अर्थतन्त्र शिथिल, आर्थिक विस्तार २ प्रतिशतभन्दा कम रहने अनुमान
बजारको आर्थिक क्रियाकलापमा आइरहेको सुस्ततालाई सरकारको आधिकारिक तथ्याङ्कले पुष्टि गरेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको आँकडाले देशमा आर्थिक शिथिलता रहेको देखाएको छ। विभागको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ। यो गत आव २०७८/७९ मा ५.६१ प्रतिशत थियो।
भूकम्प र कोभिड–१९ महामारी शुरू भएको वर्ष बाहेक पछिल्ला दुई दशककै सर्वाधिक न्यून आर्थिक वृद्धिदर यो वर्ष कायम रहने अनुमान छ। गोरखा भूकम्पपछि आव २०७२/७३ मा आर्थिक वृद्धिदर ०.४३ प्रतिशतमा सीमित भएको थियो।
महामारी शुरू भएपछि लगाइएको बन्दाबन्दीका कारण आव २०७६/७७ मा आर्थिक वृद्धिदर २.३७ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो। यी दुई वर्ष बाहेक हरेक वर्ष नेपालले कम्तीमा पनि तीन प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो। पछिल्ला दुई दशकमा देशको अर्थतन्त्र वार्षिक औसतमा ४.१ प्रतिशतले विस्तार भएको थियो।
बजारमा माग खुम्चिएका कारण अर्थतन्त्र निराश भएको व्यवसायीले बताउँदै आएका छन्। चालू आर्थिक वर्षको चैतसम्म आयात गत वर्षको तुलनामा १८ प्रतिशतले ओरालो लागेको छ। देशभित्र घरजग्गा, शेयर बजार, निर्माण, व्यापार लगायत क्षेत्रमा कारोबार सुस्त छ। राजधानी काठमाडौं सहित देशभरिका प्रमुख शहरमा सयौं पसल कबलहरू बन्द हुन पुगेको व्यवसायीले बताउँदै आएका छन्।
बजारको कारोबार चक्र बिथोलिंदा व्यवसायीले अनिवार्य दायित्वको भुक्तानी गर्न नसकेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्नेको संख्या उच्च गतिमा बढेको छ। “देशको निजी, सार्वजनिक सबै क्षेत्रको आर्थिक क्रियाकलापमा शिथिलता आएको सङ्केत देखिएको छ,” अर्थशास्त्री केशव आचार्य भन्छन्, “यसले रोजगारी र सरकारको राजस्व स्रोत थप सङ्कुचित हुने जोखिम देखाउँछ।”
देशमा आर्थिक क्रियाकलाप, उत्पादन जस्ता महत्त्वपूर्ण पक्षको मापन गर्न आर्थिक वृद्धिदर (कुल गार्हस्थ्य उत्पादन)को तथ्याङ्क प्रयोग गरिन्छ। मुलुकभित्र एक वर्षभित्र भएका आर्थिक क्रियाकलापबाट सिर्जित कुल मूल्य अभिवृद्धिको योगफलले कुल गार्हस्थ्य उत्पादनलाई बुझाउँछ। कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर उच्च हुँदा नागरिकको औसत आय बढेको, अर्थतन्त्र विस्तार भएको बुझिन्छ। आर्थिक वृद्धिदर सुस्त हुनुको अर्थ नागरिकको औसत आय थोरै मात्र बढेको, बजारमा आर्थिक क्रियाकलाप सुस्त रहेको बुझाउँछ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्ष (असारसम्म) नेपालीको औसत आय एक लाख ८२ हजार ७०० रुपैयाँ पुग्ने अनुमान छ। यो आय गत वर्ष एक लाख ६९ हजार थियो।
अमेरिकी डलरमा भने प्रतिव्यक्ति औसत आय गत वर्षको जति नै अर्थात् एक हजार ३९९ डलर रहने अनुमान गरिएको छ। डलरसँग नेपाली मुद्राको अवमूल्यनका कारण यो वर्ष पनि गत वर्ष सरह प्रतिव्यक्ति आयको अनुमान गरिएको हो।
यो वर्ष अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये उत्पादन, निर्माण, व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ। अर्थात्, यी क्षेत्रको कारोबार खुम्चिएर गत वर्षको तुलनामा पनि मूल्य अभिवृद्धि कम हुनेछ। यो वर्ष उत्पादन २.०४, निर्माण २.६२ र व्यापार २.९६ प्रतिशतले खुम्चिनेछन्।
अन्य क्षेत्रमध्ये सबैभन्दा धेरै विद्युत्, ग्यासको क्षेत्र १९.३६, होटल व्यवसाय १८.५६ प्रतिशतले बढ्ने अनुमान छ। देशको अर्थतन्त्रमा एक चौथाइ हिस्सा ओगटेको कृषि क्षेत्र यो वर्ष २.७३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। यो अघिल्ला वर्षहरू सरहको विस्तार हो।
यो वर्ष नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरिएको छ। गत वर्ष देशको अर्थतन्त्रको आकार ४९ खर्ब ३३ अर्ब भएको अनुमान थियो।
कार्यालयका अनुसार कुल पूँजी निर्माण २५.२१ प्रतिशत मात्र हुने अनुमान छ। यो गत वर्ष २८.४५ प्रतिशत भएको अनुमान थियो। लगानी र त्यसले गर्ने उत्पादनलाई पूँजी निर्माणले सङ्केत गर्छ। पूँजी निर्माण बढ्दा भौतिक पूर्वाधार लगायत क्षेत्रमा लगानी विस्तार भएको र जसले अर्थतन्त्रलाई दिगो प्रतिफल दिने अपेक्षा गरिन्छ।