विद्रोहको एक झिल्को ‘प्रकाश’
फिल्मको अन्त्यसम्म आइपुग्दा प्रकाशले प्रेम गुमायो, बा फर्किने आशा गुमायो, सपना गुमायो र आमा पनि गुमायो। तर, के उसले हारेकै हो त? अहँ! प्रकाशको असली कथा बल्ल पो शुरू भयो, सबैथोक गुमाइसकेपछि।
प्रकाश! चलचित्रको कुरा गरौं या चरित्रको?
त्यो ठिटो, हँसिलो, रसिलो ‘प्रकाश’ कति आशावादी थियो शुरूआततिर। आकाशमा हवाईजहाज उड्दा खेतमा आमासँग ऊ आशा साट्ने गर्थ्यो! शायद, त्यति वेला उसका बा ऊभित्र जिउँदा थिए, आशाको एक झिल्को ‘प्रकाश’ कै रूपमा सही!
त्यो एउटा मामूली हली केटोको एउटा सपना छ, सरकारी मास्टर हुने।
प्रकाशका बाबु फिल्मभरि कतै पनि देखिंदैनन्। जिउँदै छन्? मरिसके? केही खबर दिइएको छैन। फिल्मले धेरै कुरा बोलेको छ, या त चूपचाप या मसिनो आवाजमा। प्रतिक्रिया दिनेहरूले त्यसैकारण हुनुपर्छ फिल्मलाई ‘स्लो’ भनेका।
डायलगबाजी गरेर फिल्ममा कतै पनि तोकेर भनिएको छैन कि प्रकाशका बाबु ‘क्रान्ति गर्न निस्किएरै’ बेपत्ता भएका हुन्। तर, अनेकौं स्वाभाविक दृश्य र संवादले त्यो कुरा प्रस्फुटित भएको छ।
फिल्मका पात्रहरू आफू आफूसँग बोलेका छन्। दर्शकसँग संवाद गरेकै छैनन्। जसकारण फिल्मका दृश्य जीवन्त र वास्तविक लाग्छन्।
‘हामीलाई दर्शकले हेर्दै छन्, सुन्दै छन्, हाम्रो पृष्ठभूमि तिनलाई थाहा छैन, त्यसैले थाहा दिइराख्नुपर्छ’ भन्ने मानसिकताबाट फिल्मका सबै पात्र मुक्त छन्।
पात्रहरू त्यति मात्रै बोल्छन्, जति बोल्नुपर्ने हो। एकअर्काका सबै कहानी थाहा भएका, सधैं भेटिइरहेका पात्रहरू सामान्य दैनिकीमा कस्ता बोली, कस्ता व्यवहार गर्छन्, त्योभन्दा पर तोडमोड गरेर फिल्ममा मसला मिसाउन खोजिएको छैन।
यसर्थमा, प्रकाशको कथा मात्र होइन, कथा भन्ने शैली पनि अर्गानिक छ। यसले एउटा विद्रोहको कथा सरल भाषामा भनेको छ।
चैत ६ मा नेपाल इन्टरन्याशनल फिल्म फेस्टिभल (निफ) को विशेष प्रदर्शनमा प्रकाशको पुनर्दर्शन गरेपछि आफूलाई लागेका कुरा भन्न मैले केही उपशीर्षकहरूमा फिल्मलाई चुँड्दै केलाएकी छु। प्रकाशबारे धेरै कुरा यसअघि नै अरू सिनेकर्मी र सिनेप्रेमीबाट भइसकेका छन्।
यद्यपि, प्रकाशमा मैले देखेका कुरा र तीमार्फत मैले गरेको अनुभूति, लाग्यो मैले नै भन्नुपर्छ, अरू कसैले भनिदिंदैन।
द्वन्द्वपछिको सङ्क्रमणकालीन समाज र समय
फिल्मको कथा माओवादी द्वन्द्वपछिको समयमा आधारित छ। द्वन्द्व सकिनासाथ यसले खोजेको परिवर्तन आइहाल्दैन- यो आदर्शलाई हाम्रो समाजको वर्तमानले समेत पुष्टि गरेकै छ।
द्वन्द्वले समाजमा कतै न कतै चेतनाको झिल्को छोडेको हुन्छ। जसले धिमा गतिमै सही परिवर्तनको सङ्क्रमण फैलाउन योगदान गर्छ। र, फिल्ममा हामी यही सङ्क्रमणकाल देख्छौं।
कहाँ कहाँ देख्छौं त? आउनुस्, फिल्मभित्र फेरि डुबुल्की लगाऔं।
१) हली अथवा निम्न मध्यमवर्गीय पृष्ठभूमिका मान्छेहरू ठूलो ओहोदामा पुग्दैनन् र पुग्न हुँदैन भन्ने सोच राख्ने ‘इन्द्रबहादुर बाजे’ ले पुरातनवाद, सामन्तवादको पुच्छर समाउन नछोडिरहँदा उता स्कूलका हेडमास्टर अमरेन्द्रले भने ‘ठूला ओहोदामा पुग्न वर्गको भेदले रोक्दैन, क्षमता हुनेले अवसर पाउनुपर्छ र डटेर निरन्तर अघि बढिराखेमा अवश्य पाउँछन्’ भन्ने प्रगतिवादी सोच राख्छ।
२) राधा र प्रकाशको प्रेमबारे थाहा पाएर चिढिएका राधाका बाबु जातीय र वर्गीय दुवै भेदले सामाजिक-सांस्कृतिक महत्त्व राख्छ भन्ने पुरातनवादी सोचबाट माथि उठ्न नसकिरहँदा राधाकी आमा भने जातीय र वर्गीय कुनै पनि किसिमको भेदभावलाई महत्त्व नदिएर छोरीको अन्तरजातीय प्रेम सम्बन्धमाथि सहमति जनाउँदै विवाहको सल्लाहमा आउन खोजिरहेकी छ।
३) प्रकाश र उनकी आमा सीताबीच पनि चेतनाको उस्तै खाडल छ। निम्न वर्गीय भएपछि उपल्लो वर्गसँग निहुरिनुपर्छ, गल्ती नभए पनि उनीहरू रिसाएपछि आफैं सानो हुनुपर्छ भन्ने पुरानो सोच लिएर बाँचिरहेकी आमा सीतासँग छोरा प्रकाशको मत बाझिन्छ। प्रकाशलाई भने वर्गीय विभेद विरुद्ध बोल्नु छ। आमाले इन्द्रबहादुर बाजेसँग माफी माग्दा ऊभित्रको चेतना छटपटिएको छ।
आमा यतिसम्म एकोहोरिएकी छ कि आफ्नै हकको नगद बुझ्न पनि डराएर मुखियाका अघि डेग चल्दिन। छोरो यतिविघ्न विद्रोही भइसकेको छ कि बरु आफ्नो सपना जलाउँछ, तर सामन्तीका अघि झुक्न तयार छैन।
४) जातीय विभेदबारे पनि आमा र छोराबीच उस्तै खाडल छ। प्रकाशकी आमा जो अझै पनि सुनपानी छर्किएर अपशुद्धि गर्नु अपराध हो भन्ने जान्दिन, बरु परम्परा मानेर पालन गरिरहन्छे। उसको छोरा प्रकाश भने तथाकथित तल्लो र उपल्लो जातका नाममा हुँदै गरेको विभेद र छुवाछूतको पर्खाल भत्काउन जरुरी छ भन्ने सोच राख्छ।
यसरी पृथक् चेतना स्तरका पात्रहरूको संघर्षले कथाभित्र द्वन्द्वकालपछिको र परिवर्तनअघिको संक्रमणकालीन समय र समाज फिल्ममा देखाएको छ।
पुरुषसत्ता
पिता बेपत्ता भएको छोरोलाई एकल आमाले हुर्काएर, पढाएर क्षमतावान् युवा बनाएकी छ। यसरी हेर्दा फिल्म महिला सशक्तीकरणको दृष्टिकोणबाट उदाहरणीय लाग्न सक्छ।
तर, सीता लगायत महिला पात्रहरू ‘कठैबरा’ भएर बाँच्दै आएका छन्। यो तीतो सत्य तपाईंलाई पनि महसूस भएको हुनुपर्छ।
कहाँ कहाँ?
