डेंगी पुनःसंक्रमणको जोखिम कति?
डेंगी संक्रमण भइसकेका व्यक्तिलाई तुरुन्तै संक्रमण हुने सम्भावना कम रहे पनि संक्रमण भइहाले बढी जोखिम हुने विज्ञहरूले बताएका छन्।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार‚ डेंगी संक्रमण भएको व्यक्तिलाई एक-दुई महीनाभित्रै पुनःसंक्रमण हुने सम्भावना कम हुन्छ। तर‚ संक्रमण भइसकेको व्यक्ति फरक सेरोटाइपको डेंगीबाट संक्रमित भए बढी जोखिम हुने उनको भनाइ छ।
“डेंगीका बिरामीहरूमा फरक सेरोटाइप (चार वटा सेरोटाइप हुन्छ)ले पुनःसंक्रमित भए ती व्यक्तिमा लक्षण कडा भएर जान्छ‚” डा. पुन भन्छन्‚ “लक्षण कडा हुनु भनेको अस्पतालमा चाप बढ्नु हो। अस्पतालमा चाप बढ्नु भनेको मानिसको मृत्यु हुनेको संख्या बढ्नु हो।”
नेपालमा डेंगी संक्रमणबाट अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै‚ करीब ४४ हजार जना संक्रमित भएका छन्।
चिसो मौसम शुरू भएपछि पछिल्लो समय डेंगी संक्रमित कम हुँदै गएका छन्। तर‚ डेंगीको जोखिम भने कायमै रहेको डा. पुन बताउँछन्। “तापक्रम १० डिग्री सेल्सियसभन्दा कम हुँदै गयो भने लामखुट्टे कम हुँदै जान्छ। लामखुट्टे कम हुँदै जानु भनेको डेंगी कम हुँदै जानु हो,” उनी भन्छन्‚ “डेंगी फैलाउने लामखुट्टे विगतदेखि नै देखिंदै आएको छ भने त्यो ठाउँमा अहिले पनि फैलन सक्ने सम्भावना बढी छ।”
यसअघि दशैं-तिहारको समयमा डेंगी संक्रमण देखिन शुरू भई एकदेखि डेढ महीनासम्म रहन्थ्यो। विगतमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा डेंगी संक्रमण बढी हुँदै आएको थियो। यस वर्ष भने उपत्यकामा बढी संक्रमित फेला परेका छन्। उपत्यकाका प्रायः घरमा संक्रमित छन्। संक्रमण भएको केही महीना पुनः संक्रमण हुने सम्भावना कम रहेको र चिसो मौसम पनि बढेकाले उपत्यकामा डेंगी संक्रमण कम हुँदै जाने डा. पुनको भनाइ छ।
“अहिले कतिपय व्यक्तिहरूसँग कुरा गर्दा घरका लगभग सबै संक्रमित भइसकेका छन्। म मात्रै बाँकी थिएँ, मलाई पनि लाग्यो भन्छन्‚” उनी भन्छन्‚ “त्यसो हुँदा एउटा सङ्केत के हो भने धेरै मान्छेहरू संक्रमित भइसके। त्यसैले आगामी दिनमा एकदमै चिसो नभए पनि संक्रमितको संख्या घट्ने देखिन्छ।”
तर‚ विगतमा डेंगी संक्रमण देखिंदै आएको ठाउँमा भने अझै केही साता जोखिम कायमै रहने उनको भनाइ छ।
नेपालमा डेंगी संक्रमण
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी संक्रमित फेला परेका थिए। सन् २००६ मा फरक फरक जिल्लाहरूमा फाट्टफुट्ट संक्रमण देखिएको थियो। त्यति वेला गरिएको परीक्षणमा नेपालमा पहिलो पटक डेंगीका चारवटै सेरोटाइप प्रमाणित भएका थिए। सन् २००६ मा डेंगी संक्रमण त्यसअघि भन्दा बढी देखिएको थियो।
त्यसपछिका वर्षहरूमा डेंगी कायमै रह्यो। सन् २०१९ मा महामारीको रूप नै लियो। त्यो वेला करीब ६० जिल्लामा डेंगी संक्रमित फेला परेका थिए। भक्तपुर र ललितपुरमा फाट्टफुट्ट देखिए पनि काठमाडौंमा धेरै संक्रमित फेला परेका थिए।
सन् २०१९ मा डेंगीबारे औपचारिक जानकारी आउनुभन्दा एक महीनाअगाडि नै बिरामीले अस्पतालहरू भरिभराउ भएको डा. पुन बताउँछन्। “नयाँबजार, खुसिबुँ भन्ने क्षेत्रबाट धेरै बिरामीहरू आएका थिए। डल्लु, स्वयम्भू, कलंकी, कालीमाटी लगायतका सबै ठाउँ समस्याग्रस्त भयो त्यो वेला,” उनले भने‚ “त्यो वेला सबैभन्दा लामो, धेरै संक्रमित भएको र धेरै ठाउँमा प्रभावित पारेको भनेर भनेको थिएँ। तर, त्यसलाई पनि जित्ने गरी बढी फैलिएको यही वर्ष हो।”
बढ्दै संक्रमण
केही वर्षको अन्तरालमा डेंगीले नेपालमा महामारीको रूप लिंदै गएको तथ्याङ्कले देखाएको छ। संक्रमण फैलिंदै गएकाले आगामी वर्षहरूमा डेंगी झन् चुनौतीपूर्ण हुने डा. पुनको भनाइ छ।
आगामी वर्षहरूमा सचेत नभए अझ बढी मान्छे बिरामी भएर अस्पताल जानुपर्ने अवस्था आउन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
अध्ययन हुन सकेन
डेंगी देखिन थालेदेखि कुन सेरोटाइप फैलिइरहेको छ भन्ने अध्ययन हुन नसक्दा नियन्त्रणका लागि गर्न सकिने पूर्व तयारी नभएको डा. पुन बताउँछन्।
“यसबारे अध्ययन हुन सकेन। अध्ययन भएको भए अस्पतालहरूमा तयारी गर्न सकिन्थ्यो। चिकित्सकहरूलाई तालीम दिएर तयारी अवस्थामा राख्न सकिन्थ्यो। त्यसो गर्दा मृत्यु हुनेको संख्यालाई कम गर्न सकिन्थ्यो,” उनी भन्छन्‚ “सेरोटाइपबारे जान्न नै चासो राखेनौं। लामखुट्टे मार्नतिर नै एक प्रकारको निराशा देखियो।”
यस वर्ष सुनसरीको धरानमा गरिएको अध्ययनमा डेंगी ३ देखिएको थियो। डेंगी ३ नयाँ देखिएको भनेर समाचार आए पनि सन् २००६ मै चारवटै सेरोटाइप नेपालमा देखिएको डा. पुन बताउँछन्।
काठमाडौंमा परीक्षण नगरिएकाले कुन सेरोटाइप फैलिएको छ? त्यसको अवस्था के छ? भन्ने थाहा हुन नसकेको उनको भनाइ छ।
के हो डेंगी?
एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले प्राय: दिउँसो टोक्ने गर्दछ। यो लामखुट्टे घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टाअघि सक्रिय हुने गर्छ।