हामीबीचको पर्खाल भत्काऔं
कोभिडले बदलेको विश्व परिवेशसँगै हामीले आजका निम्ति नयाँ मानक र भविष्यका लागि इतिहास बनाउनु छ। हाम्रा सोच छेक्ने अवरोध पन्छाउनु छ।
कोभिड-१९ महामारीले विश्वकै अर्थतन्त्रको स्वरूप बदलिदिँदा सिनेमा उद्योग पनि प्रभावित रह्यो। विगतमा पनि यस्ता महामारीले सामाजिक र राजनीतिक उथलपुथल निम्त्याएकै हुन्। त्यस्तो वेला सिने उद्योगले नै उत्साह जगाउँदै डटेर चुनौतीको सामना गर्न सघायो।
सिनेमाको युग आउनुअघि मान्छेहरू विभिन्न सामाजिक क्रियाकलापबाट मनोरञ्जन लिन्थे। दक्षिण भारत तथा मणिपुरकै नाचका कुरा गरौं। तिनैबाट हाम्रा शास्त्रीय नाच जन्मिए। मिथक र नाटकको सम्मिश्रण पाइने रामलीला र रासलीला जस्ता उत्तर भारतीय परम्पराको थालनी भयो। मन्दिर र दर्गा जस्ता आराधनास्थलबाटै कीर्तन तथा कव्वाली परम्पराको विकास भयो।
हाम्रो पहिलो मौन सिनेमा राजा हरिश्चन्द्र २१ अप्रिल १९१३ मा बम्बईस्थित ओलम्पिया नाटकघरमा देखाइएको थियो, प्रथम विश्वयुद्धको भयावहता शुरू हुनु अगाडि र स्पेनी फ्लूको सन्त्रासभन्दा केही वर्ष पहिले। यसअघि १० लाखभन्दा बढीको ज्यान लिने रसियन फ्लू विश्वले भोगिसकेको थियो। यो महामारी नियन्त्रण हुँदै गएपछि पेरिसमा २८ डिसेम्बर १८९५ का दिन पहिलो पटक लुम्बियर ब्रदर्शद्वारा निर्मित छोटा सिनेमाको सार्वजनिक प्रदर्शन गरियो।
स्पेनी फ्लू भारतमा मेसोपोटामियाबाट प्रथम विश्वयुद्धका सैनिक बोकी बम्बई फर्केको पानीजहाज मार्फत भित्रिएको थियो। विश्वका झण्डै एक तिहाइ मानिसलाई प्रताडना दिएको यो भाइरसबाट स्वतन्त्र भारतका मूल परिकल्पनाकार महात्मा गान्धी पनि आक्रान्त बने। भारतमा मात्र एक करोड आठ लाख मानिसले ज्यान गुमाए। तर, भारतीय जनतालाई एकताबद्ध बनाउन यो महामारीको महत्त्वपूर्ण भूमिका रह्यो। उनीहरू बेलायती सरकारले स्वास्थ्य सुविधाका मापदण्ड नअपनाएकोमा आन्दोलनमा उत्रिए।
यस्तै प्रतिकूलतामाझ् जन्मिएको भारतीय सिनेमा उद्योग ७५औं स्वतन्त्रता दिवससम्म आइपुग्दा धेरै समृद्ध बनिसकेको छ। यसले सिनेमाको समतावादी मर्म बचाइराख्न सकेको छ। सन् १९१३ देखि १९१८ सम्म २३ सिनेमा निर्माण भए। सन् १९१९ मा बंगाली भाषामा पहिलो मौन सिनेमा निर्माण भयो। तर, भारतीय सिनेमाको प्रारम्भिक चरण हलिउडको जस्तो उत्साहजनक थिएन।
