राजावादी आवरणमा अराजक अभियान
चिकित्सा शिक्षालाई व्यापार बनाउन अनेक तिकडम लगाउने दुर्गा प्रसाईंले अहिले भीड उचाल्दै ब्यांक तथा वित्तीय संस्थाको ऋण तथा ब्याज नतिर्ने अराजक अभियान चलाइरहेका छन्।
‘अब अबिठ्याइँ नबोल्दे। मुख कसैलाई पनि नछाड् छोरा। जति बोलिस् अब छाड्दे, बिन्ती गर्छु, मेरा छाेरा विजय हाेस्।’
छोरा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं’ अभियानको संयोजक चयन भएको घोषणा गर्दै दुर्गा प्रसाईंकी आमा कौशिलाले दिएको आशीर्वाद हो यो।
२०७९ साल फागुन १ गते झापा, बिर्तामोडमा आयोजित कार्यक्रममा दुर्गाले जवाफ फर्काए, ‘यहाँ मुख नछाडी नहुने मान्छे छन्।’
पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह उपस्थित मञ्चमा चढेर उनले भने, “राजालाई कसैले नारायणहिटी कटाउँछु भनेर धम्की दिन्छ भने दुर्गा प्रसाईंहरू नारायणहिटी लगेर बसाउन तयार छन् भन्ने बुझे हुन्छ। अब राजाको पछाडि पनि मान्छे छन्।”
प्रसाईंले यसो भनिरहँदा उनको भाषण सुन्नेहरूले समर्थनमा ताली बजाउँदै ‘कुरा ठीक हो’ भन्दै हुटिङ समेत गरे।
दुई दशकअघि फर्किने हो भने यी स्वघोषित भयङ्कर राजवादी प्रसाईं माओवादी लडाकू थिए। २०५६ सालमा ‘राजतन्त्र अन्त्य गर्ने’ माओवादी विद्रोहमा बम-बारुद बोक्नेदेखि गोली ठोक्नेसम्म काम गरेको वेलावेला बताइरहन्छन् उनी। २०६० साल माघ १० गते सेनाले पक्राउ गरेपछि लामो समय हिरासतमा बसेको पनि उनी आफैं बताउँछन्।
माओवादीको हिंसात्मक द्वन्द्वमा क्रियाशील प्रसाईं एमाले हुँदै राजावादी ‘अभियन्ता’ भए। राजतन्त्रबारे उत्तेजक अभिव्यक्ति दिएपछि गत फागुन १३ गते नै उनलाई एमाले सचिवालय बैठकले पार्टीबाट निष्कासन गरिसकेको छ।
राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि गरीब जनताको जीवनस्तर झन् दयनीय भएको र नेताहरूले जनताको जीवनस्तर परिवर्तन गर्न कुनै भूमिका नखेलेकाले आफू राजावादी भएको उनको दाबी छ।
प्रसाईंको विगतबारे जानकारका लागि उनको यो रूप नौलो होइन। आफ्नो स्वार्थ पूरा गर्न कसैलाई बोक्ने र कसैलाई ठोक्ने उनको पुरानै बानी हो।
भीडले पत्याएका प्रसाईं
प्रसाईं अचेल जहाँ उभिन्छन्, त्यहाँ मानिसको भीड लाग्छ। व्यापारी र नेताको नाम तोक्दै गालीगलौजमा उत्रिरहँदा उनको पक्षमा हुटिङ लाग्छ।
प्रसाईंले लगाइरहने रटान हो- ५५ जना व्यापारी र १० जना नेता मिलेर यो देश लुटेका छन्। हरेक मारवाडीको घरमा बोराका बोरा पैसा छ। म दुबई गएको वेला शेखर गोल्छाको नामबाट ८५ करोड रुपैयाँ दुबई गएको थाहा पाएँ। व्यापारीहरू सबैभन्दा भ्रष्ट र हुन्डीको कारोबार गर्छन्।
