राजु गुरुङको उम्मेदवारी सम्बन्धी फैसला २ कात्तिकमा
सर्वोच्च अदालतले रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी कायम रहने वा नरहने विषयमा कार्तिक २ गते फैसला गर्ने भएको छ।
सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले असोज ३० गते विपक्षीलाई प्रमाण सहित उपस्थित हुन आदेश दिएको हो। आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालत गएका थिए।
‘यसमा अन्तरिम आदेश माग भएको सम्बन्धमा विचार गर्दा प्रस्तुत निवेदनमा संनिहित विषय वस्तुको गाम्भिर्यतालाई विचार गर्दा दुबै पक्षको कुरा सुनी निरुपण गर्नुपर्ने प्रकृतिको देखिदा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफल गर्न अग्राधिकार दिई कार्तिक २ गते पेशी तोकी छलफलमा निर्णय सहितका सम्बन्धित प्रमाण फाइलहरू लिई उपस्थित हुन विपक्षीलाई सूचना दिनु’ आदेशमा भनिएको छ।
कार्तिक २ गतेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालिन अन्तरिम आदेश समेत दिएको छ। सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दिएका गुरुङ ब्यांकिङ कसुरमा दोषी ठहर भएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो।
रुपन्देही–२ मै हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज भएको थियो। आयोगको निर्णय विरुद्ध सर्वोच्चमै निवेदन दिएका भुसालको रिट भने हेर्न नभ्याइनेमा परेको छ।
याे क्षेत्रमा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाली कांग्रेस (बीपी)की नमादेबी गौतम जैसी, नेपाल दलित पार्टीका राजु शाही, मंगोल नेशनल अर्गनाईजेसन, दीपक थापा तथा स्वतन्त्रबाट सुरेन्द्र भारी, टोपबहादुर पौडेल, रुपसिंह थापा, केशव बस्याल, विष्णु विश्वकर्मा, तुलसीराम यादव, तारा घिमिरे र प्रदीप ज्ञवाली उम्मेदवारी दिएका छन्।