माझकिरात मास्न के गरेनन् गोरखालीले?
गोरखालीहरूले आफ्नो पक्षमा नआउने माझकिरातका खम्बू-किरातहरूलाई मार्ने‚ गर्भवतीको गर्भ तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको हड्सन पाण्डुलिपिमा उल्लेख छ।
कवि भूपाल राईले लेखेको ‘हरिनन्द र माटो’ कविता कक्षा १२ को ऐच्छिक नेपालीको पाठ्यक्रममा पढाइ हुन्छ। उक्त कवितामा माझकिरात राज्य गोरखालीहरूलाई समर्पण गरेकोप्रति हरिनन्द पोखरेललाई एक द्रोहीका रूपमा प्रस्तुत गरिएको छ। केही खार्पाली पोखरेलहरूले उक्त कवितामा आफ्नो पुर्खाको अपमान भएको सम्झेछन्। त्यसैले एक वर्षअघि उनीहरूले उक्त कविता पाठ्यक्रमबाट हटाउन दबाब दिएको समाचारहरू प्रकाशनमा आएका थिए।
हटाउन दबाब परे पनि हटाइएन। नेपाली विषय समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेको टोलीले उक्त कविता पाठ्यक्रममा समावेश गर्ने निर्णय गरेको हो। सीमान्तीकृत चेतनाभित्र पहिचानवादी कविता छान्ने क्रममा कवि राईको ‘हरिनन्द र माटो’ कविता पाठ्यक्रममा समावेश गरिएको हो।
आखिर कवितामा चित्रित पात्र हरिनन्द पोखरेल को हुन्? उनले माझकिरात गोरखालीहरूको अधीनमा पार्न केकस्ता कामहरू गरे? यसै इतिहासको सेरोफेरोमा यो लेख तयार पारिएको छ।
नेपाल उपत्यकाका मल्ल राजाहरू आपसी कलहमा अल्झिरहेका वेला मकवानपुरका सामन्त गजलक्ष्मण केन्द्रसँग वागी भएर बसेका थिए। यही मौका छोपी पाल्पाली राजा मुकुन्द सेन मकवानपुर लगायत सुनकोशीदेखि दूधकोशीबीचका पहाडी इलाकामा समेत आफ्नो प्रभुत्व स्थापित गर्न सफल भए। उनी दक्षिणमा चम्पारण अर्थात् गण्डकीदेखि पूर्वमा पर्ने ओडियासम्मका प्रदेशहरूमा अधिकार कायम गर्न सफल भइसकेका थिए (मोहनप्रसाद खनाल, सेनराज्यको राजनीतिक इतिहास– २०६१:४२)।
पछि विजयपुरका राजा विजयनारायण र उनका मन्त्री सिंह राय (मुरेहाङ)बीच मतभेद भइरहेको वेला मन्त्रीका आफन्त (मुरेहाङका छोरा बाजहाङ अर्थात् बाजु राय)को सहयोगमा मुकुन्द सेनका छोरा लोहाङ सेन दूधकोशीदेखि पूर्वमा पर्ने किरात प्रदेशसम्म आफ्नो अधिकार जमाउन सफल भएका थिए (खनालः २०६१:४३)। आफ्नो राज्य विस्तार गर्दै जाने क्रममा उनको सिमाना टिस्टासम्म कायम हुन पुगेको थियो। यसरी सेनवंशी राजघराना पूर्वतिर फैलन पुगेको थियो।
मकवानपुरका राजा लोहाङ सेनको मृत्युपछि उनका नाति हरिहरइन्द्र सेन (विसं १७१८–१७४१)को समयसम्म विजयपुर मकवानपुर अन्तर्गत नै पर्थ्यो। उनकी जेठी रानीतिरका छोरा छत्रपति इन्द्र सेनको राजा हुन नपाउँदै निधन भयो। त्यसपछि हरिहरइन्द्रले छत्रपतिका छोरा विधाताइन्द्रलाई युवराज घोषित नगरी अर्की रानीतिरका छोरा शुभ सेनलाई उत्तराधिकारी घोषणा गरिदिए। आफ्ना बाजेको यस्तो निर्णय विरुद्ध विधाताइन्द्रले दलबल सहित विजयपुर क्षेत्र कब्जा गरे। त्यसपछि मकवानपुर राज्य टुक्रिएर कोशीपूर्व विजयपुर छुट्टै राज्य भयो। शुभ सेनले ललितपुर, भक्तपुर र गोरखाको सहयोगमा विधाताइन्द्रबाट विजयपुर खोस्ने प्रयास गरे पनि उनी सफल हुन सकेनन् (डा. राजाराम सुवेदी, प्राचीन नेपाल सङ्ख्या १४३–असार २०५८:४४)।
मकवानपुर राज्य दुई टुक्रामा विभाजित भएपछि मकवानपुरमा शुभ सेन र विजयपुरमा विधाताइन्द्र सेन शासन गरिरहेका थिए। तर‚ आफ्ना मन्त्रीहरूकै छलकपटमा परेका शुभ र विधाताइन्द्र दुवैलाई पूर्णियाका नवाब इस्कन्दर खाँले कैद गरे। नवाबले मोरङको ठूलो भाग कब्जामा लिए। यस्तो विकट स्थितिमा शुभनका नायब प्रवोध दास शुभका दुई छोरा महिपति (मान्धाता) र मानिक सेनलाई लिई किरात प्रदेशमा शरण लिन पुगे। किराती नेता विद्याचन्द्र रायको मद्दतबाट उनीहरूले पैतृक सम्पत्ति फिर्ता पाए। पछि शुभका दुई छोराबीच राज्य बाँडिंदा मकवानपुर राज्य अन्तर्गत नै पहाडतिर सिन्धुलीको पौवागढीदेखि पूर्व अरुण कोशीसम्म रहेका सुनकोशीदेखि दक्षिणसम्मको माझ किरातलाई चौदण्डी प्रदेश बनाइयो। दुधकोशीदेखि अरुण कोशीसम्मको माझकिरात पनि चौदण्डीमै सम्मिलित थियो। हालको उदयपुरदेखि दक्षिणतिरको भावरमा नयाँ राजधानी चौदण्डी बनेको थियो।
शुभका दुई छोरामध्ये जेठा महिपति कमलादेखि पूर्व विजयपुरको राजा बने। कान्छा मानिक मकवानपुरका राजा भए। पछि मानिकका चार छोरामध्ये जेठा हेमकर्ण मकवानपुरका राजा भए। माइला जगत विसं १७८४ मा चौदण्डीका राजा भए। हेमकर्णको प्रतिनिधिका रूपमा जगत सेनले माझकिरातको प्रशासन चलाइरहेका वेला बानियाँ मन्त्री र किरात मन्त्रीबीच मत नमिल्दा किराती मन्त्रीहरूले जगतलाई चौदण्डीका राजा बनाइदिए। उनीपछि उनका उत्तराधिकारीहरू मुकुन्द सेन (तेस्रा) र कर्ण सेन चौदण्डीका राजा भए (साफल्य अमात्य, प्राचीन नेपाल सङ्ख्या ४९–५२: पुस २०३५–साउन२०३६:१५–१८)।
यताबाट हेर्दा विसं १७८४ देखि त्यहाँका खम्बू किरातहरूको जोडबलमा चौदण्डी स्वतन्त्र राज्य भएको देखिन्छ। चौदण्डीमा बसेर सेनहरूले राज्य गरे पनि यहाँका हर्ताकर्ता किरात खम्बूहरू नै थिए।
माझकिरातका खम्बू शासकहरू
तत्कालीन माझकिरातमा उदयपुरको चौदण्डी र भोजपुरको हतुवागढी प्रमुख केन्द्र थिए। पहिले मकवानपुर र पछि चौदण्डीमै रहेर सेन राजाले माझकिरातको शासन चलाउँथे। तर‚ सेनलाई सांस्कृतिक रूपमा राजा मानेर यहाँका खम्बूहरूले नै वास्तविक शासन चलाउँथे।
चौदण्डीमा कर्ण सेन अन्तिम राजा हुन्। गोरखालीको आक्रमणपछि उनी त्यहाँबाट भागेर भएर विजयपुर पुगेका थिए। विजयपुरमा तत्कालीन राजा कामदत्त सेनको हत्यापछि बुद्धिकर्ण राय हर्ताकर्ता भएका थिए। उनै बुद्धिकर्णले चौदण्डीबाट आएका कर्णलाई विजयपुरको पनि थपना राजा बनाएका थिए। तर‚ गोरखालीहरूले विजयपुरमा पनि धावा बोलेपछि त्यहाँबाट पनि उनी भागेर आफ्नी रानी र एक्लो छोराका साथ इस्ट इन्डिया कम्पनीको सरहदभित्रको पूर्णियामा पुगेका थिए। इस्ट इन्डिया कम्पनीका गभर्नरसँग आफ्नो राज्य फिर्ता गराउन प्रयासरत रहेकै वेला अज्ञात व्यक्तिले उनको हत्या गरिदिए (इमानसिंह चेम्जोङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास–२०५९:८९–९०)।
माझकिरात गोरखालीको अधीनमा जाँदा अजित राय (कतै अगमसिंह राय) चौदण्डीको चौतरिया थिए। फ्रान्सिस बुकानन ह्यामिल्टनले एन एकाउन्ट अफ किङ्डम अफ नेपाल (सन् १८१९:२) मा सत्ताच्युत राजा कर्ण सेनकी विधवा रानीको सेवामा रहेको वेला आफूले अगमसिंह राईलाई पूर्णियामा भेटेको उल्लेख गरेका छन्।
ब्राइन हड्सनले सङ्कलन गरी बेलायत पुर्याएका पाण्डुलिपिमा पनि अगमसिंह चौतारा कोशीपारि शकनाक्रामा आई बसेको उल्लेख छ (अर्जुनबाबु माबुहाङ र भरत तुङघङ, हज्शन पाण्डुलिपिमा गोर्खा-खम्बुवान-लिम्बुवान युद्ध- २०७०:१७)।
अगमसिंह राईलाई पूर्णियामा भेट गर्ने ह्यामिल्टन सन् १८०२–३ (विसं १८५९–६०)मा क्याप्टेन नक्ससँग नेपाल आएका थिए। उनले नेपालमा ११ महीना बिताएका थिए। क्याप्टेन नक्स आफ्नो राजनीतिक कार्य सफल बनाउन लागेका थिए भने ह्यामिल्टन चाहिं नेपालको इतिहास सम्बन्धी खोजीमा लागेका थिए। उनले नेपालबारे अनुसन्धान गर्न धेरै समय पाउँदा नेपालको इतिहास र तत्कालीन समाजबारे धेरै सूचना पनि प्राप्त गरेका थिए (डा. राजेश गौतम, इतिहास लेखनको इतिहास- २०५१:३४०)।
यसबाट चौदण्डीका भूतपूर्व चौतरिया अगमसिंहलाई निर्वासित अवस्थामा विसं १८५९–६० को थोरै अघि वा पछि ह्यामिल्टनले पूर्णियामा भेट गरेको देखिन्छ। विसं १८३० मा माझकिरात गोरखालीले अधीनस्थ गरेको थियो। यसको २९ वर्षपछि पनि अगमसिंह जीवितै रहेको देखिन्छ। तर‚ उनले चौतरियाका रूपमा व्यवहार गरेको ऐतिहासिक पत्रहरू भने हालसम्म फेला पर्न सकिरहेको छैन।
माझकिरातको अर्को महत्त्वपूर्ण केन्द्र हतुवागढी रहेको थियो। भोजपुरको घोडेटार बजारको शिर दक्षिण-पश्चिममा रहेको डाँडा नै हतुवागढी हो। हतुवागढीमा रहेर शासन चलाउने किरात राजा (स्थानीय शासक)हरूमा सुनाहाङ, कर्माहाङ र अटलहाङको नाम आउँछ। उनीहरू बान्तवा राई भित्रको ‘वालाहाङ’ पाछाका थिए। हतुवा राज्य र हतुवा दरबारका अध्येताहरूले दिएको तर्क अनुसार, दरबारलाई ‘वालाहाङ हाङखिम’ भनिन्थ्यो। यो दरबार सात तलाको रहेको थियो (चन्द्रकुमार राई, प्राचीन नेपाल सङ्ख्या १९५–असार २०७४:४९–५०)।