उनीहरूका घरमा हामीले ब्यांकमा जम्मा गरेको पैसा छ, तपाईंहरूले छिरेर निकाल्नुपर्छ। शेरबहादुरको घरमा दुई सय बोरा जति पैसा छ। केपी ओलीका घरमा त्यति नै। प्रचण्डको घरमा त्यति नै। विष्णु पौडेलका घरमा त्यति नै। वर्षमान पुनका पार्टनर हुन् मीनबहादुर गुरुङ। तपाईंहरूलाई मैले त्यत्तिकै भनेको छैन नि।
सामाजिक सञ्जालतिर प्रसाईंका यस्ता अभिव्यक्तिमा प्रशंसायुक्त कमेन्ट गर्नेको ओइरो हुन्छ। झापापछि काठमाडौंको बानेश्वरमा भाषण गर्दा उनका समर्थकहरूले ‘अघि बढ दुर्गा दाइ, जनता जिउन चाहन्छन्’ जस्ता नारा लगाएका थिए। प्रसाईंलाई स्कर्टिङ गरेर कार्यक्रमस्थल पुर्याएको थियो।
भीड जम्मा पार्न मात्र होइन, उत्तेजित पार्न पनि खप्पिस छन् प्रसाईं। उनी कतारमा मृत्यु भएका श्रमिकको शव झिकाएको दाबी गर्छन्। हरेक वर्ष १० जना गरीबको सेवा गर्न १० करोड बजेट छुट्याएको जिकिर गर्छन्। विदेशका जेलमा रहेका ४१ जनालाई आममाफी दिलाएर नेपाल फर्काएको र २०० अलपत्र नेपालीलाई फिर्ता ल्याएको दाबी गर्छन्। अनि सोध्छन्, “दुर्गा प्रसाईं एक्लैले यति धेरै काम गर्यो, विदेशको विभिन्न जेलमा हजारौं नेपाली छन्, तिनीहरूलाई छुटाउन सरकारले के गर्यो?”
भीडबाट आवाज आउँछ, ‘केही पनि गरेन।’
कुनै समय डा. गोविन्द केसी विरुद्ध आक्रामक हुन्थे प्रसाईं। अहिले लघुवित्तको ऋण तिर्न नसकेका ऋणीबारे बोल्छन्। ब्यांक विरुद्ध अभियानै चलाएका छन्। सोही अभियानमा देश दौडाहा गरिरहेका उनले नेपाल बन्दको आह्वान समेत गरे, भलै त्यो सफल भएन।
“ब्याज तिर्न नसकेर कोही जनताको घरजग्गा ब्यांकले लिलामी गर्छ भने त्यो घरजग्गा कसैले नकिनोस्। कसैले किन्यो भने त्यहाँ घर घेर्न र नाराजुलूस गर्न हामी बाध्य हुनुपर्छ,” बानेश्वरको भाषणमा उनले भनेका थिए। उनी आफूलाई कानून र संविधान नचाहिने र कसलाई कसरी ठेगान लगाउनुपर्छ भन्ने राम्रोसँग थाहा भएको दाबी गर्छन्।
केही समयअघि उनले ‘ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीलाई भेटे च्याप्प समात्ने र कालोमोसो दल्ने’ बताए। त्यसपछि फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्तका एक कर्मचारीमाथि दुई जनाले मोसो दले।
अराजक माग
प्रसाईंले तिर्न बाँकी ऋण कम्तीमा पाँच अर्ब छ। अधिकांश मेडिकल कलेज स्थापना गर्दा लिएका हुन्। र, पुस महीनासम्मको ब्याज मात्र तिरेको उनले विभिन्न अन्तर्वार्तामा बताएका छन्।
ब्यांक विरुद्धको अभियान शुरू गरेपछि उनलाई एपीवान टेलिभिजनको रजतपट कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुवेदीले सोधे, “ब्यांकबाट ऋण लिएपछि तिर्नु पर्दैन?” प्रसाईंको जवाफ थियो, “नतिर्ने कसले भनेको छ? तर सात प्रतिशतमा लिएको पैसा १८ प्रतिशत पुर्याएपछि कसले तिर्छ?”
सुवेदीले फेरि सोधे, “त्यति वेला तिर्छु भनेर ल्याप्चे लाउने अनि अहिले जे पायो त्यही गर्ने?”
“त्यतिखेर सात प्रतिशतको ब्याज १८ प्रतिशत बनाउँछु भनेर ल्याप्चे हानेको हैन। जे पायो त्यही गर्न पाउँछ?” गलत व्याख्या गर्दै प्रसाईंले जवाफ फर्काए।
जबकि ब्यांक तथा वित्तीय संस्थाले कर्जामा परिवर्तन हुने र स्थिर रहने दुई थरी ब्याजदर प्रस्ताव गरेका हुन्छन्। परिवर्तन हुने ब्याजदर ब्यांकको लागत परिवर्तन भएसँगै घटबढ हुन्छ। स्थिर ब्याजदरमा घटबढ गर्न मिल्दैन।
त्यसैकारण उतारचढाव हुने प्रवृत्तिको ब्याजदर तोकिएको कर्जाको ब्याजदर बढ्नु अस्वाभाविक नभएको ब्यांकहरू बताउँछन्।
प्रसाईंले देशका विभिन्न शहरमा अहिले ब्यांक तथा वित्तीय संस्था विरुद्धको अभियान चलाउँदै छन्। त्यहाँ उनलाई सुन्न ऋण लिएर तिर्न नसक्नेहरूको भीड लाग्छ।
उनी देशमा काम गर्ने वातावरण नभएको, नेताहरूको कारण युवा खाडी जान बाध्य भएकाले ऋणको भारी बोक्नुपरेको सुनाउँछन्। आफ्नो अभियान तुहिए धेरैले आत्महत्या गर्ने पनि उनको जिकिर छ। उनले फागुन २४ गतेबाट अनिश्चितकालीन नेपाल बन्दको घोषणा गर्दै सबै व्यापारीले पसल बन्द गर्ने, कर नतिर्ने, मालपोतमा जग्गा पास नगर्ने र केही मानिसहरूलाई आफ्नै खर्चमा काठमाडौं आएर अभियान सफल पार्न आह्वान समेत गरे।
अराजक आन्दोलन र मेडिकल कलेज ‘कनेक्शन’
प्रसाईंले भाषणमा भुइँमान्छेको लागि अभियान शुरू जिकिर गरे पनि यसका पछाडि ‘बीएन्डसी मेडिकल कलेज’ को सम्बन्धनको लफडा मुख्य कारण हो। उनले करीब आठ अर्बको लागतमा बिर्तामोड–५ मा बीएन्डसी हस्पिटल र मेडिकल कलेज स्थापना गरेका छन्।
अस्पतालको उद्घाटन त्यति वेला पनि सरकारको नेतृत्वमै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता योगेशकुमार भट्टराई र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरेका थिए।
प्रसाईंले ऋण लिंदा छलकपट गरेको त महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमै उल्लेख छ। उनले जग्गा धितो राखेर ऋण लिंदा कि कर छली गरेको कि ब्यांक तथा वित्तीय संस्थासँग मिलेर धितोको अधिक मूल्याङ्कन गराई निक्षेपकर्ताको रकम दुरुपयोग गरेको उल्लेख छ।
भद्रपुरको १८ आना जग्गा २०७७ साउन २ गते आठ करोड रुपैयाँ थैली रकम कायम गरेर बिक्री गरेको र सो जग्गा आफ्नै स्वामित्वको बीएन्डसी अस्पतालले किनेको प्रतिवेदनमा उल्लेख छ। दुई दिनपछि सोही जग्गा चार वटा ब्यांक तथा वित्तीय संस्थामा धितो राखी अस्पतालले एक अर्ब ७४ करोड रुपैयाँ ऋण लिएको थियो। अर्थात्, दुई दिनमा जग्गाको मूल्य रजिस्ट्रेशन गर्दाको भन्दा २२ गुणा बढी मूल्याङ्कन गरिएको थियो।
जग्गाको कम मूल्याङ्कन गराएर किनबेच गर्दा पूँजीगत लाभकर थोरै तिरेर उम्किन सकिन्छ भने ब्यांकमा अधिक मूल्याङ्कन गराउँदा बढी ऋण पाइन्छ। प्रतिवेदनमा प्रसाईंको नाम उल्लेख नगरी घटनाको फेहरिस्त प्रस्तुत भए पनि यो बीएन्डसी अस्पतालकै बारेमा भएको महालेखा परीक्षक कार्यालयका अधिकारी नेत्र पौडेलले ट्वीटरमा उल्लेख गरेका थिए।
