कति सहज छ उपेन्द्र यादवकाे संसद् यात्रा?
उपनिर्वाचन मार्फत आफू सांसद बन्नकै लागि महिलालाई उपराष्ट्रपतिमा उठ्न नदिएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा-२ मा चुनाव जित्न कति सहज छ त?
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई गत मंसीर ४ को प्रतिनिधि सभा निर्वाचनले किनारा लगायो। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी-२ मा पराजित गरेपछि यादवको संसद् यात्रा पाँच वर्षका लागि रोकिएको थियो। तर, चार महीनामै उनी फेरि संसद् प्रवेश गर्ने दाउमा छन्, उपनिर्वाचनबाट।
बारा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका छन्। आफ्ना विश्वासपात्रलाई उपराष्ट्रपतिमा पठाएर यादवले उपनिर्वाचनबाट संसद् छिर्ने तयारी थालेका छन्।
संविधानको धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ। रामसहाय उपराष्ट्रपति निर्वाचित भएसँगै बारा-२ मा उपनिर्वाचन हुने निश्चित छ।
जसपाका स्थानीय नेता बारा-२ खटिन थालिसकेका छन्। अध्यक्षले चुनाव लड्न पक्कापक्की भएकाले तयारी शुरू गरिएको जसपा नेता एवं मधेश प्रदेशका पूर्व मन्त्री योगेन्द्रराय यादव बताउँछन्। “बारा-२ बाट उपेन्द्र यादव चुनाव लड्ने पक्कापक्की भएको छ। हामी सबै तयारीमा जुटिसकेका छौं,” यादव भन्छन्।
उपनिर्वाचनबाट संसद् प्रवेश गर्न यादवलाई कति सहज छ? विगतको मत परिणाम र समीकरण हेर्दा सहज देखिंदैन। राजनीतिक दलका स्थानीय नेता पनि यादवलाई चुनाव जित्न कठिन हुने दाबी गर्छन्।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बारा-२ बाट जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनले १३ हजार ८२२ मत ल्याएका थिए। उनलाई नेकपा (एमाले)ले पनि समर्थन गरेको थियो।
निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा ३५४ मतान्तरले पराजित भएका थिए। शिवचन्द्रले १३ हजार ४६८ मत ल्याएका थिए। उनलाई नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धनले समर्थन गरेको थियो।
त्यति वेला जसपाकै रामकिशोरप्रसाद यादव, नेपाली कांग्रेसका रवीन्द्रप्रसाद यादव र अरुण ज्ञवाली बागी उम्मेदवार बनेका थिए। रामकिशोरले ११ हजार ४३, रवीन्द्रले १० हजार ७५० र अरुणले सात हजार ६९८ मत पाएका थिए। जनमत पार्टीबाट उठेका राजेश साहले दुई हजार ७२५ मत पाएका थिए।
कांग्रेसका दुई जना बागी उम्मेदवार बन्दा माओवादीका शिवचन्द्रलाई घाटा लागेको थियो भने रामसहायप्रसाद थोरै मतान्तरले निर्वाचित भएका थिए। अहिले पनि कांग्रेस र माओवादीका नेता चुनाव भिड्ने तयारीमा छन्।
त्यस्तै, स्थानीय तहको निर्वाचन परिणाम हेर्दा पनि जसपा बलियो देखिंदैन। यो क्षेत्रमा पर्ने पाँचमध्ये दुई वटामा कांग्रेस र दुई वटामा जसपाले जितेका छन् भने एउटामा एमाले उम्मेदवार निर्वाचित भएका छन्।
अर्कातिर, जसपा अध्यक्ष यादव विरुद्ध जनमत पार्टीले घेराबन्दी शुरू गरेको छ। गत निर्वाचनमा बागी उठेका उम्मेदवारसँग छलफल थालेको छ। स्थानीय स्तरमा गठबन्धन गर्न शुरू गरेको छ भने यादव विरुद्ध प्रचार गर्न थालिएको छ।
गत निर्वाचनमा यादव यही क्षेत्रबाट लड्ने तयारी थियो। तर, जित्ने सम्भावना कम देखेपछि सप्तरी-२ तिर गएका थिए। त्यसलाई पनि जनमत पार्टीले हतियार बनाएको छ।
उपराष्ट्रपतिको निर्वाचनमा पनि जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको थियो। गठबन्धनमा रहे पनि उपनिर्वाचनमा उम्मेदवारी दिने जनमतको तयारी छ।
त्यस्तै, जनमत पार्टीका स्थानीय नेताहरू एमालेका स्थानीय नेताहरूसँग पनि छलफलमा छन्। उनीहरू आफ्नो उम्मेदवारलाई समर्थन गर्न एमाले नेताहरूसँग कोशिश गरिरहेका छन। उपनिर्वाचनका विषयमा छलफल चलिरहेको भए पनि उम्मेदवारका विषयमा केन्द्रबाट निर्णय भएपछि मात्रै भन्न सकिने जनमत पार्टीका नेता डा. शरदसिंह यादव बताउँछन्। “कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीको उच्च तहबाट निर्णय हुन्छ, अहिले छलफल हुँदै छ,” उनी भन्छन्।
जसपा नेता भने अध्यक्ष यादव नै लड्ने पक्कापक्की भएको भन्दै तयारीमा जुटेका छन्। सत्तारूढ गठबन्धनले सघाउने भएकाले यादवलाई चुनाव जित्न गाह्रो नहुने जसपा नेता योगेन्द्ररायको भनाइ छ। “अध्यक्ष उपेन्द्र यादव गठबन्धनको उम्मेदवार बन्नुहुनेछ, त्यसैले गाह्रो हुनेछैन। तैपनि हामी तयारीमा जुटिसकेका छौं,” योगेन्द्रराय भन्छन्।
सत्तारूढ गठबन्धनमा भए पनि गत निर्वाचनमा पराजित माओवादी उम्मेदवार शिवचन्द्र पनि चुनाव लड्ने तयारीमा छन्। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धन भए पनि उपनिर्वाचनमा त्यसले फरक नपर्ने उनको बुझाइ छ। “त्यो गठबन्धनले यहाँ काम गर्दैन,” उनी भन्छन्, “म कुनै पनि हालतमा छाड्नेवाला छैन। उपनिर्वाचनमा उम्मेदवार बन्छु।”