‘मतदाताले नयाँ र ऊर्जाशील उम्मेदवार खोजेका छन्’
‘मैले निर्वाचनमा धेरै खर्च गर्ने कल्पना गरेको छैन। किनकि, चुनाव जितेपछि काम गर्न निर्वाचनमा गरेको खर्च अवरोध नहोस् भन्ने मेरो प्रष्ट बुझाइ छ।’
नेपाली कांग्रेसको प्रभावशाली नेतामा पर्छन्, बद्रीप्रसाद पाण्डे। विद्यार्थी जीवनबाट राजनीति शुरू गरेका उनी अहिले कांग्रेसका सहमहामन्त्री हुन्। यसअघि समानुपातिकबाट सांसद बनेका उनी यस पटक भने बाजुराबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।
चुनावकेन्द्रित हिमालखबरको प्रस्तुति उम्मेदवार संवादमा गठबन्धनका उम्मेदवार पाण्डेसँग सागर बुढाथोकीले गरेको संवादः
उम्मेदवारहरू चुनावी प्रचारमा गाउँ गाउँ पुगिरहेका छन्। तपाईं केकस्ता अजेन्डा बोकेर मतदातामाझ गइरहनुभएको छ?
बाजुरा मानव विकास सूचकाङ्कमा एकदमै पुछारमा रहेको जिल्ला हो। यस्तो जिल्लालाई माथि उठाउन राज्यले प्राथमिकतामा राख्नुपर्छ। विशेष गरी संविधानले पनि पिछडिएको क्षेत्रलाई माथि उठाउन प्राथमिकतामा राख्नुपर्छ भनेको छ। त्यसका लागि सडक र यातायातको सुविधा विस्तार गर्नैपर्छ।
केही काम भइरहेका पनि छन्। जस्तो कि, कर्णाली करिडोर बाजुरा हुँदै जान्छ। सेती लोकमार्गले पनि बाजुरालाई छुन्छ। बाजुराको कवाडी, बिच्छ्या र रानीसेन भएर हिल्सा जाने बाटो एकदम छोटो पर्छ। यो बाटो विस्तार गर्ने परिकल्पना गरेको छु।
जिल्लाका विभिन्न खोलाबाट विद्युत् उत्पादनको सम्भावना छ। अध्ययन हुँदै छ। सम्भाव्यता अध्ययन पूरा भएका योजना कार्यान्वयन गर्नु छ। त्यस्तै, बाजुरा जिल्लामा पर्यटनको सम्भावना धेरै छ। खप्तड, बढीमालिका, बुढीनन्दा बाजुराका चर्चित पर्यटकीय गन्तव्य हुन्। यहींको सेरोफेरोमा रारा ताल छ। बाजुरा हुँदै मानसरोवर पुग्न सकिने बाटो पनि छ। यो पर्यटकीय स्थलमा पर्यटक आकर्षित गर्न विभिन्न योजना बनाएको छु।
बाजुराका लागि सडक त भयो नै, शिक्षा र स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ। यसबारे के सोचिराख्नुभएको छ?
सडक सञ्जाल सहज भयो र बाह्रै महीना गाडी चल्ने बाटो भयो भने त्यसले अरू विकासको ढोका खोल्छ। हाम्रोमा कुनै पनि विकास निर्माणका काम गर्न ढुवानी महँगो पर्छ। किनकि, बाटो अप्ठ्यारो छ। त्यस कारण बाह्रै महीना चल्ने उच्च गुणस्तरको सडक विस्तार र निर्माण मेरो प्राथमिकता हो।
शिक्षा र स्वास्थ्य त आधारभूत कुरा भइहाले। भौगोलिक विकटताका कारण विद्यार्थीले स्कूलसम्म पुग्न घण्टौं धाउनुपर्छ। त्यस्तो पहाडी जिल्लामा आवासीय विद्यालय बनाउने अवधारणा कार्यान्वयन गर्नुपर्नेछ। गाउँपालिकाभरि एक हजार विद्यार्थी छैनन् भने ती विद्यार्थी राख्न सकिने आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तर उकास्न सकिन्छ।
मानवीय दृष्टिकोणले शिक्षा र स्वास्थ्य दुवै संवेदनशील विषय हुन्। यी दुईमध्ये पनि स्वास्थ्य झन् संवेदनशील हो। किनकि, स्वास्थ्यको आवश्यकता मानिसका लागि आकस्मिक रूपमा आइपर्छ। आकस्मिक दुर्घटना वा बिरामी पर्दा अस्पताल पुर्याउने र उपचार गर्ने चुनौती हुने भएकाले यो अत्यन्तै संवेदनशील विषय हो। त्यस कारण मैले जिल्लाका दुई क्षेत्रमा कम्तीमा पनि दुई वटा अत्याधुनिक अस्पताल बनाउने योजना अघि सारेको छु। त्यससँगै अहिले भएका स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण थपेर स्तरवृद्धि गर्ने योजना पनि बनाएको छु।
यसअघि पनि समानुपातिकबाट सांसद हुनुहुन्थ्यो। यहाँले जित्दैमा अहिले भनेका अजेन्डा कार्यान्वयन हुन्छन् भन्ने के छ?
