'गोरखाका मतदाताले पुष्पकमल दाहाललाई राजनीतिबाट विश्राम लिनुस् भनेर पठाउँछन्'
दाहालले 'जसरी' पनि जित्छु भन्नुको मतलब बूथ कब्जा गरेर, सबै भोट आफैंलाई हालेर भन्न खोज्नुभएको होला। म चुनौती दिन चाहन्छु- छिस्रिक्क केही भयो भने हामी प्रतिकार गर्छौं।
२३ वर्षको उमेरमा साझा पार्टीबाट राजनीतिमा होमिएका अब्दुस सलिम मियाँ, नेकपा (एमाले)बाट गोर्खा २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्। उनका प्रतिस्पर्धी छन्, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल। मंसीर ४ गतेको निर्वाचन र आगामी राजनीतिबारे हिमालखबरको ‘उम्मेदवार संवाद’ स्तम्भका लागि सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः
यहाँका प्रतिस्पर्धी पुष्पकमल दाहालले त गोरखा–२ को चुनाव जित्न अहिलेसम्मकै सजिलो भनेका छन् नि। यसको अर्थ तपाईं हार्ने चुनाव लड्दै हुनुहुन्छ, होइन?
काठमाडौं–१० मा पुष्पकमल दाहाललाई कांग्रेसका युवा नेताले हराइदिएको धेरै भएको छैन। यो पटक गोरखा–२ मा उहाँलाई गोर्खाली युवकले हराइदिन सक्छ।
अहिले मानिसहरूले दाहाल जसरी पनि जित्छन् भनेको सुनिन्छ। तर, उहाँले लोकप्रिय मत ल्याएर जित्छन् भन्ने एक जना पनि भेटेको छैन। 'जसरी' पनि जित्छु भन्नुको मतलब बूथ कब्जा गरेर, सबै भोट आफैंलाई हालेर भन्न खोज्नुभएको होला। अथवा भोट जसलाई जसरी खसे पनि मतपेटिका साटेर भए पनि जित्छु भन्नुभएको होला। म चुनौती दिन चाहन्छु- छिस्रिक्क केही भयो भने हामी प्रतिकार गर्छौं। त्यसाे गरे पुन: चुनाव हुन्छ। यो पटक उहाँलाई पहिलाको जस्तो 'जसरी पनि' जित्न दिन्नौं।
दाहालजी गोरखामा जन्मिए, हुर्केको पनि होइन। न त गोरखाको विकासमा उहाँको योगदान छ। न त हिजोको दिनमा गोरखालाई कुनै गुन लगाउनु भएको थियो। गोरखा उहाँको पर्यटकीय राजनीति गर्ने ठाउँ मात्रै हो। पाँच वर्षपछि फेरि भागिहाल्नुहुन्छ। उहाँ दोहोरिएको ठाउँमा जितेको रेकर्ड नै छैन। कमजोर, लाचार र देशभरिबाट लखेटिएको मानिस मसँग प्रतिस्पर्धा गर्न आउनुभएको हो। उहाँले जसरी पनि जित्छु भन्ने भाष्य निर्माणको अर्थ बुझ्न जरुरी छ।
संक्रमणकालीन न्याय टुङ्गोमा पुगेको छैन्। कानूनी राज्य हुँदो हो त उहाँ उम्मेदवार हुनलायक पनि होइन। उहाँमाथि लागेका चार्जहरू निरूपण नभएकाले उहाँ प्रतिस्पर्धाकै लागि अयोग्य हो। उहाँले जुन योजना सहित आफूले चुनाव जित्छु भन्ने ठान्नुभएको छ, त्यो गोरखा कार्यान्वयन हुन्न। किनकि, गोरखा न्याय दिने ठाउँ हो। गोरखामा अब्दुस मियाँमाथि अन्याय हुँदैन। यो पटक गोरखाका जनताले दाहाललाई तिमी राजनीतिबाट विश्राम लिऊ भनेर पठाउँछन्।
दाहालले चुनाव जित्ने एउटा पनि आधार छैन भन्नुभयो। गत स्थानीय निर्वाचनको मत विश्लेषण गर्दा माहोल त दाहालकै पक्षमा देखिन्छ नि।
