चितवन-२ मा रविको फेरि स्थानीय उम्मेदवारसँग प्रतिस्पर्धा
प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन-२ मा रवि लामिछानेले फेरि स्थानीय उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा लामिछाने चितवन-२ बाट निर्वाचित भएका थिए। अमेरिकी नागरिकता त्यागे पनि पुनः नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो।
सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि रिक्त रहेको चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लामिछानेलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
त्यस्तै, नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी कांग्रेसका पूर्व जिल्ला सभापति हुन्।
नेकपा (एमाले)ले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। उनी एमाले चितवनका अध्यक्ष हुन्। लामिछाने काठमाडौंका बासिन्दा हुन् भने श्रेष्ठ र न्यौपाने स्थानीय बासिन्दा हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गत निर्वाचनलाई हेर्दा चितवन-२ मा रास्वपा सभापति लामिछानेको कांग्रेस र एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने देखिएको छ। मंसीर ४ मा भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत पाएका थिए।
दोस्रो नम्बरमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ थिए। श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पनि समर्थन गरेका थिए।
त्यस्तै, तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए। राप्रपा उम्मेदवार रविन अधिकारी चौथो नम्बरमा थिए भने उनले ९५५ मत पाएका थिए।
गत निर्वाचनमा १६ उम्मेदवार प्रतिस्पर्धामा थिए। मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले २७७ र हाम्रो नेपाली पार्टीका अमृत तामाङले १४९ मत पाएका थिए। अन्य उम्मेदवारको मत एक सयभन्दा कम थियो।
समानुपातिकतर्फ पनि रास्वपाले नै धेरै मत पाएको थियो। रास्वपाले ३५ हजार ९४५ मत पाएको थियो।
समानुपातिकतर्फ एमाले दोस्रो नम्बरमा थियो। एमालेले १६ हजार ४७४ मत पाएको थियो। त्यस्तै, कांग्रेसले १२ हजार १३२ र माओवादीले आठ हजार ४०७ मत पाएका थिए।
यस पटक चितवन-२ मा ४८० मतदाता थपिएका छन्। गत मंसीरमा एक लाख २४ हजार १२५ मतदाता थिए भने अहिले एक लाख २४ हजार ६९५ पुगेको निर्वाचन आयोगले जनाएको छ।
चितवन-२ मा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत:
रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीः ४९,३००
उमेश श्रेष्ठ, नेपाली कांग्रेसः १४,९८८
कृष्णभक्त पोख्रेल, नेकपा (एमाले): १४,६५२
रविन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीः ८५५
टेकबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेशनः २७७
अमृत तामाङ, हाम्रो नेपाली पार्टीः १४९
भास्करचन्द्र न्यौपाने, स्वतन्त्रः ८२
टेविका कुँवर, स्वतन्त्रः ६३
मुस्तफा अली, जनता समाजवादी पार्टीः ६२
प्रभाव त्रिपाठी, जनसमाजवादी पार्टीः ५८
ज्ञानेन्द्र प्रजा, नेपाल मजदूर किसान पार्टीः ५५
अंगुर पन्त, स्वतन्त्रः ४६
सुन्दर डल्लाकोटी, स्वतन्त्रः २६
सुनीलकुमार क्षेत्री, राप्रपा नेपालः २०
सुदर्शन प्रधान, स्वतन्त्रः १६
खेमराज भट्टराई, स्वतन्त्रः ४