संसारलाई ‘नेपाली वीरता’ चिनाउने ती मगरहरू
नेपाल निर्माणमा उत्तिकै योगदान गरेको मगर जातिको शौर्य र वीरताबारे उल्लेख गर्नमा इतिहासविद्हरूले छाती चौडा पार्न सकेका छैनन्। जबकि, यही जातिले ‘नेपाली वीरता’ लाई विश्वमा परिचित गराएको मात्र होइन, बारम्बार पुष्टि समेत गर्दै आएको छ।
इतिहासका पाना पल्टाउँदा नेपालमा कतिपय जातिलाई ‘वीर’ को संज्ञा दिई तिनका सन्तानलाई अहिले पनि ‘काजी’ सम्बोधन गर्ने चलन जारी राखिएको छ। खास गरी थापा, बस्नेत, पाँडे, कुँवर आदि खसक्षेत्रीलाई इतिहासमा वीरका रूपमा विशेष स्थान दिइएको छ। तर, नेपाल निर्माणमा उत्तिकै योगदान भएका मगर जातिको शौर्य र वीरताबारे उल्लेख गर्नमा इतिहासविद्हरूले छाती चौडा पार्न सकेका छैनन्। जबकि, यही जातिले ‘नेपाली वीरता’ लाई विश्वमा परिचित गराएको मात्र होइन, बारम्बार पुष्टि समेत गर्दै आएको छ।
गोरखा : मगरहरूको राजधानी
द्रव्य शाह गोरखाका प्रथम शाहवंशीय राजा हुन्। शाहहरूको उदयअघि गोरखा खड्का थरका मगर राजाको राजधानी थियो। यहाँका शासक खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, ‘श्रीमगर गुरुङ वंशावली’–२०७८ः९)।
छुट्टै राज्य निर्माण गरी राजा बन्न अगाडि बढेका द्रव्य शाह (लमजुङे राजा नरहरि शाहका भाइ)ले लिगलिग कोेटको दौड प्रतियोगितामा भाग लिने बहाना बनाएर लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गराए। उनलाई क्षत्रिय कुलका गणेश पाँडेले साथ दिइरहेका थिए। यसको केही समयपछि रागिनास–कोट उनको अधिकारमा आयो। उनले अर्को लक्ष्य गोरखा–कोटलाई बनाए। आफूसँग रहेका जति सबै योद्धा साथ लिएर आक्रमण गरे। १५ दिनसम्म गोरखाका राजा खड्का मगरसँग घमासान युद्ध भयो। द्रव्य शाहले खड्का राजालाई आत्मसमर्पण गराउन हरसम्भव कोशिश गरे, तर राजा गलेनन्। अन्ततः उनले राजालाई तरबार प्रहार गरी त्यहाँ खड्का मगरहरूको शासन अन्त्य गराए (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त–२०६३ः९१–९२)।
यसरी खड्का मगर राजालाई तरबार हानेर उनको शासनसत्ता समाप्त पारी द्रव्य शाह विसं १६१६ भदौ २५ गते गोरखाको राजगद्दीमा बसे (दिनेशराज पन्त, गोरखाको इतिहास पहिलो भाग–२०४१ः५३)।
गोरखामा मगरहरूको शासन अन्त्य गरे पनि द्रव्य शाहलाई आफ्नो शासनव्यवस्था टिकाउन उनीहरूकै साथसहयोग आवश्यक पर्न गयो। त्यसैले उनले नारायण अर्ज्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाँडेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहरालाई भूमि विभागको प्रमुख बनाएसँगै न्याय विभागको प्रमुखको जिम्मेवारी गङ्गाराम रानामगरलाई दिएका थिए (डा. प्रेमसिंह बस्न्यात नेपाली सेना : लिगलिगकोटदेखि वर्तमानसम्म–२०७१ः१७२)।
गोरखाली परम्परा अनुसार, त्यहाँ इमानदारीपूर्वक सैन्य सेवामा लाग्ने भारदार मरेमा उनीहरूको सन्तानलाई मरवट (जागीरको अवसर) दिने चलन थियो। यो अवसर मगरहरूमा पनि लागू हुन्थ्यो। पृथ्वीनारायण शाहले ‘जस्तोसुकै ठूलो विराम गरे पनि भारदारलाई नमार्नू, बरु उसलाई कठिन युद्धमा होमिदिनू, मरे पनि त्यसैमा मर्छ’ भन्ने नीति लिएका थिए। उनले पाँडे, बस्न्यात, पन्थ र मगरहरू आफ्ना सोझा भारदार भएकाले पालैपालो मरवट दिनू भन्ने उपदेश दिँदै भनेका थिए, ‘पाँडे बस्न्यात पंथ भैयाद मग्रलाई मारातप् दिदा आलोपालो गरि षान दिनु. ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्. ईनीहरूको जीव जान्या विराम गर्याका भया पनि आफूले नमार्नु. बरु मारातप् दिएर लडाञीमा झोसिदिनु’ (बाबुराम आचार्य र योगी नरहरिनाथ, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश–२०६१ः४२–४३)।
मगरहरूले नेपालले लडेका सबैजसो युद्धमा पराक्रम देखाएका थिए। जस्तो– काजी देवदत्त थापा मगर, सरदार प्रतिमन रानाले तिब्बत र चीनसितको युद्धमा वीरतापूर्वक लड्नुका साथै नेपालको पूर्वी सिमाना टिष्टामा साँध लगाएका थिए। उनका छोरा जसपाउ थापा मगर काँगडाको युद्धमा वीरतापूर्वक लडेका थिए।
गोरखाले अपनाएको ६ थरघर अन्तर्गत राना मगरहरूको राजनीतिक विरासत लामो समयसम्म दरबारमा कायम रह्यो। मगरमध्ये पनि राना तथा थापाहरूले काजीको जिम्मेवारी पाइरहेकै थिए। कोतपर्वमा सबैभन्दा पहिले ज्यान गुमाउने जनरल अभिमानसिंह राना अन्तिम मगर काजी बने। त्यसपछि मगरहरूले परम्परादेखि पाउँदै आएको केन्द्रीय स्तरको राजनीतिक विरासत पनि सकियो।
मगरहरूले नेपालले लडेका सबैजसो युद्धमा पराक्रम देखाएका थिए। जस्तो– काजी देवदत्त थापा मगर, सरदार प्रतिमन रानाले तिब्बत र चीनसितको युद्धमा वीरतापूर्वक लड्नुका साथै नेपालको पूर्वी सिमाना टिष्टामा साँध लगाएका थिए। उनका छोरा जसपाउ थापा मगर काँगडाको युद्धमा वीरतापूर्वक लडेका थिए।
यस्तो वीर जातिका रूपमा इतिहासमा नाम कमाएका मगरहरूको पहिचान आज फेरिएको छ। मानवशास्त्री डोरबहादुर विष्ट मगरहरूको परिचयका सम्बन्धमा लेख्छन्, ‘भारतीय र ब्रिटिश गोरखा फौजमा भर्ती हुनेहरू बाहेक अरू सबैको जीविकाको सम्पूर्ण आधार खेतीपाती नै हो। मकै, धान कोदो आदि र अरू दाल–तिहुन हुने सिमी, बोडी पनि आफ्नै खेतीमा उमार्छन्। मल र दहीदूधका लागि गाईभैंसी अनि मासु र ऊनका लागि भेडा र बाख्रा पनि पाल्ने गर्छन्’ (डोरबहादुर विष्ट, सबै जातको फूलबारी–२०६४ः५३)।
विश्वमै वीरको पहिचान
विसं १८७१–७२ को नेपाल–अङ्ग्रेज युद्धपछि क्रमशः नेपालीहरू विदेशी सैन्य सेवामा जान शुरू गरे। बडाकाजी अमरसिंह थापाका छोराहरू अर्जुनसिंह थापा र भूपालसिंह थापा तथा एक नाति पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भई लाहोर (हाल: पाकिस्तान) मा पुगी लाहुरे कहलाइसकेका थिए (दिनेशराज पन्त, पूर्णिमा पूर्णाङ्क ५–२०२२ वैशाखः६३–७०)।
नेपाल–अङ्ग्रेज युद्धका समयमा मैदानमा खटिएका गोरखाली सैन्य जवानमध्ये नालापानीका चर्चित योद्धा बलभद्र कुँवर पनि युद्धबाट फर्केपछि नेपालमा गतिलो अवसर नपाएका कारण लाहुरे बन्न बाध्य भए। उनलाई मामाहरू अर्जुनसिंह थापा र भूपालसिंह थापाले लाहोर लगेका थिए (रामराजा कुँवर र डा. धनबहादुर कुँवर, नालापानीका नायक वीर बलभद्र कुँवर–२०६९ः५१–५२)।
यसरी शुरू भएको नेपालीहरूको लाहुर–भर्ती जाने प्रचलन खास गरी राणाशासकहरू वीरशमशेर र चन्द्रशमशेरको समयमा व्यापक बन्न पुग्यो। उनीहरूले गोरखा भर्तीका लागि ब्रिटिशहरूलाई डिपो नै खोल्न दिए।
ब्रिटिशका लागि विभिन्न मुलुकका नौजवान सैनिक अत्यावश्यक भएको र त्यही वेला वीरशमशेर गोत्रहत्या गरी भर्खरै सत्तामा पुगेकाले आफ्नो शासनलाई अङ्ग्रेजबाट मान्यता दिलाउनका खातिर उनी नेपालीलाई भर्तीमा पठाउन उदार देखिए। चन्द्रशमशेरको समयमा त नेपाली नौजवानलाई अङ्ग्रेज सेनामा भर्ती गर्न झनै उदारता देखाइयो। प्रथम विश्वयुद्धका वेला भारतीय अङ्ग्रेज सेनामा भर्ना भएका ५ लाख १ हजार सैनिकमध्ये ५५ हजार त नेपाली थिए। त्यति वेला त्यो आँकडा नेपाली पुरुषको जनसङ्ख्याको २५ प्रतिशत थियो (शिवप्रसाद शर्मा (सम्पा.), नेपालको सैनिक इतिहास–२०४९ः२४४–२५३)।
युद्धमा शौर्य र पराक्रम देखाउँदै आएका मगर नौजवानप्रति पनि अङ्ग्रेजहरू आकृष्ट नहुने कुरै भएन। उनीहरूले ब्रिटिश गोर्खा सैन्य सेवामा ठूलै पराक्रम देखाएर नेपाली नामलाई विश्वमै चम्काइदिए। ब्रिटिशले युद्धवीरहरूलाई दिने सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ (भीसी) पाउने १३ नेपालीमध्ये ६ जना त मगर मात्र छन्।
भीसी पाउने पहिलो नेपाली गोर्खाली कुलवीर थापा मगर हुन्। उनी सन् १८८८ मा बाग्लुङको निगलपानीमा जन्मेका थिए। पहिलो विश्वयुद्धमा सेकेन्ड बटालियनबाट उनी सन् १९१४ मा फ्रान्सका लागि प्रस्थान गरेका थिए। १९१५ को सेप्टेम्बरमा फक्युसर्टमा भयङ्कर युद्ध हुँदा जर्मन पक्षबाट ब्रिटिश पक्षले ठूलो क्षति बेहोर्नुपरेको थियो। ब्रिटिश गोरखा अफिसरको कमान्डमा जर्मन ट्रेन्चतर्फ लम्कन लाग्दा कुलवीर थापा अचानक घाइते भए। तर, उनी पछि हट्नुको साटो रातभरि कुरेर बिहानीपख आफ्नो पक्षका घाइते तीन सिपाहीलाई बोकी सकुशल आफ्नो मोर्चामा सामेल हुन आइपुगेका थिए। त्यसैगरी उनले गोलाबारीकै बीच ज्यानको बाजी लगाई अर्का ब्रिटिश सैनिकलाई पनि बचाएका थिए। यस्तो अदम्य साहस र वीरताबाट प्रभावित भई उनलाई बेलायतको सर्वोच्च युद्धपदक भीसी प्रदान गरियो। साथै, उनलाई हवल्दार पदमा बढुवा पनि गरिएको थियो (डा. सुरेन्द्र केसी, गोर्खाभर्ती कथा, व्यथा र आन्दोलन–२०६२ः२०३–२०४)।
यी युद्धवीरको सम्मान स्वरूप सन् २०२१ सेप्टेम्बर २५ मा बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा पूर्ण कदको शालिक अनावरण गरिएको छ।
पहिलो विश्वयुद्धमा भीसी पदक पाउने अर्का वीर कर्णबहादुर राना पनि हुन्। यस्तै, तुलबहादुर पुन, नेत्रबहादुर थापा, लालबहादुर थापा र शेरबहादुर थापा दोस्रो विश्वयुद्धमा भीसी पदक प्राप्त गर्ने मगरहरू हुन्।
यिनै युद्धवीर मगरहरूका सन्तान आज पनि ब्रिटिश सेनामा उच्च पदमा पुगेका छन्। हालसम्म यस सैनिक सेवामा पाँच जना नेपाली गोर्खालीहरू लेफ्टिनेन्ट कर्णेलसम्मको दर्जामा पुगेका छन्। तीमध्ये चार जना मगर छन्। उनीहरू हुन्, लालबहादुर पुन, यामबहादुर राना, टोल खाम्छा र देवेन्द्र आले। उनीहरू बाहेक ब्रिटिश सेनामा लेफ्टिनेन्ट कर्णेल पदमा पुग्ने अर्का नेपाली विजय रावत हुन्।