गोरखामा त उहाँ धेरै पछाडि देखिनुहन्छ। हिजो बाबुराम भट्टराई गोरखाको प्रतिनिधि हो। भट्टराई स्वयंले माओवादी ठीक भएन र गलत व्यक्ति पुष्पकमल दाहाललाई साथ दिएछु भनेर माओवादी छाड्नुभएको हो।
स्थानीय निर्वाचनको प्रतिनिधि गोरखाली नै भएको कारणले गर्दा गोरखाका जनताले जिताएका हुन्। तर, दाहाल 'टुरिस्ट' उम्मेदवार भएकाले गोरखालीले मत हाल्दैनन्। यो पटक उहाँले यहाँबाट जित्नुहुन्छ भन्ने कुनै अङ्कगणितले प्रमाणित हुँदैन।
व्यक्ति जहाँको भए पनि पार्टीको संगठन, वैचारिक आस्था र कार्यकर्ताको सहयोगले चुनाव जित्ने हैन र?
माओवादीका सबै कार्यकर्ताले भोट हाल्दा पनि उहाँले कसरी जित्नुहुन्छ र? किनकि, कांग्रेसका कार्यकर्ता त उहाँलाई भोट हाल्दैनन्। गठबन्धन त शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच भएको हो। गोरखाका जनताले त्यो गठबन्धन मान्दैनन्।
गोरखामा कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकले दाहाललाई मत हाल्दैनन् भन्ने आधार के हो?
मैले गोरखाका विभिन्न ठाउँमा गएर माहोल बुझेको छु। मेरो चुनावी अभियानमा गोरखाली जनताबाट जुन किसिमको सहयोग र सद्भाव छ, त्यो हेर्दा धेरै कुरा बुझ्न सकिन्छ।
दाहालसँग हार्ने निश्चित भए पनि चुनाव लडेर चर्चित हुन खोजेको र एमालेले पनि तपाईंलाई प्रयोग मात्रै गरेको भन्ने टीकाटिप्पणीबारे के भन्नुहुन्छ?
उम्मेदवारी दर्ताअघि पनि कम चर्चित मान्छे होइन। चर्चाको कुनै लोभ छैन। चर्चाका लागि चुनावमा उठ्यो भन्ने आरोप किन पनि गलत छ भने म स्वतन्त्र उम्मेदवार नभएर देशको प्रमुख राजनीतिक दलको उम्मेदवार हुँ। एमालेले प्रयोग गरेको होइन, मेरो क्षमता हेरेर विश्वास गरेको हो। यदि म योग्य थिइनँ भने एमालेले मेरो चर्चित हुने उद्देश्य पूरा गर्न टिकट नै दिंदैनथ्यो। किनभने, कुनै पनि पार्टीले कसैको चर्चित हुने रहर पूरा गर्न आफ्नो सीट गुमाउन चाहँदैन। एमालेले यो ठाउँमा मलाई बलियो र योग्य देखेर नै टिकट दिएको हो। खासमा यो एमालेले युवा पुस्तामाथि गरेको विश्वास हो।
यहाँले चुनाव जित्ने आधार चाहिं के हो?
म क्षमतावान् युवा जो गोरखामा जन्मिए, हुर्किएँ। अबको २५ वर्ष गोर्खाको प्रतिनिधि बनेर सेवा गर्छु भनेर प्रतिबद्धता गरेको छु। मेरो प्रतिस्पर्धीको उमेर, इतिहास र चरित्रका आधारमा पनि गोरखाली जनताले उहाँलाई विश्वास गर्दैनन्। किनकि, उहाँले यसअघि जितेको ठाउँमा केही नगरेको कारण हार्ने डरले यहाँ आउनुभएको जनताले बुझेका छन्। उहाँले जितेपछि यो ठाउँका लागि केही गर्नुहुन्न भन्ने आम बुझाइ पनि मेरो जितको आधार हो। म त गोरखाको इतिहास, वर्तमान र भविष्य हुँ। किनकि, गोरखाको भूगोल, समाज र यहाँका मानिसका समस्यासँग परिचित छु, त्यही नै मेरो जितको आधार हो।
चुनाव प्रचारमा के कस्ता अजेन्डा लिएर गइरहनुभएको छ?
