गोरखाली इतिहासमा गुरुङ काजी
शाह राजाहरूले मगरलाई जति स्थान नदिए पनि गुरुङहरूलाई कुनै कुनै समय उच्च स्थान दिएको पाइन्छ।
गोरखाली दरबारमा नेपालका आदिवासी जनजातिमध्ये मगर र गुरुङको भारदारीमा केही सहभागिता रहेको पाइन्छ। मगरमा पनि विशेष गरी राना मगरलाई गोरखा राज्यको ६ थरघर प्रभृति अन्तर्गत राखिएको थियो। थापा मगरले पनि कहिलेकाहीं दरबारमा काजी पाएको देखिन्छ।
अहिले जुन थुम्कोमा गोरखा दरबार छ, कुनै समय मगर राजाले त्यहीं ठाउँमा बसेर शासन चलाउँथे। मगर राजालाई त्यहाँबाट विस्थापित गरेर गोरखामा शाहवंशको शासन शुरू भएको हो। गोरखाकोटबाट शासन चलाउने तत्कालीन राजा खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, श्रीमगर गुरुङ वंशावली, २०७८:९)।
क्षेत्रीय कुलका गणेश पाँडेको सहयोगमा लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गराएका द्रव्य शाहले यसको केही समयपछि रागिनास-कोट आफ्नो अधिकारमा ल्याए। त्यसपछि उनको आँखा गोरखा-कोटतिर पर्यो। उनले गोरखा-कोटमाथि आक्रमण गरे। १५ दिनसम्म गोरखाका राजा खड्का मगरसँग घमासान युद्ध भयो। द्रव्य शाहले खड्का राजालाई आत्मसमर्पण गराउने हरसम्भव कोसिस गरे, तर खड्का राजा गलेनन्। अन्ततः खड्का राजामाथि स्वयं द्रव्य शाहले तरबार प्रहार गरी त्यहाँ खड्का मगरहरूको शासनको अन्त्य गराए (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, २०६३:९१-९२)।
द्रव्य शाहले गोरखामा शासन शुरू गरेपछि गंगाराम रानालाई भारदारीको जिम्मेवारी दिएको पाइन्छ। जंगबहादुर राणाले कोतपर्व मच्चाउँदा सबैभन्दा पहिलो शिकार तत्कालीन जनरल काजी अभिमानसिंह राना भएका थिए। उनको हत्यासँगै दरबारमा मगरहरूको भारदारीको विरासत सधैंका लागि अन्त्य भयो।
गुरुङहरूलाई पनि खुशी बनाउन शाह राजाहरूको बाध्यता थियो। मगरलाई जति स्थान नदिए पनि गुरुङहरूलाई कुनै कुनै समय उच्च स्थान दिएको पाइन्छ।
गोरखाली राजाका पुर्खा कुलमण्डन शाहका सन्तानले गोरखा लगायतका विभिन्न स्थानमा शासन शुरू गर्नुअघि गण्डकी क्षेत्रका विभिन्न ठाउँमा गुरुङहरूको स्वायत्तता थियो। शुरूमा उनीहरूले ठकुरी राजाहरूलाई अस्वीकार गरेका थिए। यहीं क्रममा लमजुङमा राजा थाप्न ल्याइएका कुलमण्डनका माहिला छोरा कालु शाहको त उनीहरूले हत्या नै गरे।
शुरूमा उनीहरूले ठकुरी राजाहरूलाई अस्वीकार गरेका थिए। यहीं क्रममा लमजुङमा राजा थाप्न ल्याइएका कुलमण्डनका माहिला छोरा कालु शाहको त उनीहरूले हत्या नै गरे।
लमजुङ दुराडाँडाका पञ्चहरूले कालु शाहलाई ल्याई राजा थापे। शेषालीहरूले शिकार खेल्ने बहानामा कालुलाई वनमा पुर्याए। अग्ला ठाउँबाट सबै देखिन्छ भन्दै अग्ला डाँडामा पुर्याए। अनि धनुकाँड लिई चारैतिरबाट घेरेर मृगलाई हानेको बहाना गरी शेषालीहरूले राजालाई मारिदिए (प्राचीन नेपाल, संख्या २०-साउन २०२९:२-३ )।