प्रयत्न गरेको हो, तर मेरो तिक्त अनुभव रह्यो। प्रत्यक्ष निर्वाचितलाई मात्र जिल्लाको सांसद भन्ने ठान्ने रहेछन्, जिल्लाको विकासको मूल वाहक हो भनेर हेरिंदो रहेछ। त्यो अनुभवबाट मैले राज्यको ध्यानाकर्षण गराउन प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि चाहिंदो रहेछ भन्ने बुझें। किनकि, जिल्लाका लागि योजना माग्न जाँदा मन्त्रीले त्यहाँको निर्वाचित सांसद को हो भनेर सोध्छन्। योजना आयोगमा जाँदा पनि त्यही प्रश्न दोहोरिने रहेछ।
त्यस्तो अवस्थामा पनि केही काम गरियो। सुशील कोइराला प्रधानमन्त्री भएको वेला कर्णाली करिडोर शिलान्यास भएको थियो, तर काम अघि बढेको थिएन। त्यो वेला सेनाले जिम्मा लियो भने मात्रै समयमा सडक बन्छ भनेर हामीले प्रस्ताव गर्यौं। त्यही अनुरूप निर्णय पनि भयो। त्यो सडक बाजुराको बाटो हुँदै हुम्लातिर जान्छ। यद्यपि, त्यो सडक अझै गुणस्तरीय छैन।
निर्वाचित सांसद नभएकाले यसअघि सोचे जस्तो गर्न सकिनँ। यो पटक आफैं निर्वाचित भएर जिल्लामा विकास निर्माणका योजना र बजेट लैजान पहल गर्छु। मलाई के लाग्छ भने, विकट जिल्लाको सांसद भनेर आइसकेपछि संसद् र सरकार दुवै ठाउँमा राम्रो साथ पाउँछु।
बाजुरामा आधारभूत स्वास्थ्य सेवा नपाएर जनताकाे ज्यान गएको, बाटोमै सुत्केरी गराउनुपरेको जस्ता घटना बाहिर आइरहन्छन्। यस्तो आधारभूत अधिकार पनि बाजुराका जनताले किन पाउन सकेनन्?
मुख्यत: राज्यको नजर नै अलिकति भेदभावपूर्ण भए जस्तो लाग्छ। किनभने, जनप्रतिनिधिले केन्द्रमा त्यो खालको पहुँच शायद राख्न सकेनौं। जनप्रतिनिधिका अतिरिक्त योजना आयोग र अर्थ मन्त्रालयमा आफ्ना मान्छे हुनुपर्ने रहेछ। अहिले जिल्लाबाट जम्माजम्मी एक जना सहसचिव निजामती प्रशासन सेवामा हुनुहुन्छ। त्यो कुराले राज्यबाट अधिकार लिन व्यावहारिक हिसाबले कठिनाइ पर्दो रहेछ।
त्यसैले म जनप्रतिनिधि हुनासाथ सबै समस्या छुमन्तर हुन्छ जस्तो त लाग्दैन। मैले बिस्तारै त्यो ‘ब्याकग्राउन्ड’ बनाउनुपर्छ। योजना आयोग तथा अर्थ मन्त्रालयमा जोसुकै होस्, त्यहाँ गएर योजना र बजेट पार्न घचघच्याउनुपर्छ।
बाजुराका जनताले आधारभूत अधिकार प्राप्त गर्न नसक्नुको कारण आवश्यक बजेट तथा योजना नगएर पनि हो। त्यस्तै, राज्यका नीतिगत निकाय र निर्णय गर्ने तहमा हाम्रो क्षेत्रको प्रभाव कम छ। यसअघिका जनप्रतिनिधिले पनि भने जस्तो ‘एड्भोकेसी’ गर्न नसकेका हुन्।
बाजुराको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले काम गर्न नसक्दा बाजुराको विकास नभएको भन्न खोज्नुभएको हो?
यसअघिका जनप्रतिनिधिको भूमिकामा बाजुराका जनता सन्तुष्ट छैनन्। अन्य जिल्लाका जनप्रतिनिधि आफ्नो जिल्लाको जनताका लागि राज्यबाट खोसेर लिने तागत राख्छन्। यसको अर्थ हुलहुज्जत गर्ने र उद्दण्ड गर्ने होइन, सिर्जनशील ढङ्गले, कहीं कूटनीतिक ढङ्गले प्रस्तुत हुनुपर्ला, कहीं आफैंले पनि समस्याको समाधान गर्ने उपाय र योजना लिएर जानुपर्ला।
त्यस्तै, विकासका योजना बन्ने ठाउँ र बजेट विनियोजन हुने ठाउँमा सम्बन्ध स्थापित गरेर जिल्लाको हक लिन सक्ने क्षमता राख्नुपर्छ। विगतका जनप्रतिनिधिले त्यो हिम्मत देखाउन सकेको भए हाम्रो जिल्लाको हविगत यस्तो हुने थिएन।
चुनाव जितेर जिल्लाको विकास गर्छु भनेर आश्वासन दिनुभएको छ। जित्नुहुन्छ त? केकस्ता जित्ने आधार देख्नुभएको छ?