प्रतिनिधि सभामा युवाहरू पुग्न सकेका छैनन्। म सबैभन्दा कम उमेरको युवा सांसदका रूपमा गोरखालाई प्रतिनिधित्व गर्न चाहन्छु। मेरा अधिकांश अजेन्डा युवालक्षित हुन्छन्। पछिल्लो पाँच वर्षदेखि मैले गरिरहेको राजनीति 'सेन्टर लेफ्ट पोलिटिक्स' हो। कल्याणकारी राज्य स्थापना गर्ने उद्देश्यले राजनीतिमा होमिएको हुँ। गुणस्तरीय र विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षामा पहुँच बढाउने मेरो प्रमुख अजेन्डा हो।
त्यसै गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचमा पुर्याउने, सार्वजनिक यातायातको विस्तार मेरो अर्को महत्त्वपूर्ण अजेन्डा हो। युवाहरूलाई 'पार्टटाइम' रोजगारीको आवश्यकता छ। विद्यार्थीले विश्वविद्यालय पढ्दै जागीर खाएर त्यहींबाट आफ्नो खर्च धान्न सक्ने वातावरण निर्माण गर्ने पनि मेरो अजेन्डामा समावेश छ।
हामी गरीबी निवारणको कुरा गर्छौं। तर, नेपालको गरीबी कहिल्यै घटेन। यसको समाधान यूबीआई (युनिभर्सल बेसिक इनकम) हो। यूबीआईमा गरीबीको रेखामुनि रहेका निश्चित मानिस पहिचान गरेर उनीहरूलाई राज्यले नै आधारभूत जीवनयापनको रकम दिन्छ। विभिन्न अध्ययनहरूले के देखाइरहेका छन् भने नेपालमा गरीबीको रेखामुनि रहेकालाई सरकारले यूबीआई दिन थाल्यो भने पाँच वर्षमा त्यो समूहको गरीबी उन्मूलन भएर मध्यम वर्गमा आइपुग्छ। म संसद्मा पुगें भने देशको गरीबी निवारण गर्न यो नीति ल्याउन लबिइङ' गर्नेछु।
हामीकहाँ नयाँ उद्यमीलाई सहयोग गर्न 'स्टार्टअप पोलिसी' छैन। जबकि, अन्य देशमा यस्तो नीति छ। जस्तै- सिंगापुरको 'स्टार्टअप पोलिसी' हेर्ने हो भने त्यहाँ पाँच वर्षसम्म नयाँ उद्यमीले कर तिर्नु पर्दैन। त्यहाँ सहज रूपमा व्यवसाय दर्ता हुन्छ। नेपालमा पनि स्टार्टअप शुरू गर्न 'वान डोर पोलिसी' ल्याउन जरुरी छ। म 'स्टार्ट अप पोलिसी' का लागि पनि 'लबिइङ' गर्नेछु। त्यसले युवाहरूलाई उद्यममा आकर्षित गर्नेछ।
गोरखाको एउटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छु भनेर उम्मेदवारी दिएको व्यक्तिले यतिका अजेन्डा पूरा गर्ने आधार के छन्?