यसरी मगरहरूले नेपाली गोर्खाली जातिलाई विश्वभर वीर जातिका रूपमा चर्चित बनाउन ठूलो भूमिका खेलेका छन्।
यस लेखमा भने नेपाल–अङ्ग्रेज युद्धमा वीरतापूर्वक लडेर नेपाली गोरखाली पराक्रमको परिचय दिने मगर योद्धाहरूबारे केही ऐतिहासिक पक्ष उल्लेख गरिएको छ।
काजी जसपाउ थापा मगर
नेपालको इतिहासमा काजी जसपाउ थापाको नाम पराक्रमी योद्धाका रूपमा पढ्न पाइन्छ। उनले खास गरी नेपालको राज्यविस्तार अभियानका क्रममा पश्चिमी किल्ला काँगडाको युद्ध र नेपाल–अङ्ग्रेज युद्धमा ठूलो पराक्रम देखाएका थिए। उनी मुख्तियार भीमसेन थापाको समयका काजी थिए।
उनी थापा मगर हुन्। वंशावली अनुसार, गोरखाको हटियाथोक सातधुरे खलकका काजी कर्णसिंह थापाका छोरा हरिहर थापा हुन्। उनका छोरा देवदत्त थापा हुन्। काजी जसपाउ थापा काजी देवदत्तका छोरा हुन् (योगी, उहीः११)।
‘सक्छौ जागीर खाऊ, सक्दैनौ जागीर नखाऊ, झण्डामुनि बस, दरबारमा नपस’ भन्ने भनाइ जसपाउ थापाकै हो भनी यसलाई एउटा मननयोग्य उक्तिका रूपमा नेपाली समाजमा लिइने गरेको छ।
युद्धमा शौर्य र पराक्रम देखाउँदै आएका मगर नौजवानप्रति पनि अङ्ग्रेजहरू आकृष्ट नहुने कुरै भएन। उनीहरूले ब्रिटिश गोर्खा सैन्य सेवामा ठूलै पराक्रम देखाएर नेपाली नामलाई विश्वमै चम्काइदिए। ब्रिटिशले युद्धवीरहरूलाई दिने सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ (भीसी) पाउने १३ नेपालीमध्ये ६ जना त मगर मात्र छन्।
काजी जसपाउ काँगडा हान्ने अभियानका क्रममा काजी नयनसिंह थापा (भीमसेन थापाका भाइ) र सुरदत्त शाहीका साथ नयाँ श्रीनाथ, वज्रवानी र रणभीम पल्टन लिएर त्यसतर्फ प्रस्थान गरेका थिए। त्यति वेला त्यसतर्फका राजा रामशरणले १० हजारको सङ्ख्यामा फौज तैनाथ गराएर हन्डुरको बाटो बन्द गरिदिएका थिए। त्यो बाटो खुलाउन काँगडाबाट हस्तदल शाही, सरदार अङ्गद (घले)का साथ १० कम्पनी लिएर हन्डुर आई काजी जसपाउले युद्ध लडेका थिए। त्यहाँबाट शत्रुलाई संहार गरी बाटो साफ गरेर उनी काँगडा फर्केका थिए।
त्यसपछि उनी बडाकाजी अमरसिंह थापाका साथ जालन्धरको बाटो भई सुमेरुगढ आक्रमण गर्न अघि बढेका थिए। काजी नयनसिंह थापा भने भगवानपुरको बाटो भई माल काँगडा आक्रमण गर्न निस्के। तर, उनलाई शत्रुपक्षले हानेको गोली लाग्यो। त्यस युद्धमा चार सय नेपाली सैनिक हताहत भए। गोली लागेको केही दिनपछि नयनसिंह थापाको पनि मृत्यु भयो। तर, नेपाली फौजले काँगडा किल्ला घेर्न छाडेन। ५ हजारको फौज सहित बडाकाजी अमरसिंह र सरदार रणजित कुँवरको साथमा काँगडा किल्ला घेर्नेमध्येका एक सैन्यनायक जसपाउ थापा पनि थिए। त्यहाँको युद्धमा उनको नेतृत्वमा ५ सय शत्रु सेनाको संहार भएको थियो (प्राचीन नेपाल सङ्ख्या २४–२०३० साउनः१२–१४)।
त्यस लगत्तै भएको नेपाल–अङ्ग्रेज युद्धमा पनि उनले पराक्रम देखाएका थिए। युद्धका क्रममा विसं १८७१ मंसीर २२ गते देहरादूनबाट तिमली पार भएर शत्रु सेना मुगलानमा उत्रिएको थियो। त्यो सेना पुस ७ गते शिवालिकको कालापारि भञ्ज्याङ पार गरेर नेपालको सरहदमा घुसी तिलकपुरमा बस्यो। जिलेस्पीको बदलामा त्यसै दिन जनरल मारिन्डेल आइपुगेका थिए। त्यहाँबाट सात माइल फरक नाहनमा रणजोर थापा बसेका थिए। उनका साथ काजी जसपाउ र भैरवसिंह बस्न्यात आदि तीन सरदारका अधीनमा एक हजार सैनिक थिए। यिनैमध्येबाट २५० जना नालापानी गएका थिए।
पुस १४ गते बिहानै मार्टिन्डेलले मेजर रिचर्डलाई ७५० सैनिकका साथ मोर टिप्पामा पठाए। त्यसको भोलिपल्ट रातमा काले टिप्पा दखल गर्न लड्लोलाई त्यति नै सङ्ख्यामा सेना दिई पठाए। शत्रु सेना आएको खबर पाई रणजोर थापाले काजी जसपाउ र सरदार भैरवसिंहलाई ५ सय सैनिकका साथ झयाम्टाका आडमा पठाए। यिनीहरू आडमा आइपुग्दा लड्लो पनि आइपुगे। आड दखल गर्नलाई दुई पटक आक्रमण गरे। तेस्रो पटकको आक्रमणमा काजी जसपाउ थापाले आफ्ना तर्फका सैनिक निकालेर शत्रु उपर जोडदार आक्रमण गर्न अगाडि बढ्दा अङ्ग्रेजहरू त्यहाँबाट भागे। पूर्णिमाको जुनेली रातमा लखेट्दै जाँदा शत्रु सेनामध्ये निकै भीरमा परे। त्यसपछि उनीहरू नाहन फर्कन बाध्य भए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ८४–२०५० वैशाखः२१–२२)।
झ्याम्टाको यो युद्धमा काजी जसपाउ अत्यन्तै आक्रोशित भएका थिए। दुई मुखबाट अङ्ग्रेजले आक्रमण गरेको थियो। दोहोरो गोली चल्दा १०–१२ जनाले ज्यान गुमाए। २०–२२ जना घाइते भए। अरू सरदार र सुवेदारहरूले ‘लडाइँ बिग्रियो, आडमा जाऊँ’ भनी जसपाउलाई सम्झाए। तर जसपाउले ‘बिग्रेको लडाइँ भारदारको हुन्छ, सप्रेको लडाइँ सिपाहीको हुन्छ। लडाइँ पक्कै पनि सपारौंला, सपार्न नसके ज्यान दिऊँला’ भनी हठ गरेका थिए (प्राचीन नेपाल, उहीः१४)।
युद्ध मैदानमा यस्तो अभिव्यक्ति दिने काजी जसपाउ थापा पराक्रमी पुरुष थिए भन्नेमा कुनै शङ्का छैन। सुगौली सन्धिपछि पनि उनी सक्रिय रहे। उनले विसं १८८३ चैत सुदी ५ मा मेवाखोलाका लिम्बू सुब्बाहरूलाई ४ सय १६ रुपैयाँ आठ आनाको ठेक्काको फरफारकका लागि जारी गरेको कस्यपत्र उपलब्ध छ (भगिराज इङ्नाम, लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह–२०७७ः६४०)।
शमशेर राना मगर
नेपाल–अङ्ग्रेज युद्धमा पराक्रम देखाउने वीरमध्ये शमशेर राना मगर पनि एक हुन्। नेपालले यस युद्धमा थोरै ठाउँमा शत्रुलाई पराजित गरेको थियो। तीमध्ये पर्सागढीको युद्धमा अङ्ग्रेजहरूले लज्जास्पद हार बेहोर्नुपरेको थियो। शत्रुले पर्सा र समनपुरमा समेत दखल गर्दा त्यतातिरको बाटो रोक्न कप्तान वीरकेशर पाँडेलाई १२ सय र कप्तान सर्वजित थापालाई १२ सय सैनिक दिएर रणवीरसिंह थापाले पठाएका थिए। वीरकेशरले पुस १९ गते आधा रातमा समनपुरगढीमा एक्कासि आक्रमण गरिदिए। पर्सातिर शत्रुसेनाका दुई तोप भएकाले बिहानसम्म लडाइँ चल्यो। यस युद्धमा अङ्ग्रेज अफिसरहरू सहित निकै शत्रु सेना मारिए। नेपाली सेनातिर पनि केही मारिए, केही घाइते भए। समनपुरमा पनि गोरखालीको कमै क्षति भयो (आचार्य, उहीः२३)। यस युद्धमा सरदार शमशेर रानाले ठूलो बहादुरी देखाएका कारण कप्तान दर्जामा बढुवा पाएका थिए।
युद्ध चलिरहेका वेला दुवै पक्षबीच सन्धिको कुरा पनि उठिरहेको थियो, तर कुरा मिलिरहेको थिएन। यस्तो अवस्थामा दुवै पक्षबीच दोस्रो युद्ध हुने भयो। राजधानी काठमाडौं नै हान्ने लक्ष्य लिएर सेनापति अक्टरलोनी २० हजार तालिमप्राप्त सैनिक, तोपहरू सहित चार दलमा बाँडिएर आएका थिए। उनीहरू ठोरीको बाटो गरी मकवानपुरतिर बढ्ने, रतनपुरको बाटो गरी हरिहरतिर बढ्ने, पर्सागढीबाट सिमरा पुग्ने योजनाका साथ फागुन १ गते अमलेखगन्ज आइपुगे (आचार्य, उहीः४३–४४)।
फागुन १८ गते अक्टरलोनी सेना लिएर मकवानपुरगढीको फेदमा आइपुगे। गढीछेउको सिकरकटेरी गाउँमा शत्रुको खबर लिन तीन सय नेपाली सैनिक तैनाथ थिए। त्यो आड शत्रु सैनिकले सजिलै दखल गरे। त्यो ठाउँबाट शत्रुलाई हटाउन फागुन २० गते बिहानै रणवीरसिंह थापाले चार हजार नेपाली सैनिकलाई त्यसतर्फ पठाए। ती सैनिकको सेनापतिका रूपमा शमशेर राना खटिएका थिए। उनले एकाबिहानै शत्रुलाई चारैतिरबाट घेरा दिएर जोडदार आक्रमण गरिदिए। दुवै पक्षबीच घमासान युद्ध भयो। त्यही वेला भयङ्कर आँधीबेहरी आयो। दुवै पक्षको सैनिक व्यवस्था खलबलियो। त्यसपछि दुवै पक्ष हटेर आआफ्नो आडमा बसे (आचार्य, उहीः४४)।
अङ्ग्रेजसँगको दोस्रो युद्धमा रणवीरसिंह थापा, शमशेर राना र वीरकेशर पाँडेले अक्टरलोनीलाई चुरे पहाड पार गरेर आउन नदिने सङ्कल्प गरेका थिए। त्यसैले उनीहरूले मूल बाटोमा परेका र शक्तिखोरतिर रहेका चुरे क्षेत्रमा आड बनाई सैनिकहरू राखेर शत्रुलाई रोक्ने प्रबन्ध मिलाएका थिए। तर, अक्टरलोनीले चल्तीमा नरहेका बाटो समाएर चुरे पार गर्ने मौका पाए। यी बाटालाई नेपाली पक्षले बेवास्ता गरेको थियो।
सिकरकटेरी र झुरझुरीको युद्धमा शत्रुको तोप र उम्दा बन्दूकसँग नेपाली फौज सामान्य बन्दूक र खुकुरीको भरमा बहादुरीपूर्वक लडेको थियो। तर, चुरे सजिलै पार गरेर शत्रु सैनिक महाभारत पार गरी काठमाडौं पुग्ने सम्भावना देखेर भीमसेन थापाले सन्धिको कुरा अगाडि बढाए। सुगौली सन्धि पनि भइहाल्यो (आचार्य, उहीः४५)।
रिपुमर्दन थापा मगर
नेपालको इतिहासमा नालापानीको युद्ध गौरवमय छ जसको नेतृत्व कप्तान बलभद्र कुँवरले गरेका थिए। नालापानी युद्धमा रिपुमर्दन थापा मगरको पनि महत्त्वपूर्ण योगदान छ।
गङ्गा र यमुना नदीबीचको पहाडी भूभागभित्र प्रवेश गर्ने महाभारत पर्वत शृङ्खलाको भञ्ज्याङमा रहेको नालापानी किल्लालाई सामरिक रूपमा सुदृढ पार्न नपाउँदै र युद्धको औपचारिक घोषणा हुन नपाउँदै अङ्ग्रेजले आक्रमण गरिहाल्ने सुरसार कसेपछि बलभद्र कुँवरको सहयोगका लागि रिपुमर्दन थापा मगर २ सय ५० सैनिकका साथ विसं १८७१ कात्तिक ९ गते नालापानी किल्लामा पुगेका थिए (बाबुराम आचार्य, जनरल भीमसेन थापाः थिनको उत्थान र पतन–२०६९ः१२१)।
युद्धका क्रममा नालापानी किल्ला फोर्ने उद्देश्यका साथ जिलेस्पीले कात्तिक १६ गते साँझमा किल्लादेखि ६ सय गजको फरकमा दुई दुई वटा तोप राखी आफ्ना सैनिकलाई चारै दिशातर्फ बाँडे। कात्तिक १७ गते अङ्ग्रेज सेनाबाट गोलाबारी शुरू भयो। नेपाली सेनाले पनि किल्लाभित्रैबाट जवाफ दिइरह्यो। अङ्ग्रेज सेना किल्लाको ढोकाबाट भित्र पस्न खोजिरहेको थियो। त्यति वेलै नेपाली सेनाले ढोका खोलेर एक्कासि तोप चलाइदिंदा शत्रु सैनिकले ठूलो क्षति बेहोर्नुपर्यो। परिस्थिति सम्हालेर जिलेस्पीले फेरि नालापानी किल्लातिर सेना बढाए। किल्लाको ३० गज फरकमा पुगेपछि किल्लाभित्रबाट छुटेको नेपाली पक्षको गोली लागेर जिलेस्पी ढले। सेनापति नै मारिएपछि फेरि अङ्ग्रेज सेना पछि हट्न बाध्य हुनुपर्यो (आचार्य, पूर्णिमा पूर्णाङ्क ८४–२०५० वैशाखः१९)।
सीमित स्रोतसाधनका भरमा नेपालीहरूले अङ्ग्रेज फौजलाई कडा चुनौती दिइरहेका थिए। सजिलै नेपालीलाई हराउन नसक्ने देखिएपछि अङ्ग्रेजले नालापानी किल्लाभित्र जाने पानी रोकिदिएपछि त्यहाँ हाहाकार मच्चियो। किल्लाभित्र लाशैलाशले दुर्गन्ध पनि फैलिरहेको थियो। पानी समेत पिउन नसक्ने भएपछि केही नेपाली सैनिकले किल्ला छाड्ने निर्णय गरे।
मंसीर १५ गते आधा रातमा कप्तान बलभद्र कुँवर, सरदार रिपुमर्दन थापा, चामु बस्न्यात, गञ्जसिंह थापा खान लागेका थिए। पानी नभएर भातसम्म पकाउन नपाएर यी सेनापतिहरू काँचो चामल चपाइरहेका थिए। त्यसै वेला उनीहरूले केही सैनिक किल्लाबाहिर निस्केको देखे। उनीहरूलाई सेनापतिहरूले किल्लाभित्रै अड्न चेतावनी दिए। केही अडिए, केहीले किल्ला छाडे। किल्ला नछाडी अन्तिम समयसम्म लड्ने कबुल गरेर नाम लेखाउनेहरूमध्ये रिपुमर्दन थापा पनि एक थिए (महेशराज पन्त, पूर्णिमा पूर्णाङ्क ३–२०२१ कात्तिकः६४)।
किल्लाभित्र नेपालीहरू तिर्खाले आकुलव्याकुल भइरहेका थिए। त्यस्तो विकट परिस्थितिमा पनि बलभद्र कुँवरले जस्तोसुकै परिस्थिति आए पनि आत्मसमर्पण नगर्ने बरु लड्दालड्दै प्राण त्याग्ने अठोट गरे। चारैतिर सङ्कटले घेरिएको र कुनै सहयोग आउने सम्भावना नरहेकाले सीमित नेपाली फौज किल्लाभित्र किंकर्तव्यविमूढ अवस्थामा पुगेका वेला रिपुमर्दनले कप्तान बलभद्रलाई जबरजस्ती मनाएर ५०–६० जना सहित किल्ला बाहिर निकाले। किल्ला बाहिर निस्कँदा अङ्ग्रेज सेनाले उनीहरूमाथि हमला गर्यो। उनीहरू मुकाबिला गर्दै शत्रुको घेराबाट निस्की द्वारागाउँतिर हिँडे (डा. इन्दिरा जोशी, नेपाल–अङ्ग्रेज युद्ध–२०६३ः६२–६३)।
उनीहरू द्वाराबाट गोपीचन्द डाँडामा किल्ला बनाउन हिंडे। त्यो रात उनीहरू त्यही डाँडामा बसे। त्यसै वेला अङ्ग्रेजहरूले उनीहरूमाथि गोली बर्साउन थाले। उनीहरू पनि शत्रु उपर जाइलाग्न थाले। दुई पक्षबीच गोली हानाहान हुँदा रिपुमर्दनको दाहिने पाखुरामा गोली लाग्यो, उनी घाइते भए। उनलाई जमदारले डोर्याई केही माथिसम्म लगे, तर हिंड्न नसकी उनी त्यहीं बसे। बाँकी नेपाली सैनिक डाँडा चढ्न लागे। भोलिपल्ट मंसीर १९ गते बलभद्रले लिन पठाएका मानिसले रिपुमर्दनलाई बोकी चामुवा पुर्याए। नालापानी आसपासमा औषधोपचारको व्यवस्था गरिएको थिएन। गढवालको मुकाम श्रीनगरमा मात्र नेपाली वैद्य राखिएको थियो। गढवालको रक्षा गर्न बसेका काजी बख्तावरसिंह बस्न्यातले घाइते भई आएका रिपुमर्दन लगायतको उपचार गराइदिएका थिए (आचार्य, पूर्णिमा पूर्णाङ्क ८४ः६४–६५)।
नेपाल–अङ्ग्रेजबीच युद्ध सकिएपछि पनि रिपुमर्दन सक्रिय भएको देखिन्छ। विसं १८९१ साउन वदी ४ मा मा काजी पदमा रहेर उनले हाल धनकुटा जिल्लामा पर्ने छरुवा दोभानका महावीर, नरवीर, रूपनारायण लगायत नाममा नित्य पूजा र पौवा निर्माणका लागि कस्यपत्र जारी गरेको पाइएको छ (इङनाम, उहीः६५४)।
