‘मेरो उम्मेदवारीले पार्टीमा एकताको सन्देश दिएकाे छ’
‘एमालेको नीति, विचार, सिद्धान्त र कार्यक्रमलाई बोकेर त्यस अनुरूप अघि बढ्न चाहने परिस्थिति निर्माण भएका ठाउँमा केही तालमेल भएका छन्। यो कुनै राष्ट्रिय स्तरमा भएको गठबन्धन होइन।’
विद्यार्थी राजनीतिबाट चर्चामा आएका ठाकुरप्रसाद गैरे कम अवसर पाउने नेतामा गनिन्छन्। २०६३ सालमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व गरेका गैरे २०६५ सालमा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित भए। उनी नवौं र दशौं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बने।
२०५१ सालपछिका चुनावमा पाल्पाका सोमप्रसाद पाण्डेलाई चुनाव जिताउने अभियानमा सक्रिय उनी यस पटक पाण्डेसँगै प्रतिस्पर्धा गर्दै छन्। पाल्पा-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका एमाले पाेलिटब्यूराे सदस्य गैरेसँग हिमालखबरको प्रस्तुति उम्मेदवार संवादमा सागर बुढाथोकीले गरेको संवाद:
चुनाव प्रचार अभियानमा हिंड्न थालिसक्नुभयो। के छन् अजेन्डा?
सडक सुधार र विस्तारका अजेन्डा अघि सारेको छु। बुटवलदेखि तानसेनसम्मका सडकमा असुरक्षित यात्रा गर्नुपर्ने विडम्बना छ, त्यो समस्या समाधान गर्ने मेरो लक्ष्य छ। माडी-चक्रपथ सडक अलपत्र अवस्थामा छ, त्यसलाई सम्पन्न गर्नुपर्ने छ।
त्यस्तै, कालीगण्डकी करिडोरलाई सम्पन्न गर्ने योजना छ। तानसेनबाट छहारा हुँदै अर्घाखाँखी, तानसेनबाट गुल्मी, तानसेनबाट स्याङ्जा सडक र तानसेन-बुटवल सडकलाई सुधार गरेर सडक पूर्वाधार व्यवस्थित गरेर जनतालाई लाभान्वित बनाउने योजना बनाएको छु।
पाल्पाका ऐतिहासिक धरोधहर, धार्मिकस्थल र पर्यटकीय क्षेत्रलाई स्तरोन्नति गरेर पर्यटन क्षेत्रमा टेवा पुर्याउने योजना छ। भारत, चीन लगायतका विदेशी र स्वदेशी पर्यटकलाई भित्र्याएर पाल्पाको विकासलाई योगदान गर्ने योजना छ। पाल्पामा अत्यन्तै धेरै खेतीयोग्य जमीन छ, तर व्यावसायिक खेती हुन सकेको छैन। कृषि उत्पादन बजारसम्म पुर्याउन गाह्रो छ। त्यसैले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने योजना छ। पाल्पालाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सकिने अवस्था छ।
त्यस्तै, पाल्पाको शिक्षा र स्वास्थ्यको स्तर सुधार गर्ने पनि योजना छ। म स्वास्थ्य शैक्षिक आन्दोलनमा पहिलेदेखि लागिरहेको छु। शिक्षाको विकास नगरी समाजमा परिवर्तन ल्याउन सकिंदैन। पाल्पामा रहेका खनिज पदार्थ र प्राकृतिक जडीबुटीसँग सम्बन्धित उद्योगबाट जिल्लामै रोजगारी सिर्जना गर्ने कुरालाई महत्त्वका साथ उठाएको छु।
राष्ट्रियतालाई बलियो बनाउने आन्दोलनमा म निरन्तर लड्नेछु। विगतदेखि भ्रष्टाचार विरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुँदै आएको छु। कानूनी राज्य, सुशासन, पारदर्शिता, प्रेस स्वतन्त्रता, मानवअधिकार जस्ता विषयमा मेरो जोड हुनेछ।
राजनीतिमा लामो समयदेखि सक्रिय भए पनि टिकट पाउन धेरै वर्ष कुर्नुपर्यो है?
धेरै संघर्ष र प्रतीक्षा गर्नुपर्यो। राजनीतिमा यो स्वाभाविक हो।
टिकट पाइसकेपछि तपाईंको एमालेभित्रको अन्तर्विरोध सकिएको हो?
पाल्पा जिल्लामा म क्षेत्रीय, जिल्ला र प्रदेश स्तरबाट सर्वसम्मत सिफारिश भएको हुँ। सोही कारण पार्टीले मलाई टिकट दिएको हो। यो एमालेभित्रको एकताको सन्देश हो।
त्यसो भए एमालेमा फरक विचारले ठाउँ पाउने अवस्था बन्यो?