‘शेषाली’ भनेका त्यस ठाउँका हिउँ निथ्रिने शेष लेकका क्षेत्रका बासिन्दा हुन्। उनीहरू गुरुङ हुन् (डा. राजाराम सुवेदी, प्राचीन नेपाल, संख्या १५०- असार २०५९:४९-५०)
गुरुङहरूसँग शाह राजाको मितेरी
लमजुङका खजे दुराले कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहलाई लमजुङ लगेर राजा थापे। यशोब्रह्म विसं १५५० असार १५ गते राजगद्दीमा बसे। उनले गुरुङहरूलाई पनि मिलाएर लैजान सिक्लेसका ल्होचन गुरुङसँग मितेरी लगाए। ल्होचन मार्फत कविक्याल गुरुङ, सविक्याल गुरुङ र कोकिल गुरुङलाई हात लिएर उनले पोंजो भन्ने ठाउँमा घलेका सन्तानलाई मास्न लगाए (सुवेदी, उहीः५०)।
गुरुङ व्यक्तित्वहरूको चर्चा गर्दा पृथ्वीनारायण शाहको शासनकालका झागल गुरुङ र वंशु गुरुङको नाम प्रसिद्ध छ। तीमध्ये झागललाई प्रयोग गरी पृथ्वीनारायणले आफूलाई धोका दिने भारदार परशुराम थापाका भाइलाई मार्न लगाएका थिए। वंशुले सिन्धुलीगढीको मोर्चामा रहेर कप्तान किनलकका नेतृत्वमा नेपालतिर बढेको अंग्रेजको सैनिक अभियानलाई तितरबितर गर्न ठूलो पराक्रम देखाएका थिए।
पृथ्वीनारायणले आफ्नो उपदेशमा झागलको नाम लिएका छन्। उपदेशमा, ‘मलाई प्रसुराम थापाले नेपाल हान्न आउ भनि हात दिइराख्याथ्यो. आफना भाईलाई लाषविसि पुर्याउनु बाइसि चौविसि उठाइ पछाडी हान्नु भनि पठायछ. र मले थाहा पाँयां...पोषराको हटियामा डेरा गरि वस्याको छ भनि सुन्या र तेसलाई वैठाइ आउन...झागल गुरुं सक्ला भनि डाकी अर्हाई मेरो कंमरको कोतखान दिया. गाइनेको भेष गरित हातमा बल्छीको टांगो लि काषिमा सारंगी च्यापी...उसका लस्करमा भात खान्या वषत अवसर हेरि वैठाइ आयो’ (बाबुराम आचार्य र योगी नरहरिनाथ, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, २०६१:४३-४४) भन्ने परेको छ।
यसबाट झागललाई प्रोत्साहन गर्न पृथ्वीनारायणले आफ्नो कम्मरमा रहेको खुकुरी झिकेर झागलको कम्मरमा बाँधिदिएको थाहा हुन्छ। र‚ गाइनेको भेषमा कास्की पुगेका झागलले पोखरामा परशुराम थापाको भाइलाई काटेको भन्ने बुझिन्छ।
अंग्रेज सेनानायक कप्तान किनलकको नेतृत्वमा सिन्धुलीको बाटोबाट नेपाल खान अगाडि बढेको फौजलाई रोक्न र उनीहरूको अभियानलाई विफल बनाउन दुई वटा गोरखाली फौजको समूह प्रत्याक्रमणका लागि तयारी अवस्थामा थियो। तीमध्ये वंशु गुरुङले ढुंग्रेवासको मोर्चाबाट अंग्रेज फौजलाई तितरबितर बनाई भगाइदिएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी-२०६१:३३५)।
पृथ्वीनारायणले मगर र गुरुङलाई महत्त्वका साथ हेरेका थिए भन्ने उनको उपदेशका केही बुँदाले पनि स्पष्ट पार्छ। उनले उपदेशमा भनेका छन्‚ ‘गुरुं मगर षान्ज्यादा भैयाद भारदार मिर उमराउ थरघर पुराना पुरना जाची घुंडा गौंडामा राषनु. पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन्’ (आचार्य र योगी, उहीः५५)।
गुरुङ व्यक्तित्वहरूको चर्चा गर्दा पृथ्वीनारायण शाहको शासनकालका झागल गुरुङ र वंशु गुरुङको नाम प्रसिद्ध छ।
यसै विश्वासका परिणामस्वरूप पृथ्वीनारायणका नाति राजा रणबहादुर शाहको समयमा नरसिंह गुरुङ नामका काजी गुरुङहरूमध्ये त्यसवेला उच्च पदमा पुगेको देखिन्छ। त्यो समय दरबारमा काजी पदमा पुग्ने गुरुङ उनी एक मात्र हुन्।
विसं १८५५ मा रणबहादुर शाहले भारदारहरूलाई ताँवापत्रमा हस्ताक्षर गराउँदा हस्ताक्षर गर्नेमध्ये नरसिंह गुरुङ पनि एक छन्। त्यहाँ उल्लेख भए अनुसार उनका बाजेको नाम चिन्तु गुरुङ र बाबुको नाम सोभात गुरुङ रहेको देखिन्छ (चित्तरञ्जन नेपाली, श्री ५ रणबहादुर शाह‚ २०७५:१०९)।
काजी नरसिंहका एक छोराको नाम जयन्त रहेको देखिन्छ। धनवज्र वज्राचार्यले सम्पादन गरेको त्रिरत्न सौन्दर्य गाथा (२०१९:२८१)मा विसं १८४९ मा काजी देवदत्त थापा मगरको नेतृत्वमा चीनको पेकिङ जाने नेपाली दूतमण्डलमा सहभागी जयन्त साही (गुरुङ)लाई जेठाबुढा नरसिंह (गुरुङ)को छोरा उल्लेख गरिएको (डा. विजयकुमार मानन्धर, प्राचीन नेपाल संख्या १४५-असार २०५७:७)ले जयन्त नरसिंह गुरुङको छोरा भन्ने देखिन्छ। यसले काजी नरसिंहको पद विसं १८४९ तिर जेठाबुढा थियो भन्ने पनि स्पष्ट हुन्छ।
विसं १८६० फागुन २० गते काशीबाट नेपाल फर्कंदै गरेका स्वामी महाराज रणबहादुर शाहलाई बाटैमा नियन्त्रण गर्न काजी दामोदर पाँडेको निर्देशनमा उनी खटिएका थिए। तर‚ भीमसेन थापाको प्रभावबाट उल्टै उनी बाटैमा रणबहादुर शाहको रक्षक हुन पुगेका थिए (ज्ञानमणि नेपाल, नेपालको महाभारत‚ २०५२:५६-५७।
यताबाट हेर्दा तत्कालीन मूलकाजी दामोदर पाँडेको विश्वासपात्रका रूपमा रहेका काजी नरसिंहले रणबहादुर शाहको प्रत्यागमनसँगै समूह परिवर्तन गरे। र‚ उदाउन लागेको नयाँ शक्ति रणबहादुर शाह र भीमसेन थापाको समूहमा आफूलाई समर्पित गराएको भन्ने स्पष्ट हुन्छ।
स्वामी महाराजको स्वागत गर्न थानकोटमा पुगेका काजी दामोदर पाँडे तथा सरदार प्रवल राना पक्राउ परेका थिए। तीमध्ये पाँडेलाई उनको दुई छोरा सहित विसं १८६० चैत सुदी २ मा लुमडीनेर काटियो। सरदार प्रवल रानाले भागेर ज्यान बचाए (नेपाल, उहीः५७)।
स्वामी महाराज रणबहादुर बनारस बसेको समय त्यहाँका विभिन्न व्यापारीहरूबाट लिएको ऋणमा चुर्लुम्म डुबेका थिए। त्यो ऋणबाट मुक्त गराउन उनका छोरा तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले विसं १८६१ जेठ वदी १३ मा एक रुक्का जारी गर्दै विसं १८६० मा आफ्नी दिदीको विवाह हुँदा गोडधुवा माफ गरेर आफ्ना बाबुले बनारसमा रहँदा लागेको ऋण तिर्न भारदारहरूबाट रकम उठाएका थिए। त्यस वेला रणबहादुर शाहको कर्जा तिर्न आफ्नो हजुरमा सलामी रुपैयाँ चढाउन आदेश दिंदा काजी नरसिंह गुरुङको नाममा पाँच सय रुपैयाँ आठ आना रकम तोकिएको देखिन्छ (नेपाली, उहीः१२८)।
कूटनीतिज्ञको भूमिकामा काजी नरसिंह
