कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग!
पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नुअघि तामाङहरूको बसोबास भएको कान्तिपुर अधीनस्थ नुवाकोट र तिमाल क्षेत्र विजय गरेका थिए। पछि, १८२२ चैतमा कीर्तिपुर जितेपछि त्यहाँका नेवारको नाक र ओठ काट्न तामाङहरूलाई प्रयोग गरिएको लिखत फेला परेको छ।
सन्धि–सम्झौता अनुसारको वार्षिक हर्जाना रकम तिर्न भोटले आलटाल गरेपछि नेपाल–भोट युद्ध छेडियो। नेपाली सेनाले भोटमा पुगी त्यहाँका गुम्बामा लुट मच्चाएपछि चीनसमेत नेपालसँग चिढियो। चीनले भोटको साथ दियो। भोट र चीनले नेपाली सेनालाई दपेट्दै ल्याउँदा उनीहरूको संयुक्त फौज नुवाकोटको बेत्रावतीसम्म आइपुगेको थियो।
वि.सं. १८४९ मा भएको यो युद्धमा बहादुर शाहले अंग्रेजसँग गुहार मागेका थिए। त्यसैबेला अंग्रेजका दूत बनेर विलियम कर्कप्याट्रिक आएका थिए। तर, नेपाल–चीनबीच सम्झौता भई युद्ध सकिइसकेको थियो। उनी करीब एक महीना बसेर फिर्ता भएका थिए। (नेपाल, ज्ञानमणि ‘नेपालको महाभारत’–२०५२ः५१)
कर्कप्याट्रिकले नेपाल बसाइमा एक पुस्तक ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाउल’ लेख्न भ्याए। यो पुस्तकले नेपालको इतिहासका कैयौँ पाटाहरू उजागर गरेको छ। यसलाई नेपालको इतिहासको एक स्रोत–सामग्री मान्न सकिन्छ। (गौतम, डा. राजेश, ‘इतिहास लेखनको इतिहास’–२०५१ः३४०)
नेपाल आउँदै गर्दा कर्कप्याट्रिकले केही नेपाली अनुहार अनौठो किसिमका देखे। उनीहरू कर्कप्याट्रिकको भारी बोक्न पुगेका थिए। ती भरियाको नाक थिएन। यसबारे सोधखोज गर्दा कीर्तिपुर शहरलाई गोरखालीहरूले विजय हासिल गरिसकेपछि उनीहरूको नाक काटिदिएको जवाफ कर्कप्याट्रिकले पाए।
उनले आफ्नो पुस्तकमा कीर्तिपुर शहरमाथि विजय हासिल गर्न गोरखालीले धेरै श्रम, सीप, धन र जन खर्च गर्नुपरेको उल्लेख गरेका छन्। साथै, धेरै कष्ट पनि सहनुपरेकाले त्यसको प्रतिशोधस्वरूप त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले नाक काटिदिएको वर्णन कर्कप्याट्रिकले गरेका छन्। (कर्कप्याट्रिक, विलियम, ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाउल’–सन् १८११ः१६४)
कीर्तिपुरेहरू आत्मसमर्पण गर्न बाध्य
पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि जित हासिल गर्न नौ वर्ष लागेको थियो। १८१४ जेठ १९ गते कीर्तिपुरमाथि पहिलो पटक आक्रमण गर्दा उनले आफ्ना एक सुयोग्य सेनापति कालु पाँडेलाई गुमाएका थिए।
गोरखालीले १८२१ असोज ४ गते कीर्तिपुरमा दोस्रो आक्रमण गर्दा पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको आँखा फुटेको थियो। अर्का भाइ दलजित शाह सख्त घाइते भएका थिए। अरू कैयौं भारदार र सैनिक समेत हताहत हुँदा बचेका सेनापति र सैनिक हार मानेर दहचोक फर्केका थिए।