१) लोग्ने बेपत्ता भए पनि छोरालाई आफ्नै बलमा अब्बल बनाएकी सीताले जब छोरोको ‘हो मा हो’ मिलाउँदै दोहोर्याउँछे- ‘बाउ भया भए!’ यहाँ हामी उसलाई पुरुषसत्तात्मक समाजभित्रकी एउटी निरीह महिला पात्रका रूपमा देख्छौं।
२) इन्द्रबहादुर बाजेकी श्रीमती ‘बज्यै’ मुखिनी भईकन पनि महिला भएकै कारण पिछडिएकी छ। लोग्नेबाटै पीडित छे।
फिल्ममा घरेलु हिंसाका दृश्य छैनन्, तर लोग्ने ठूला ठूला नेता र गाउँ-समाजबीच राजनीतिक कार्यक्रममा माइक र स्पीकरमा चिच्याइरहँदा उसका विचार र आवाज भने घरभित्रै दबाइएका छन्। राम्रै र हितकै कुरा बोल्दा समेत उसको लोग्नेले एकैपटक पनि त्यसमाथि विचार गरौं न त भन्ने कष्ट गर्दैन।
बरू ‘मलाई तैंले सिकाइरहन पर्दैन’ भन्दै पुरुष हुनुको दम्भ ओकलिरहन्छ।
३) राधाको प्रेम र विवाहको सम्बन्धमा पनि घरमा आमाको कुरा चलेको कहाँ छ र! सन्तान त आमा र बाबुको बराबरी हो। तर, उसले कसलाई प्रेम गर्ने र कोसँग विवाह गर्ने, उसको जीवनका अहम् विषयमा एकल निर्णायक उसको बाबु नै देखिएको छ।
अझ स्कूल नसकाउँदै उसलाई विवाह गरेर पठाइएको छ। राधा छोरी नभएर छोरा भएकी भए यो ज्यादती ऊमाथि पक्कै नहुँदो हो!
४) राधाकै कुरा गर्दा विवाह गरेर जब आफ्नो जीवनसाथीसँग पराई घर कि आफ्नो घर, जे होस् नौलो घर जाँदै हुन्छे, भारी उसैले बोकी हिंडेको हामी देख्छौं। सुटेड-बुटेड उसको श्रीमान् भने ठाँटिएर अघि अघि हिंडेको छ।
दुलही पुलमै रोकिंदा पनि श्रीमान्लाई त्यसको कुनै ‘चासो छैन’।
यहाँ, तपाईंलाई यस्तो महसूस भयो कि भएन कुन्नि, मलाई त लागेको हो- यदि राधाको विवाह प्रकाशसँग हुन्थ्यो भने कम्तीमा बेहुली भएको दिन त्यसरी उसले भारी बोक्नुपर्ने थिएन कि!
शायद, प्रेम भनेकै यही त हो जसका सामु कुनै अहम् बाँकी रहँदैन, चाहे त्यो पुरुष अहम् नै किन नहोस्! प्रकाशमा देखाउन खोजिएको होला वा नहोला।
राजनीति
राजनीति सभ्य समाजका लागि अपरिहार्य छ। मान्छे जङ्गली नहुने हो भने नीति तथा व्यवस्था अत्यावश्यक छ। जसका लागि तह र तप्का आवश्यक छन्।
मान्छेहरू जनता र नेतामा बाँडिन आवश्यक छ। नेताहरूबीच पनि कसैले अगुवाइ लिन आवश्यक छ। तर, यो पनि होइन कि राजनीतिले सधैं जनताको हित नै गर्छ। राजनीति एउटा विशाल साङ्लेवृक्ष हो जसका अनेक हाँगाबिंगा हुन्छन्।
कहिलेकाहीं जरा बिग्रँदा, कहिले मलजल नपुग्दा फल फल्दैन या त फलमा कीरा लाग्छ। फिल्ममा पनि नेता असल नहुँदा, कार्यकर्ताहरू दलाल र बिचौलिया निस्कँदा जनताले दुःख भोग्नुपरेको छ।
युद्धमा होमिएर बेपत्ता भएकाहरूको लास होइन, खालि फोटो हेरेर सनाखत गर्नुपरेको छ जनताले। अझ सरकारी जागीर खान त घूस खुवाउनपर्छ भनी उकासेर नेता-कार्यकर्ताले नै जनताको हकको पैसा लुटेर खाएका छन्।
सत्ता-स्वार्थका लागि जनता प्रयोग गरिएका छन्। तर, जनताको समस्या दोब्बर गराउन नेताहरू कत्ति हिच्किचाएका छैनन्।
यस्ता दृश्यले दर्शकलाई सोच्न बाध्य गराउँछ- के त्यत्रो विद्रोह जनताकै लागि भएको थियो त?
नेताहरूको सत्ता-स्वार्थको फोहोरी राजनीतिले एउटा आम नागरिकलाई कसरी र कुन हदसम्म असर गर्न सक्दो रहेछ भन्ने चेतना विस्तार गराउन फिल्मले प्रशंसनीय काम गरेको छ। यो सत्यलाई मान्नैपर्छ।
जुम्ला
‘यति कथा भन्न जुम्ला नै किन’ भन्ने प्रश्न गर्नु छैन। यसरी सोच्नेले ताप्लेजुङमै खिचिएको हुन्थ्यो भने पनि प्रश्न यही नै गर्थे|- ताप्लेजुङ नै किन?
