासिक पत्रमा पनि ‘१० लिम्बू’ उल्लेख छ। योगी नरहरिनाथले इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १ (२०५५:६८४-८५) मा प्रकाशित गरेको विसं. १८२४ पुस वदी ४ रोज सोमबारको बडा देवान साहेवको नामबाट प्रशारित उक्त पत्रमा ‘१० लिम्बूको पितापुर्खादेखि आजसम्म चलेको रीतिथिति अनुसार रस्ती चलाई बस्ती बसाउनू, १० लिम्बूको रीतिअनुसार सुवांगी थामिदिएको’ उल्लेख छ। यसरी हेर्दा ‘१० लिम्बू’ भन्ने चलन सेनकालमै चलेको देखिन्छ।
के हो १० लिम्बू?
लिम्बूहरूको प्राचीन र सघन बस्तीमा उनीहरू स्वतन्त्र रूपमा राजा थिए। उनीहरूले केन्द्र सरकार मानेको विजयपुरमा पहिले कोच घरानाका विजयनारायण राय र पछि सेनहरूको शासन थियो। केही माथिल्ला पहाडी भागमा तिब्बत र सिक्किमको पनि राजनीतिक प्रभाव रहन्थ्यो।
इतिहासकार रमेश ढुङ्गेलले प्राचीन नेपाल (सङ्ख्या ११३- भदौ असोज २०४६:४) मा उल्लेख गरे अनुसार‚ त्यस क्षेत्रमा त्यति वेला (सेनकालमा) हिन्दूपति सेनहरूलाई राजा माने पनि स्थानीय शासन सामन्तको रूपमा पुस्तैनी रूपमा कार्यरत किरात दिवान तथा हाङहरूकै हातमा हुन्थ्यो। पल्लो किरातमा पनि १० जना दलपति हाङहरूले नै शासन चलाउने भएकाले पल्लो किरातलाई १० लिम्बुवान भनिएको हो।
१० लिम्बुवान १७ थुम (उपक्षेत्र) मा विभाजित थियो। त्यहाँ शासन गर्नेहरूलाई सुभा (सुब्बा) भनिन्थ्यो। त्यस वेला राजधानी विजयपुरमा लिम्बूहरूलाई मुख्यमन्त्री लगायत भारदारी अधिकार दिइन्थ्यो।
पल्लो किरातमा पनि १० जना दलपति हाङहरूले नै शासन चलाउने भएकाले पल्लो किरातलाई १० लिम्बुवान भनिएको हो।
विसं. १८३१ साउनमा पृथ्वीनारायण शाहका सेनापतिहरू रामकृष्ण कुँवर, अमरसिंह थापा, अभिमानसिंह बस्नेत तथा पारथ भण्डारीहरूले लिम्बुवानमा हमला गर्दा ती १० जना लिम्बू सुब्बाहरू विभाजित भए। पाँच जना गोरखालीसँग र पाँच जना सिक्किमसँग मिलेर हातहतियार र सामर्थ्यले साथ दिइन्जेल लडे। यता १७ थुमका लिम्बू सुब्बामध्ये फेदापको आतहाङको नेतृत्त्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले। आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौबिसका जमुन रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरूसँग सम्झौता गरे।
चैनपुरमा घमासान युद्ध हुँदा हार खाई सुब्बा जसकर्ण राय सिक्किमतिर पसे। गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आआफ्नो गढमा बसी लड्दै रहे। तर, हातहतियारको अभावमा उनीहरूले हार स्वीकार्दै सिक्किम पसे। यद्यपि‚ उनीहरूले शत्रु सेनासित लड्न भने छाडेनन् (इमानसिंह चेम्जोङ, किरात इतिहास- २०५९:४५-४६)।
पहिले जातीय बाहुल्य र अधिपत्य तथा शासकीय अधिकारका कारण लिम्बूहरूले चर्ची बेहोरी आएको लिम्बुवानमा पछि अन्य जाति तथा समुदाय पनि प्रवेश गरे।
ब्राह्मणहरूको नेपाल आगमन
