‘ऐना झ्यालको पुतली’ को सन्देश
फिल्म हेरिसकेपछि एक जना किशोरीले भाग्य र नियतिसामु आत्मसमर्पण गर्नुपर्ने सन्देश ग्रहण गरे के फिल्मले समाजका निम्ति केही दिएको ठहरिन्छ?
नेपाली फिल्म हेर्न मन पराउने दर्शकले ऐना झ्यालको पुतलीलाई खुब रुचाएका छन्। विशेषतः पचासको दशकमा किशोरावस्था छिचोलेका तन्नेरीले यसमा अझ बढी निकटता अनुभव गरे। धेरैले फिल्मका पात्रमा आफू प्रतिविम्बित भएको महसूस गरे।
२०५० सालतिर रेडियो नेपालबाट सुनिने प्रातकालीन धुनदेखि मुना बालपत्रिका त्यति वेलाका अधिकांश किशोरकिशोरीको दैनिक जीवनको हिस्सा थियो। रेडियो नेपालमा बिहान ६ बजे बज्ने शङ्खको धुनसँगै धेरैका दिन आरम्भ हुन्थे भने साँझ ५ बजे बाल कार्यक्रममा ‘आऊ भाइबहिनी, आऊ। रेडियो नजिक आऊ’ सुनिएसँगै रात खस्थ्यो।
केही राजनीतिक कुराकानी हुने परिवेश र परिवारमा हुर्केका बालबालिकाको निम्ति महाकाली सन्धिको प्रसङ्ग पनि उति वेलाको चर्चित खबर थियो। सामान्यतः पात्र र परिवेशमा दर्शकले आफ्नोपन अनुभव गर्ने फिल्मलाई नै राम्रो मानिन्छ। ऐना झ्यालको पुतलीले आफू उभिएको समयको धरातलका सूक्ष्मतम पक्षलाई समेत समेट्दा स्वभावतः धेरै दर्शकले मन पराएका छन्।
झण्डै त्यही समयमा टेलिफिल्म उजेली नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। त्यो टेलिफिल्मको युग थियो। बालबालिकाकै प्रमुख भूमिका रहेको यो टेलिफिल्ममा अहिले चर्चा बटुलिरहेको फिल्मकै कायाको थियो। सिनेमा हलमा अहिले ऐना झ्यालको पुतली हेर्दै गर्दा उजेलीलाई चिनेका धेरै दर्शकले सम्झेका होलान्। ऐना झ्यालको पुतलीको तुलनामा उजेलीमा स्थानीय खाँटी पात्रहरूको उपस्थिति बढी थियो, व्यावसायिक कलाकार थिएनन्।
विषयगत हिसाबमा यस फिल्मको कथावस्तु निकै मसिनो छ। यति मसिनो कि सिनेमाघरबाट बाहिरिएपछि कथावस्तुबारे गुन्दा केही मिनेट पनि मुश्किलले लाग्छ। तर, महाकवि देवकोटाले भने जस्तै, ‘सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ...।’
मसिनो कथावस्तुमा उभिएर यो फिल्मले तत्कालीन समयको नेपाली पहाडी गाउँको सजीव चित्रण गरेको छ। मितिका हिसाबले माओवादी सशस्त्र विद्रोह शुरू भएर पनि अझै देशव्यापी प्रभाव पारिनसकेको समय थियो, त्यो। पश्चिमका केही पहाडी जिल्लामा द्वन्द्वले प्रभाव पार्न थाले पनि धेरै सर्वसाधारणलाई त्यसको कुनै छनक थिएन। काठमाडौंका केही बौद्धिक र पश्चिमका केही गाउँमा मात्र हतियारबद्ध संघर्षले आफ्नो प्रभाव देखाइसकेको थियो।
हो, त्यही समय काठमाडौं उपत्यकामा गलैंचा बुन्ने कारखाना खुलेका थिए। विदेश निर्यातमा केही सहजता थियो। गलैंचा बुन्न विशेषतः काठमाडौं उपत्यका वरपरका जिल्लाबाट मजदूरको ओइरो लाग्थ्यो, हिजोआज खाडी मुलुक, मलेशिया र कोरिया जाने आकर्षण जस्तै।
पचासको दशकको मध्यतिरबाट भने यो अवस्था क्रमशः मधुरो बन्दै गयो। गाउँ द्वन्द्वको चपेटामा थप जकडिन थाल्यो। गलैंचा कारखानामा राज्यको छापा बाक्लो हुन थाल्यो।
यही परिवेशमा सपनाको महल बनाएकी र पढ्ने हुटहुटी पालेकी एक किशोरी र उनको परिवार विशेषतः भाइलाई केन्द्रमा राखेर ऐना झ्यालको पुतली फिल्म बनाइएको छ। उजेली टेलिफिल्म जस्तै यो फिल्म कुनै एउटा निश्चित उद्देश्य बोकेर बनाइएको लाग्दैन। उजेली टेलिफिल्म बालविवाह रोकथामको एकसूत्रीय लक्ष्य सहित अन्तर्राष्ट्रिय नियोगको सहयोगमा बनाइएको थियो। ऐना झ्यालको पुतली आफ्नो लक्ष्यमा उजेली जति टाँठो सुनिंदैन। यसले कुनै एउटै सन्देश दिनुको सट्टा धेरै थरी सन्देश दिने शैली अँगालेको छ।
पञ्चायती व्यवस्थाको अवसानदेखि पचासको दशकको मध्यसम्म नेपाली समाज उति गतिशील थिएन। प्रजातन्त्र पुनःस्थापनासँगै पलाएका आशा र अपेक्षा पूरा हुन सकेका थिएनन्। बरु राजनीतिक विकृतिका ऐँजेरु पलाउन थालेका थिए। नेपाली समाजमा जड बनेर बसेका खास बहुपत्रीय समस्या समाधानका निम्ति कुनै उल्लेखनीय प्रयत्न हुन सकेको थिएन।
त्यही पृष्ठभूमिमा माओवादी सशस्त्र विद्रोहले समाजमा हलचल ल्यायो। तर, त्यो हलचल शुरू नभइसकेको कालखण्ड फिल्ममा चित्रित हुँदा समाज गतिहीन र शिथिल देखिन्छ। किशोरीका बुबालाई त्यो गतिहीनता र राजनीतिक विकृतिले मानसिक रूपमा विक्षिप्त बनाएको देखिन्छ। रेडियोमा हजार थरी समाचार सुनेर बिरक्तिएका उनी रक्सीमा डुबेर परिवारप्रति बेपर्वाह हुन्छन्। बरु घरको अन्नपात बेचेर भट्टी चहार्छन्। गतिशीलता र कुनै लक्ष्य नभएको समाजले यस्तै उद्देश्यविहीन नागरिक जन्माउँछ।
परिवार सम्हाल्ने दायित्व आएपछि छोराछोरीलाई सफल बनाउन आफ्नो वशमा नभएको परिस्थितिमा आमा लाचार छिन्। सामाजिक गतिशीलता र उत्पादनका साधनको दरिद्रताको कारण पहाडी गाउँलेले भोग्नुपरेको विपन्नताले त्यो ‘अधिकारी’ परिवारलाई पनि पिरोलेको छ। त्यसैले छात्रवृत्ति नपाउँदा किशोरीले आफ्नो पढ्ने सपना त्याग्नुको विकल्प हुँदैन।
कक्षामा प्रथम नभएपछि गुमाउनुपरेको छात्रवृत्ति कविता प्रतियोगिता जितेर पाउने पुरस्कारबाट शोधभर्ना गर्ने उनको चाहना पनि भाइको लापर्वाह र आरिसले पूरा हुँदैन। कानको गहना बेचेरै भएर पनि छोरीलाई पढाउने आमाको सपना पनि बाकसमा सुरक्षित राखिएको पैसाको चोरीसँगै तुहिन्छ। अर्को वर्ष पढ्न जाने सपना पुरा नहुँदै किशोरीको बिहे हुन्छ।
मुना बालपत्रिकामा कविता छपाउने किशोरीको सपना उति वेलाका धेरै केटाकेटीको सपना थियो। मुना, सुनकेस्रामा कविता छपाउने सक्ने किशोरकिशोरीको छाँटै अर्कै हुन्थ्यो। बरु हिजोआज त्यो उमेरका किशोरकिशोरीको निम्ति बालपत्रिका बिरानो वस्तु बनिसकेको देखिन्छ। मोबाइलका गेमसँगै हुर्किरहेका आजका केटाकेटीमा कुनै बालपत्रिकामा कविता छपाउने सपना नै पनि अनौठो लाग्दो हो।
फिल्मकी मूल पात्र किशोरी सपना र परिवेशको चेपुवामा परेकी लाचार पात्र जस्ती देखिन्छिन्। सामाजिक परिवेशप्रति उनको मनमा पलाएको विद्रोहले त्यो परिवेशमा निकास पाउने ठाउँ माओवादी लडाइँ नै थियो। आमाका हजार बातको बेवास्ता गर्दै रक्सी खान घरको अन्न बेच्ने बुबामाथि छोरीको आक्रामकता विद्रोही भावनाको टुसो थियो। तर, जडतामा बाँचेकी आमाले छोरीको विद्रोही भावनालाई मलजल गर्न सक्दिनन्।