हतुवागढीमा रहेर शासन चलाउने अटल राई (कतै अटलहाङ र अटलसिंह)को वास्तविक नाम भने अटलजित राय थियो। उनीसँग सम्बन्धित दुई वटा महत्त्वपूर्ण ऐतिहासिक पत्र अन्वेषक भोगिराज चाम्लिङले प्रकाशमा ल्याएका छन्। तीमध्ये विसं १८२५ फागुनमा लेगुवाका श्रीवाद रायेले ८० मुरीको खेत लिएको र अर्को विसं १८२६ मा ३० मुरीको खेत बिर्ता दिएको पत्र रहेको छ। यी दुवै पत्र दिङ्लागढी गाउँपालिका–७ साल्मा निवासी पद्मबहादुर राई (दुमी)को घरमा सुरक्षित रहेका छन् (भोगिराज चाम्लिङ, ईकान्तिपुर- चैत ८, २०७६)।
यी दुई पत्रमध्ये विसं १८२५ को पत्रमा अटल राईले प्रयोग गर्ने गरेको राजकीय निशान छाप पनि रहेको छ। उनी विजयपुरका चौतरिया बुद्धिकर्ण रायका समकालीन हुन्। यसबाट उनी ऐतिहासिक रूपमै प्रामाणिक शासक भएको स्पष्ट हुन्छ।
हतुवागढीका शासक बान्तवाभित्रको वालाहाङ रहेका र उनीहरूमध्ये कतिपयले ‘वालिङ’ लेख्ने गरेका छन्। हतुवामा गोरखालीहरूको आक्रमण हुँदा अरुण नदी तरेर सुनबालुवाघाट हुँदै खोकु छिन्ताङतिर पसेका राईमध्ये कतिपयले आफ्नो थर वालिङ लेख्छन्। हड्सन पाण्डुलिपिमा वलिङहाङ र उलिङहाङको नाम आउँछ। तीमध्ये वलिङहाङ उनै अटल राई हुन सक्ने अनुमान लगाउन सकिन्छ।
हरिनन्द र स्वरूपसिंह गोरखाली शरणमा
ब्राह्मण, क्षेत्रीका साथै मगर‚ गुरुङहरू गोरखा, तनहुँ र मकवानपुरबाट वल्लो किरात, माझकिरात र पल्लो किरात लिम्बुवानमा पुगिसकेका थिए। उनीहरू खम्बू र लिम्बू चौताराका प्रशासनमा नभई सेनहरूको प्रशासनमा रहन चाहन्थे। तर‚ खम्बू र लिम्बू चौतरियाहरू भने राजाको प्रशासन चलेको चाहँदैनथे। सेन राजा कर्ण सेनका दिवान अजित राय (अगमसिंह राय)को अधीनमा रहेर काम गर्न गाह्रो मान्नेमा खार्पाली पोखरेल हरिनन्द उपाध्यय र क्षेत्री कर्मचारी स्वरूपसिंह कार्कीको खम्बू दिवानसँग मनमुटाव शुरू हुन पुगेको थियो (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी- २०६१:४१७)।
माझकिरातमा खम्बू दिवानहरूको अधीनमा रहन नरुचाएका हरिनन्द उपाध्यय र स्वरूपसिंह कार्कीले चौदण्डी राज्यकै नून खाएर सोही राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहको पाउमा सुम्पने मौकाको खोजीमा थिए।
हरिनन्दले यसबारे पृथ्वीनारायणका मानिससँग भित्रभित्रै पत्राचार गरिरहेका थिए। राजा कर्ण सेनका पुरोहित समेत रहेका उनले चौदण्डी राज्यको सामर्थ्यले गोरखाली राज्यको शक्तिलाई थेग्न सक्दैन भन्ने जाहेर गर्दै पत्राचार गरेको थाहा पाएपछि उनलाई देशद्रोही मानेर पक्राउ गर्न खोज्दा चौदण्डी राज्यबाट भागे (इमानसिंह चेम्जोङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास- २०५९:८६)।
हरिनन्दका सन्ततिहरूले भने आफ्नो पूर्वजको इतिहास लेख्ने क्रममा उनी चौदण्डीबाट भागेर गोरखालीहरूको पाउ पर्नुको कारणबारे चेम्जोङभन्दा फरक तर्क पेश गरेका छन्। हरिनन्दका दाजु नरोत्तम उपाध्यय चौदण्डीका राजपुरोहित थिए। उनलाई राजा मुकुन्द सेन (पछिल्ला मुकुन्द सेन)ले विसं १८१९ आश्विन सुदी १४ मा मुकाम चौदण्डीबाट राजपुरोहितमा नियुक्त गरेका थिए (सीताराम पोखरेल र बलराम पोखरेल, नेपालको इतिहासमा पोखरल- २०७७:५७९)।
यी दुई दाजुभाइ चौदण्डी राजदरबारका विश्वास पात्र थिए। उनीहरूमाथि ईर्ष्या गर्ने भारदारहरूले हरिनन्दको महारानीसँग अनैतिक सम्बन्ध रहेको शङ्का राजालाई सुनाइदिए। राजाले थप जाँचपड्ताल नगरी हरिनन्दलाई पक्राउ गर्न सरदार स्वरूपसिंह कार्कीलाई आदेश दिए। तर‚ रात भएकाले बिहान पक्राउ गरी हाजिर गराउने भन्दै हरिनन्दलाई चौदण्डीबाट उम्काउन स्वरूपसिंहले सहयोग गरे। भोलिपल्ट बिहानै गएर स्वरूपसिंहले हरिनन्दलाई सबै पोल खोलिदिए। त्यसपछि दुवै एकआपसमा सल्लाह गरेर राति नै चौदण्डीको माटो बोकेर सुनकोशीको बुवाँजोरघाट तरेर खार्पाको घरमा एक दिन बास बसेर बाटो लागे। चौदण्डी दरबारले सिपाही लगाएर धुइँधुइँती खोज्दा पनि हरिनन्द र स्वरूपसिंहलाई फेला पार्न सकेन। दाजु नरोत्तमका छोराहरू पनि सिपाहीका साथ उनीहरूलाई खोज्न निस्कंदा डुङ्गा पल्टेर बेपत्ता भए (पोखरेलद्वयः२०७७:४५९–६०)।