पार्टीले छलफल गरेर एउटा निर्णय गरेको छ। त्यो निर्णयलाई बोकेर पार्टी पंक्ति चुनावी मैदानमा उत्रिसकेको छ। चुनावमा पार्टीका योजना र घोषित नीति बमोजिम यो अभियान अघि बढ्छ। बाँकी विषय त भोलिका दिनमा छलफल हुँदै जान्छ।
पार्टी विभाजन भएका वेला टिकट पाउनुभएको छ, याे अवसर हाे कि चुनौती?
पाल्पामा मेरो प्रतिस्पर्धी छ भन्ने कुराको अनुभूति नै छैन। म गाउँमा जाँदा जनताको अपार माया, सद्भाव र विश्वास पाएको छु। पाल्पाली जनताले मलाई एमालेको प्रतिनिधिका रूपमा मात्रै नभएर सबै दलको साझा प्रतिनिधिका रूपमा हेरेका छन्। भोलि निर्वाचित भएपछि पनि म त्यही उचाइका साथ सबै जनताको प्रतिनिधित्व गर्नेछु।
यसअघिका चुनावमा सोमप्रसाद पाण्डेजीका लागि भोट माग्दै हिंड्नुहुन्थ्यो, यो पटक उहाँसँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपाईंले चुनाव जित्ने आधार के देख्नुभएको छ?
पार्टीमा म आठौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटीमा निर्वाचित भएको हुँ। अहिले मसँग जो प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, पाल्पामा म उहाँभन्दा 'सिनियर' मान्छे हो। त्यस्तै, उहाँ पाचौं पटक 'टेस्टेड' मान्छे पनि हो, म 'फ्रेस' मान्छे छु। मसँग दृष्टिकोण, कार्यान्वयन र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता छ। म विगतमा भ्रष्टाचार विरुद्ध अभियानमा, जनजीविकाका पक्षमा, राष्ट्रियताको अभियानमा, शिक्षा र स्वास्थ्य सुधारको अभियानमा सक्रिय भएको छु।
त्यस हिसाबले अब पाल्पाको विकासका लागि ठाकुर गैरे आवश्यक छ भन्ने कुरा पाल्पाली जनताले अनुभूत गरेका छन्। पाल्पाका जनताबाट अनुमोदित भएर पाल्पा र समग्र देश विकासमा योगदान गर्ने अवसर प्राप्त गर्छु भन्ने विश्वास छ।
आफ्नै पार्टीबाट अन्तर्घात गरेको सुनिन्छ, पाल्पा-२ को अवस्था कस्तो छ?
अहिले पार्टीमा असहमति, अन्तर्घात र विमति भन्ने सङ्केत छैन। किनकि, पाल्पामा म सर्वसम्मत सिफारिश भएको हुँ। कार्यकर्ता मात्र नभएर समग्र पाल्पाली जनताले यो पटक ठाकुर गैरेलाई नै अवसर दिने भनिरहेका छन्।
तपाईंको पार्टीले अलिक अघिसम्म गठबन्धन विरुद्ध एक्लै लड्ने भनेको थियो, अहिले किन राप्रपा, जसपा जस्ता विचार नमिल्ने दलसँग तालमेल गरेको हो?
एमालेको नीति, विचार, सिद्धान्त र कार्यक्रमलाई बोकेर त्यस अनुरूप अघि बढ्न चाहने परिस्थिति निर्माण भएका ठाउँमा केही तालमेल भएका छन्। यो कुनै राष्ट्रिय स्तरमा भएको गठबन्धन होइन।
ठूला पार्टीबाट राजनीति गरेका नेता भएका तपाईं जस्ता युवाहरू अहिले स्वतन्त्र भएका पनि छन्। यस्तो अवस्था किन आयो होला?
म अहिले पाल्पा जिल्लाको उम्मेदवार भएको कारणले जनताका विचार, गुनासा, आलोचना र विकास निर्माणको चाहना सुन्नलाई जनताका बीचमा छु। नेपालको राजनीतिमा अनेक विकृति, विसङ्गति झाँगिएका छन्। त्यसको विश्लेषण आवश्यक छ। त्यसका लागि चुनावमा जनताले दिएका मत र सुझावका आधारमा भोलि गएर पार्टी विचारप्रधान बनाउनैपर्छ।
पार्टी विधिसम्मत र संस्थागत ढङ्गले चल्नुपर्छ। पार्टीहरू बलियो भए मात्रै लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ। यो व्यवस्था मार्फत जनताको विकास निर्माण र जनजीविकाको चाहनालाई पूरा गर्न सकिन्छ। त्यस कारण यस्तो परिस्थिति निर्माण गर्न हामीले योगदान गर्नुपर्नेछ।