तामाङलाई यसरी बनाइयो घोडचढी सेनाबाट निशस्त्र
लिच्छवीकालमा घोडचढीजस्तो सम्मानजनक कामले आफ्नो वीरता र सौर्य देखाउँदै आएका उनीहरुलाई क्रमश निशस्त्र बनाउन थालियो। इतिहास शिरोमणि आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः ४१८) मा तामाङलाई पाखाबाली हुने जग्गा किपटका रुपमा दिएर युद्धको समयमा भारी बोकाउने गरिन्थ्यो भनी उल्लेख गरिएको छ।
नेपालका तामाङलाई विभिन्न इतिहासकारले भोटका तत्कालीन शक्तिशाली राजा श्रङ चङ गम्पोसँग जोडेका छन्। राजा गम्पोका घोडचडी सेनाको रुपमा उनीहरू नेपाल आएको र यतै बसोबास गरेको इतिहासकारहरूको मत छ।
यहि सन्दर्भमा इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘किरात इतिहास’ (२०६३ः ७६) मा हँशुदेव (अँशुवर्मा?) को निधनपछि सन् ६४० मा उनका ज्वाइ श्रङ चङ गम्पो नेपाल आएका थिए। उनले त्यहि समयमा १२ डिभिजन तामाङ फौज तिब्बतबाट ल्याएर उपत्यकाको सुरक्षाको लागि तैनाथ गरेका थिए।
उनले तामाङ फौजको मतलब तिब्बतको घोडचढी फौज भएको उल्लेख गरेका छन्। ‘ता’को अर्थ घोडा, ‘माङ’ को अर्थ युद्ध र ‘माङ्मी’ को अर्थ सैन्य भएकाले ‘तामाङ’ भन्ने बित्तिकै युद्ध गर्ने मान्छे भन्ने बुझिने चेम्जोङको मत छ।
यसरी सातौं शताब्दिसँग जोडेर तामाङको प्राचीनताको इतिहास गडबड त हुने होइन भन्ने आशंका पनि उत्पन्न हुन सक्छ। त्यसैले, यस लेखमा तामाङको प्राचीनतालाई स्थापित गर्दै उनीहरू प्राचीनकालकै घोडचढी सैन्य पनि हुन सक्ने तर्क सहित ऐतिहासिक विवेचना गर्न खोजिएको छ।
अन्वेषक शर्माले पाषणकालिन मंगोलियनहरू तिब्बत हुँदै नेपाल आउँदा काठमाडौं पुगेको उल्लेख गरेका छन्। यसले ‘हामी सबैभन्दा पुरानो बासिन्दा हौं’ भन्ने तामाङहरूको धारणालाई पुष्टि गर्ने आधार मिल्ने शर्माको मत छ।
तामाङको प्राचीनता
अन्वेषक जनकलाल शर्माले तामाङको प्राचीनतालाई प्रागैतिहासिक पुरातात्त्विक अनुसन्धानबाट प्रमाणित गर्ने प्रयास गरेका छन्। शर्माले आफ्नो पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः ३८८-३९२) मा रसियन प्रागैतिहासिक पुरातत्त्वविद् डा. अनातोली याकोब्लेभ शटेन्कोले गरेको खोजसँग जोडेर तामाङको प्राचीनताका विषयमा आफ्नो धारणा राखेका छन्।
रुसको लेनिनग्राद विश्वविद्यालय पुरातत्त्व संस्थानका प्रागैतिहासिक पुरातत्त्वविद् डा. शटेन्को २०३४ को २ माघदेखि ११ चैतसम्म पुरातात्त्विक अध्ययनका क्रममा नेपालमा बसेका थिए। उनले बुढानीलकण्ठको दक्षिणपूर्व बानियाँ पाखा र पण्डित गाउँबीचको धोवीखोलाका किनारमा केही पाषण हतियारहरू फेला पारे। यसको अध्ययनबाट डा. शटेन्कोले काठमाडौं उपत्यकाको मानवबस्ती मध्यपाषण युगदेखि चलिआएको निष्कर्ष निकालेका थिए।