भलै, यही प्रश्न म अर्को कोणबाट गर्न सकुँली।
खैर, क्यामराको आँखामा बाहेक फिल्ममा जुम्ला कहाँ कहाँ छ? पात्रहरूले बोल्ने भाषामा, उनीहरूको भेषमा! पात्रहरूको दैनिकीमा! चुलोचौको, गोठ, खेत, बारीमा!
तर, लवज र हुलिया बाहेक अन्य पाटो विशेषगरी जुम्लामै पाइने-देखिने कुरा भने होइनन्।
त्यसैले जुम्लामै खिचिसकेपछि जुम्ला नचिनेका दर्शकलाई त्यहाँको अर्गानिक विशेषता फिल्मले पस्किन सक्थ्यो कि भन्ने खसखस लागिरहन्छ।
उदाहरणका लागि, जुम्लामा मात्रै फल्ने स्थानीय जातको धान वा अन्य अन्न, फलफूल रोप्न, फलाउन, खान, बेच्न अथवा कथाको बहाव सुहाउँदो केही गराउन सकिन्थ्यो कि? या जुम्लामा मात्र लाग्ने मेला अथवा जुम्लामा विशेष मनाइने कुनै पर्वलाई कथामा समेट्न सकिन्थ्यो कि?
सुनको फूल नै देखिसकेपछि ‘त्यसमा कसैगरी सुगन्ध पनि मिसाउन पाए!’ भन्ने त लागिहाल्दो रहेछ।
अनि जुम्ला नचिनेको दर्शकको मनमा उब्जिएको अर्को प्रश्न- मास्टर बन्ने कि त हली बस्ने बाहेक जुम्लाको एउटा युवाले बाँच्नका लागि अपनाउन सक्ने अन्य विकल्प केही पनि थिएनन् होला र?
किनकि, ऊ निम्न वर्गीय हुँदाहुँदै पनि उसको सन्दुकमा १० हजार रुपैयाँ नगद छ। अन्दाजी पाँच वटा बाछा आउने रकम!
कला
फिल्म एउटा कला हो। तर, सबै फिल्म कलात्मक हुन्छन् भन्ने छैन। नेपाली कलात्मक फिल्म त अझ दुर्लभ नै मानिन्छ।
कलात्मक फिल्म कस्ता हुन्छन् त? जुनमा फिल्मका विम्ब भेटियोस्, अलङ्कार भेटियून्। प्रतीक भेटियोस्, व्यङ्ग्य भेटियून्।
सबै कुरा डायलगले नै बोल्नु, सीधा सीधा नै भन्नु, देखाउनु हो भने नाफाघाटाको जुवा खेलेर करोडौं लगानी गर्ने नै किन? बरु बाहिर निस्किने र संसार डुल्दै प्रत्यक्ष भेट्ने पात्रहरूलाई!
फिल्म हेर्नुको मजा कमसेकम म चाहिं विम्ब, अलङ्कारहरू ‘डिकोड’ गर्नुमा भेट्ने गर्छु। र, त्यो मजा मैले प्रकाश हेरिरहँदा पनि लिएँ।
शुरूमा त प्रकाशभित्रका हरेक पात्रको नाम नै मलाई विम्बात्मक लागेको छ। इन्द्रबहादुर बाजेलाई पञ्चायती व्यवस्थाका समर्थक अर्थात् राजतन्त्रवादी देखाइएको छ। उनको विशेष दुश्मनी देखाइएको छ- लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने प्रगतिवादी हेडमास्टर अमरेन्द्रसँग।
इन्द्रबहादुर बाजे भुइँका, भूगोलका राजा हुन तल्लीन छन्। उनले (चुनाव) जितेर पनि (जनताको विश्वास) हारेका छन्।
उता स्कूलका विद्यार्थी र विशेषगरी प्रकाशको मनमा बस्न सफल हेडमास्टर अमरेन्द्रले (ओहोदा) हारेर पनि (जनताको हृदय) जितेका छन्।
क्रान्तिका लागि युद्धमा होमिएका सूर्य कमरेड र सूर्यका छोरा प्रकाश जसमा सूर्यमा जस्तै विद्रोहको चेतना छ। प्रेम गरेर पनि प्रेमीसँगै हुन नसकेकी राधा! सधैं खेतबारीमै भेटिने सीता!