विसं १८४६ मा नेपालको तिब्बतसँग सन्धि भंग भएपछि भीषण युद्ध भयो। पछि चिनियाँ अम्बान्हरूको रोहबरमा नेपाल र तिब्बतबीच सिमाना तय भएको थियो। विसं १८४९ को सन्धि अनुसार हरेक पाँच वर्षमा नेपालबाट एक उच्चस्तरीय प्रतिनिधि मण्डल सरसौगात सहित चीनको राजधानी पेकिङ जाने निधो भयो। यसबाट नेपाल चीनसँग प्रत्यक्ष सम्बन्ध कायम गरेर भविष्यमा आफूमाथि पर्न आउने संकटबाट सुरक्षित रहन सक्नेमा ढुक्क थियो। चीन जाने प्रतिनिधिमण्डलको नेतृत्व काजी देवदत्त थापा मगरले गरेका थिए। त्यस वेला प्रतिनिधि मण्डलमा जाने सदस्यको संख्या ४५ हुन्थ्यो। सरसौगातमा हात्ती, घोडा, पालकी, नाचटोली आदि हुने गरेको थियो (ज्ञानमणि नेपाल, नेपाल निरुपण‚ २०५५:२५२)।
रणबहादुर शाहको समयमा नरसिंह गुरुङ नामका काजी गुरुङहरूमध्ये त्यस वेला उच्च पदमा पुगेको देखिन्छ। त्यो समय दरबारमा काजी पदमा पुग्ने गुरुङ उनी एक मात्र हुन्।
देवदत्त थापापछि विसं १८५२ मा काजी नरसिंह गुरुङको नेतृत्वमा नेपाली दूतमण्डल तिब्बतको ल्हासा हुँदै चीनको पेकिङ पुगेको थियो। यो दूतमण्डलले पेकिङ पुगेर नेपाल फर्कन एक वर्ष लगाएको थियो।
हुन त सन्धिको सर्त अनुसार‚ विसं १८५४ को मध्यमा मात्रै नेपालले आफ्नो दूतमण्डल पेकिङ पठाउनुपर्थ्यो। तर‚ यसैबीचमा लामो समयदेखि लगातार आफ्नो साम्राज्यको राज्यभार वहन गर्दै आएका चीनका वयोवृद्ध सम्राट छियाङ्-लुङ्ले आफ्नो राज्याधिकार स्वेच्छाले आफ्ना छोरा चियाङ्-चिङ्लाई सुम्पिदिएकाले त्यतिखेर चिनियाँ अम्बान् (अधिकारी)को विशेष आग्रह अनुसार नयाँ बादसाहलाई शुभकामनाका सन्देशहरू चढाउन भनी निर्धारित समयभन्दा दुई वर्ष जति पहिले विसं १८५२ को मध्यमा नै नेपालबाट दूतमण्डललाई पेकिङ्तर्फ पठाइएको पाइन्छ (बाबुराम आचार्य, चीन तिब्बत र नेपाल‚ २०५९:१८३)।
काजी नरसिंहको नेतृत्वमा गएको दूतमण्डलको उपनेता जेठाबुढा माधौ शाही थिए। यस्तै‚ दोभाषेका रूपमा सतार मिया, मणिराम लामा र नारायण तिवारी थिए। लेखापढीका लागि खडानन्द पाध्य, उमराव काशी गुरुङका साथै किसुन कार्की, नरेन्द्र कार्कीलाई पनि दूतमण्डलमा सामेल गरिएको थियो। उनीहरूका साथ २० जना सैनिक जवान पनि संलग्न थिए (डा. विजयकुमार मानन्धर, प्राचीन नेपाल संख्या १४५-असार २०५७:९)।
त्यस वेलासम्म नायब बहादुर शाहको हातबाट नवयुवक राजा रणबहादुर शाहले राज्यको शक्ति आफ्नो हातमा लिइसकेका थिए। यो कुरा दूतमण्डलले चिनियाँ बादसाहलाई जानकारी गराएको थियो। पेकिङ जाने क्रममा यो दूतमण्डल विसं १८५२ भदौ सुदी ५ मा ल्हासा पुगेको थियो। त्यहाँ केही दिन बसेर भदौ सुदी १५ मा पेकिङ प्रस्थान गरेको थियो। पेकिङ पुगेपछि त्यहाँका नयाँ बादसाहलाई नेपालका राजाको तर्फबाट पठाएको खलितापत्र र उपहारहरू टक्र्याएको थियो। दूतमण्डलले १९ प्रकारका साधारण र ३१ प्रकारका विशेष उपहार लगेको थियो।