अन्वेषक शर्माले पाषणकालिन मंगोलियनहरू तिब्बत हुँदै नेपाल आउँदा काठमाडौं पुगेको उल्लेख गरेका छन्। यसले ‘हामी सबैभन्दा पुरानो बासिन्दा हौं’ भन्ने तामाङहरूको धारणालाई पुष्टि गर्ने आधार मिल्ने शर्माको मत छ। उनका अनुसार उपत्यकामा बाहिरियाको प्रवेश हुन थालेपछि तामाङ छेउछाउतिर लागेका थिए।
भोटका शक्तिशाली राजा श्रङ चङ गम्पोले नेपालसँग वैवाहिक सम्बन्ध गासेका थिए। लिच्छवी राजा अँशुवर्माकी छोरी भृकुटीसँग विवाह गरेका उनी नातागोताको हिसाबले नरेन्द्रदेव नेपालको कैलाशकुट भवनको राजसिंहासनमा विराजमान भएको देख्न चाहन्थे।
प्राचीन घोडचढी सैन्य
भोटका शक्तिशाली राजा श्रङ चङ गम्पोले नेपालसँग वैवाहिक सम्बन्ध गाँसेका थिए। उनले लिच्छवी राजा अँशुवर्माकी छोरी भृकुटीसँग विवाह गरेका थिए। त्यस वेला लिच्छवी राजकुमारद्वय उदयदेव र नरेन्द्रदेव ल्हासा पुगेका थिए।
इतिहास शिरोमणि बाबुराम आचार्यले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को पूर्णाङ्क ४८ (२०३७ चैतः १-२) मा नरेन्द्रदेव ल्हासामै हुर्केको लेखेका छन्। यता नेपालको शासन सत्तामा भने जिष्णु गुप्त र विष्णु गुप्तहरूको हालीमुहाली थियो। लिच्छवी राजकुमार विस्थापित अवस्थामा थिए।
नातागोताको हिसाबले नरेन्द्रदेव नेपालको कैलाशकुट भवनको राजसिंहासनमा विराजमान भएको देख्न चाहन्थे, श्रङ चङ गम्पो। त्यसै वेला चीनमा ताङसाङ वंशको उदय भएर दोस्रो बादशाहका रुपमा ताइचुङ सत्तामा थिए। उनीबारे चिनियाँ यात्री यु आन च्वाङ (ह्वेन साङ) मार्फत् भारतका राजा हर्षवर्द्धनले प्रशिद्धि सुनेका थिए। त्यसपछि भारतीय राजा हर्षवर्द्धन र चिनियाँ राजा ताइचुङबीच एक-आपसमा राजदूत पठाउने क्रम शुरू भयो।
यसरी चिनियाँ र भारतीय राजाबीच खबर आदान प्रदान गर्ने राजदूतहरू नेपाल भएरै ओहोरदोहोर गर्थे। ताइचुङले पठाएका राजदूत नेपालको बाटो भएर भारततिर नलाग्दै भोटको आडमा नरेन्द्रदेव स्वदेश फर्किए। त्यतिवेला नेपालका रैतीले पनि उनलाई साथ दिए।
भयंकर युद्ध भयो। नरेन्द्रदेवसँग हारेपछि भिमार्जुनदेव र विष्णु गुप्तले राजसिंहासनको बागडोर त्यागे। र, वि.सं. ६९९ मा नरेन्द्रदेव कैलाशकुट भवनको राजसिंहासनमा विराजमान भए।
यहिँनेर ‘चीन र भोटको आड पाएर नरेन्द्रदेव नेपाल फर्केको’ भन्ने भान हुन्छ। नरेन्द्रदेव ल्हासाबाट परिवार र नोकरचाकरका साथ मात्रै पक्कै फर्केनन्। उनले नेपालमा हालीमुहाली चलाइरहेका गुप्तहरूविरुद्ध लड्न यथेष्ट सैन्यबल पनि लिएर आएको अनुमान लगाउने गरिन्छ।
तिरहुतमा हाकिम भएर बसेका अर्जुनसँग लड्न भोटबाट आएका घोडचढी सेनाहरू काठमाडौंमा बसे। प्राचीनकालदेखि काठमाडौं र वरपर सभ्यता विकास गरी आवाद भएका तामाङसँग समिश्रित भए होलान् भन्ने इतिहासकारको आकलन बलियो भएर आउँछ।