नेपालका ब्राह्मण वर्ग आफ्ना पुर्खाहरू कन्नौजबाट धर्मरक्षाका लागि नेपाल प्रवेश गर्नु परेको बताउँछन् (मोहनप्रसाद खनाल, सेनराज्यको राजनीतिक इतिहास- २०६१:१५)। कन्नौजबाट नेपाल पसेको ठान्ने ब्राह्मणहरूमा खनाल पनि हुन्। खनालहरूको पुर्खा भारतमा भएको मुसलमानहरूको आक्रमणबाट धर्म, स्वाभिमान र जातिको रक्षा गर्न नेपाल पसे। कन्नौजबाट उनीहरू कर्णाली प्रदेश र त्यहाँबाट क्रमशः पूर्वतिर फैलँदै गए (खनाल वंशावली, २०५५:क १५)।
तर, बाबुराम आचार्य (प्राचीनकालको नेपाल- २०६०:१८-१९) ले काश्मीरदेखि उत्तरतर्फको हिमालय, काराकोरम तथा हिन्दूकुश गरी तीन पर्वतमाला एकै ठाउँमा गाँसिएर रहेको क्षेत्र नै हाल नेपालमा रहेका खस ब्राह्मणहरूको उद्गमस्थल भएको उल्लेख गरेका छन्।
उनका अनुसार‚ तीनै क्षेत्रबाट दुर्गम भञ्ज्याङ पार गरी पूर्वतर्फका हिमाली क्षेत्रमा आवाद हुन आइपुगेको एउटा शाखा नै ब्राह्मण समुदाय हुन्। १५औं शताब्दीतिर कालीगण्डकी किनारमा पर्वत नामको एउटा छुट्टै स्वतन्त्र पहाडी राज्य स्थापना भएपछि त्यहाँका आग्नेयदेशी भाषाभाषीहरूसँगको सम्पर्कले ती ब्राह्मणहरूले बोल्ने खसभाषा परिस्कृत भएर ‘पर्वते भाषा’ को विकास हुन पुगेको पनि आचार्यले उल्लेख गरेका छन्।
ब्राह्मणरूबीच उपाध्यय र जैसी गरी दुई उपवर्ग छ। हिन्दू धर्मशास्त्र अनुसार‚ वृत्ति वा पारिश्रमिक ग्रहण नगरी शिक्षाको दान दिने पेशा अपनाएका ब्राह्मण ‘आचार्य’ कहलाए। वृत्ति ग्रहण गरी शिक्षाको दान दिने पेशा अपनाउने ब्राह्मणहरू ‘उपाध्यय’ भए।
यस्तै‚ ज्योतिष विद्याको अध्ययन तथा अध्यापन गर्ने ब्राह्मणहरू ‘ज्योतिषी’, ‘जोशी’, ‘जोइसी’ हुँदै त्यही शब्द अप्रभंश हुँदा ‘जैसी’ कहलाए। पछि यिनका सन्तानले यो पेशा नअपनाए पनि उनीहरूलाई जैसी नै भनिन थालियो। जैसी र उपाध्यय ब्राह्मणबीच सामान्यतया विवाह चल्दैन, चलिहाले पनि उनीहरूका सन्तान जैसी नै मानिन्छन् (बाबुराम आचार्य, प्राचीनकालको नेपाल- २०६०:२२-२३)।
ब्राह्मणहरूमा विधुवा वा जारी तिरेर ल्याइएकी महिलाबाट जन्मेका सन्तानलाई जैसी ब्राह्मण भनिन्छ। ब्राह्मणको अर्को उपवर्ग हो- कुमाई। कुमाउतिरबाट आएकाले उनीहरूलाई कुमाई भनिएको हो।
पूर्वीया उपाध्याय ब्राह्मण र कुमाई ब्राह्मणबीच भात भान्सा र वैवाहिक सम्बन्धमा विभेद मेट्न विसं. २००१ पुस ५ गते मंगलबार अदालतले फैसला नै गर्नु परेको थियो। काठमाडौं मूलघर भई हाल अमेरिका बस्दै आएका मनोज श्रेष्ठबाट प्राप्त उक्त फैसलाको प्रतिमा ‘...पुर्विया उपाध्यय ब्राह्मण र पाका कुमाई उपाध्यय ब्राह्मण दुवै बरोबरि समान जात हुँदा पुर्विया उपाध्यय ब्राह्मणले पाका कुमाई उपाध्यय ब्राह्मणका हातको र पाका कुमाई उपाध्याय ब्राह्मणले पुर्विया उपाध्यय ब्राह्मणका हातको भात खान खुवाउन र विवावारी गर्न समेत हुन्छ हटक गरे हटका गर्नेलाई सजाय गरी भात र विहावरी चलाई दिनू’ भन्ने उल्लेख छ।
यिनै उपाध्यय, जैसी र कुमाई ब्राह्मणहरू कसरी लिम्बुवानमा पुगे भन्नेबारे अब चर्चा गरिनेछ।
लेखापढीमा प्रसाईंहरूको सहयोग
