राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको निर्वाचन आचारसंहिता लागू
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
फागुन २५ मा हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ देखि चैत ५ गतेसम्म आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ‚ ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।’
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता भइसकेको छ। आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट नेता सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्। उपराष्ट्रपतिको उम्मेदवार भने राष्ट्रपति निर्वाचनपछि टुङ्गो लगाउने जनाइएको छ।
निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री; प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री; संघ, प्रदेश र स्थानीय तहका कर्मचारी; सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी र सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारीलाई लाग्नेछ।
यस्तै‚ राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ संगठन; उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि; राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि; सार्वजनिक पद धारण गरेको व्यक्ति; सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदाता निर्वाचन आचारसंहिता लागू हुनेछ।
निर्वाचन आयोगले निर्वाचनको निष्पक्षताका लागि आचारसंहिता पालना गर्ने आग्रह गरेको छ।