किनकि, त्यसवेला गुप्तहरूको बागडोर खोसी आफू राजकीय विरासतमा पुनस्थापित हुने नरेन्द्रदेवको उद्देश्य रहेको पाइन्छ। त्यसैले राजा श्रङ चङ गम्पोले आफ्ना नातेदारको सत्ता पुनस्थापनाका लागि घोडचढी सैन्य जवानको राम्रै लस्कर नरेन्द्रदेवका साथ पठाएको हुनुपर्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ।
इतिहास शिरोमणि आचार्य (पूर्णिमाको पूर्णाङ्क ४८, २०३७ चैतः १-२) का अनुसार अर्को वर्ष लि ई पियाओको नेतृत्वमा चिनियाँ टोली भारततिर जादा नरेन्द्रदेवसँग भेट गरेका थिए। उनीहरूसँग ३० जना घोडचढी सेना थिए।
यस्तै वि.सं. ७०४ मा वाङ (सेनापति) यु आन चेको नेतृत्वमा अर्को राजदूत टोली भेट्न जाँदा हर्षवर्द्धनको निधन भइसकेको थियो। त्यो वेला अनिकाल पनि परेको थियो। तिरहुतमा हाकिम भएर बसेका अर्जुनले यु आन चेको सामान लुटपाट गरी केहीलाई मारे भने केहीलाई नियन्त्रणमा लिए। उनी भने त्यो फन्दाबाट उम्की भागेर नेपाल आइपुगे।
त्यसपछि अर्जुनसँग बदला लिन श्रङ चङ गम्पो र नरेन्द्रदेवसँग सहयोग मागे। भोटबाट पैदल सेना र नेपालबाट घोडचढी सेनाका साथ पुन यु आन चे तिरहुत उत्रिए। तिरहुतिया सेनालाई सखाप पारी अर्जुनलाई पक्रिएर युद्धबन्दीका रुपमा चीन पुर्याए।
यसरी भोटबाट आएका घोडचढी सेनाहरू काठमाडौंमा बसे। प्राचीनकालदेखि काठमाडौं र वरपर सभ्यता विकास गरी आवाद भएका तामाङसँग समिश्रित भए होलान् भन्ने इतिहासकारको आकलन बलियो भएर आउँछ। त्यहीँ बेलादेखि उनीहरूले प्राकृतिक संस्कृतिको रुपमा वोन्पो प्रथालाई निरन्तरता दिए भने बौद्ध धर्मलाई धर्मदर्शनका रुपमा आत्मसात गरे। त्यो वेला बौद्ध धर्म दर्शन नेपालको बाटो भएरै भोटतिर पुगेको हो।
पीपा गोश्वारामा काम गर्ने अधिकाँश जवान तामाङ नै हुन्थे। उनीहरूले अरु सैनिकले पाउने पद त पाउँथे, तर हतियार बोक्न वा चलाउन भने पाउदैनथे। सैन्यको नाममा पीपा पल्टनमा भर्ति भए पनि उनीहरूको पद सुवेदारभन्दा माथि जादैनथ्यो।
यसरी भोटबाट आएका घोडचढी सैन्यहरूको समिश्रणले पनि तामाङलाई घोडचडी सैन्य, घोडाधनी वा घोडा ब्यापारीको रुपमा देख्न थालिएको हो।
घोडचडी सैन्यको निशस्त्रीकरण
२० साउन, २०६६ मा सरकार र संयुक्त ताम्सालिङ संघर्ष समितिबीच आठ बुँदे सहमति भयो। सहमतिको ३ नंं बुँदामा नेपाली सेनामा विगतको पीपा गोश्वारा र हालको बन्दोबस्ती गणलाई सैनिक सरहको सेवा सुविधा प्रदान गर्ने र ४ नं. बुँदामा तामाङको छुट्टै गणको ब्यवस्था गर्ने उल्लेख छ।
नेपाली सेनामा पीपा गोश्वाराका जवानले खासगरी बन्दोबस्तीका काम गर्दै आएका थिए। यसमा भर्ना हुने जवानले हातहतियार बोक्न नपाउने नियम थियो। पीपा गोश्वारा भनेपछि सर्लक्क तामाङ जवानको अनुहारको झल्को आइहाल्छ।
पीपा गोश्वारामा काम गर्ने अधिकाँश जवान तामाङ नै हुन्थे। उनीहरूले अरु सैनिकले पाउने पद त पाउँथे, तर हतियार बोक्न वा चलाउन भने पाउदैनथे। यस अर्थमा सैन्यका नाममा पीपा गोश्वाराका जवानको काम एक जना मजदुरले गर्नुपर्ने कामजस्तै थियो। सैन्यको नाममा पीपा पल्टनमा भर्ति भए पनि उनीहरूको पद सुवेदारभन्दा माथि जादैनथ्यो।
लिच्छविकालमा घोडचढीजस्तो सम्मानजनक कामले आफ्नो वीरता र सौर्य देखाउँदै आएका उनीहरुलाई क्रमश निशस्त्र बनाउन थालियो। इतिहास शिरोमणि आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः ४१८) मा तामाङलाई पाखाबाली हुने जग्गा किपटका रुपमा दिएर युद्धको समयमा भारी बोकाउने गरिन्थ्यो भनी उल्लेख गरिएको छ।
मानवशास्त्री डोरबहादुर विष्टले ‘सबै जातिको फूलबारी’ (२०६४ः ४२) मा त्यो वेलाको पल्टनमा भर्ती हुन आए पनि तामाङलाई भारी बोक्ने पल्टनमा मात्र लिने गरेको उल्लेख गरेका छन्। प्राचीनकालका यी घोडचढी सैन्यलाई निशस्त्र गरेर भरिया सैन्यमा परिणत गरी राज्यले उनीहरूको उन्नयनको बाटो अवरुद्ध गरिदियो।
उनका अनुसार गोरखालीले माझकिरात हान्दै गर्दा पूर्वपट्टिको पहाडमा बाटोघाटो असजिलो भएकाले भरियाको बन्दोबस्त मिलाउन पृथ्वीनारायण शाहले मुर्मी, सुनुवार र थामीलाई समेत लिएका थिए। त्यसअघि उनीहरूलाई सैनिकमा भर्ना लिइँदैन्थ्यो। त्यसरी लिइएकाहरूलाई पाखाबाली हुने जग्गा किपट दिई युद्धको काममा रसद हतियार आदि बोक्ने काम दिएका थिए।
यस प्रसंगमा आचार्यले राखेको पाद टिप्पणीमा (वि.सं. १८२९) तामाङ (मुर्मी) ले किपट पाएको र यसअघि उनीहरूले किपट पाएको कागज आफूले नभेटेको उल्लेख गरेका छन्। यसरी लेख्य इतिहासमा पृथ्वीनारायण शाहले तामाङलाई भारी बोकाउन शुरु गरेको देखिन्छ।
मानवशास्त्री डोरबहादुर विष्टले ‘सबै जातिको फूलबारी’ (२०६४ः ४२) मा त्यो वेलाको पल्टनमा भर्ती हुन आए पनि तामाङलाई भारी बोक्ने पल्टनमा मात्र लिने गरेको उल्लेख गरेका छन्। प्राचीनकालका यी घोडचढी सैन्यलाई निशस्त्र गरेर भरिया सैन्यमा परिणत गरी राज्यले उनीहरूको उन्नयनको बाटो अवरुद्ध गरिदियो।
भौगोलिक संवेदनशीलता
तामाङमाथि भएको शोषण र उनीहरूलाई गरिएको निशस्त्रीकरणका सन्दर्भमा पूर्वका लिम्बूले पाएको अधिकार र हतियारको सन्दर्भमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ।
१० साउन, १८५० मा शिखरबेसी, ताँवेसतार, नर्जा र कविलासका तामाङ भेला भएर विद्रोह शुरू गरे। लुट मच्चाउन थालेको खबर पाएपछि सरकारले फौज पठाइयो। त्यतिवेला विद्रोहमा लागेका एक हजार जनाको ज्यान लिइएको इतिहासकारहरूले लेखेका छन्।
