चिसो शुरू भयो, अब डेंगी लाग्छ कि लाग्दैन?
डेंगी संक्रमितको संख्या कम हुन थाले पनि खतरा अझै नटरेको स्वास्थ्य विज्ञहरू बताउँछन्।
नेपालमा हालसम्म ४३ हजार ६८५ जनामा डेंगी संक्रमण भइसकेको छ। संक्रमणबाट ५१ जनाको मृत्यु भइसकेको छ।
पछिल्लाे केही समययता भने संक्रमण दर घटेकाे देखिन्छ। गत सेप्टेम्बरमा २७ हजारमा डेंगी संक्रमण पुष्टि भएको थियो। अक्टोबर अन्तिम सातासम्म १३ हजारमा पुष्टि भएको छ।
“तथ्याङ्कले डेंगी संक्रमितको संख्या ५० प्रतिशतले घटेको देखाउँछ‚” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. चुमनलाल दास भन्छन्, “यसको अर्थ अब डेंगी संक्रमण हुँदैन भनेर ढुक्कसँग बस्न मिल्ने समय भने छैन।”
चिसो मौसमको शुरूआतसँगै नेपालमा डेंगी संक्रमितको संख्या कम भएकाे छ। तर, संक्रमणको खतरा टरिनसकेको संक्रमण रोग विशेषज्ञहरू बताउँछन्। डेंगी फैलाउने एडिस प्रजातिको लामखुट्टे कम भइनसकेकाले अहिले नै डेंगीको प्रकोप हटिनसकेको उनी बताउँछन्।
संक्रमण शुरू भएको हप्तादेखि नै ईडीसीडीले साप्ताहिक रूपमा अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम बुलेटिन निकाल्दै आएको छ। जस अनुसार, अहिले नेपाल डेंगी संक्रमणको ४२औं हप्तामा छ। बुलेटिन अनुसार, ३०औं हप्तामा सबैभन्दा कम १५१ जनामा डेंगी संक्रमण देखिएको थियो भने ३७औं हप्तामा सबैभन्दा बढी दुई हजार ९२९ जनामा संक्रमण पुष्टि भएको थियो। ४०औं हप्तामा एक हजार ८८२ जनामा संक्रमण देखिएको थियो।
हालसम्म काठमाडौंमा १२ हजार ९५३, ललितपुरमा नौ हजार १२२ र भक्तपुरमा तीन हजार १०७ जनामा डेंगी पुष्टि भएको छ। तर, यो अवधिमा तराईका जिल्लाहरूमा निकै कम संक्रमित फेला परेका छन्। काठमाडौं उपत्यका बाहिर दाङमा दुई हजार १०८ जनामा संक्रमण भएको ईडीसीडीको तथ्याङ्क छ। यस्तै, चितवनमा एक हजार ९११, कैलालीमा ४२६, बारामा २३०, बर्दियामा १६८, बाँकेमा १५३, सर्लाहीमा ११७ जनामा डेंगी देखिएको छ।
संक्रमण रोग विशेषज्ञ डा. अनूप बाँस्तोलाका अनुसार, तापक्रम घट्दै गएकाले डेंगी संक्रमण दर पनि कम हुँदै गएको छ। विगतमा नोभेम्बर दोस्रो साता अर्थात् कात्तिक अन्तिमसम्म पनि फाट्टफुट्ट डेंगी संक्रमित देखिएका थिए। त्यसैले यो वर्ष पनि मंसीर दोस्रो सातासम्म रहन सक्ने उनको अनुमान छ। उनी भन्छन्, “तर, केही महीनाअघि उच्च रूपमा देखिएको प्रकोप भने घट्दै गएको छ।”
अर्का संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुन काठमाडौं उपत्यकामा डेंगी संक्रमण घट्न थाले पनि देशभरि नै घटेको भन्न नमिल्ने बताउँछन्। डेंगी सार्ने लामखुट्टे पाइने काठमाडौं बाहिरका जिल्लाहरूमा प्रकोप फैलिन सक्ने उनको भनाइ छ।
“काठमाडौं उपत्यकामा चिसो मौसम शुरू हुन लागेका कारण लामखुट्टे कम हुन थालेको छ,” डा. पुन भन्छन्, “काठमाडौंको तुलनामा तराईमा हाल लामखुट्टेलाई अन्डा पार्न सजिलो हुने वातावरण बल्ल शुरू भएको छ। उपत्यकामा घट्दै जाँदा तराईमा बढ्न थाल्ने भएकाले समयमै लामखुट्टेको अन्डा नष्ट गर्ने काम थाल्नुपर्छ।”
तराईमा पहिलेदेखि नै डेंगी थियो। ती क्षेत्रमा पनि प्रकोपका रूपमा डेंगी फैलिन सक्ने सम्भावना रहेको डा. पुन बताउँछन्। अहिले नै समाधानको उपाय नअपनाइए प्रकोप नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ।