रुपन्देही-२ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलाशले असाेज ३० गते गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका नेता गुरुङले प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। तर, ब्यांकिङ कसूर सम्बन्धी मुद्दा जारी रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
त्यसविरुद्ध उनी असोज ६ गते सर्वोच्च अदालत पुगेका थिए। उनले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेका थिए। उनको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश दिएको छ। उनको माग बमोजिम किन आदेश दिन नपर्ने हो, त्यसको कारण पेश गर्न निर्वाचन आयोगलाई भनेको छ।
यससँगै आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। दुवै पक्षसँगको छलफलपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ।