जग्गा कित्ताकाट खुल्यो
सरकारले जग्गा कित्ताकाट खुलाएको छ।
यसअघि रोक्का रहेको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
“भू–उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ स्वीकृति गर्ने निर्णय भएको छ, यो निर्णयबाट अंशबन्डा लगायतका जग्गा कित्ताकाटमा सहजीकरण हुनेछ,” मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन्, “यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेका निर्णय खारेज हुनेछन्।”
जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नमिल्ने नियमावलीको व्यवस्था संशोधन गरिएको हो।यसअघि नयाँ नियमावली आएसँगै कित्ताकाट र अंशबन्डा समेत प्रभावित भएको गुनासो आएको थियो।
तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २०७४ साउन मा उर्बर भूमि खण्डीकरण नियन्त्रण गर्न भनेर गरेको कित्ताकाट रोक्ने निर्णय बिचौलिया तथा मालपोत र नापी कार्यालयका कर्मचारीलाई नजराना असुल्ने अवसर बनेको भन्दै गुनासो आएको थियो। मन्त्री दहित स्वयमले पछि केही व्यक्ति र कम्पनीलाई जग्गा कित्ताकाटको अनुमति दिएका थिए।
अर्का भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले २८ पुस २०७५ मा स्थानीय तहले ‘खेतीयोग्य होइन’ भनेर सिफारिश गरेपछि कित्ताकाट गर्न पाइने निर्णय गरेकी थिइन्। अर्यालको निर्णय कार्यान्वयन २०७७ मंसीरमा सर्वोच्च अदालतको आदेशपछि रोक लाग्यो।