यस मानेमा नाममा के नै राखेको छ र भन्ने प्रचलित प्रश्न प्रकाशका हकमा भने पक्कै विचलित भइदिएको हुनुपर्छ।
प्रकाशको खाटसँगैको काठको र्याकमा प्रकाश लेखेर त्यसको छेवैमा सूर्यको चित्र बनाइएको छ। छोराको बाबुप्रतिको लगाव, बाबुको आदर्श र सपनाप्रतिको समर्पणको यो एउटा विम्ब पनि निकै मीठो लागेको थियो।
‘बा कुनै दिन त अवश्य फर्केलान्!’ वा ‘अब त बा फर्केलान् जस्तो लाग्दैन!’ प्रकाशका आमा-छोरा कहिल्यै यसरी संवाद गर्दैनन्। तर, हवाईजहाज उड्दा उनीहरू घरी बा फर्किने आशा त घरी नफर्किने निराशा एकअर्कासँग साट्ने गर्छन्। ओहो, प्रतीक! कति सटीक!
‘तिमी मलाई मन पर्न छाड्यौ’ भनेर भागेकी राधा एउटा भित्तामा अडेसिन पुगेर रोएकी छ, जहाँ लेखिएको छ, ‘वर्गीय मुक्ति जिन्दावाद!’
आहा! नबोलेरै पनि कस्तो तिख्खर व्यङ्ग्य प्रहार गरिएको!
बाछासँगको वियोगमा खोले नखाई सुर्ताएकी गाई र छोरो नबोल्दा भोक हराएकी आमा! प्रकाश टाढिन थालेपछि बल्ल सीता गाईको संवेदनाप्रति एकाकार भएकी छ।
यहाँ सीता र गाईबीच सिर्जित त्यो कथार्सिस। अनि, त्यो कथार्सिसले (विशेषगरी गाउँले परिवेश कहिल्यै नभोगेको) दर्शकको मनमा उत्पन्न गराएको अर्को कथार्सिस!
अन्तिम पटकको सूचीमा आफ्नो नाम नभेटेपछि गह्रौं मन र भारी पाइला लिएर घर फर्किंदै गरेको त्यो हली केटो प्रकाशलाई मास्टर बन्ने सपना साँच्चै नै भारी लाग्छ।
केही बेर बीच बाटोमै विश्राम गर्दा ऊ आफ्नी आमालाई देखेर झस्किन्छ। तर, उसले आमालाई खाली तरानामा देखेको हुन्छ। यो दृष्टिभ्रमप्रति अनौठो मान्दै घर पुगेको उसले आमालाई मृतावस्थामा पाउँछ।
के उसले अघि तरानामा देखेको उसकी आमाको आत्मा थियो? के त्यो मृत्युको पूर्व सङ्केत त थिएन?
अनि त्यो काठको पुल? अघिल्लो पटक इन्द्रबहादुरको कुरा सुनेर उसले निराशाको पुल तर्यो, वियोगको पुल तर्यो। अब भने ऊ आफैंले मनभित्र राखेको हेडमास्टर अमरेन्द्रको कुरा सुन्नेछ र तर्नेछ संघर्षको पुल, विद्रोहको पुल।
पुल एक, बिम्व अनेक!
तर, अब भनेको कहिले? सबै सकिएपछि?
अब क्लाइमेक्सतिर
एकातिर चुनाव जितेको खुशीमा विजय जुलूस मनाइरहेको इन्द्रबहादुर र उसका नेता-कार्यकर्ता। अर्कोतिर, मातृवियोगको शोकमा मलामी हिंडेको प्रकाश र गाउँले।
ओहो! कस्तो कसिलो ‘आइरनी’!
फिल्मको अन्त्यसम्म आइपुग्दा प्रकाशले प्रेम गुमायो, बा फर्किने आशा गुमायो, सपना गुमायो र आमा पनि गुमायो। तर, के उसले हारेकै हो त? के प्रकाशको कथाको अन्त्य यही हो त?
अहँ! पटक्कै यस्तो लाग्दैन। बरु यस्तो लाग्छ- प्रकाशको असली कथा बल्ल पो शुरू भयो, सबैथोक गुमाइसकेपछि।
किनकि, फिल्मको क्लाइमेक्ससम्म आइपुग्दा प्रकाशले अर्को एकथोक पनि गुमाएको छ- सहनशीलता। अब ऊ ज्यादती सहनेछैन, जात वा वर्गको नाममा हुने थिचोमिचो सहनेछैन।
थोरै ‘ओपन-इन्डिङ’ को फाइदा उठाएर भन्नुपर्दा, अब न बाबु न त आमा, न घर न त थर। प्रकाशको अब कुनै जात छैन। न छत न त छाया, अब उसको कुनै वर्ग छैन।
विद्रोहको एक झिल्को प्रकाश।