हरिनन्द र स्वरूपसिंहलाई राजा कर्ण सेनका सिपाहीहरूले रभुवाघाटमा भेटे। सिपाहीहरूले उनीहरूलाई खानाको प्रबन्ध गरेका थिए। तर‚ हात धुने बहाना बनाएर दुधकोशीमा फाल हानेर पौडंदै हरिनन्द र स्वरूपसिंह पारि पुगे। नदीपारिको गाउँ गोरखाली राज्यले अधीनस्थ गरिसकेको थियो। उनीहरू त्यहाँबाट सहजै काठमाडौं पुगे। पशुपतिनाथको दर्शन गरी पृथ्वीनारायण शाहलाई भेट्न उनले त्यस वेला मुकाम गरिरहेको नुवाकोट दरबार पुगे। पृथ्वीनारायण शाहलाई आफूहरूले लगेको माटो चढाउँदै चौदण्डीगढीको कमजोर अवस्था दर्शाएर गोरखामा मिलाउन बिन्ती बिसाए (पोखरेलद्वयः २०७७:४६१)।
चौदण्डीको माटो सहित त्यहाँ आक्रमणका लागि निम्तो दिन चौदण्डीकै पुरोहित र सरदार नुवाकोट दरबारमै पाउ लागेर आइपुग्दा पृथ्वीनारायण शाह खुशी नहुनै कुरै भएन। पृथ्वीनारायण शाहले त्यतिखेरै उनीहरूलाई अवसरको आश्वासन पनि दिइहाले। स्वरूपसिंहलाई सरदारीको सैन्य अधिकृतको जिम्मेवारी मिलिहाल्यो। हरिनन्दले यथासम्भव धनको पनि सहयोग गर्न बिन्ती पृथ्वीनारायण शाह समक्ष बिसाए। पृथ्वीनारायण प्रसन्न भई उनलाई तत्काल मामखामा गएर बस्दै गर्नु पछि व्यवस्था गरौंला भन्ने आश्वासन दिएर पठाए (आचार्य, २०६१:४१७)।
हरिनन्द र स्वरूपसिंहले चौदण्डी राज्यबाट माटोको डल्लो लगेर पृथ्वीनारायण शाहलाई भेट्न पुग्दा ‘भारा–फौज खटाई बक्सनु भया नौलखा किरातको मूलुक मधेश पहाड हात गरी ढोकामा छिराउँला’ भन्ने बिन्ती बिसाए। के खोज्छस् कानो आँखा भने झैं बडो प्रसन्नता व्यक्त गर्दै पृथ्वीनारायण शाहले ‘माझकिरातबाट राज्यलक्ष्मी मकहाँ आइन्’ भनी आफ्ना बडामहारानीलाई त्यो माटोको डल्लो पूजा गरेर भण्डारमा राख्न दिए (ज्ञानमणि नेपाल‚ नेपाल निरूपण- २०५५:२९७)।
गोरखाली शरणमा पुगेका स्वरूपसिंहलाई तत्कालीन युवराज प्रतापसिंह शाहले आफ्नो आश्रयमा लिएको बाबुराम आचार्यले उल्लेख गरेका छन्। स्वरूपसिंह त्यति वेला भर्खरैका जल्दाबल्दा नवयुवकका रूपमा देखापरिरहेका थिए। उनको प्रभावशाली व्यक्तित्त्वलाई पहिचान गरेर पछि चौदण्डी र विजयपुर राज्य हस्तक्षेप गर्न सजिलो हुन्छ भनी पृथ्वीनारायण शाहले शुरूमै उनलाई युवराज प्रतापसिंह शाहको अङ्गरक्षकका रूपमा नियुक्त गरेका थिए (बाबुराम आचार्य, श्री ५ प्रतापसिंह शाह- २०६०:३१)।
माझकिरात मास्ने तानाबाना
भौगोलिक विकटता माझकिरातको बाध्यात्मक विशेषता हो। माझकिरातको पहाडी प्रदेशमा शासन चलाउनका लागि हतुवागढी अर्को शासनको केन्द्र थियो। तर‚ व्यापारको घाँटी नपरेको र मनग्य धान उब्जनी नहुने भएकाले हतुवागढी त्यति समृद्ध बन्न सकेन।
यसको सट्टा मध्यपहाडको उब्जाउ भएको र ओलाङचुङ, चैनपुर हुँदै राजधानी आउने बाटोमा परेकाले खिकामाछा बजारले गुल्जार हुने अवसर पायो। तर‚ यातायातको दृष्टिले पराश्रयी भएर पछाडि पर्नु यस ठाउँको बाध्यता थियो। भोटतर्फको व्यापारमा जाँदा ठूलठूला नदी पार गर्दै पराई राज्यको बाटोबाट अप्ठ्यारो किसिमले काम चलाउनुपर्ने, नुन लिन पनि पश्चिमतर्फकाले ढाकर कसेर धेरै दिनको अप्ठ्यारो बाटो पार गरी नाम्चेबजार पुग्नुपर्ने, दक्षिण मधेश/तराई झर्न पनि ठूलठूला नदीका घाट र खोलाका जँघार तर्नुपर्ने बाध्यता भोजपुरबासीलाई थियो (नेपाल, २०५५:२९२)।
यस्तो भौगोलिक विकटता रहेको माझकिरातको चौदण्डी दरबारका पुरोहित हरिनन्द र सरदार स्वरूपसिंह नुवाकोट दरबार पुगी चौदण्डीको माटो पृथ्वीनारायण शाहको पाउमै समर्पण गरेपछि उनीहरू माझकिरात मास्ने उद्योगमा लागेको स्पष्ट हुन्छ। उनीहरूले माझकिरातको सबै आन्तरिक अवस्थाबारे पृथ्वीनारायणलाई अवगत नगराउने कुरै भएन।
त्यस वेला हरिनन्द र स्वरूपसिंह समेतलाई थाहा नदिई माझकिरातमा खम्बू तथा ब्राह्मण क्षेत्रीहरूको परिस्थिति बुझेर ब्राह्मण र क्षत्रीहरूलाई आफूहरूतिर मिलाउन पृथ्वीनारायणले बाङ्ग्या बस्नेत आदिलाई माझकिरातमा पठाएका थिए। त्यहाँको सबै परिस्थिति बुझेर यिनीहरू फर्केर आएपछि र पश्चिमतिरको युद्ध रोकिएपछि पृथ्वीनारायण शाहले बख्शी अभिमानसिंह बस्न्यातलाई चौदण्डी अधिकार गर्न खटाए भने पहाडखण्डबाट त्यसतर्फ पसेका सरदार रामकृष्ण कुँवर र उनका नायब अमरसिंह थापाको नेतृत्वमा पुगेको गोरखाली सेनालाई हरिनन्द र त्रिलोचन पोखरेलले दुधकोशी र सुनकोशीको दोभानमा रातको समयमा डुङ्गामा तारी विसं १८२९ भदौ १३ गते माझकिरातमा घुसाए (आचार्य, २०६१:४१७–१८)।
पृथ्वीनारायण शाह परिस्थितिको मूल्याङ्कन गरी आफ्ना सैन्यनायकहरूलाई तारीफ गर्दै उत्साहित बनाउन अत्यन्तै सिपालु थिए। माझकिरातमा हमला गर्न त्यसतर्फ खटिएका रामकृष्ण कुँवरलाई लेखेको एक पत्रमा उनको त्यो चतुर्याइँ थाहा हुन्छ। पत्रमा कालु पाँडेपछिको आफ्नो भरका रूपमा रामकृष्ण कुँवर रहेको उल्लेख छ।
पृथ्वीनारायण शाहले विसं १८२९ आश्विन वदी ५ रोज ४ मा लेखेको पत्रमा ‘रामकृष्ण कुँवरलाई कालु पाँडे कीर्तिपुरमा पर्दा ३ सहर नेपाल अब मैले मार्न सकिन भनि मेरा मन हारेको थियो. तिम्रो बुद्धि र तरबारका जोरले मार्याको येस्को मिहिनेतदेषी तिमिलाई केही दिउ भन्या यो आधा राज्य दिया पनि पुग्न्या छैन. सिंवुको हेरोफेरो र धुलिषेल तिम्रा दरसंतानतकले षानु भनि बक्स्यौ. तिमालमा तिम्रा भाइ पर्दा बहुतै फिक्री लाग्यो. अब किंरात हान्नालाई तिम्रो भर छ...’ भन्ने उल्लेख गरेका छन् (नयराज पन्त र अरू (सम्पा.), श्री ५ पृथ्वीनारायण शाहको उपदेश- २०२५:१०९५)।
अर्कातिर माझकिरातमै बसेर त्यही राज्य मास्ने उद्योगमा लागेका हरिनन्द पोखरेलको चलखेल असामान्य थियो। उनी माझकिरातमा गोरखाली आधिपत्य कायम गराउन अनेकौं उपायको रचना गरिरहेका थिए। उनले मुर्दाका रूपमा कात्रोले छोपेर बन्दूकहरू मुगलानबाट माझकिरातमा भित्र्याएका थिए।
हरिनन्दका सन्तति तेजप्रसाद पोखरेलको भनाइ अनुसार‚ गोरखालीले माझकिरातमा हमला गर्ने तयारी गरिरहेको वेला हरिनन्दले गोरखालीहरूलाई माझकिरात मास्न बन्दूकको आवश्यकता रहेको सुझाव दिएका थिए। हरिनन्द स्वयम् मुगलान गई धेरै बन्दूकहरू किनी ती बन्दूकहरूलाई मुर्दाका रूपमा मुठा पारी कात्रोले बेरेर चोयाले बाँधी शङ्ख फुक्दै लास दाहसंस्कार गर्न लगे झैं मुगलानबाट स्वदेश तारेका थिए (चेम्जोङ, २०५९:८६)।
माझकिरातमा घातक हमला
गोरखालीले माझकिरातमा व्यवस्थित युद्धको तयारी गरेका थिए। यसका लागि हरिनन्द र उनका दाजु त्रिलोचन उपाध्ययले सहजीकरण गरेका थिए।
गोरखालीहरूले कीर्तिपुरका १२ वर्षमाथिका पुरुषको नाक र ओंठ काटेको क्रूर प्रसङ्ग इतिहासमा पढ्न पाइन्छ। माझकिरातमा त्योभन्दा पनि घातक हमला भएको थियो। यहाँ गर्भवतीको गर्भ तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको थियो। बेलायतको इन्डिया अफिस लाइब्रेरीमा हड्सन पाण्डुलिपि अध्ययन गरी फर्किएका इतिहासकार तथा संस्कृतिविद् रमेश ढुङ्गेलको लेखाइले पनि यसलाई पुष्टि गर्छ।
त्यति वेला गोरखाली शासकले राई–लिम्बूप्रतिको नीतिमा उदारता प्रदर्शन गरेको देखिंदैन। हड्सनको सङ्कलनमा प्राप्त सामग्री अनुसार‚ गोरखा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू–किरातीका पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा बालक सन्तानलाई समेत गोरखालीले मारिदिएका थिए। यतिसम्म कि पुरुष सन्तान जन्माउने आशङ्कामा आईमाईको गर्भ समेत तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चा समेत स्रोतमा परेको छ (डा. रमेश ढुङ्गेल, हिमाल‚ वर्ष १५ अङ्क २२–फागुन २०६२:६१)।
सिरिजङ्गा लिपि र लिम्बू भाषामा लेखिएको भोल्यूम ८५ पृ. १३१ को हड्सन पाण्डुलिपिलाई नेपाली भाषामा गरिएको सरलीकरण र अनुवाद कमल तिगेला, भरत तुङघङ र भैरव आङ्लाले ‘गोर्खा–लिम्बू युद्ध’ (२०६९:१६) पढ्न पाइन्छ। जो यसप्रकार छः