लिम्बूहरूको पुरानो किपट भूमि आठराईमा कुमाई ब्राह्मण प्रशस्तै छन्। प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली पनि किपट क्षेत्रमै जन्मेका कुमाई ब्राह्मण हुन्। कम्युनिस्ट नेताहरू सीपी मैनाली, राधाकृष्ण मैनाली र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला आठराईमा जन्मेका हुन्।
आठराईका कुमाई ब्राह्मणमध्ये प्रसाईंहरू हाङपाङका किपटिया यक्सो लिम्बूहरूको बोलावटमा त्यहाँ पुगेका हुन्। ‘प्रसाईं वंशवृक्ष’ (२०५८) लाई उद्धृत गर्दै भगिराज इङनाम र शेरबहादुर इङनामले तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा” (२०७०:१५९) मा प्रसाईंहरूको हाङपाङ आगमनबारे महत्त्वपूर्ण सन्दर्भ उल्लेख गरेका छन्।
आठराईका कुमाई ब्राह्मणमध्ये प्रसाईंहरू हाङपाङका किपटिया यक्सो लिम्बूहरूको बोलावटमा त्यहाँ पुगेका हुन्।
जस अनुसार‚ गोरखाका खडानन्द प्रसाईंलाई पृथ्वीनारायण शाहले अड्डा अदालतको निरीक्षण गर्ने जिम्मेवारी दिएका थिए। काठमाडौंमा एक दिन दाह्री-जुँगा नभएका र राडीपाखीका लुगा लगाएका दुई जना व्यक्ति देखा परे। उनीहरूलाई खडानन्दले ‘तिमीहरू को हौ’ भनी सोध्दा आफूहरू पल्लोकिरात आठराई हाङपाङबाट आएका लिम्बूहरू भएको र राजाले बाँधिदिएको थिति अनुसार आफूहरूले सुब्बा अमाली पाउनुपर्नेमा दाजुभाइबाट अन्यायमा परेकाले राजासँग बिन्ती बिसाउन आएको बताए।
खडानन्दले उनीहरूको निवेदन लेखिदिए। उनीहरूको जिम्मावाल अमालीको अधिकार पनि कायम हुनपुग्यो। त्यसपछि यति जान्ने मानिस त चाहिने रहेछ भन्ने सोचेर ती सुब्बाहरूले खडानन्दलाई तिनका सन्तान पूर्व आए आफ्नो ठाउँमा आऊन् भन्ने निम्ता पनि दिए।
पछि खडानन्दका छोराहरू कुलानन्द, कर्णानन्द र हर्कदेव पूर्वतिर लागे। हाङपाङमा पाँच सुब्बे यक्सोहरूले स्वागत गर्दै आफूहरूले मान्ने आराध्यदेवी युमालाई मान्ने सर्तमा कर्णानन्दलाई थरी पद दिए।
पाँच सुब्बे यक्सोहरूमा प्रचलित भनाइ अनुसार‚ हाङपाङका मूल सुब्बाका पुर्खा राजगुन्दका पाँच छोराहरूमध्ये गजवीर लिम्बू आफूहरूको सुवांगीको विषयलाई लिएर काठमाडौं गएका थिए। सम्भवतः उनैले प्रसाईंहरूलाई किपट भूमिमा आउन निम्तो दिए।
पुजारीका रूपमा खनालहरूको आगमन
विजयपुर क्षेत्रको शक्तिपीठ दन्तकालीमा पुजारीको जिम्मेवारी खनालहरूले सम्हाल्दै आएका छन्। उनीहरू सेनकालमै तनहुँबाट विजयपुर आएका हुन्। विजयपुरका तत्कालीन देवान (मुख्यमन्त्री) सिरिकान्त रायले तुलाराम पण्डितलाई मोहर दिएको देखिन्छ। विसं. १८१७ पुस बदी ९ मंगलबार विजयपुरबाट जारी गरिएको मोहर अनुसार त्यस वेला तुलाराम पण्डितलाई पूर्व टिस्टादेखि पश्चिम कोशीसम्म जजमानी गर्ने स्थायी आदेश दिएको देखिन्छ (जनकलाल शर्मा, प्राचीन नेपाल सङ्ख्या ४- साउन २०२५:३२)।
