उत्कृष्ट बन्न चुकेको ‘जारी’
जारीमा राम्रा प्रयोग पनि निकै भएका छन्। तर, फिल्मका मानकहरूमा टेकेर हेर्दा यो उत्कृष्ट फिल्म बन्नबाट चुकेको देखिन्छ।
‘राम्रो फिल्म त्यो हो जसबाट आवाज हटाइदिंदा पनि के भइरहेछ भन्ने दर्शकले प्रस्ट बुझिरहेका हुन्छन्।’
यो भनाइ प्रसिद्ध फिल्ममेकर अल्फ्रेड हिच्ककको हो। हिच्कक संवादभन्दा दृश्यले बोल्ने भाषालाई फिल्मको आधारभूत पक्ष मान्छन्।
भर्खरै रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित जारीको एउटा दृश्यलाई हिच्ककको यही नापोमा राखेर हेरौं–
जारी तिरेर माइतीघर फर्काइएकी हाङ्मा (मिरुना मगर) दैलोमा भेटिएको केही कुरा खान्छिन्। निर्देशकले निकै महत्त्व दिएर यो दृश्य खिचे पनि दर्शकले बुझ्दैनन्– हाङ्माले के खाएकी हुन् र त्यहाँ उनले केही खाएको देखाउनुमा निर्देशकको ध्येय के हो?
यो कुरा बुझ्न दर्शकले आखिरमा आमा पात्रको संवाद पर्खिनुपर्छ, ‘भुँडी बोकिस् कि क्या हो?’
यसरी एक–दुई मिनेट बेफ्वाँकमा खर्चिएर त्यसैलाई प्रस्ट्याउन फेरि संवाद घुसाउनुले दृश्यभाषाप्रतिको निर्देशकको कमजोर बुझाइलाई औंल्याउँछ। र, यस्ता कमजोरी जारीमा अन्यत्र पनि छन्। हरेकजसो शट र सिन संवाद विना अपूरो लाग्छन्।
फिल्मको संवाद आफैंमा बलियो पनि होइन। संवादलाई कलाकारहरूको प्रस्तुतिले भरथेग गरिदिएको छ। केही पात्रको त अभिनय पनि ‘ठीकै’ मात्र छ। जारीलाई हलमा दुई घण्टा २० मिनेट झेल्न पूर्वेली, अझ लिम्बू समुदाय बाहेक अरूलाई चर्कै पर्छ।
लिम्बू जातिकै प्रथामा आधारित फिल्ममा लिम्बू संस्कृति र भाषा हावी हुनु स्वाभाविकै भए पनि गैरलिम्बूलाई यसका संवाद बुझ्न निकै कठिन छ। पोस्ट प्रोडक्सनकै वेला यो कठिनाइ आकलन गरी आवश्यक ठाउँमा नेपाली ‘सबटाइटल’ राख्न निर्देशक चुकेका छन्।
जारीलाई ‘डकु ड्रामा’ का रूपमा हेर्दा राम्रो बनेको भन्न सकिन्छ। तर, फिल्मका मानकहरूमा टेकेर हेर्दा जारीमा प्रश्न गर्ने ठाउँ प्रशस्त छन्।
फिल्मको आत्मा
फिल्मलाई प्रायः मुख्य पात्रले नै डोर्याउने हो। तर, यो अनिवार्य शर्त होइन रहेछ। जारीमा सहायक पात्रको भूमिकामा रहेका विजय बरालले यो कुरा स्थापित गरिदिएका छन्। उनको ‘कमिक टाइमिङ’ यति उत्कृष्ट छ कि प्रश्न उठाउनै मन लाग्दैन– लिम्बू प्रथाको फिल्ममा यी खस–आर्य अनुहार किन? प्रश्न उठिहाले, जवाफ फिल्ममै छ।
मुख्य कलाकार दयाहाङ राईको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। पत्नीले छोडेर जाँदाको प्रतिक्रिया होस् वा आरनमा बस्दाको निरीहता, अभिनयका हर भावभङ्गीमा उनले आफ्नो स्वाभाविक लय कायमै राखेका छन्।
मिरुनाले भने अभिनय देखाउने ठाउँ कम पाएकी छिन्। जति पाएकी छिन्, राम्रै प्रयास गरेकी छन्। अरूले पनि आफ्नो भूमिकालाई न्याय नै गरेका छन्।
जारबीचको लडाइँमा पनि दयाहाङको अभिनय उत्कृष्ट छ। उनले शिर निहुर्याएर पालम गाएको दृश्य निकै प्रभावशाली लाग्छ। त्यस्तै खुट्टामा चोट लागेको वेला रुँदै हाङ्माको सहानुभूति लिन गरेको प्रयासलाई पनि नाम्साङ (दयाहाङ)ले जीवन्त बनाइदिएका छन्।
हाङ्माका भाइको भूमिकामा रहेका कलाकारले उक्त पात्रको चरित्रमा आएको परिवर्तनमा आफूलाई जसरी ढालेका छन्, त्यो निकै मिठासपूर्ण लाग्छ। फिल्मको अर्को बलियो पक्ष नाम्साङले तानी विवाह गर्दाको दृश्य हो। यसमा क्यामेरा–कला अझ राम्रो हुन सक्थ्यो भन्ने लाग्छ नै। तथापि विजयको चुस्त हास्य प्रस्तुतिले त्यसलाई छोपिदिएको छ।
कलाकारहरूको प्रस्तुति यति उम्दा हुँदाहुँदै दर्शकलाई बाँधिराख्ने सवालमा भने फिल्म कमजोर लाग्छ। मध्यान्तर कट्दासम्म पनि दर्शकले कथामा डुब्न संघर्ष गरिरहनुपर्छ। उनीहरूले अन्तिमतिर आएपछि मात्र केही केही मर्मस्पर्शी अनुभूति गर्छन्।
दृश्यभाषामा फितलो देखिए पनि जारीको एउटा दृश्यले संवादको शक्तिको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ। जस्तो, फिल्मको अन्तिमतिर नाम्साङको बुबाले ‘स्याबास्’ मात्र भन्दा पूरै घटना छर्लङ्ग हुन्छ। करीब १० मिनेटको दृश्यलाई यही एउटा शब्दले निष्कर्षमा पुर्याइदिएको छ।
आत्मा हराएको वेला
एउटा दृश्यमा मुख्य पात्र नाम्साङले गोठमा रहेकी हाङ्मालाई सम्झिन्छ। त्यस वेला विगतको घटना देखाउन फिल्मका सम्पादकले ‘ह्वाइट फ्ल्यास ट्रान्जिशन’ प्रयोग गरेका छन् जसले त्यो दृश्यको मर्म नै मारिदिएको छ। यस्ता ‘जर्क’ हटाउन सकिन्थ्यो नै।
उत्कृष्ट फिल्मले कथा भन्न कहिल्यै ‘भाग्य’ को सहारा लिंदैन। जस्तो- पुराना ढर्राका बलिउड वा नेपाली फिल्ममा अक्सर समाजमा गुन्डाराज चलिरहँदा नायक कतै देखापर्दैन, जब नायिकामाथि बलात्कार हुन लाग्छ, ऊ उडेर आइपुग्छ। यस्ता ‘भाग्यवश’ हुने घटनालाई कथानक बनाउँदा फिल्म यथार्थपरक नभई उडन्ते बन्न पुग्छ।
जारीमा पनि नाम्साङ र हाङ्माको झगडा भएपछि निर्देशकले भित्र्याएका ‘जार’ पात्र एकैचोटि उनीहरूको मेलमिलापपछि देखिन्छन्। ती पात्र कहाँ गएका थिए र किन त्यही दृश्यमा पुनः देखापरे भन्ने स्पष्ट पारिएको छैन।
क्लोदिङ ब्रान्ड ‘पिक’ को स्थापना २० वर्षअघि मात्र भएको हो। तर, २०५२ सालमै नाम्साङले पिकको ट्र्याक लगाएर हाङ्मासँग रोमान्स गरेको दृश्य पचाउन गाह्रो पर्छ। अनि हाङ्माले नाम्साङलाई हिर्काउँदा लागेको गोबरको टाटो मेटिन कति समय लाग्दो रहेछ? जबकि कथाले महीनौंको अवधि पार गरिसक्दा पनि दृश्यहरूमा त्यो टाटो देखिएको देखियै गर्छ।
कमजोर धरातल
फिल्मको सबैभन्दा कमजोर पक्ष हो– हाङ्मा र नाम्साङको झगडा। यसलाई दर्शकमा राम्ररी स्थापित नै नगराई निर्देशकले दम्पतीलाई एकअर्काबाट छुट्याउँछन्।