बीएन्डसीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाएको थियो। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०७३ साउन ९ गते ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति र २०७१ मंसीर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको थियो।
प्रसाईंले मेडिकल कलेज सञ्चालनको प्रकिया थाल्दा डा. गोविन्द केसीको चिकित्सा सुधारको अभियान उत्कर्षमा थियो। त्यही वेला पारित भएको चिकित्सा शिक्षा ऐनले प्रसाईंको महत्त्वाकांक्षी योजनामा केही समय ‘ब्रेक’ लगायो।
तर, राजनीतिक दलका नेताहरूसँगको उठबसकै कारण कलेजलाई सम्बन्धन दिलाउन चिकित्सा शिक्षा ऐनमा छिद्र समेत राखियो। ऐनको दफा १३ को उपदफा ६ मा ‘एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन नदिने तर ऐन जारी हुनुभन्दा अघि नै सम्बन्धन र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा लागू नहुने’ उल्लेख गरियो।
चिकित्सा शिक्षा ऐन अनुसार बनेको आयोगमा २०७६ भदौ २६ गते डा. श्रीकृष्ण गिरी उपाध्यक्ष बने। सम्बन्धनको लागि निवेदन लिएर बीएन्डसी फागुन १ मा आयोग पुग्यो। तर, २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति पनि नलिएको कारण देखाउँदै आयोगले सम्बन्धन नदिने भनेपछि प्रसाईंले २०७६ पुसमा बानेश्वरको एभरेस्ट होटलमा पत्रकार सम्मेलन गर्दै बत्तीसपुतलीको द्वारिकाज् होटलमा बोलाएर डा. गिरीले सम्बन्धन प्रक्रिया अघि बढाउन २० करोड घूस मागेको आरोप लगाए। “२०/२० करोड मागेपछि मैले दिन सक्दिनँ भनेको हुँ। २०/५० लाख, एक करोडसम्म त ठीकै थियो,” उनले भनेका थिए। यसपछि प्रसाईं आयोग विरुद्ध अदालत पुगे। धन्न, सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को दफा ७ को उपदफा (३) मा सम्बन्धनका लागि सिफारिश भएका तर आशयपत्र नवीकरण नभएका शिक्षण संस्थाले नियमावली प्रारम्भ भएको तीन महीनाभित्र आशयपत्र नवीकरण गराउनुपर्ने व्यवस्था छ। नवीकरण नगरे आशयपत्र स्वतः रद्द हुने नियमावलीको उपदफा (४) मा उल्लेख छ।
त्यस विरुद्ध पनि प्रसाईं फेरि सर्वोच्च अदालत गए। २०७७ कात्तिक १८ गते न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले निवेदकको हकमा दफा ७ को उपदफा (१), (३) र (४), २०७७ मंसीरसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।
२०७७ मंसीर ७ मा बीएन्डसी पक्षका कानून व्यवसायीबाट पेशी स्थगित भयो। त्यसपछि दुई पटक पेशी तोकिए पनि मुद्दा हेर्न नमिल्ने भयो।
२०७७ माघ १२ गते न्यायाधीश मीरा खड्का र बमकुमार श्रेष्ठको इजलासले ‘विपक्षीहरू सबैको लिखित जवाफ आइसकेकाले नियमानुसार पूर्ण सुनुवाइका लागि पेश गर्नू’ भन्यो। सर्वोच्च अदालतको नियमावलीको नियम ४९ (६) मा अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने विषयमा सुनुवाइ हुने दिन मुद्दाको पक्षबाट पेशी स्थगित गरियो भने अन्तरिम आदेश स्वतः निष्क्रिय हुने प्रावधान छ।