गोरखालीले १८२१ असोज ४ गते कीर्तिपुरमा दोस्रो आक्रमण गर्दा पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको आँखा फुटेको थियो। अर्का भाइ दलजित शाह सख्त घाइते भएका थिए। अरू कैयौं भारदार र सैनिक समेत हताहत हुँदा बचेका सेनापति र सैनिक हार मानेर दहचोक फर्केका थिए। (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ २०६१ः३०३)
कीर्तिपुर जित्न पृथ्वीनारायण शाहलाई बलले मात्र साथ दिएन। त्यसैले अनेक दाउपेच लगाउने क्रममा लामो समयसम्म नाकाबन्दी गरेका थिए। तेस्रो पटकको प्रयासमा १८२२ चैत ३ गते गोरखालीले कीर्तिपुर जिते। (पन्त, दिनेशराज, नागरिकन्यूज डट कम–२०७६ पुस २६)
युद्ध जित्न गोरखालीले नाकाबन्दी लगायत अनेक दाउपेच लगाएका थिए। उनीहरूले भगिडु ठानामा प्रवेश गरी दुई जना काजीका सरदार छोराहरूलाई अपहरण गरी नुवाकोट पुर्याएका थिए। ती दुवैलाई तादी नदीमा डुबाएर सास्ती दिँदा एक जना सरदारको मृत्यु भयो।
काजी धनवन्तका छोरा वीरनरसिंहलाई भने नेल ठोकेर पहराका साथ त्रिशूलीको साँघुमा राखियो। एक दिन वीरनरसिंहले साँघुबाट फाल हाने। उनलाई पहरा बसिरहेका गोरखालीले बचाए।
गोरखालीहरूबाट आफ्ना छोराको अपहरण भएको कारण कीर्तिपुरका काजी धनवन्तको आत्मबल कमजोर भइसकेको बुझिन्छ। वीरनरसिंहले पनि पृथ्वीनारायण शाहको दबाबमा बारम्बार चिठ्ठी पठाएका कारण धनवन्तसहितका कीर्तिपुरेहरू गोरखालीसमक्ष आत्मसमर्पण गर्न बाध्य भए।
पृथ्वीनारायण शाहले वीरनरसिंहलाई ‘तेरा बाबुलाई झिकाउन म चिठ्ठी लेख्छु, तँ पनि चिठ्ठी पठाउँदै गर्। तेरा बाबु हाम्रा हजुरमा हाजीर भएपछि तेरा बाबु र तँलाई बक्सिस दिउँला’ भनेपछि वीरनरसिंहले धनवन्तलाई गोरखालीको शरण आउन बारम्बार चिठ्ठी लेखे। त्यसपछि धनवन्त गोरखाली राजाको शरणमा परे। (‘प्राचीन नेपाल’ सङ्ख्या २२–२०२९ माघः१८)
यसकारण गोरखालीहरूबाट आफ्ना छोराको अपहरण भएको कारण कीर्तिपुरका काजी धनवन्तको आत्मबल कमजोर भइसकेको बुझिन्छ। वीरनरसिंहले पनि पृथ्वीनारायण शाहको दबाबमा बारम्बार चिठी पठाएका कारण धनवन्तसहितका कीर्तिपुरेहरू गोरखालीसमक्ष आत्मसमर्पण गर्न बाध्य भए।
कष्टकर नाकाबन्दी र युद्धबाट वाक्क भएका कीर्तिपुरेहरू पनि शान्ति चाहन्थे। त्यसैले उनीहरूले गोपुरको ढोका खोली गोरखाली सेनालाई प्रवेश दिएका थिए। तर, केही कीर्तिपुरेले ८/१० जना गोरखाली सैनिकलाई मारिदिए। पृथ्वीनारायण शाहले बदला लिन ती कीर्तिपुरेको नाक, कान मात्र काटेर छाडिदिए। (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–२०३८ भदौः१३)
आत्मसमर्पण गरेर सुरक्षित अवतरण गर्न चाहने कीर्तिपुरेहरूको आशामा गोरखालीहरूले तुषारापात गरिदिए। कीर्तिपुरमा गोरखालीले अधिकार गरेको २५ वर्षपछि नेपाल आएका कर्कप्याट्रिकले नाक काटिएका कीर्तिपुरेहरूलाई आफ्नै भरियाका रूपमा भेटाए।
विभिन्न वंशावलीमा पनि कीर्तिपुरेहरूको नाक काटिएको ऐतिहासिक तथ्य पाइन्छ। भाषा वंशावलीमा शूरप्रताप शाहको आँखा फुटाइएको प्रतिशोधमा हुलमा लुकेर जाने वा भागेकाबाहेक अरू कीर्तिपुरे पुरुषको नाक काटिएको उल्लेख छ। राजभोग वंशावलीअनुसार १२ वर्षमाथिका सबैको नाक काटिएको थियो। गुरु वंशावलीमा ८६५ जनाको नाक काटिएको उल्लेख छ। (श्रेष्ठ शुक्रसागर, कीर्तिपुरको सांस्कृतिक तथा पुरातात्विक इतिहास (२०५७) उहीः२०–२४)
त्यो बेला एक हजार पाँच सयदेखि दुई हजार मात्रै थियो, कीर्तिपुरको जनसंख्या। तीमध्ये एक हजारजति मात्रै काम गर्न सक्नेहरू थिए। (श्रेष्ठ, उहीः१९)
कीर्तिपुरेहरूको नाक काटिएको घटना त्यतिखेर काठमाडौं उपत्यकामा इसाई धर्मको प्रचार गरिरहेका पादरीहरूले पनि देखेका थिए। यसबारे पादरीहरूले लेख लेखी प्रचार पनि गरेका थिए। यस्तो प्रचार गर्नेमा गुसिपी एक थिए।
१२ वर्षदेखि माथिकाहरूको नाक काटिएको समयलाई मध्यनजर गर्दा उनीहरूको नाक काटिएको २५ वर्षपछि कर्कप्याट्रिकले भेटेका थिए। त्यसैले भरिया बनेर जीविका चलाउन सक्ने थिए।
कीर्तिपुरेहरूको नाक काटिएको घटना त्यतिखेर काठमाडौं उपत्यकामा इसाई धर्मको प्रचार गरिरहेका पादरीहरूले पनि देखेका थिए। यसबारे पादरीहरूले लेख लेखी प्रचार पनि गरेका थिए। यस्तो प्रचार गर्नेमा गुसिपी एक थिए।
गुसिपीको लेख अनुसार, शूरप्रताप शाहले कीर्तिपुरका मुख्य मान्छेहरूको ज्यानै लिएका थिए। अरूको नाक, ओठ काटे। केवल आमाको दूध खाने (बालक)मात्र बचे। काटेका ओठ–नाक सबै जम्मा गरी राख्न आदेश भयो, जसकारण कति रैती रहेछन् भनी गन्न सकियोस्। अनि देशको नाम नै ‘नष्कटापुर’ राखे। केवल मुखले बाजा बजाउने मात्र बच्न सके।
फादर माइकल एन्जेलोले कीर्तिपुरका जनताका लागि दयाको भीख त मागिदिएका थिए, तर पाएनन्। धेरैले त्यस यातनाका कारण आत्महत्या पनि गरे। कतिपय औषधिमूलो खोज्दै आफूहरू भए ठाउँमा आएको र नाक काटिएका त्यतिधेरै मानिस देख्दा ‘मुर्दा त होइनन्?’ भन्नेसम्म लागेको गुसिपीले ‘जर्नल अफ् एसियाटिक सोसाइटी’ भोलम २, पृ.३१९ मा उल्लेख गरेका छन्। (श्रेष्ठ, उहीः२१–२२)
गोरखालीले कीर्तिपुरेहरूको नाक र ओठ काटेको विषयमा पृथ्वीनारायण शाहका समयका दरबारिया कवि ललितावल्लभले रचना गरेको ‘पृथ्वीन्द्रवर्णोदय’ काव्यमा पनि उल्लेख छ। पृथ्वीनारायण शाहले केही कीर्तिपुरेको नाक काटेको उक्त काव्यमा प्रष्टसँग लेखिएको छ। १८२२ चैत ३ गते कीर्तिपुर जितेका पृथ्वीनारायणले १८२२ कै चैत २७ गते केही कीर्तिपुरेको नाक काटे भनी तात्कालिक तिथ्यावलीमा प्रष्टसँग लेखिएको छ। (पन्त, दिनेशराज, ‘नागरिक दैनिक’ अक्षर–२०७६ पुस २६ःख)
कवि ललितावल्लभले लेखेको कविता यस्तो छः
सर्वान् दुर्गवरान् समूपतिवरो जित्वाचतुर्दिकास्थिलान्।
रम्यं कीर्तिपुरोति विश्रृतपुरं जगाह भरिश्रवा।।
हत्वा शत्रु मनाश्विन: कति पुनः प्रच्छिद्य नासादिकं।
कृत्वा कांश्च विरूपिणः कुपुरुषान् कीर्ति स्वरूपं द्विष।। (श्रेष्ठ, उहीः२१)