भवानीदत्त थापा मगर
नेपाल–अङ्ग्रेज युद्धका क्रममा अङ्ग्रेजतर्फका सेनापति मार्ले पलायन भएपछि उनको बदलामा जनरल उड सेनापति भएर आएका थिए। पर्सा र समनपुरको युद्धमा बेइज्जतीपूर्ण हार बेहोर्नुपरेपछि मार्ले रामनगरको छाउनीमा पाँच हजारभन्दा बढी थप सैनिक मगाएर बसेका थिए। तर, फागुन १ गते उनी एक्लै भागेर छाउनीबाट पलायन भएका थिए। नेपाली सैनिक पनि छाउनी छाडी पर्सा, बारा र समनपुरबाट हटेर चुरे पहाडमा आड बनाई बसेका थिए। त्यहाँबाट नौ माइल उत्तरतिर एक आड बनाएर भवानीदत्त थापा मगर बसेका थिए। रणवीरसिंह थापाले अङ्ग्रेज सेनालाई हटाउन पाँच सय सैनिकका साथ भवानीदत्तलाई खटाए। उनले फागुन १३ गते बन्जरियामा आक्रमण गरिदिए। शत्रु सेनालाई सहयोग गर्न पाँच सय रिसल्ला आइपुगे। भवानीदत्त पछाडि हट्न बाध्य भए। शत्रुले दपेट्दा उनी चुरेको आडमा अडिएर लडे। यस युद्धमा नेपालले भवानीदत्त सहित २ सय ५० सैनिक गुमायो (आचार्य, उहीः२५–२६)।
चामु राना मगर
अङ्ग्रेजसँगको युद्धमा पश्चिमतिरको नालागढको मोर्चामा चामु राना मगरले नेतृत्व सम्हालेका थिए। नेपाल आक्रमण गर्न हतारिंदै अक्टरलोनी प्रशस्तै तोप र सैनिक लिई सतलजको जलमार्गबाट हन्डुरको दक्षिण-पश्चिम किनारा हुँदै पूर्वतिर पर्ने प्लासिया भन्ने गाउँमा विसं १८७१ कात्तिक २२ गते उत्रे। त्यसबाट चार माइल पूर्व नालागढ थियो। भोलिपल्ट कर्णेल टाइसमले नालागढ र तारागढ आसपासका ठाउँहरू दखल गरी आवतजावत रोकिदिए। त्यसै दिन नालागढ घेरी चौथो दिन बिहानैदेखि २४ घण्टासम्म तोप र बन्दूक चलाइरहे। किल्लाभित्र सुवेदार चामु रानासँग एक कम्पनी सैनिक मात्र थिए। किल्लाभित्रबाट उनले पनि प्रत्याक्रमण गरिरहेका थिए। तर, शत्रुको तोप प्रहारका कारण किल्ला बच्न असम्भव देखेर कात्तिक २२ गते ९० सैनिकका साथ उनले आत्मसमर्पण गरे। अक्टरलोनीले उनीहरूलाई नेल लगाएर कैदमा राखे पनि बाटो खन्ने काममा नलगाई हलुका काम लगाउने कबोल गरेका थिए (आचार्य, उहीः२८)।
कीर्ति राना मगर
अङ्ग्रेजसँग युद्धका क्रममा बाह्र ठकुराई हिमालतिर विसहरका नवागढ किल्लामा नेपाली सेनाको नेतृत्व गरेर सुवेदार कीर्ति राना मगर बसेका थिए। त्यहाँ आफ्नै सेनाबाट उनलाई ठूलो धोका भयो। चार वर्षअघि भागेर गएका विसहरका दिवान आएर विरोधी गतिविधि सञ्चालन गरिरहेका थिए। कीर्ति रानासँग भएका सवा सय जति सैनिकमध्ये सबैजसो सिरमोरी र गढवालीहरू थिए। यिनीहरूलाई लिएर राति गढतिर जान भनी कीर्ति अघि सर्दा उनीहरूले जान इन्कार गरिदिए। उनीहरूको नियत बुझेपछि आँखा छलेर रातमा निस्कँदा ती विद्रोही सैनिकले उनलाई दपेटामा लिई अक्टरलोनीका छेउ लगिदिएका थिए (आचार्य, उहीः३४)।
यसरी मगरहरूले वीर योद्धाका रूपमा नेपाली माटोका लागि रगत–पसिना बगाएको इतिहास पाइन्छ। तर, हाम्रै आँखा अगाडि वीर मगरहरूको गौरवमय इतिहासलाई विस्मृतिको गर्भतिर धकेल्ने प्रयत्न भइरहनु अर्को दुःखलाग्दो पाटो बन्न पुगेको छ।