दन्तकालीका पुजारी तुलाराम लामो समय बाँचे। रणबहादुर शाहले विसं. १८४८ भाद्र सुदी ११ रोज ६ मा उनको नाममा जारी गरिएको लालमोहरमा ‘विजैपूर-को पूजा अघि मकवानीका पालादेषी तिम्रै वेषवुंआद रहेछ सोही वमोजिम् तिम्रो परंपरा वुझी-को पूजा वोषवंआदि गरी थामि वक्स्यौ आफ्ना षातिरजामासित- लाई गुठ चह्रायाका तपसील वमोजीम गाउंको पैदावार ली नित्य नै मित्तिक पूजा गरी सेषी बाकी रह्याको संत्ततीसहित भै सुष भोग्य गर आशिर्वाद देउ’ भन्ने उल्लेख छ।
यस लालमोहरमा परिहारपुर, हंसपोसा, मझौरा, कवैयाहर ठौवा, दामावाडी र भवानीपुर गरी ६ ठाउँमा गुठी राखिदिएको पनि उल्लेख गरिएको छ।
विसं. १८५१ चैत्र सुदी १ रोज ७ मा रणबहादुर शाहकै समयमा तुलाराम पण्डितकै नाममा जारी गरिएको अर्को लालमोहरले तुलारामलाई नै पुजारीको काम थमौती गरिदिएको उल्लेख छ। यस लालमोहरमा उनको नाममा ‘तनहुँ कोट्या’ उल्लेख भएको देखिएकाले उनी तनहुँबाट विजयपुर पुगी त्यहाँ पुजारीको काम गर्न थालेको पुष्टि हुन्छ।
सेनकालमा तुलारामसँगै रामभद्र पण्डित, रामचन्द्र लगायतले पनि पुजारीको जागीरको मोहर पाएका थिए। तीमध्ये राजा कामदत्त सेनले रामचन्द्रलाई विसं. १८१४ पुस वदी ९ र विसं. १८२० पुस वदी ८ मा तथा रामभद्र पण्डितलाई विसं. १८२२ असोज सुदी १ मा जागीरको मोहर दिएका थिए। यसैगरी देवान जसकर्ण रायले रामभद्र पण्डितलाई विसं. १८२१ वैशाख सुदी ९ र विसं. १८२२ माघ वदी ९ मा तथा देवान बुद्धिकर्ण रायले रामभद्रलाई विसं. २४ माघ सुदी र तुलाराम पण्डितलाई विसं. १८२९ फागुन वदी ९ मा जागीरको मोहर दिएका थिए (शंकरमान राजवंशी, ‘पुरातङ्खवपत्र सङ्ग्रह’-२०१८:१०-१८)।
राजा झुक्याएर विर्ताको लालमोहर
कतिपय ब्राह्मणहरू राजालाई नै झुक्याएर विर्ताको लालमोहर लगाएर लिम्बुवान आएका छन्। ब्राह्मणहरू अचानक विर्ताको लालमोहर लिएर कुरुले क्षेत्रमा आएपछि त्यसविरुद्ध राजालाई फिराद नै गरिएको थियो। फिराद परेपछि पुरानै व्यवस्था अनुसार जसले पहिल्यैदेखि जग्गा जमीन चर्चेका थिए, उनीहरूकै नाममा चारकिल्ला कायम गरिएको लालमोहर जारी गरिएको थियो।
इतिहासकार इङ्नाम (२०७७:६४-६५) ले प्रकाशित गरेको तत्कालीन राजा रणबहादुर शाहले आसिकराम रायको नाममा जारी लालमोहर अनुसार आसिकरामले ‘मलाई मोहर गरी छरुवा सेरामा जङ्गल फाडी मैले विह्राएकोमा तथा कुरुले गढीमा सुवांगी बसाएको क्षेत्रमा समेत हामीले माया विर्ता पायौँ भन्दै बाहुनहरू आए कसो गर्ने हो’ भनी राजासमक्ष फिराद पठाएको देखिन्छ।
विसं. १८५१ चैत सुदी १५ मा जारी फिरादपछि राजा रणबहादुर शाहकै भाकामा ‘बाभनहरूले धोका सित मोहर गरि लैग्याछन् तलाई अघि मोहोर गरि छाप बक्स्याको चारै किलाभित्रको जगा थामिबक्स्याको छ षातिरजामासित चलन गरि छाप जागीर भोग्य गर कुह्रिल्या गढि पनि अघि जस्तो गरी कुह्रालाउथिस अब पनि त्यस्तै गरि कुह्रुला’ भन्ने लालमोहरमा उल्लेख छ।
यसरी ब्राह्मणहरूले राजालाई नै धोका दिएर विर्ताको लालमोहर लगेको स्पष्टै बुझिन्छ। लालमोहर जारी भएको कुरुलेमा बराल ब्राह्मणहरू अधिक छन्।
लिम्बूको अनुमतिमा आचार्यहरूको बसोबास