अर्थात् कथाविन्यासको यस्तो अभिव्यक्ति यति कमजोर छ कि दर्शक फिल्ममा बगिरहनै सक्दैनन्। हाङ्माले पालम हारेको दृश्य पनि जबर्जस्ती राखिएको छ। पालम जितेर बिहे गरेपछि नाम्साङ र हाङ्मा मिलून् भनेर हाङ्माका नयाँ पतिलाई निर्देशकले गायब बनाएको दृश्य अपाच्य छ। पतिलाई कुटेर घर छाड्न सक्ने युवती सहजै पग्लिएको प्रस्तुति कथाले मागेभन्दा बढी जस्तो लाग्छ।
अर्को कुरा, पहिलो खण्डमा फिल्मको कथा कुन पात्रको माध्यमले भनिएको प्रस्ट छैन। दोस्रो खण्डको कथा चाहिं नाम्साङलाई मियो बनाएर अघि बढाइएको छ।
जारीमा नाम्साङकी आमाको निधनपछि फिल्मले लिने गति राम्रो छ। तर, आमाको निधन किन गराइयो भन्ने कुराको आधार निर्देशकले दिन सकेका छैनन्। प्रश्न उठ्छ– आमा जिउँदै हुन्थिन् भने पनि फिल्मले दिने निष्कर्षमा कुनै बदलाव हुन्थ्यो र? यो कथा सत्य घटनामा आधारित हुन्थ्यो भने अर्कै कुरा।
छायाङ्कन र सम्पादन
फिल्ममा कतैकतै ‘ट्य्राक इन’ शट मार्फत दर्शकलाई विगतमा पुर्याउन खोजिएको छ। यसलाई उत्कृष्ट छायाङ्कन मान्न सकिन्छ। तर, रातको दृश्यमा 'नोइज' (प्रकाश नपुगेपछि भिडिओमा देखिने किरमिर) देखिनुले छायाङ्कन लापरबाहीरहित नरहेको प्रस्ट्याउँछ।
अधिकांश ढोकाभित्रबाट बाहिर खिचिएका शटले के भन्न खोजेका हुन्, प्रस्ट हुँदैन। नाम्साङले घरभित्रबाट धूपबत्ती लिएर आएको दृश्यमा पनि छायाकारको लापरवाही औंल्याउन सकिन्छ। किनकि अँध्यारोबाट उज्यालोतर्फ आउँदा दर्शकका आँखाले सहज मान्दैनन्। यो अवस्थामा घरभित्र अँध्यारोमा मिलाएको ‘एक्सपोजर’ बाहिर आउँदा पनि उत्ति नै राखेको भए अनि ‘वान शट’ मा लिइएको भए दृश्य अझ यथार्थपरक देखिन्थ्यो। त्यसो नगर्दा प्रकाश संयोजन बिग्रिएको छ।
नाम्साङको बुबा पात्र (सुब्बा शेरबहादुर)ले विजयलाई ‘सुँगुरको फिला ल्या’ भनेको दृश्यमा लिइएको ‘लङ शट’ किन राखिएको हो? पुष्टि हुँदैन।
अर्कातिर फिल्मका धेरैजसो दृश्यका ‘शट साइज’ परिवर्तन नहुँदा दर्शकलाई झिंझो लाग्छ। जस्तो– हाङ्माले नाम्साङकी आमालाई जाउलो खुवाएको दृश्य। यहाँ लिइएको ‘टु शट’ लाई न छायाकारले ‘पुग्यो’ भनेका छन् न निर्देशकले ‘कट्’ भनेका छन् न त सम्पादकले काटेका छन्।
यो सिनमा दयाहाङको प्रवेशपछि मात्र प्रयोग गरिएको ‘ट्य्राक इन’ पहिल्यै प्रयोग गरिन्थ्यो त अल्छीलाग्दो हुँदैनथ्यो। अर्को एउटा दृश्यमा डाँडामा गई हाङ्माको भाइ रुँदा पछाडिबाट लिइएको शट राम्रो भए पनि लामो हुँदा मिठास मरेको छ।
‘लाइटिङ’ को प्रयोगलाई फिल्मको कथासँग आत्मसात् गराउने सवालमा पनि निर्माण पक्ष चुकेको छ। जारीमा प्रयुक्त ‘लो की’ लाइटिङमा कलात्मकता देखिंदैन। अर्को कुरा, ‘लेन्सिङ’ मा राम्रो काम हुन नसक्दा यो फिल्म कम र डकु ड्रामा बढी जस्तो महसूस हुन्छ।