उपहारका रूपमा चार वटा हात्ती र चार वटा घोडा पनि लगिएका थिए। तराईतिरबाट लगिएका हात्ती र घोडाहरू भने भुटानको बाटो पक्रेर ल्हासा हुँदै पेकिङ पुर्याइएका थिए। ३५ दिनसम्म पेकिङमा बिताएको दूतमण्डललाई चिनियाँ कलाकारहरूले नाटक तथा नृत्यहरूले मनोरञ्जन दिलाएका थिए। बादसाहले नेपालका राजाका लागि मानार्थ सर्वोच्च कमाण्डरको पदवी सहित मुकुट उपहार दिएका थिए भने काजी नरसिंह गुरुङले दोस्रो दर्जाका मानार्थ पदवीका साथै मयूरको कल्की भएको मुकुट दिएका थिए। उनलाई एक सय चाँदीको टकका साथै बहुमूल्य उपहारहरू पनि प्राप्त भएको थियो (मानन्धर, उहीः९)।
पेकिङबाट फर्कंदा बीच बाटोको तार्चिनदेउ नामको ठाउँमा काजी नरसिंह बिरामी परेर केही दिन रोकिएका थिए। दूतमण्डल विसं १८५३ को भदौमा केरुङ आइपुगेको थियो। त्यहाँसम्म चिनियाँ तथा तिब्बती अधिकारीहरूले ससम्मान पुर्याएका थिए। त्यस वेला काजी नरसिंहले नेपाल र चीनको सम्बन्ध अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनी चिनियाँ पक्षले उनको प्रशंसा गरेको थियो। उनले नेपाल र चीनबीच शान्ति सम्झौतामा पनि हस्ताक्षर गरेका थिए। चिनियाँ बादसाहको तर्फबाट काजी नरसिंह मार्फत नेपालका तत्कालीन राजा रणबहादुर शाहलाई चीनको मानार्थ सर्वोच्च कमाण्डर ‘फु-काङ-आन’ समेत प्रदान गरिएको थियो। यो दूतमण्डलको खर्च त्यस वेला ३९ हजार दुई सय २० रुपैयाँभन्दा बढी लागेको थियो (मानन्धर, उहीः१०)।
विसं १८५२ मा काजी नरसिंह गुरुङको नेतृत्वमा नेपाली दूतमण्डल तिब्बतको ल्हासा हुँदै चीनको पेकिङ पुगेको थियो। यो दूतमण्डलले पेकिङ पुगेर नेपाल फर्कन एक वर्ष लगाएको थियो।
काजी नरसिंहको हत्या
राजगद्दी त्याग गरेर आफ्ना नाबालक छोरा गीर्वाणयुद्धविक्रमलाई राजा बनाई सन्न्यासी भइसकेका रणबहादुर शाह बनारसबाट नेपाल फर्केपछि नयाँ मुख्तियार भई नेपालमा रहेका भारदारहरूमाथि अनेकौं दोष थोपर्न थाले। तीमध्ये अंग्रेजलाई नेपाल ल्याउन कोठी खोल्नका लागि १८ हजार रुपैयाँ दिएको दोष लगाई काजी त्रिभुवनलाई तत्कालै विष्णुमतीमा लगेर काट्ने आदेश दिए।
रणमुक्तेश्वरमा भएको उनको घर समेत सर्वस्व गरी त्यहाँ रणबहादुर आफैं बस्न थालेका थिए। मारिनुअघि काजी त्रिभुवनले भारदारी सभा राखे सबै पोल खोलिदिने बताएपछि विसं १८६३ वैशाख १४ गते राति उनकै घरमा कचहरी बस्यो। कचहरीकै समयमा रणबहादुरसँग क्रुद्ध भएर उनकै सौतेला भाइ शेरबहादुरले तरबार चलाई उनको प्राण लिएपछि बालनरसिंह कुँवरबाट तत्कालै शेरबहादुर काटिए। त्यतिखेर भात खान गएका भीमसेन थापा हात पुछ्दै आइपुग्दा स्वामी महाराजको हत्याको बदलामा ‘लौ हेर त अब टेकु दोभानदेखि आर्यघाटसम्म सोला चढाउन सकिनँ भने म भीमसेन थापै होइन’ भनी सबैलाई ललकारेर कर्नाल फुकाई सबै सैनिकलाई सामेल हुन सूचना दिए (नेपाल, उहीः ६१-६३)।
