यसरी हुँदै छ राष्ट्रपतिको निर्वाचन
राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ। शनिबार (फागुन १३) राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
त्यस्तै, फागुन १३ गते अपराह्न ४ बजेभित्र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।
मतदान सम्पन्न भए लगत्तै मतगणना प्रारम्भ हुने तथा साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ। राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३१ र सातै प्रदेशका प्रदेश सभा सदस्य ५५० गरी कुल ८८१ कायम छ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। संघीय संसद् र प्रदेश सभा सदस्यको मतभार पनि फरक फरक हुनेछ।
संविधानको धारा ६२ (१) मा संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यको मतभार संघीय कानून बमोजिम फरक फरक हुने उल्लेख छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।
कुल जनसंख्यालाई संघीय संसद्का सदस्यको कुल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर संघीय संसद्का सदस्यको मतभार निकालिन्छ। कुल जनसंख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार)लाई प्रदेश सभा सदस्यको कुल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेश सभाका सदस्यको मतभार निकालिन्छ।
राष्ट्रपतिको उम्मेदवार बन्न पाँच–पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ। निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ।
त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ। त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ।
बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ। त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ। संघीय संसद्का सदस्यको कुल मतभार २६ हजार १४९ र प्रदेश सभा सदस्यको कुल मतभार २६ हजार ४०० हुन आउँछ।
संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।
संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानूनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन्। राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ। राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ।
नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन २०६५ साउन ४ गते भएको थियो। उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका ५९४ सदस्य मतदाता भए पनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण ५७८ सदस्यले मात्र मतदान गरेका थिए। उक्त निर्वाचनमा डा. रामवरण यादवले २८३ र रामराजाप्रसाद सिंहले २७० मत मत प्राप्त गरेका थिए।
प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा डा. यादवले ३०८ मत र सिंहले २८२ मत प्राप्त गरेका थिए। डा. यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए।
राष्ट्रपतिको २०७४ सालमा भएको निर्वाचनमा संघीय संसद्का ३२६ र प्रदेश सभा सदस्य ५३६ जनाले मतदान गरेका थिए। निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेका थिए। पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्।- रासस