सोही कारण चिकित्सा शिक्षा नियमावली प्रारम्भ भएको (२०७७ साउन २६) तीन महीनाभित्र नवीकरण गर्नुपर्ने र नभए आशयपत्र स्वतः रद्द हुने दफा (७) को उपदफा (३) र (४) बीएन्डसी मेडिकल कलेजको हकमा लागू हुने भयो।
अर्थात्, अहिले बीएन्डसीले पाएको, तर २०७३ सालदेखि नवीकरण नभएको आशयपत्र स्वतः रद्द भएको छ।
कलेजले सम्बन्धन पाउने नदेखेपछि प्रसाईंले सरकारले दाबी भुक्तानी नगरेको भन्दै अस्पतालबाट २०७९ असारबाट स्वास्थ्य बीमा कार्यक्रम नै रोकिदिए। उनले बीमा भुक्तानी माग्दा कमिशन मागेको आरोप समेत लगाए। तर, यथार्थभन्दा धेरै बीमा दाबी गर्न थालेपछि बीमा बोर्डले उनको दाबी भुक्तानी रोकिदिएको थियो।
मुखै बैरी
मापदण्ड र प्रकिया नपुर्याएका कारण मेडिकल कलेजले सम्बन्धन नपाएको दोष उनी डा. गोविन्द केसीलाई दिने गर्छन्। उनी बेथिति विरुद्ध सत्याग्रह गर्दै अएका केसीलाई ‘पागल र अपराधी’ भन्न पनि पछि पर्दैनन्। नेपाली विद्यार्थी विदेशी पढ्न पठाएर कमिशन लिने दलाल भनेर सम्बोधन गर्छन्।
सगरमाथा टेलिभिजनको एक अन्तर्वार्तामा त उनले केसीलाई मर्न दिए समस्या नै सकिने बताएका थिए। “ए बाबा, अनशन बस्दा एक जना अधिकारी दम्पती मरे त। एक-दुई जना मान्छे अनशनमा मर्छन्,” प्रसाईंले भने, “एक-दुई जना मान्छे मर्न दिऔं, केही बिग्रँदैन्, राज्य क्रूर भएर चल्नुपर्छ। यस्तो मान्छेले गर्दा उद्योगधन्दा गर्ने हामी जस्तो मान्छे देशमा बस्ने ठाउँ छैन।”
रजतपट कार्यक्रममा प्रसाईंले केसीकै कारण हरेक वर्ष १० हजार नर्स पढ्न विदेशिने गरेको र १३७ वटा नर्सिङ कलेज बन्द भएको आरोप लगाए। उनकै कारण अबको पाँच वर्षपछि नेपालमा कोही डाक्टर र नर्स नबस्ने पनि ठोकुवा गरे। तर, ती नर्सिङ कलेजले विद्यार्थी नपाउनुको कारण आवश्यक मापदण्ड पूरा नगर्नु हो।
चिकित्सा शिक्षा ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातक तह) र पीसीएल (प्रमाणपत्र तह) को नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ। ऐन आउनुअघि नर्सिङ कलेज सञ्चालकहरूले मापदण्ड पूरा नै नगरी विद्यार्थी पढाएका थिए। जसको असर त्यहाँबाट उत्पादित जनशक्तिमा परेको थियो।
२०७५ सालमा ऐन जारी हुँदा दुई वर्षभित्र अस्पताल बनाउन शिक्षण संस्थालाई समय दिइएको थियो। तर, ती शिक्षण संस्था मापदण्ड पुर्याउनेभन्दा पनि ऐन संशोधन गर्ने ‘लबिइङ’ मा लागे। सीटीईभीटीले पीसीएल नर्सिङ अध्यापन गराउन १०९ वटा निजी कलेजलाई सम्बन्धन दिएको छ। तीमध्ये ७४ वटा कलेजले आफ्नै अस्पताल नभएका कारण गत वर्ष विद्यार्थी भर्ना लिन पाएनन्। त्यसपछि ती कलेज सञ्चालकहरू मापदण्ड विनै विद्यार्थी पढाउनुपर्छ भन्दै आन्दोलन गर्न थाले। सोही प्रकरणलाई प्रसाईं नर्सिङ कलेजलाई विद्यार्थी भर्ना गर्न नदिएको भन्दै अपव्याख्या गर्छन्।