क्रिस्टोफर नोलानको सिनेमा डनकिर्कले दोस्रो विश्वयुद्धमा भारतको भूमिका मेटाउन खोजेकोमा त्यसउपर कडा सवाल उठेका छन्। भी. शान्ताराम निर्देशित सन् १९४६ को सिनेमा डा. कोट्निस कि अमर कहानीमा पनि जापानी आक्रमण विरुद्ध गठबन्धन देशहरूसँगको भारतीय ऐक्यबद्धताको सन्देशलाई महत्त्व दिइएको छैन। सन् २०२० मा साम मेन्डिज् निर्देशित तथा निर्मित विश्वयुद्धमाथिको महाआख्यान १९१७ ले महायुद्ध लडेका भारतीय सेनाको भूमिकामाथि प्रकाश पारेको छ।
कुनै वेला सिनेमा निर्माणमा नाइट्रोसेलुलोज नामक यौगिक विस्फोटक पदार्थका रूपमा प्रयोग हुन्थ्यो। कपूरसँग मिसाइएपछि यो नाइट्रेट फिल्म बन्छ, विस्फोटक रहँदैन, तर प्रज्वलनशील भने हुन्छ। सन् १८९७ मा नाइट्रेटको आगोको लप्काबाट पेरिसमा १२६ मानिस मरे। यस्तै घटना अन्यत्र पनि हुन थालेपछि सन् १९०९ मा बेलायतमा विश्व सिनेमा कानून पारित गरियो। लगत्तै सिनेमालाई दिइने लाइसेन्समा कडीकडाउ शुरू भयो। प्रदर्शनस्थलको सुरक्षाकेन्द्रित कानूनको बलमा सिनेमाका विषयलाई नै नियन्त्रण गर्न थालियो।
सन् १९१२ मा बेलायती सिनेमा सेन्सर बोर्ड गठन गरियो। यता, भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेकै थियो। यसैबीच सन् १९२७-२८ तिर भारतीय सिनेमा समिति बन्यो। भारतमा सिनेमा ‘सेन्सर’ बारेको यो नै पहिलो छानबिन समिति थियो। सन् १९२०/३० तिरका भारतीय सिनेमामा यौनदृश्य खासै हुँदैनथे। सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वासबाट बचाउने प्रयासमा सन् १९३३ मा बनेको कर्मामा देखाइए जस्तो चुम्बनका केही दृश्य भने समावेश हुन्थे।
अंग्रेजका लागि यी दृश्य त्यति महत्त्वका थिएनन्। उनीहरू साम्प्रदायिक हिंसा र राष्ट्रवादी लहरका सिनेमाप्रति भने सचेत थिए। अंग्रेजका थोरै ज्यादती देखाइएको सिनेमा पनि प्रतिबन्धमा पर्थे। गान्धीबारे त केही देखाउने बित्तिकै उनीहरूको नियन्त्रण भइहाल्थ्यो। सन् १९२१ को सिनेमा भक्त विदुरको मुख्य पात्रले घुमाउरो पारामा गान्धीकै झलक दिएकैले बेलायती प्रतिबन्धको पहिलो शिकार बन्यो।
सन् १९३९ को अर्को सिनेमा त्यागभूमि पनि तामिलनाडुको परिवेशमा चर्खा चलाइरहेको पात्रलाई धेरैले गान्धीका रूपमा बुझेपछि प्रतिबन्धमा पर्यो। शान्तारामकै अर्को सिनेमा स्वराज तोरणलाई ‘उदयकाल’ नामकरण गरेर धेरै परिमार्जनपछि मात्र प्रदर्शनको छूट दिइयो। सन् १९२१ देखि १९४७ सम्म बनेका झण्डै एक दर्जन सिनेमामा अंग्रेजलाई प्रत्यक्ष वा परोक्ष रूपमा पीडकका रूपमा देखाइएको छ।