धनकुटाको सिभुवा र तेलिया पिप्लेमा विसं. १८७१ मा देउऋषि आचार्य जैसीले लिम्बू सुब्बाहरूको अनुमति पाएर बसोबास गरेका थिए। कुनै समयका चर्चित कम्युनिस्ट नेता तथा राजसभा स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्य, पूर्व मुख्यमन्त्री भीम आचार्य, पूर्व मन्त्री महेश आचार्य, पूर्व राजदूत राजेश्वर आचार्य, पत्रकार तथा तत्कालीन राजाबाट मनोनित सांसद जनार्दन आचार्य उनै देउऋषिका सन्तति हुन्।
‘आचार्य वंशावली’ (२०७०:भूमिका) अनुसार देउऋषि आचार्य जैसी लमजुङबाट नुवाकोट, त्यहाँबाट काठमाडौं र काठमाडौंबाट एक कारिन्दाका रूपमा धनकुटाको सिभुवा पुगेका हुन्। उनी विसं. (विषम) जैसीका नाति तथा सुकदेव जैसीका छोरा हुन्। उनको एउटा विवाह सिभुवाकै रिजाल जैसीकी छोरीसँग भएको थियो।
उनले छथर बञ्चरेका लिम्बू सुब्बा तुम्याहाङजित राय र कारवारी बोलिवन्त लिम्बू तथा कृष्णध्वज लिम्बूसँग अनुमति लिई त्यस क्षेत्रमा बसोबासको बन्दोबस्त गरेका थिए।
विसं. १८७१ असोज सुदी १२ बिहीबार देउऋषिले त्यहाँका लिम्बू सुब्बाहरूसँग गरेको धर्म मुचुल्कामा त्यहाँका लिम्बूहरूले बनाएको धर्मकीर्ति चौताराको दुई तले सत्तलमा बसेर नूनको व्यापार गर्ने र गाउँमा ज्वानो, मेथी जम्मा गरेर पटनामा लगेर बेच्ने अनुमति पाएका थिए।
उक्त धर्मपत्रमा ‘हामीलाई मगनी गर्दा सत्तल भयाकोले ४ दाम ठेकी सलामी मोहरनै नखाई हाम्रा स्वचित्तले दिएका हौं कुभलो तिमीले नचिताउनु तम्रो कुभलो चिताउने छैनौं पछि हाम्रा साख सन्तानले तम्रो भलो वचनको कदर गर्नु परी आयाको कल झगडा दुवैको मतोले मिलाउनु भन्ने उल्लेख छ’ (आचार्य वंशावली, २०७०: परिशिष्ट)।
देउऋषि आचार्यलाई आफ्नो किपटमा बसोबासको अनुमति दिने सुब्बाहरू तुङघङ (तुम्बाहाङ) थरका लिम्बू हुन्।
लिम्बू-रिजाल सहकार्य
दुई पटक नेपालको प्रधानमन्त्री भएका नगेन्द्रप्रसाद रिजाल धनकुटा सिभुवाकै हुन्। पूर्वमन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजाल, चिकित्सक भोला रिजाल, गीतकार कालीप्रसाद रिजाल आदिका पुर्खा पनि सिभुवाकै रिजाल जैसीहरू हुन्।
सिभुवाका रिजालहरूले पनि त्यहाँका लिम्बू सुब्बाहरूसँग सहकार्य गर्ने गरी सुवांगी पाएको लालमोहर उपलब्ध छ। यो लालमोहरको छायाप्रति पङ्क्तिकारले भरत तुङघङबाट प्राप्त गरेको हो। विसं. १८८४ चैत सुदी १५ सोमबार तत्कालीन राजा राजेन्द्रविक्रम शाहले लिम्बू सुब्बा र रिजालहरूको नाममा यो लालमोहर जारी गरेका थिए।
लालमोहर लिम्बू सुब्बाहरू सहरसिंह राय र मंजित राय तथा विसन जैसी रिजालको नाममा जारी गरिएको छ। लालमोहरमा गाउँघरको खेत, कुलो, घाट सम्हाल्न, लडाइँ भिडाइको काम परिआए गाउँघरका सुब्बा, थरी, मुखिया मिलेर राज्यबाट प्रदान गरिएको हतियार लिएर सामेल हुन पनि भनिएको छ।
लालमोहरमा लिम्बू र रिजालहरूलाई २५ खुँडा, १५ बन्दुक, ८० धनुकाँड, १३ कटारी १० फर्साका साथ सिभुवा क्षेत्रको सुवांगी पगरीको मोहर दिइएको उल्लेख छ।