उनको मुख कतिसम्म छुच्चो छ भने उनी ‘सबै नेतालाई एउटै खाल्डोमा हाल्नुपर्छ’ भन्न समेत पछि पर्दैनन्। कहिले नागरिकता विधेयक पास गरेर ४० लाख बिहारीलाई नेपालको नागरिकता दिन लागियो भन्छन्। देशलाई सिक्किमीकरण र फिजीकरण गर्न लागेको भन्दै अबको पाँच वर्षमा बिहारको मान्छे आएर नेपालको प्रधानमन्त्री हुने भ्रामक कुरा बोल्छन्। ‘चैत-वैशाख उता ब्यांकमा पैसा हुँदैन, पैसा राखेकाहरूले निकाले हुन्छ, शेयरबजारको पैसा पनि जिरो हुन्छ, तपाईं-हाम्रो पैसामा खेल्ने खेलाडी छन्।’ उनी यस्तै अन्टसन्ट बोलिरहन्छन्।
अप्रत्याशित उदय
२०७४ फागुन ६ मा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई सँगै राखेर जुम्लाको मार्सी चामलको खाना खुवाएपछि उनी ‘मार्सी’ नामले चिनिन थाले। त्यसअघि उनी मेडिकल कलेजको सम्बन्धनका लागि नेताहरूको दैलोमा दौडधूप गरिरहन्थे। राजनीतिक परिचय खासै थिएन।
सर्वोच्च अदालतको फैसलाले नेकपा फुटेपछि प्रसाईं दाहाल छाडेर ओलीसँग निकट भए। २०७७ फागुन १६ मा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनमा ओलीलाई प्रमुख अतिथि बनाएका उनले दाहालको चर्को आलोचना गरे।
ओली प्रधानमन्त्री थिए, ‘बीएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ’ भनेर घोषणा गरिदिए। त्यसअघि २०७७ फागुन १२ मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालयको सिनेट बैठक बोलाएका थिए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बीएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन भने। विश्वविद्यालयले पनि बीएन्डसीलाई सम्बन्धन दिन सीट निर्धारण गर्न आयोगलाई पत्र नै पठायो। पत्रमा विश्वविद्यालयको विज्ञ टोलीले बीएन्डसीको अनुगमन गरेको समेत उल्लेख थियो।
श्रेष्ठले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई बालुवाटार डाकेर बीएन्डसीलाई सम्बन्धन दिलाउन दबाब दिएका थिए। चौतर्फी दबाबपछि २०७८ जेठ २८ मा बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा बीएन्डसीलाई सम्बन्धन दिने अजेन्डामा छलफल भयो। आयोगले निर्णय गर्न भने सकेन। कतैबाट पनि सम्बन्धन पाउने आशा नदेखेपछि प्रसाईं पटक पटक पत्रकार सम्मेलन गर्दै डा. केसीमाथि खनिन थाले।
‘कि कलेज सञ्चालनका लागि अनुमति देऊ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफैं चलाओस्’ भनेर ‘इमोसनल ब्ल्याकमेल’ गर्न थाले। कलेजलाई बेवारिसे राख्दा ब्यांक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकिने उनको तर्क थियो।
ओलीलाई ‘हजुरबा’ भन्थे प्रसाईं। एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा पार्टी सदस्य नै नभई प्रतिनिधि बने। विधान महाधिवेशन सकिएपछि एमाले प्रवेश गरे।
