अलग धारको अप्ठेरो
मौलिक विषय, स्थानीय संस्कृति र रैथाने परिवेशमा अलग धारका नेपाली फिल्म बन्ने क्रम बढे पनि उल्लेख्य दर्शकको साथ नपाउँदा यसको विस्तारको बाटो चुनौतीपूर्ण बनेको छ।
पछिल्ला दशकमा अलग धारका फिल्म बन्ने र चर्चा हुने क्रम बढेको छ। दशकअघि र आसपासमा निर्माण भएका मुखुन्डो, नुमाफुङ, साँघुरो, सुनगाभाले दर्शकमा केही छाप छोडे। फिल्म साउथएशिया, काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) जस्ता महोत्सवमा प्रदर्शनपछि यस्ता सिनेमाप्रति दर्शकको चासो अझ बढ्यो।
अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शनपछि प्रशंसा बटुलेका र पछि नेपालमा चलाइएका उमा, कालो पोथी र सेतो सूर्यले दशक लामो द्वन्द्वकालको गम्भीर विषय उठान गरिसकेका थिए। कोभिड–१९ महामारीअघिका बुलबुल र आमाले कथालाई मिहिन ढङ्गले खिपेर भने, अरू आशा जगाए। कोरोनाकालपछि चिसो एस्ट्रे प्रदर्शनमा आयो, गयो। बिस्तारै सिनेक्षेत्र अझ अलग विषय र परिवेशका कथा सहित जुर्मुराउँदै छ।
छायाङ्कन स्थललाई नै प्रमुख पात्र झैं बनाएर हलिउड, बलिउडमा धेरै सिनेमा बने। हामीकहाँ पनि सन् २०१२ मै हाइवे सिनेमामा दीपक रौनियारले राजमार्ग मार्फत तत्कालीन समाजका ज्वलन्त कथा प्रस्तुत गरेका थिए। यो क्रमलाई दीपेन्द्र के. खनालले पनि पछ्याउँदै गए। खनाल निर्देशित पशुपतिप्रसादमा पशुपतिनाथ मन्दिर, आमामा अस्पताल परिसर र पछिल्लो सिनेमा चिसो मान्छेमा राजमार्ग मूल पात्र जस्तै लाग्छन्। महामारी उत्कर्षमा रहेको समयमा विदेशबाट आएको श्रमिकको शव काठमाडौंदेखि बाजुरा लैजाने क्रममा देखिएका असहजता र चिसा प्रसङ्ग नै चिसो मान्छेको कथा हो। कोरोनाकालको मानवीय सकस र व्यथा उजागर गर्न संवेदनाविहीन मान्छेका कथा छान्ने क्रममा कतिपय नसुहाउँदा सन्दर्भ पनि यसमा अटाइएका छन्। व्यावसायिक रूपमा उत्साहजनक नरहे पनि चिसो मान्छेले केही आशा जगाएको छ।
सिनेमामा रङ्गकर्मीहरूको प्रवेश नेपालमा पनि नयाँ रहेन। नाटकबाट खारिएका कलाकारको उपस्थितिले सिनेमामा जीवन्तता थपिंदै छ। अनुप बरालको निर्देशनमा बनेको दोख त नाट्यकर्मीहरूले नै धानेका छन्। सशस्त्र विद्रोहकालमा सरकारी र विद्रोही दुवै पक्षका सुराकी हुन्थे। को कतातिर लागेको छ, कसका लागि काम गरेको छ, सर्वसाधारण अनभिज्ञ रहन्थे। त्यसैले उनीहरू हरदम त्रास र दोहोरो खतरामा हुन्थे। द्वन्द्वबीच थिचिएका जनसाधारणको यस्तै पीडा र विरह दोखले देखाउँछ। तर, बलियो विषय भए पनि छरिएको छ र दर्शकलाई अतिरिक्त विम्ब–प्रतीकको भारी बोकाइएको छ।
नेपाली सिनेमाको कथा मौलिक र बलशाली नभएको टीकाटिप्पणी फिल्म सम्बन्धी हरेक विमर्शमा सुनिन्छ, तर बलियो कथा लिएर आउने हिम्मत कमैले गरेका छन्। खगेन्द्र लामिछानेले त्यही हिम्मत गरेका छन्। द्वन्द्वकालमा बेपत्ता पारिएका छोराको खोजीमा हिंडेका बाबुआमाको व्यथा टिपेर उनले पानीफोटो लेखे र निर्देशन गरे। गाउँमा कसैको सन्तान फर्केर आयो भन्ने खबरले बेपत्ता कृष्णका बाबुआमामा नयाँ आशा थपिन्छ। सास न लाशको अवस्थामा अनन्त पर्खाइमा बसेका बेपत्ता व्यक्तिका परिवारको पीडा बताउने यो फिल्म त्यो अत्यासलाग्दो समयको दस्तावेज हो।