स्वतन्त्रता आन्दोलनले गति लिएसँगै अंग्रेजहरू भारतीय संवेदनालाई प्रहार गरिएका अंग्रेजी भाषाका सिनेमा प्रदर्शनमा ल्याउन थाले। सन् १९३८ को द ड्रमले सबै भारतीयलाई अविश्वासी र अंग्रेजविरोधी षड्यन्त्रकारीका रूपमा चित्रण गरेको छ। यस विरुद्ध जनस्तर र अखबार दुवैबाट विरोध भयो। मुस्लिमलाई अपमानजनक रूपमा प्रस्तुत गरिएको द लाइभ्स् अफ अ बंगाल ल्यान्सरको पनि लाहोरमा तीव्र विरोध भयो। बिस्तारै भारतीय सिनेमाका पोस्टरबाटै अंग्रेजविरोधी सन्देशहरू प्रवाह हुन थाले।
सन् १९४७ को सिनेमा एक कदमको पोस्टरमा त नेताजी सुभाषचन्द्र बोसलाई नै देखाइयो। यी मुठभेडपूर्ण गतिविधिसँगै भारतीय सिनेमाप्रतिको अङ्कुश अझ् कसिलो पारियो। सन् १९५२ मा आएको सिनेमा सम्बन्धी कानूनले प्रतिबन्धको ढाँचा निर्धारण गर्यो। अझै पनि नागरिक स्वतन्त्रता र वाक्-स्वतन्त्रताबारे थुप्रै प्रश्न उठिरहेका छन्।
अहिलेका सिनेमाका विषय धेरै बदलिइसकेका छन्। सँगै सिनेमा निर्माण, पात्रको उपस्थिति तथा दर्शकका रुचि पनि बदलिएका छन्। मिथककेन्द्रित हुन् वा सामाजिक विषयका- विमल रोय, चेतन आनन्द तथा राज कपूरले भारतीय सिनेमालाई नयाँ ढाँचामा ढाले। सन् १९७० र ८० को दशकबाट कला सिनेमा बन्न थाले। यही वेलादेखि आक्रोशित युवाको उदय भयो हाम्रा सिनेमामा। बेरोजगार युवाको आक्रोश नयाँ ढङ्गले आख्यानीकरण हुँदै छ आज पनि। प्रविधिका नयाँ स्वरूपसँगै राजनीतिक र सामाजिक मुद्दाका आयाम पनि फराकिला भएका छन्।
कोभिडले बदलेको विश्व परिवेशसँगै आगामी दिनमा सिनेमालाई निर्माणपक्ष र दर्शक दुवै पाटाबाट अलग किसिमले बुझ्नुपर्ने भएको छ। शायद हाम्रा अमर सिनेकर्मीका सिनेमामा यस्ता सङ्केत भेटिन्छन्। राजनीतिक र सामाजिक चेतना उजागर गर्ने सत्यजीत रेका सिनेमामा बंगालको दूरगामी सोच र मानवीयता झल्किन्छन्। बंगाली भावभूमिमा बनेका ती सिनेमा अन्तर्राष्ट्रिय परिवेशमा पनि सान्दर्भिक छन्। उदाहरण हो, द अपु ट्रिलोजी।
रेका सिनेमाले समग्र भारतकै बहुलता दर्शाउँछन् जसमा हाम्रा सपना, आशा, आक्रोश, चुनौती र दिग्दारी सबै समेटिएका छन्। उनको पछिल्लो सिनेमा गणशत्रु (१९९०) समकालीन विषयमा आधारित छ। यसमा प्रदूषित पानीका कारण उत्पन्न महामारी गुपचूप राख्न मन्दिर र राज्य एकसाथ कसरी लागेका छन् भन्ने पटाक्षेप गरिएको छ।
मृणाल सेनका शुरूका अधिकांश सिनेमा बढी नै राजनीतिक छन्। तिनले सधैं विद्रोही, निमुखा र पीडितको पक्षमा आवाज उठाएका छन्। सन् १९८४ को खण्डहर जस्ता उनका पछिल्ला सिनेमा चाहिं एक्लोपनका कारण थपिएका मानवीय चुनौतीमा केन्द्रित छन्। अकालेर सन्धाने (१९८०) भने १९४३ को अनिकालको वास्तविक गाथा हो। राजनीतिक अस्थिरता र व्यक्तिगत त्रासदीको सम्मिश्रण पाइन्छ उनका सिनेमामा।