मसँग जो प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उहाँ यसअघि पटक पटक चुनाव लडिसकेको मान्छे हुनुहुन्छ। उहाँ मन्त्री भइसकेको मान्छे पनि हो। त्यस कारण यस पटक मतदाताले नयाँ र ऊर्जाशील व्यक्ति खोजिरहेका छन्। म जनताले खोजे जस्तो ऊर्जाशील मान्छे हुँ। केन्द्रीय राजनीतिमा पनि राम्रो प्रभाव र पहुँच राख्ने सक्ने भएकाले जनताले यस पटक मलाई अवसर दिन्छन्।
गत स्थानीय निर्वाचनमा बाजुराको चुनाव विवादित बन्यो, त्यसअघि पनि चुनावमा मुठभेड हुँदै आएको छ। बाजुरामै यस्ताे किन हुन्छ?
कतिपय ठाउँमा धाँधली नै संस्थागत भएको हो कि जस्तो देखिन्छ। त्यसैले स्थानीय निर्वाचन दोहोर्याएर गर्नुपर्यो। त्यो घटनाले बाजुराका नेता र नेतृत्वलाई चेत र चेतना दिएको हुनुपर्छ। स्थानीय निर्वाचनमा हामी बदनाम नै भयौं। त्यसले गर्दा पाठ सिकेको हुनुपर्छ भन्ने ठान्छु। यो पटक म र मेरो पार्टीका तर्फबाट विवाद नहुने वाचा गर्छु र अरू पार्टीका साथीबाट पनि त्यस्तै अपेक्षा गर्छु।
राष्ट्रिय राजनीतिमा राम्रो छवि र पहिचान बनाए पनि तपाईंले जिल्लाका लागि खासै काम गर्न नसकेको भन्ने गुनासाे रहेछ नि?
म जनप्रतिनिधिका रूपमा बल्ल मैदानमा आउँदै छु। गत ३० वर्षदेखि नै जिल्लाका सबै निर्वाचन र राजनीतिक गतिविधिमा संलग्न छु।जिल्लामा पार्टीका लागि योगदान गरेको छु। राज्यसँगको पहुँच जिल्लाबासीका लागि अधिकतम उपयोग गर्ने कोशिश गरेको छु। जिल्ला पछाडि परेकाले भने जस्तो परिणाम आएको छैन।
परिणाम ल्याउनका लागि नै म प्रत्यक्ष जनप्रतिनिधिका रूपमा आउन चाहन्छु। अबको मेरो ध्यान केन्द्रको राजनीतिभन्दा जिल्लाको राजनीतिमा हुनेछ। जिल्लाका लागि योगदान गर्ने बल्ल अवसर आउन लाग्दै छ।
चुनाव अत्यन्तै खर्चिलो हुँदै गएको छ। चुनाव खर्च कसरी जुटाइरहनुभएको छ?
चुनावमा खर्च हुने र नहुने उम्मेदवारको छविमा भर पर्छ। स्ववियू सभापति हुँदा मेरो जीवनशैली जस्तो थियो, अहिले पनि त्यस्तै छ। त्यो जीवनशैलीबाट माथि उठेर मैले कुनै गतिविधि गरेको छैन। यो कुरा मेरो जिल्लाबासी र मतदातालाई राम्रोसँग थाहा छ।
चुनावमा हुने न्यूनतम खर्चका लागि पार्टी, केही शुभचिन्तक र साथीहरूले सहयोग गर्नुहुन्छ। त्यही न्यूनतम खर्चले निर्वाचनमा प्रतिस्पर्धा गर्छु। मैले ठूलो आर्थिक हिसाबले चलखेल गर्ने गरी र ठूलो खर्चको खोलो बगाउने गरी चुनाव लड्ने सोचेको छैन। त्यसरी चुनाव लडियो भने राजनीतिलाई भ्रष्टाचारको दुष्चक्रमा लगिन्छ।
आफ्नो क्षमताभन्दा बाहिर गएर मैले गर्ने खर्चका कारणले पछि गएर मलाई नै भ्रष्टाचार र दुराचारको बाटोमा लैजान्छ। त्यसैले मैले निर्वाचनमा धेरै खर्च गर्ने कल्पना गरेको छैन। किनकि, चुनाव जितेपछि काम गर्न निर्वाचनमा गरेको खर्च अवरोध नहोस् भन्ने मेरो प्रष्ट बुझाइ छ।
अन्तिममा आफ्नो क्षेत्रका मतदातालाई केही भन्नु छ?
म बाजुरामा पहिलो पटक उम्मेदवार बनेकाे छु। म बाजुराबासीको भावनालाई सम्मान गर्छु। उदाहरणीय जनप्रतिनिधिका रूपमा आफ्नो कार्यकाल व्यतीत गर्न चाहन्छु। त्यो कार्यकालमा जिल्ला र जिल्लाबासीको अनुहारमा परिवर्तन ल्याउन सक्छु भन्ने विश्वास छ। त्यो विश्वासलाई सफलीभूत पार्न सहयोग गर्न आह्वान गर्छु।