गोरखालीसँग वि.सं. १८३१ मा भएको सम्झौताअनुसार, २०१७ सालसम्म किपट नविकरण भइरहेको देखिन्छ। यस्तै रणबहादुर शाहको समयमा लिम्बू किपटीया सुब्बामध्ये श्रीदेव राय, आतहाङ राय, शुभवन्त राय र रैनसिङ रायलाई काठमाडौंमा बोलाएर १२ जेठ, १८४० मा बन्दुक, खुँडा र धनुकाणसमेत दिइएको इतिहासकार शिवकुमार श्रेष्ठको ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ (२०६८ः ११८) मा उल्लेख छ।
लिम्बूलाई यसो गर्नुको कारण उनीहरूको क्षेत्रको भौगोलिक संवेदनशीलता थियो। सीमा क्षेत्रमा बस्ने हुँदा उनीहरूलाई आवश्यक परेमा सिक्किम र भोटले सघाउन सक्थ्यो भने नजिकै रहेर भुटान र ब्रिटिस कम्पनी सरकारले पनि नजर दिइरहेकै थिए।
जसरी लिम्बूसँग मीठो मसिनो गर्दै फकाउँदै राखियो, उसैगरी राज्यले तामाङको आवादस्थल हेरेर उनीहरूमाथि गर्नुपर्ने ब्यवहारबारे नीति बनाएको देखिन्छ। काठमाडौं वरिपरिका धादिङ, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक तथा रसुवा तामाङ बाहुल्य जिल्ला हुन्। हिजो (वि.सं. १८५० मा विद्रोह गरी एक हजार जना) बलिमा चढेका तामाङलाई सशस्त्र जागिरमा लगाए वरिपरिबाट आफूलाई नै घेरेर घात गर्ने डर तत्कालीन शासकहरूलाई थियो।
१८५० मा तामाङले विशेष गरि नुवाकोटमा ठूलो विद्रोह गरेका थिए। यो विद्रोह जेठको पहिलो साता शुरू भएको थियो। एक-दुई जना तामाङले आफूलाई ‘अवतारी हुँ’ भन्दै नालदुम पश्चिम र बेत्रावतीपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए।
तामाङलाई निशस्त्रीकरण गरी सैन्य जागिरमा पनि भारी बोक्न पीपा बनाउने परम्पराले निरन्तरता पाइरह्यो। उनीहरू ब्रिटिश र भारतीय सेनामा भर्ती हुन जाँदा पनि जात थर ढाँट्न बाध्य भए।
उनीहरूसँग साँगाचोकका लामाले विमति जनाए। उनको हत्या भयो। यो खबर पाएर विद्रोह दबाउन सरकारले दुई पल्टन सैनिक पठायो। केही तामाङलाई काटियो।
त्यसको दुई महिनापछि फेरि तामाङले निक्कै ठूलो विद्रोह गरे। १० साउन, १८५० मा शिखरबेसी, ताँवेसतार, नर्जा र कविलासका तामाङ भेला भए। उनीहरूले लुट मच्चाउन थालेको खबर सरकारलाई भयो र फौज पठाइयो। त्यतिवेला एक हजार जनाको ज्यान लिइएको इतिहासकार दिनेराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को पूर्णाङ्क ६४ (चैत २०४१ः १-३) मा लेखेका छन्।
अर्कोतिर तिमालका शासक रिन्छिन दोर्जेको निकट सम्बन्ध सेन राजासँग थियो। यसबारे चन्द्रप्रसाद त्रिपाठीले ‘प्राचीन नेपाल’ संख्या ९१ (२०४२ पुस-माघः ६) मा हरिहरपुरबाट राजा दिग्वन्धन सेनले वि.सं. १८१९ भदौ सुदीमा रिन्छिन दोर्जेलाई दिएको ताम्रपत्र नै प्रकाशमा ल्याइसकेका छन्।
यिनै कारण तामाङलाई निशस्त्रीकरण गरी सैन्य जागिरमा पनि भारी बोक्न पीपा बनाउने परम्पराले निरन्तरता पाइरह्यो। उनीहरू ब्रिटिश र भारतीय सेनामा भर्ती हुन जाँदा पनि जात थर ढाँट्न बाध्य भए।