बाहुन क्षेत्री राजा निस्किए पछि लेखे है। पश्चिमबाट आयो। नेपालमा नेवार मास्यो। त्यसपछि तामाकोशीमा देखियो। खम्बुवानमा वलिङहाङ उलिहाङ बस्दथ्यो। गोर्खासँग लडे। गोर्खाले धेरै मानिस मारिदियो। अरुनपारी पुत्लुङहाङ (याख्खा) यत्हाङ मागे पनि गुहार सघाएनन्। सात वर्ष पुग्दा खम्बुवान सिध्यायो। गोर्खाले। सात वर्ष लडाइ लड्दा स-साना बालबालिकालाई ओखलीमा हाली कुटेर मारे। गर्भवतिहरू छुटाए। छोरा पेटमा भएकोलाई डल्लै निकालेर मारे। गोर्खाले यस्तै गर्यो।
इतिहासकार इमानसिंह चेम्जोङ (२०५९:७७)ले हड्सन पाण्डुलिपिमा उल्लेख भएका खम्बू राजाहरू वलिङहाङ र उलिङहाङ माझकिरातका आपुङ्गी (स्वतन्त्र) राजा रहेको उल्लेख गरेका छन्।
गोरखालीले हमला गर्दा माझकिरातमा कति क्षति भयो भन्नेबारे स्वयम् पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई लेखेको पत्रले पनि स्पष्ट पार्छ। सल्यानी युवराज रणभीम शाह र पृथ्वीनारायणकी छोरी विलासकुमारीबीच वैवाहिक सम्बन्ध स्थापना गर्न विशेष भूमिका खेलेका योगी भगवन्तनाथलाई पृथ्वीनारायण शाहले ठूलो आदरभावले व्यवहार गर्थे। पृथ्वीनारायणले योगी भगवन्तनाथलाई माझकिरात विजयबारे विसं १८३० मा लेखेको पत्रमा ‘...अरुण साँध लाग्यो, हजार वैरी काटिए। सये चार वैरी नदीमा वगी मरे। चौध सय जहान वच्चा पकडिया’ भन्ने परेको छ (योगी नरहरिनाथ (सम्पा.), इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १–२०२२:६)।
उक्त पत्रमा उल्लेख भएको ‘जहान बच्चा’ भनेको महिला तथा बालबालिका हुन्। हड्सन पाण्डुलिपिमा उल्लेख भएको शिशुहरूलाई ओखलमा किचेर मारिएको तथा गर्भवतीको गर्भ तुहाइदिएको भन्ने प्रसङ्ग र पृथ्वीनारायणकै भाकामा १४ सय जहान बच्चा पक्राउ परेको प्रसङ्गले एकआपसमा तादत्म्य राख्छ।
यसअघिका युद्धहरूमा पनि पृथ्वीनारायणले आफ्ना शत्रु पक्षका जहान, बच्चाहरूलाई पक्राउ गरी आफूकहाँ सुम्पिदिन सेनापतिहरूलाई आदेश दिने गरेको प्रसङ्गहरू समेटिएका अन्य पत्रहरू पनि पाइन्छन्। इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ६० (२०४१ माघः३०)मा प्रकाशमा ल्याएको ‘श्री ५ पृथ्वीनारायण शाहले श्रीकृष्ण पाठकलाई लेखेको अप्रकाशित पत्र’ मा यस्तो प्रसङ्ग छ। विसं १८२३ भाद्र वदी रोज ५ मा लेखिएको उक्त पत्रमा ‘आगे श्रीकृष्ण पाठकप्रति. भेमसेन कार्कीको रांगो १ सरकारले लगेथ्यो. त्यसको साटो कमरा कमारी १ बक्स्यौं. तांहा वैरिका जानबच्चा पक्रीकन सौंपिदेउ’ भन्ने उल्लेख छ।
यो पत्रमा मानिसको मूल्य एउटा राँगो बराबर छ। भिमसेन कार्की नामका व्यक्तिको एउटा राँगो चलाउँदा त्यसको सट्टा एक जना कमाराकमारी दिइएको पत्रबाट खुल्छ।
गोरखालीको बन्दूक र खम्बूहरूको धनुकाँड
माझकिरातका रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वको खम्बू सेनाहरू धनुकाँडको साहारामा बन्दूकधारी गोरखालीहरूसँग भिडे। अटल र चतिमले गोरखालीलाई माझकिरातबाट हटाउन खम्बू युवकहरूको सङ्गठन बनाएका थिए। खम्बू युवाहरू धनुकाँड चलाउन कुशल हुन्थे। यिनीहरूका विषमा चोपिएका धनुकाँड खतरनाक हुन्थे। तर‚ बन्दूकको गोलीले जति टाढासम्म मार गर्न सक्थ्यो, उति टाढा धनुकाँडको मार आइपुग्दैनथ्यो। यसकारण गोरखालीको बन्दूक अगाडि खम्बूहरूको धनुकाँडको केही जोर चल्न सकेन (आचार्य, २०६१:४१८)।
हरिनन्द उपाध्ययले माझकिरात मास्न लास बनाएर मुगलानबाट गोप्य रूपमा बन्दूक भित्र्याएको प्रसङ्ग माथि उल्लेख भइसकेको छ। पृथ्वीनारायणले पनि माझकिरातको युद्धमा आफ्ना सेनानायकहरू रामकृष्ण कुँवर र अमरसिंह थापालाई प्रशस्तै बन्दूक र गोलाबारुद पठाएकाे पत्रहरू पढ्न पाइन्छ।
पृथ्वीनारायणले माझकिरातमा युद्ध लडिरहेका रामकृष्ण र अमरसिंहलाई विसं १८३० माघ वदी रोज १ मा लेखेको पत्रमा ‘मझुवा कुलम महादिंगला पौवामा आयाका वैरीलाई काट्यौ. यति षस्या. येति घाइता भया भंने लेषीपठायेछौ वढीया. घडा २१ वारुद र ५ हजार गोली अस्ती अस्ती पठाइदिञाथ्यौं. यस पाला पनी घडा २० वारुद र ६८२५ गोली तोला ४५ इपात गोटा ७५७ पत्थर सये ९ कागज पठायेको छ. बाडीदिनु.’ भन्ने प्रसङ्ग परेको छ (डा. इन्दिरा जोशी, आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान- २०६३:१०८)।
यसअघि पनि अमरसिंह थापा तथा सिवे खत्री, रणसूर विष्ट, दलपति खवास लगायतलाई पृथ्वीनारायणले माझकिरातको युद्धमा घातक हमला गर्न गोलाबारुद पठाएका थिए। उनले विसं १८२९ फागुन सुदी ७ मा लेखेको पत्रमा ‘पूर्व हान्नालाइ मिहिनेत गर्नाका तिमीहरूबाट कसर रहन्याछैन. रामकृष्ण कुवरले लाया अह्रायाको मान्यैछौ. १० घडा बारुद ३ हजार गोली पठायाको छ पुगला’ भन्ने परेको छ (जोशी, २०६३:१०८)।
यी पत्रहरूबाट के स्पष्ट हुन्छ भने गोरखालीले माझकिरातमा हमला गर्दा बन्दूक र गोलाबारुदको प्रशस्तै प्रयोग गरेका थिए। खम्बू युवाहरू धनुकाँड लगायतका परम्परागत हतियार प्रयोग गरेर आफ्नो माटोको रक्षामा जुटेका थिए।
माझकिरातमा सरदार रामकृष्ण कुँवर घुस्दा ब्राह्मण-छेत्री जतिले विरोध नगरी स्वागत जनाएका थिए। रामकृष्णले अनेकन् दिलासा दिई खम्बूहरूलाई पनि गोरखालीतर्फ मिलाउने प्रयत्न गरेका थिए। चौदण्डीको राजधानीबाट यिनीहरू टाढा भएको हुँदा त्यहाँका चौतारा अजित राय (अगमसिंह राय)ले त्यसतर्फको रक्षाका लागि खास केही प्रबन्ध गर्न सकेका थिएनन्। राजा कर्ण सेन माझकिरातको तल्लो भाग मात्र जोगाउने कोशिश गरिरहेका थिए। यस्तो अवस्थामा आफ्नो शक्ति लगाएर माझकिरातका खम्बू युवाहरूलाई एकजुट बनाउँदै रावाखोलामा चतिम राय र पामाखोलामा अटल राय पराक्रमका साथ लडेका थिए। तर‚ गोरखालीका बन्दूक अगाडि खम्बूहरूको धनुकाँडको केही जोड चल्न सकेन। गोरखालीले चिसंखु र रावाघाटका थुमहरूका साथै हलेसी, मझुवा, कुलुङ र दिङ्लामा समेत विसं १८३० को पुसमा अधिकार गरे (आचार्य, २०६१:४१८)।
माझकिरातको युद्धको प्रसङ्ग काजी धौकलसिंह बस्नेतले नारायणहिटी दरबार परिसरमा राखेको विसं १८५० को शिलालेखमा पनि उल्लेख छ। उनले आफ्नो वंशज र माझकिरात हमला गर्न पुगेका आफ्ना भाइ अभिमानसिंह बस्नेतको समेत गुणगान गाउँदै संस्कृत भाषामा लेखिएको शिलालेखमा ‘तत्पश्चाज्जनिरन्वितो गुणगणैः कारुण्यलावण्यभूर्मेधावी ह्याभिमानसिंहसचिवो दाता महाधार्मिकः।। यो भिल्लान् बहलान् हलाहलवलान् भल्लादिभिध्वँसयन् हालामापिवतः किरातमजयद्देशं समस्तं हठात्।।३।।’ भनी उल्लेख गरेका छन् (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, शाहकालको अभिलेख पहिलो भाग- २०३७:२०७–८)।
यसको अर्थ हो, साहिंला भाइ काजी अभिमानसिंह गुणी, दयालु, सुन्दर र बुद्धिमान् पनि थिए। जसले विषालु अस्त्र प्रहार गर्ने, मद खाएर चूर भइरहेका थुप्रै किरातीहरूलाई भाला आदि अस्त्रहरूले ध्वस्त पार्दै सारा किरात प्रदेश बलैले जिते (वज्राचार्य र श्रेष्ठ, २०३७:२१०)
माझकिरात अम्बल गर्न गोरखाली सैन्य रावा, हलेसी, चेस्मे, ठूलो मझुवा, खोटाङ, सिक्तेल, हतुवागढी दख्खल गर्दै खिकामाछा पुग्यो। विसं १८३० मा सिद्धकालीको रमाइलो शिखरमा पुगी गोरखाली फौजले विजयको खुसीयालीमा विशासय भोग बलि चढाई सिद्धकालीमा पूजा गरी तलको ठूलो टारमा भतेर लगाई भोज खाए। ठूलो भोज खाएको हुनाले यस ठाउँको नाम ‘भोजपुर’ रहन पुग्यो (नेपाल, २०५५:२९७)।
माझकिरात मास्न धनको खोलो
त्यहाँका धनाढ्य हरिनन्द पोखरेलसँग प्रशस्तै धनसम्पत्ति थियो। उनले माझकिरात मास्न केही कमी हुन दिएनन्। त्यस वेला गोरखालीहरूको सहयोगका लागि उनले प्रशस्तै धन खर्च गरेका थिए।
माझकिरातमा लड्न आएका रामकृष्ण र अभिमानसिंह गरी दुई समूहका गोरखाली सेनाका लागि हरिनन्द उपाध्यय (पोखरेल)ले धनको खोलो नै बगाएका थिए।
इमानसिंह चेम्जोङ (२०५९:७८–७९)ले प्रकाशित गरेको यस सम्बन्धी दुई पत्र हेर्दा हरिनन्द उपाध्ययले बगाएको धनको खोलोको आँकडा हेर्न सकिन्छ। यी पत्रमध्ये भाद्र सुदी १० मा रामकृष्णले हरिनन्दलाई लेखेको पत्रमा ‘...तिमीले दूधकोशी तारेउ, फौजलाई खर्च बाड्न लियाको पटना रुपैया ३५५८ फौजलाइ बांडिया...’ भन्ने परेको छ।
यस्तै‚ अभिमानसिंह र पारथ भण्डारीले विसं १८३० फागुन सुदीमा लेखेको पत्रमा ‘सरदार रामकृष्णले ली आयाको तमरा रुपैया ३५५८ फौजलाई बाड्दा हामीले लियाको तम्रा पटना रुपैया ७४६६ अघिका पछि जम्मा रुपैया ११०५१ को र नौलखा किरातको डल्लो अर्जी चढाई सारा फौज झिकाय पर्वत्मा दुनिया उपरा किरातीदेखि फोरी हाम्रा मनमा चौदण्डीका मुलुक पहाड मदेश अम्बल गरायाको तम्रो चाकरि रिझ्यो...’ भन्ने परेको छ।
त्यस वेला दुई समूहलाई गरी हरिनन्दले जुन परिमाणको रकम उपलब्ध गराए, त्यो सानो रकम होइन। यसरी धनको खोलो बगाए बापत उनले प्रशस्तै जग्गाजमीन बिर्ता पाउने र बिर्ताको चौधराई गराइने तत्कालै आश्वासन पाएका थिए।
चौदण्डीमा हमला गर्न खटिएका गोरखाली भारदार अभिमानसिंह र पारथले विसं १८३० फागुन सुदी १५ मा अम्बरपुर (सप्तरी)बाट हरिनन्दलाई लेखेको पत्रमा ‘...पाहाड माझीकिरातमा मझुवा थुम १ ढालार मदेश जिल्लै प्रगंना षालिसाका सिर उत्तरको च्युन्या पाहाडका पनि ढला सैं दक्षिण उत्तरका सिमा १ तिर्जुगा नदि से पश्चिम पूर्वको सिमाना १ तिर्जुगा नदिकोसीदोमान सैंसरोसर पश्चिम मौजे कनचनपुर र पुराना गडहीक तंहासे उत्तर दक्षिन सीमा १ कनचनपुर र पुराना गढी सैं सरासर उत्तर पौडा नदिका सिर चुन्या पाहाडका पश्चिमका सीमा १ ताहा सैं पूर्व यति ४ किल्ला भित्र को वहेरिनि अवाद समेत ससिम ...कुस विर्ता सर्वांक माफवितलव र जिलै मजकुर मध्ये प्रगंना पकरिको चौधराई गराइ दिउला’ भन्ने उल्लेख छ (आचार्य, २०६१:४२९–३०)।
सीताराम पोखरेल र बलराम पोखरेल (२०७७:४४) अनुसार‚ पछि उनका सन्तान हरिकृष्णले पनि सरकारबाट प्रशस्तै जग्गा जमीन बिर्ता पाएका थिए। उनीहरूले माझकिरातको रुम्जाटार, सहेले, बुइपा, खोटाङ, कुभिण्डे, धारापानी, आम्बोटे, धौलाङ, रुभुङ, छप्की, मन्सापुर, बलुवा, झनकट्टी, दफेनकट्टी, बेलही, पिपराहा, मनकौली आदि ठाउँमा ५४ सय बिघा जग्गा बिर्ता पाएका थिए।
हरिनन्द कसरी धनी भए? यस प्रश्नको उत्तर स्वयम् पोखरेल बन्धुहरूबाट खोजौं। पोखरेलद्वय (२०७७: ४५७–५८) अनुसार, हरिनन्द बनारसमा पढेर घर फर्कंदा हाल भारतको पूर्णियामा पर्ने पौवाखालमा आइपुगेका थिए। पौवाखाल विराट राजाको दरबार नजिकैको ठाउँ हुन सक्छ। पौवाखालका राजाको पदवी पाएका एक धनी देवकोटासँग उनको भेट भएको थियो। देवकोटाले उनको विद्वत्ताबाट प्रभावित भएर आफ्नी छोरीको उनीसँग बिहे गरिदिने भए। देवकोटाका पुरोहित सापकोटाले पनि उनलाई छोरी दिने भए। देवकोटाकी छोरी वृन्दावती र सापकोटाकी छोरी दलावतीसँग उनको विवाह भयो। उनीहरूमध्ये देवकोटाले आफ्ना ज्वाइँलाई दाइजोस्वरूप तीन लाख नगद, छोरीलाई मुगाको आरी, मोतीका हारी, सुनका झारी, चाँदीका पटना ३६ हजार दिए। यस्तै‚ तीन वटा हात्ती पनि दाइजो दिए। उनीहरूको सेवा गर्न सेवकसेविकाको हेर्नलायक लावालस्कर पनि खटाइएको थियो।
ती देवकोटा ब्राह्मण यति धनी हुनुको कारण पनि पोखरेलद्वय (२०७७:४५९)ले खुलाएका छन्। उनीहरूका अनुसार, देवकोटा ब्राह्मण हरिहरको दर्शन गरेर कोशीमा स्नान गरी पौवाखालमा बास बसेको ठाउँमा माटो खोस्रँदा एउटा इनारको मुख र भाँडाकुडा भेटे। त्यहाँ लाखौं करोडौंको सुनका असर्फी, हीरा, मोती, मुगा आदि प्राप्त भए। उनी त्यहीं घर बनाएर बसे। त्यो ठाउँमा विराट राजाको सम्पत्ति गाडेर राखेको अनुमान रहेको छ।
यसरी भेटिएको गाडधनबाट देवकोटा धनी भए। देवकोटाले हरिनन्द पोखरेललाई ज्वाइँ तुल्याएर प्रशस्त धनसम्पत्ति दाइजो दिए। त्यही धनसम्पत्तिको केही अंशबाट माझकिरात मास्न आएका गोरखालीलाई पाल्ने-पोस्ने काम गरे। यसरी माझकिरात मासे बापत हरिनन्द र उनका सन्तानले राज्यबाट प्रशस्तै जग्गा बिर्ता पाए। आज पनि खार्पाली पोखरेलहरू राज्यका विभिन्न संयन्त्र र त्यसमा पनि कर्मचारीतन्त्रमा उल्लेख्य सङ्ख्यामा पहुँच राख्ने ठाउँमा छन्।