बंगालका अर्का मूर्धन्य सिनेकर्मी ऋत्विक घटकका सिनेमाले नारीवादलाई प्रवद्र्धन गर्नुका साथै भारत-पाकिस्तान विभाजनका कारण उत्पन्न कहालीलाग्दा सामाजिक यथार्थलाई चित्रण गरेका छन्। तिनमा मेघे ढाका तारा (१९६०), कोमल गान्धार (१९६१) र सुवर्णरेखा (१९६५) छन्। कलापक्षको प्रधानता रहेका उनका सिनेमामा आम मान्छेका आक्रोश र निराशा पनि अभिव्यक्त छन्।
अहिलेको अवस्थामा यी सिने हस्ती र तिनका कलात्मक मान्यतालाई मनन गर्नु उचित हुनेछ। सिने उद्योग पहिले केही थान स्टुडियोमा सीमित रहन्थ्यो, अब त्यो अवस्था रहेन। महामारीका कारण घरबाटै सिनेमा हेर्ने दर्शक बढेका छन्। अनलाइन मार्फत भित्रिने सिनेमाप्रति दर्शकको चासो अझ् बढ्नेछ भन्ने लाग्छ।
महत्त्वपूर्ण सवाल छ- चर्को मूल्य तिरेर हलभित्र बसी सिनेमा हेर्ने परम्परालाई स्टुडियोहरूले कायम राख्न सक्लान् त ? हलभित्र सिनेमाको नियमित प्रदर्शनलाई विशेष कार्यक्रममा पो बदल्नुपर्ने हो कि ? अनलाइन प्रदर्शनभन्दा अघि वा सँगै तालमेल मिलाएर एक साता वा महीनामा सीमित शो चलाउन सकिन्छ। यसमा हलको आर्थिक पाटोलाई समायोजन भने गर्नुपर्ने हुन्छ।
यति वेला दर्शक थरी थरीका विषयकेन्द्रित अन्तर्राष्ट्रिय सिनेमा हेर्दै छन्। परम्परागत ठूला हलदेखि मोबाइल फोन, ट्याब जस्ता विविध माध्यममा सिनेमा हेर्ने छनोट सुविधा छ। यस्तोमा मनोरञ्जन क्षेत्रको भविष्य निर्धारणका लागि साहसिक निर्णय लिनु आवश्यक भइसक्यो। असम्भव मानिएको कुरा पत्ता लगाऔं हामी र कार्यान्वयनमा जाऔं।
हाम्रा सोचलाई छेक्ने अवरोधहरूलाई पन्छाऔं अब। आजका लागि नयाँ मानक बनाऔं अनि भविष्यका निम्ति नयाँ इतिहास। हामीबीच विभाजन ल्याउने पर्खाल भत्काऔं। तर, हाम्रो गौरवमाझ् अरू कोही छायामा नपरोस्। पानीजहाजबाट स्कटल्यान्डको ग्लास्गो जाँदै गर्दा धेरै पहिले (१९१२ मा) गुरुदेव रवीन्द्रनाथ टेगोरले कोरेका यी कवितांशले निराशाका दिनमा पनि हामीलाई नयाँ भविष्यको खोजीका लागि उत्साह भर्नेछन्ः
मेरो जीवनलाई भरिपूर्ण पारिदेऊ, तिर्खा मेटाइदेऊ
मलाई अझ् धेरै, अरू धेरै जीवन देऊ।
(प्रसिद्ध भारतीय अभिनेता बच्चनले हालै कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दिएको चर्चित मन्तव्यको सम्पादित अंश। अनुवादः गणेश खनिया।)