यस्तो छ तनहुँ-१ को चुनावी गणित
राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा स्वर्णिम वाग्ले, गोविन्द भट्टराई र सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्ने भएका छन्।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। आगामी वैशाख १० मा हुने निर्वाचनमा सत्तारूढ गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
तनहुँ-१ मा रास्वपाले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउँदै छ भने एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बन्न लागेका छन्। त्यस्तै, सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने तय भएको छ।
अर्थशास्त्री वाग्ले कांग्रेस छोडेर चैत १६ मा मात्रै रास्वपामा प्रवेश गरेका हुन्। उनी गत मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-१ बाट कांग्रेस उम्मेदवारका लागि सिफारिश भएका थिए, तर टिकट पाएनन्।
त्यस्तै, एमालेबाट उम्मेदवार बन्न लागेका खनाल पूर्व प्रहरी महानिरीक्षक हुन्। उनी गत निर्वाचनमा काठमाडौं-६ बाट उम्मेदवार बनेका थिए। यो क्षेत्रबाट रास्वपाका शिशिर खनालले जितेका थिए।
कांग्रेसबाट उम्मेदवार बन्न लागेका भट्टराई पहिलो पटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिंदै छन्। उनी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन्।
यो क्षेत्रबाट गत मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनमा पौडेलले जितेका थिए। उनले २५ हजार ३८१ मत पाएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले सघाएका थिए।
उनको निकटतम प्रतिस्पर्धीमा एमाले उम्मेदवार एकबहादुर राना मगर थिए। उनले १९ हजार ९८१ मत पाएका थिए।
तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी थिए। उनले ६ हजार ८८६ मत पाएका थिए। पूर्व मन्त्री समेत रहेका जोशी कांग्रेसले कारबाही गरेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उपनिर्वाचनलाई ध्यानमा राखेर चैत १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
त्यस्तै, चौथो नम्बरमा रास्वपाका उम्मेदवार विकास सिग्देल थिए। सिग्देलले ६ हजार ४४ मत पाएका थिए। अहिले रास्वपाबाट वाग्ले उम्मेदवार बन्दै छन्।
गत निर्वाचनमा यो क्षेत्रमा १५ जना उम्मेदवार थिए। पाँच नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनोदकुमार घर्तीले दुई हजार ४८४ मत पाएका थिए। अन्य पाँच उम्मेदवारको मत सयमा थियो भने तीन उम्मेदवारको मत सयभन्दा पनि कम थियो।
निर्वाचन आयोगका अनुसार गत निर्वाचनको तुलनामा अहिले तनहुँ-१ मा मतदाता घटेका छन्। मंसीर ४ मा भएको निर्वाचनमा एक लाख २३ हजार ४९० मतदाता थिए। अहिले भने १८५ मतदाता घटेर एक लाख २३ हजार ३०५ कायम भएका छन्।
आउँदो वैशाख १० मा हुने चुनावका लागि निर्वाचन आयोगले चैत २० मा उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।
समानुपातिकतर्फ कुन पार्टी बलियो?
मंसीर ४ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ पनि कांग्रेसले सर्वाधिक २० हजार १५८ मत प्राप्त गरेको थियो। एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएका थिए।
सत्ता साझेदार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३, जनमत पार्टीले १६३, राष्ट्रिय जनमोर्चाले ५० र लोकतान्त्रिक समाजवादी पार्टीले २४ भोट पाएका थिए।
तनहुँ-१ मा प्रत्यक्षतर्फ दलहरूले पाएको मत:
१) रामचन्द्र पौडेल, नेपाली कांंग्रेसः २५,३६१
२) एकबहादुर राना मगर, नेकपा (एमाले): १९,९८१
३) गोविन्दराज जोशी, स्वतन्त्र: ८,८८६
४) विकास सिग्देल, रास्वपाः ६,०४४
५) विनोदकुमार घर्ती, राप्रपाः २,४८४
६) प्रेमबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनः ३६०
७) हस्तबहादुर किचिम थापा, जनमुक्ति पार्टीः ३०१
८) पृथ्वीनारायण श्रेष्ठ, स्वतन्त्रः २९२
९) प्रविन पौडेल, हाम्रो नेपाली पार्टीः २८४
१०) पासाङ थापा मगर, जसपाः २६०
११) रामचन्द्र कार्की, स्वतन्त्रः १९४
१२) बेलबहादुर दरै, स्वतन्त्रः १०५
१३) कृष्णप्रसाद पौडेल, राप्रपा नेपालः ९२
१४) ताज महमद मिया, नेश्नलिस्ट पिपल्स पार्टीः ३०
१५) रामकृष्ण त्वायना, नेमकिपाः २१
तनहुँ-१ मा दलहरूले पाएको समानुपातिक मत
कांग्रेस: २०,१५८
एमाले: १६,६८३
राष्ट्रिय स्वतन्त्र पार्टी: १२,७७३
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी: ७,३२६
राष्ट्रिय प्रजातन्त्र पार्टी: ३,५७७
एकीकृत समाजवादी: ९५०
मंगोल नेशनल अर्गनाइजेशन: ४५७
राष्ट्रिय जनमुक्ति पार्टी: ३६१
जनता समाजवादी पार्टी, नेपाल: ३२३
हाम्रो नेपाली पार्टी: २२३
नेकपा (मार्क्सवादी लेनिनवादी): २१४
जनमत पार्टी: १६३
एकल चिह्न गितार: ७९
मौलिक जरोकिलो पार्टी: ६२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल: ५८
नेपाली जनता दल: ५५
नेपाल मजदूर किसान पार्टी: ५१
राष्ट्रिय जनमोर्चा: ५०
नेपाल लोकतान्त्रिक पार्टी: ३९
नेपालका लागि नेपाली पार्टी: ३८
एकल चिह्न बच्चा काखमा लिएकी आमा: ३५
जनसमाजवादी पार्टी नेपाल: २८
विवेकशील साझा पार्टी: २७
नेपाल कम्युनिष्ट पार्टी: २६
आमूल परिवर्तन मसिहा पार्टी नेपाल: २६
नागरिक उन्मुक्ति पार्टी: २६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल: २४
नेकपा मार्क्सवादी (पुष्पलाल): २३
नेपाल जनता पार्टी: १८
नेपाली कांग्रेस (बीपी): १६
नेकपा परिवर्तन: १३
जनजागरण पार्टी नेपाल: १३
नेश्नलिष्ट पिपल्स पार्टी: १२
राष्ट्रिय नागरिक पार्टी: १०
एकीकृत शक्ति नेपाल: ९
नेपाल संघीय समाजवादी पार्टी: ८
राष्ट्रिय मुक्ति आन्दोलन: ८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ७
बहुजन एकता पार्टी नेपाल: ६
जनता प्रगतिशील पार्टी नेपाल: ६
नेपाल समावेशी पार्टी: ४
नेकपा माओवादी समाजवादी: ४
बहुजन शक्ति पार्टी: ३
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ३
तराई मधेश लोकतान्त्रिक पार्टी: ३
पिछडावर्ग निषाद दलित जनजाति पार्टी: २
मितेरी पार्टी नेपाल: २