एमालेको १०औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बन्न चाहे। चाहना पूरा भएन। पछि केन्द्रीय सदस्यमा मनोनीत भए। मंसीरको निर्वाचनपछि भने प्रसाईंले एमाले नेताहरूको आलोचना गर्न थाले।
पाँच वर्षअघि सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा प्रसाईंले आफू रातारात धनी नभएको र बाउबाजेको पुर्ख्यौली सम्पत्तिले मेडिकल कलेज स्थापना गरेको दाबी गरेका थिए। पछिल्ला अन्तर्वार्ताहरूमा उनी ब्यांकले ऋण पत्याएको कारण आफूले व्यापार गर्न सकेको बताउने गर्थे।
उनले भक्तपुरको सूर्यविनायकमा दुई अर्ब लगानीमा कृषि तथा तरकारी बजार सञ्चालन गरेका छन्, झन्डै ५० रोपनी क्षेत्रफलमा। यो नेपालकै ठूलो तरकारी बजार भएको उनको दाबी छ। उनले टेन्सबर्ग बियर उत्पादन गर्दै आएको टाइगर ब्रुअरी कम्पनीको चार अर्ब रुपैयाँ बराबरको शेयर खरीद समेत गरेका छन्। यहींबाट मार्सी बियर उत्पादन हुने उनले बताएका थिए। यसमा प्रसाईंको ५५ प्रतिशत र तेजेन्द्र खड्का समूहको ४५ प्रतिशत शेयर छ।
उनले विभन्न अन्तर्वार्तामा दुबईको राजकुमारसँग पार्टनरशिपमा दुबईमा मेडिकल कलेज खोलेर दुई हजार ५०० नर्स र ५०० डाक्टर पढाउने योजना सुनाइरहेका छन्। नेपालको पानी दुबई लगेर बेच्ने काम अघि बढाइसकेको उनको दाबी छ।
‘हिटलरको पछाडि पनि मान्छे लाग्थे’
पूर्व सभासद् श्याम श्रेष्ठ ‘नकरात्मक बहादुर’ को पछि लाग्नेहरू जुनसुकै समाजमा हुने बताउँछन्। “इतिहास हेर्ने हो भने हिटलरको पछाडि पनि धेरै मानिस लागेका थिए, गान्धीका पछाडि पनि,” श्रेष्ठ भन्छन्, “तर नकरात्मक बहादुरको आयु लामो हुँदैन। आफैं सकिन्छन्। यस्ता पात्रहरूले आफूलाई पुर्ने खाल्डो आफैं खनिरहेका हुन्छन्।”
समाजशास्त्री दीपेश घिमिरे नेपाली समाज ज्ञान निर्माण र वितरणको प्रकियामा कमजोर भएकाले यस्ता गलत पात्रहरूले आफ्नो व्यक्तिगत अभीष्ट पूरा गर्न जालझेल गर्ने बताउँछन्। उनका अनुसार, अहिले नेपाली समाजमा ऋण लिएर तिर्न नसक्ने मानिसको जमात ठूलो छ। यही जमातको भावना बोलेको कारण मानिसले उनलाई समर्थन गरेका हुन्। उनी भन्छन्, “भ्रामक कुरा गरेर भीडलाई उक्साउने अभ्यास बढ्दै गयो भने त्यसको असर नसोचेको हुन सक्छ।”
उनका अनुसार, राज्यको नियम-कानून तथा नीति-नियम उपयुक्त ढङ्गले कार्यान्वयन हुन नसक्दा यस्ता भड्काउवादी तथा अवसरवादीहरू आफ्नो स्वार्थ पूरा गर्न सक्रिय हुन्छन्।
प्रसाईंले चलाइरहेको ब्यांकको सावाँ-ब्याज भुक्तानी नगर्ने अभियान आफैंमा वित्तीय अराजकता भएको नेपाल राष्ट्र ब्यांकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन्। ब्यांकले ऋण दिएको रकम बचतकर्ताले जम्मा गरेको धन भएको र ऋणीले सावाँ-ब्याज तिर्दिनँ भन्नु बचतकर्ताको रकममा धावा बोले सरह भएको उनी बताउँछन्। “ऋणीले रकम नतिर्ने अभियान फैलने हो भने देशको वित्तीय प्रणाली नै धराशायी हुन्छ,” उनी भन्छन्।