त्यही समय हो, जति वेला हरेक शनिबार दिउँसो २ बजे नेपाल टेलिभिजनमा नेपाली र हिन्दी फिल्म प्रसारण हुन्थे। अधिकांश बालबालिकाको शनिबारीय दैनिकी १ः३० बजेसम्म नुवाइधुवाइ गर्ने, मोजाको भकुण्डो बनाएर खेल्ने अनि २ बजे टेलिभिजनअघि थप्पक बसेर ५ बजेसम्म फिल्म हेर्ने। हिन्दी फिल्मका पारिवारिक, फाइट र प्रेमको मसलेदार दृश्य शहर छेउछाउका नेपाली बालबालिकाका निम्ति नौलो समाजको विचरणको माध्यम थियो।
अनि काठमाडौंका गल्लीगल्लीमा चल्थे- भिडिओ घर। नयाँ नयाँ हिन्दी फिल्म देखाइने त्यस्ता भिडिओ घरमा वेलावेला प्रहरीको छापा पर्थ्यो। कम्तीमा शहरी क्षेत्र र शहर छेउछाउका गाउँमा विद्युत् र टेलिभिजन पुगेपछि आफ्नो चौघेरा बाहेक बाह्य विश्व चियाउने सहज माध्यम र मनोरञ्जनको तरीका नै त्यस्ता फिल्म थिए। फिल्ममा त्यो समयको रोचक चित्रण तत्कालीन समाजको सूक्ष्म अध्ययनको प्रतिफल हो।
त्यस्तै, यो फिल्ममा पनि बाल र किशोर मनोविज्ञानलाई गम्भीरतापूर्वक प्रस्तुत गरिएको छ। घरबाट निषेध गर्दा पनि खोलामा पौडी खेल्न जाने, साथीसँग चाइनिज पेन किन्ने र पैसा भएपछि दिन्छु भन्दै झुलाउने, घरबाट भाग्ने अनि फर्किने जस्ता थुप्रै बाल मनोविज्ञानका पक्ष सुन्दर तरीकाले बुनिएका छन्। अनि शृङ्गार गर्न रहर गर्ने, विवाहप्रतिको उत्सुकता, शारीरिक परिवर्तनप्रतिको दिक्दारी आदि किशोरावयको मनोविज्ञान पनि उत्तिकै सजीवताका साथ प्रस्तुत गरिएको छ।
फिल्म यति सुन्दर हुँदाहुँदै पनि यो तत्कालीन समाजको दर्पण जस्तो मात्र अनुभव हुन्छ। त्यो समाज त्यस्तो थियो भन्ने सन्देश प्रभावकारी तरीकाले दिइएको छ। तर, सफल फिल्मको समाजप्रतिको दायित्व भने यतिमा मात्र सीमित हुदैन। त्यसले समाजलाई कुनै न कुनै माध्यमबाट भविष्यको बाटो र आशाका किरण पनि देखाउनुपर्छ।
फिल्ममा हजार सपनाकी स्वप्नद्रष्टा किशोरीको अन्ततः विवाह भएको देखाइएको छ। अर्थात्, उनले नियतिसँग आत्मसमर्पण गरिन्। नियतिमा परिवर्तनको कुनै प्रयास गरिनन्। आफ्नो सपनाको बाटोमा आएको तगारोसामु उनले आफूलाई पराजित अनुभव गरिन्। अनि मितिनी र पारे (मुख्य पात्रकी साथी पात्र)कै शैलीमा विवाहको सहारामा पुगिन्।
किशोरीमा हुर्किएको विद्रोहीचेत आमाको आँसुसँगै पग्लेको देखियो। सपाट चित्रणले मात्र पनि कलालाई सुन्दर बनाउँदैन। अर्को शब्दमा भन्दा फिल्मले फगत त्यो समय र समाजको तस्वीर मात्र केलायो। अर्को कुनै बाटो देखाउने प्रयत्न गरेन। कलामा विचार र बाटो पनि उत्तिकै जरुरी छ। फिल्म हेरिसकेपछि त्यही उमेरकी एक जना किशोरीले भाग्य र नियतिसामु आत्मसमर्पण गर्नुपर्ने सन्देश ग्रहण गरे के फिल्मले समाजका निम्ति केही दिएको ठहरिन्छ?
यद्यपि, चर्चायोग्य नेपाली फिल्मको अभावमा हिन्दी फिल्मकै चर्चा छाप्न बाध्य नेपाली मिडिया र हेर्न अभ्यस्त नेपाली दर्शकले नौलो स्वाद लिन पाएका छन्। यो देखेर नेपाली सिने क्षेत्रले फड्को मार्दै गरेको अनुभूत हुन्छ। ऐना झ्यालको पुतली त्यही शृङ्खलाको नयाँ फिल्म हो। नेपाली फिल्मले नेपाल र नेपालीको कथा कहनुपर्छ, तब न नेपाली फिल्म। ऐना झ्यालको पुतली नेपालीको कथा भन्न सफल भएको छ।