फिल्मको दोस्रो निर्देशक मानिने सम्पादक अनावश्यक दृश्य काट्नमा निर्मम हुन सकेन भने के हुन्छ? यसको उत्तर पनि जारीमै छ। जस्तो- पानी लिन जाँदाको दृश्यमा भनिएको ‘बुहारी छैन’ संवादमा अभिनय पटक्कै झल्कँदैन, रटे जस्तो मात्र देखिन्छ। अर्कातिर त्यो दृश्य फिल्ममा आवश्यकै देखिंदैन।
सम्पादकले गरेको राम्रो काम चाहिं घाम उदाएको दृश्यान्तरण तथा घाम अस्ताएकोबाट जून उदाएको दृश्यान्तरण हो। अक्सर, नेपाली फिल्ममा यस्ता दृश्यान्तरण ख्याल नगरी हालिन्छ। जारीमा भने यसको प्रयोग न्यायोचित छ।
फिल्ममा पार्श्वध्वनिको निरन्तरतामा पनि समस्या छ। सम्पादनमा दृश्यको सिलसिला नमिल्दा पार्श्वध्वनिले दृश्यले बोकिरहेको संवेदना उत्कर्षमा नपुर्याई खसालिदिन्छ। हाङ्माको भाइले च्याब्रुङ बेच्ने वेलाको दृश्य (दिउँसै)मा रातिको ‘साउन्ड इफेक्ट’ प्रयोग गरिनु अर्को अमिल्दो पक्ष हो।
विम्बको प्रयाेग
फिल्मले कतै कतै ‘मिज अन सिन’ प्रयोग गरेको छ। शुरूमा माइती गाउँमा ढिकी कुटिरहेकी हाङ्मा पछि घरमा नाम्साङसँग मिलेर ढिकी कुट्छिन्। यसबाट एउटै घटना मार्फत पात्रहरूको बदलिंदो मानसिकता देखाउन खोजिएको छ। सँगै यहाँ जोडी मिलेर ढिकी कुट्नु यौनको विम्ब बनेको छ। यौन चाहनाको विम्ब भैंसी, पाडीबाट पनि देखाउन खोजिएको छ।
त्यस्तै चुक बनाएको दृश्यलाई ‘वीर्य’ को विम्ब बनाइएको छ। जाँतो हाङ्माको जिन्दगीको विम्ब बनेको छ, जति घुमे पनि जहींको तहीं।
नाम्साङ र हाङ्माको सन्तान नभएको विषय फिल्मको महत्त्वपूर्ण पक्ष हो। यौनकुण्ठाका यति धेरै विम्ब प्रयोग गरेर निर्देशकले यो जोडीबीच यौनसम्पर्क नभएकाले नै सन्तान नभएको सङ्केत दिन खोजेका हुन्? फिल्मको अन्त्यले पनि यतैतिर सङ्केत गरेको छ। तर, विवाहित दम्पतीबीच यौनसम्बन्ध हुन नसक्ने जायज कारणहरू नदिई त्यस्तो सङ्केत गर्ने कच्चा काम त निर्देशकले जानीजानी पक्कै गरेनन्। तैपनि यी विम्बहरूको प्रयोगको औचित्य फिल्मले दिन सकेको छैन।
मतलब, यिनको प्रयोग कथाको मागभन्दा पनि दर्शक बरालिरहने परम्परागत सस्तो ‘फर्मुला’ मात्रै हो।
प्रश्न अर्को पनि छ– सहजै पति फेर्न अनि पत्नी भित्र्याउन सक्ने समाजमा यौन यतिविघ्न कुण्ठायुक्त विषय होला त?
मिज अन सिनको अर्को प्रयोग हाङ्मालाई नाम्साङले जितेर ल्याएपछि पनि देखिन्छ। पहिला बिहे गर्न केटी खोज्दै हिंड्दा विफल भएपछि दुई जना अगाडि र नाम्साङ बिस्तारै पछिपछि हिंडेका हुन्छन्। हाङ्मालाई पाएपछिको हिंडाइ पनि ठ्याक्कै यस्तै देखाइएको छ। तर, यो दृश्यमा नाम्साङ हिंडिरहँदैनन्, अडिएर हाङ्मालाई पर्खिन्छ।
यस अर्थमा जारीमा राम्रा प्रयोग पनि निकै भएका छन्। तर, फिल्मका मानकहरूमा टेकेर हेर्दा यो उत्कृष्ट फिल्म बन्नबाट चुकेको देखिन्छ।