मैले जित्दा मैले मात्र होइन, पार्टीले जित्ने हो। पार्टीको उद्देश्य धेरैभन्दा धेरै सीट जितेर सरकारको नेतृत्वमा जाने छ। पार्टी सरकारमा गइसकेपछि अब्दुस मियाँ एक्लैले यी कामहरू गर्ने होइन। म जस्ता सांसदले आफ्नो अजेन्डा कार्यान्वयन गर्न नयाँ नीति आवश्यक छ भने त्यो बनाउन लाग्ने हो। समय अनुकूल नयाँ नीति बनाएर कार्यान्वयन गर्न पार्टी र सरकारलाई सहयोग गर्ने हो। सांसद कानून निर्माता हो। जनतालाई सहज र फाइदा हुने कानून निर्माणका लागि सरकार या प्रतिपक्ष जहाँ भए पनि 'लबिइङ' गर्न छाड्दिनँ।
तपाईं जुन पार्टीको उम्मेदवार हुनुहुन्छ त्यही पार्टीका कतिपय नेताहरूमाथि नै स्वास्थ्य र शिक्षालाई व्यापारीकरणमा लगेको आरोप छ। सार्वजनिक स्वास्थ्य र शिक्षा सुधार गर्ने अजेन्डा कार्यान्वयन हुने सम्भावना त देखिन्न नि?
संविधानमै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा राज्यको दायित्व हुनुपर्छ भनिएको छ। पार्टी या सरकार संविधान अनुसार चल्ने हो। एमालेमा पनि यो विषयमा अन्योल छ जस्तो लाग्दैन। हिजोको दिनमा कहाँ के भयो भन्दा पनि भोलिको दिनमा हामी के गर्छौं भन्ने महत्त्वपूर्ण हो। म पार्टीको वर्तमान र भविष्य हो, इतिहास होइन। पार्टीमा केही पात्रहरू जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका होलान्। नेपालमा निजी अस्पताल र विद्यालय हुनु नै हुन्न भनेको होइन। यो सँगसँगै राज्यले सार्वजनिक शिक्षा र स्वास्थ्यमा पनि लगानी बढाई सर्वसाधारणको सहज पहुँचमा पुर्याउनुपर्छ भनेको हो।
कतिपयले युवा मात्रै राजनीतिमा योग्य हुन्छन् भन्ने भाष्य निर्माण गर्न खोजेको देखिन्छ। तपाईं पनि बारम्बार युवा भएकाले धेरै काम गर्न सक्छु भन्नुहुन्छ। युवा हुनु नै राजनीतिमा योग्य हुनु हो?
अवश्य होइन । युवा हुनु एउटा योग्यता हो, तर पर्याप्त होइन। किनकि, युवाले आजको प्रविधि, समय, विश्व र भोलिको भविष्य बुझेको हुन्छ। त्यस कारण युवा हुनु आवश्यक हो किनकि युवामा काम गर्न सक्ने क्षमता बढी हुने मात्र होइन, समय पनि बढी हुन्छ। युवा हुनुका साथसाथै पर्याप्त सार्वजनिक नीतिको अध्ययन र त्यसको गहिरो बुझाइ, भिजन, भूगोलप्रतिको ज्ञान, मतदाताले गरेको विश्वास र स्पष्ट राजनीतिक, सामाजिक बुझाइ पनि भयो भने मानिस योग्य हुन्छ। युवा भएकै आधारमा आफूलाई योग्य हुँ भनेर दाबी गरेको छैन।
म 'मेरिट' को आधारमा यहाँसम्म आइपुगेको हुँ। विश्वका विभिन्न फोरममा नेपालको प्रतिनिधि बनेर काम गरेको छु। २२ वर्षको उमेरमा नेपालको ठूलो यूथ अर्गनाइजेशनको नेतृत्व गरेको थिएँ। हालसम्म विभिन्न अन्तर्राष्ट्रिय संस्थामा गएर आफ्नो अनुभव शेयर गरिसकेको छु। नेपालमै पनि उद्यमशीलता मार्फत राम्रो काम गरिरहेको मान्छे हुँ। जहाँसम्म आइपुगेको छु, आफ्नो योग्यताले आइपुगेको हुँ। युवा भएको कारणले मात्रै मैले जित्नुपर्छ भनेर कतै भनेको छैन।
युवाहरूले विश्व बुझेका होलान्, तर आफ्नो समाज र मतदाताको मनोविज्ञान बुझेका छन् त?
अरू उम्मेदवारबारे मलाई थाहा भएन, मेरो हकमा समाजको पृष्ठभूमि नबुझेको भन्ने कुरै आउँदैन। म गोरखामा जन्मिएको, गोरखाकै खोलाको पानी खाएको र चम्पावती माध्यमिक विद्यालय पढेको मान्छे हुँ। म प्राथमिक विद्यालय पढ्दासम्म मेरो घरमा बिजुली बत्तीसम्म थिएन। मट्टीतेल हालेर लालटिन बालेर पढेको विद्यार्थी हुँ। गोरखाको भूगोल, समस्या र यहाँको मानिसको कथा के हो भन्ने कुरा मैले जसरी मेरो प्रतिस्पर्धीले बुझेका छैनन्। गोरखामा हरेक परिवारको एउटा सदस्य वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन्। मेरै बुबा साउदी अरबमा २२ वर्ष बस्नुभएको थियो। त्यस कारण म गोरखाका समाज र समस्या बुझ्छु। यहाँका आम मानिसको मनोविज्ञानको म प्रतिनिधि हुँ।
पढाइको सिलसिलामा प्रतिस्पर्धा गर्दै जाँदा अन्तर्राष्ट्रिय फोरममा पुगें होला, तर मेरो जरा गोरखा हो। गोरखाको हावापानीमा हुर्किएको हुँ। त्यसैले यहाँको वस्तुस्थितिको मलाई राम्रो ज्ञान छ। गोरखामा सार्वजनिक विद्यालय, अस्पताल र त्यसको अवस्था कस्तो छ भनेर गहन ढङ्गले अध्ययन गरेर त्यसलाई सुधार गर्न म उम्मेदवार बनेको हुँ।
यहाँ केही समयअघिसम्म वैकल्पिक राजनीतिमा हुनुहुन्थ्यो। मुलधारको राजनीतिक पार्टी र त्यसको नेतृत्वलाई देश नबन्नुको कारक भन्दै गाली गर्नुहुन्थ्यो, टिकट पाएपछि मूलधारकै पार्टीको उम्मेदवार बन्नुभयो नि?
तपाईंले भन्नुभएको ठीकै हो। पछिल्लो पाँच वर्ष मैले वैकल्पिक पार्टी निर्माणको अभियानमा इमानदार भएर सकेको प्रयास गरेकै हुँ। पार्टीमा लाग्दालाग्दै हाम्रो पार्टी नै विघटन हुने स्थिति आयो। कम्तीमा २५ वर्ष सक्रिय राजनीति गर्छु भनेर आएको मान्छेले एउटा पार्टी निर्माण असफल हुँदैमा आफ्नो राजनीतिक यात्रा अन्त्य गर्नुपर्छ भन्ने हुँदैन। आफूले शुरू गरेको दल विघटन भइसकेपछि नेपालमा उपलब्ध राम्रो पार्टीमा प्रवेश गर्नुको विकल्प भएन। किनभने, राजनीतिमा योगदान गर्नु छ भने बहुदलीय व्यवस्था भएको मुलुकमा कुनै न कुनै दलमा प्रवेश नगरी हुँदैन। सोही कारण नेपालमा उपलब्ध दलहरूमध्ये तुलनात्मक रूपमा मेरो वैचारिक निकटता एमालेसँग भयो। देशका विभिन्न जल्दाबल्दा मुद्दामा एमालेले लिएको अडानका कारण म यो दलमा आकर्षित भएँ।
हिजोको दिनमा मैले जुन किसिमको प्रवृत्ति र घटनाहरूको विरोध गरेको थिएँ, आजको दिनमा पनि विरोध कायम छ। भोलिको दिनमा पार्टीभित्र पनि एउटा जिम्मेवार नेताका रूपमा यस्ता घटना र प्रवृत्तिको विरोध गरिरहन्छु। देशमा लोकतन्त्र छ, पार्टी लोकतान्त्रिक हो, त्यस कारण मैले बोल्नुपर्ने विषय र मैले लिनुपर्ने अडानको विषयमा कहिले पनि सम्झौता हुँदैन।
विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले विचारभन्दा माथि देशको अवधारणा प्रस्ताव राख्दा तपाईं किन मौन रहनुभयो? त्यो अजेन्डा मन परेर हो?
त्यो अवधारणा ल्याउने व्यक्तिले पार्टी छाडिसकेको र पार्टी नै छिन्नभिन्न भएको अवस्थामा यसमा विचार राख्नु नै पर्दैन। त्यो अध्याय सकिइसकेको छ। म शुरूमा साझा पार्टीमा जोडिएको हुँ। त्यसको डकुमेन्टमा हेर्नुभयो भने साझा पार्टीले 'सेन्टर लेफ्ट पोलिटिक्स' गर्ने उल्लेख छ। शुरूमा जुन विचारको प्रतिनिधित्व गर्ने भनिएको थियो, पार्टी नेतृत्वको त्यसमा विचलन आए पनि मेरो विचारमा विचलन आएको थिएन। किनकि, आजको मेरो पोजिशन पनि 'सेन्टर टु लेफ्ट' हो। म हिजो पनि 'सेन्टर लेफ्ट पोलिटिक्स' नै गर्ने भनेर राजनीतिमा प्रवेश गरेको थिएँ। आज पनि सेन्टर लेफ्ट पोलिटिक्स नै गर्ने र त्यसको नेतृत्व एमालेले गर्छ भनेर एमाले प्रवेश गरेको हुँ।
त्यसो भए वैकल्पिक राजनीतिले केहि गर्न सक्दैन भन्ने बुझेर एमाले प्रवेश गर्नुभएको हो?
राजनीतिमा नयाँ सम्भावना र नयाँ विकल्प सधैं हुन्छन्। त्यसका लागि पार्टी खोलेर सफल बनाउन सके एकदमै राम्रो हुन्थ्यो। वैकल्पिक राजनीति गर्ने हामीले प्रयास गरेका नै हौं। नेपालको सन्दर्भमा नयाँ पार्टी खोलेर वैकल्पिक राजनीति गर्नु कति कठिन काम रहेछ भन्ने राम्रोसँग बुझियो। म एमाले प्रवेश गर्नु पनि विकल्प हो। एमालेले २९ वर्षको युवालाई उम्मेदवार बनाउनु पनि त वैकल्पिक राजनीति नै हो। वैकल्पिक राजनीति भनेको नयाँ दल खोल्नु मात्र नभएर राजनीतिमा चाहिएको परिवर्तन बोध गर्न सक्नु र परिवर्तनको प्रयास गर्नु पनि हो।
वैकल्पिक राजनीतिलाई लिएर आफ्नो बुझाइ गलत थियो भन्ने निष्कर्षमा पुग्नुभएको हो?
होइन। हिजो जुन उद्देश्य लिएर राजनीतिमा थिएँ, आज पनि त्यही उद्देश्य छ। हिजो पनि सार्वजनिक शिक्षा, स्वास्थ्य, उद्यमशीलता जस्ता मुद्दा स्थापित गर्न राजनीति गरेका थियौं। आज पनि त्यसका लागि नै राजनीति गरेको हो। जहाँ बसे पनि यी मुद्दा स्थापित गर्नु नै वैकल्पिक राजनीति हो। पुरानो पार्टीको नेतृत्वले विचार परिवर्तन गरेपछि आफ्नो विचार बोक्ने ठूलो पार्टीमा प्रवेश गरेको हो। हिजोको बुझाइ र विचार परिवर्तन भएको छैन।
यो चुनाव जित्नुभएन भने नेकपा एमालेमै बस्नुहुन्छ?
कथंकदाचित् मेरा प्रतिस्पर्धीले जितेछन् भने पनि म पार्टी छाड्दिनँ। तर, हार्ने सम्भावना नै छैन।