त्यसपछि भीमसेन थापाको खाँडो जाग्यो। यहीं रात चौतारिया विदुर शाही, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ र पाटन दरबारमा दुई वर्षदेखि बन्दी बनाइएका पाल्पाली राजा पृथ्वीपाल सेन, उनका भाइ सहित सिपाही र नोकरहरू दरबारको भण्डारखाल बगैंचामा काटिए। भोलिपल्ट शेरबहादुर, विदुर, त्रिभुवन र नरसिंह गुरुङका दुईदेखि १५ वर्षसम्मका छोरा-नातिहरूलाई पनि विष्णुमतीमा लगेर काटियो। त्यतिखेरै हेलम्बूमा निर्वासित रानी राजराजेश्वरीलाई झिकाएर नौ जना सुसारे केटीसहित सती पठाइयो। भीमसेन थापाले यो हत्याकाण्डमा सती जाने १६ जना स्त्री सहित ७७ जना पुरुष गरी ९३ जनाको ज्यान लिए (नेपाल, उहीः६३-६४)।
रणबहादुरको हत्या लगत्तै काटिएका चौतारिया तथा भारदार र उनीहरूका छोरा, नातिहरूको दाहसंस्कारसम्म गर्न दिइएन। उनीहरूको पार्थिव शरीरलाई अमानवीय व्यवहार गर्दै दाम्लाले घिसार्न लगाई विष्णुमतिको बगरमा फ्याँक्न लगाएर स्याल, कुकुर र गिद्धलाई खुवाइयो (आचार्य, जनरल भीमसेन थापाः यिनको उत्थान र पतन‚ २०६९:७०)।
यसरी देशका निम्ति दिलोज्यान दिएर सेवा गरेका काजी नरसिंह गुरुङ दरबारिया षड्यन्त्रमा परी नृशंसतापूर्वक मारिए। उनका सबै सन्तानलाई सखाप पारियो भने श्रीमती र छोरीचेलीको पनि जात पतित गरी विजोग गराइयो।
नरसिंहको खायल अमरसिंह थापालाई
दरबारिया षड्यन्त्रमा परी भीमसेन थापाको निर्देशनमा मारिएकामध्ये एक काजी नरसिंह गुरुङको खायल (जागीर बापत पाउने जग्गाजमीन) उनको मृत्युपछि बडाकाजी अमरसिंह थापा र उनका छोराहरूलाई दिइयो।
योगी नरहरिनाथले सम्पादन गरेको इतिहास प्रकाश अङ्क १ (२०१२:१४६-१४७)मा प्रकाशित राजा गीर्वाणयुद्धविक्रम शाहले विसं १८६८ चैत वदी ३ शनिबार अमरसिंह थापाको नाममा जारी गरिएको लालमोहरमा यसबारे उल्लेख छ। लालमोहरमा ‘नरसिंग्या जाडको षायल कजाइ मानको पगरी बक्स्यौं. तस्को षानगी षेत ११६। षुवावदले नगद रुपैया ३५०० लि लडाञी भिडाञी हाल हुकुममा रुजु रही हाम्रा निमकको सोझो चिताइ तापसिलमाफिकका तोप वन्दुक जवान आफ्ना लाजिमा तयार राषी जागिर जानि भोग्य गर’ भन्ने उल्लेख छ (डा. इन्दिरा जोशी, आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान‚ २०६३:११३-११४)।
यसरी नरसिंहको खायलमा परेको गजुरी, नुवाकोट, चिशंखु, कुभिन्डे, झाँगाझोली, गोकर्ण, सल्यान, काठमाडौं आदि ठाउँको जग्गाजमीन राजा गीर्वाणयुद्धविक्रमले बडाकाजी अमरसिंह थापाको नाममा सारिदिए।
यहाँ नरसिंह गुरुङको नाम नरसिंग्या जाड लेखिनुमा हत्या गरिएका व्यक्तिलाई उपेक्षाभाव प्रकट गरी उनीहरूको नाम उच्चारण गरिने हुँदा यसो भनिएको संस्कृतिविद् जगमान गुरुङको भनाइ छ। यो लेखकसँगको कुराकानीमा उनले ‘जाड’ लेखिनुको कारण गुरुङहरू हिमाली जडान क्षेत्रका बासिन्दा भएकाले तामाङहरूलाई उपेक्षा गरेर ‘भोट्या’ लेख्ने गरिए जस्तै गुरुङलाई ‘जाड’ लेख्ने पुरानो चलन हो। संस्कृतिविद् गुरुङले काठमाडौंको ठमेलको हालको त्रिदेवी मार्गमा पनि काजी नरसिंहको खायल रहेको प्राज्ञ नयराज पन्तबाट थाहा पाएका थिए।