वि.सं. १८२७ मा कवि ललितावल्लभले ‘पृथ्वीन्द्रवर्णोदय’ काव्यमा उल्लेख गरेका संस्कृत पद्यलाई नयराज पन्त र अरूले ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ (२०२५:४४५) मा नेपालीमा उल्था गर्दा ‘चारै दिशामा रहेका असल असल किल्ला फोडी, बलियो मन भएका केही शत्रु मारी, केहीका नाक आदि काटी, शत्रुका केही घटिया मानिसलाई विरूप पारी राजाहरूमा श्रेष्ठ, धेरै कीर्ति भएका उहाँबाट शत्रुको कीर्तिस्वरूप भएको, कीर्तिपुर भनी प्रख्यात, राम्रो शहर लिइबक्स्यो’ भनी लेखेका छन्। (पन्त, महेशराज, ‘राजधानी दैनिक’, वर्ष १३ अंक ७५–२०७० भदौ २ः७)
‘भोत्याहरूले नाष ओठ कातिदियो’
कीर्तिपुरेको नाक–ओठ काटिएको घटना स्पष्ट रूपमा खुल्ने एउटा पुरानो लिखत फेला परेको छ। कीर्तिपुरमा गोरखालीहरूले विजय हासिल गरिसकेपछिका केही नयाँ तथ्य उक्त लिखतमा पाइएको छ। लिखतमा उल्लेख भएको विवरण यस्तो छः
अघिका किर्तिपुर काल रात्रिमा सुर प्रताप साह कन यकाक्षि गरिदियाको रिसले नपाल सम्वत ८९६ साल अक चत्र सुक्त त्रः नया।। ।। वारका दिन किर्तिपुर प्रवेश गरि वाहालि चलाइ भालिका दिनमा बाह्र १२ वर्ष देषि उभोका प्रजाहरू सबैले राजाका सलाम गर्नु आउनु भनि छलकाल गरि बोलाइ कोतमा थुनि —— दिनपछि सबै प्रजाहरूका नाष कातिदियो र नाष तौलाइ हेर्दा बाह्र १२ धार्नी १ सेर ६ तोला छ। प्रजाहरू ज्मा आठ सय पयसथि ८६५ जना फेरी इन।। दिनपछि नाष काटन्या भोत्याहरूलाई नाष मात्र कात भन्याका ओठ स्मेत कातिदियो भनि भोत्याहरू सबै ज्मा जमलोक पथाइयाफ्जुन किर्तिपुरका प्रजाहरू साथ ७ वर्ष स्म गोर्षालिकन हतांइ लदाञि गरि थामिराष्यार्या. यस्ता विर सिपाहिलाइ नाष काति षराष् गरिदिया।। ।। किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरूका घर सबै आगो लाई नास गरिदिया।। ।। यस्ता किर्तिपुरका प्रजाहरूका नाष कातनलाईः ६ महिनाअघि चोवाहलका गणेशका नाष फुतिआया।
यो टिपोट इतिहासकार भागवत नेवार (भागवतनरसिंह प्रधान)बाट यो लेखकले प्राप्त गरेको हो। यस लिखतबाट विजित भइसकेका कीर्तिपुरेको नाक र ओठ काटिसकेपछि उनीहरूको बस्तीमा आगो लगाइएको स्पष्ट हुन्छ। त्यस्तै, कीर्तिपुरेको नाक र ओठ काट्दा तामाङ (भोट्या) हरूको प्रयोग गरिएको तथ्य पनि खुल्छ। लिखतले खुलाएका यी दुई वटा नयाँ तथ्य हुन्।
यो कागज कुनै नेवारले लेखेको हुँदा नेवारी जिब्रोको उच्चारणअनुसार ‘भोट्या’ भनी लेख्दा भोत्या भनेर लेखिएको छ। कुनै समय तामाङहरूलाई ‘मुर्मी भोट्या’ भनी सम्बोधन गरिएको इतिहास पाइन्छ। यसमा ‘नाक काट्ने भोट्याहरूलाई नाक मात्र काट भनेको ओठसमेत काटिदियो’ भन्ने उल्लेख छ।
पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार अभियानअन्तर्गत सबैभन्दा पहिले १८०१ असोजमा कान्तिपुर अधीनस्थ नुवाकोट हात पारे। त्यसपछि १८१९ असोजमा तिमाल क्षेत्र जिते। यी तामाङको बाक्लो आवादी भएका क्षेत्र हुन्। पछि, कीर्तिपुर विजय गर्न उनीहरूलाई पनि प्रयोग गरिएको र विजयपछि कीर्तिपुरेको नाक र ओठ काट्न उनीहरूलाई नै प्रयोग गरिएको देखिन्छ।
पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक मात्र काट्न आदेश दिए पनि उनीहरुले ओठसमेत काटिदिएका थिए। त्यसैले गोरखाली सेनाले ती तामाङहरुलाई पनि मारिदिएका थिए।