निर्देशक मनोज पण्डित आफ्नो पुस्तक सिनेमा मन्थनमा राम्रो सिनेमा केलाई भन्ने प्रश्नको उत्तर खोज्दै जोड्छन्, “सिनेमाको मियोका रूपमा कथ्य नै हुन्छ। हरेक सिनेमाको प्रारम्भ कथ्यबाट हुन्छ। त्यसपछि कथ्यलाई आकार, आकृति, प्रकृति, रूप, आधार, संरचना, तथ्य, प्रमाण, विश्वास र सम्बन्ध जस्ता रसायनहरूको संयोजनबाट उपयोग गर्न सकिने अस्तित्व बनाइन्छ।” उनले भने जस्तै विषय जतिसुकै महत्त्वपूर्ण भए पनि कथा भन्ने तरीका राम्रो भएन भने दर्शक बिच्किन्छन्।
पछिल्लो समयका तीन वटै फिल्म चिसो मान्छे, दोख र पानीफोटोमा गम्भीर कथावस्तु छन्, तर कथा भन्ने शैली आकर्षक छैन। विनोद र हास्यरस झल्याकझुलुक मात्र भेटिन्छ। संस्कृति, सामाजिक संस्कारका अरू विविधता पस्किन थोरै समाजशास्त्रीय पक्षबाट हेरेको भए र समाज अध्ययनको अझ गहिराइमा पुगेको भए नवीनता थप्न सकिन्थ्यो होला। आखिर सिनेमा निर्माण दृश्यात्मक मानवशास्त्र नै त हो।
पानीफोटोमा दोहोरिरहने बेपत्ता खोजीको उही सिलसिलाले दर्शकलाई घरीघरी झिजो लगाउँछ। मूल छायाङ्कन स्याङ्जाको कुनै गाउँमा गरिए पनि छोराको खोजीमा यी दम्पती पूर्व–पश्चिम राजमार्ग हुँदै बर्दियाको थारू बस्ती र ‘सशस्त्र द्वन्द्व’को उद्गम थलो रोल्पासम्म पुगेका छन्। तर, जताततै उस्तै सन्नाटा र उदासीका दृश्य देखिन्छन्। यी एकतमासका दृश्यले दर्शक पात्रहरूसँगै बेपत्ताको खोजीमा जान अनकनाउँछन्। बदलिएका भूगोल अनुरूपका संस्कृति र त्यसै परिवेशका गीत–सङ्गीतबाट पनि दर्शकलाई बाँध्न सकिन्थ्यो, भलै ती दुःखकै धुन किन नहुन्।
विगतमा साइनो, वासुदेव, कुसुमे रुमाल जस्ता विषयवस्तुका हिसाबले राम्रा सिनेमा नबनेका होइनन्। तर, काठमाडौं सहित प्रमुख शहरी क्षेत्रमा हिन्दी सिनेमाको दबदबाले नेपाली फिल्म शुरूदेखि नै ओझेलमा थिए। त्यसमाथि कृत्रिम संवाद, असहज हाउभाउ र अभिनयले दर्शकलाई थप मोहभङ्ग गराउँथ्यो। रङ्गमञ्चबाट आएका कलाकारको जमातले अभिनयमा रहेको त्यो असहजता हटाइसक्यो। अहिले सिने क्षेत्र स्थानीय विषय र रैथाने कथाको खोजीमा पसेको छ। आफ्नै कथाप्रति नेपाली सिनेकर्मीको ध्यान जाँदै छ, फरक संस्कृति र विषय पर्दामा देखिँदै छन्।
सिनेमा निर्माण सबै कला पक्षको समुच्च संयोजन हो भनिन्छ। परिवेश, दृश्य चयन, छायाङ्कन स्थल, खिचाइको कोण, सम्पादन सबैको भूमिका रहन्छ नै, तर प्रवेशबिन्दु तथा जग त कथा नै हो। राम्रो कथा बिकाउन त्यसलाई गतिलो गरी भनिनुपर्यो। लघुचलचित्र आखतका निर्माता÷निर्देशक गोपाल आचार्य भन्छन्, “रोमा, बोइहुड, कोडा जस्ता सिनेमाका विषय पनि गम्भीर छन्, प्रस्तुति पनि कसिलो र आकर्षक छ। बीचबीचमा डार्क ह्यूमर पनि घोलेका छन्। बाहिर फिल्म पढेर आएका हाम्रा सिनेमा निर्माताहरूले यो पक्षमा सोच्न जरुरी छ।”
नेपाली फिल्मकर्मीले अलग कथा त खोजे, तर त्यसलाई दर्शकको मनोविज्ञान–सापेक्ष सशक्त पटकथामा ढाल्नुपर्ने देखियो। कोभिड–१९ महामारीबाट क्लान्त नेपाली समाजले सिनेमा मार्फत पुनर्ताजगी खोजेको छ। पीडा भुलेर आनन्दित हुन चाहेको छ। त्यसैले यतिखेरको सिनेमाको शर्त हो– सन्तुलित र स्वस्थ हास्यरस।
भारतमा सन् १९८० कै दशकमा आक्रोश, मन्थन, मण्डी, अर्थ जस्ता सिनेमा बने। श्याम बेनेगल, दिवाकर बेनर्जी, गोविन्द निहलानी आदि निर्देशकले नयाँ विषय सहित जोखिम उठाए। त्यसैले ‘आर्ट फिल्म’मा भारतले लामो इतिहास बनाइसक्यो। अब त यस्ता सिनेमा नै व्यावसायिक फिल्मसँग प्रतिस्पर्धा गर्दै मूलधारमा आइसके, प्रस्तुति, छायाङ्कन, कलाकार आदिका कारण। सत्यजीत रे, ऋत्विक घटकले जस्तै उत्कृष्ट फिल्म बनाउने मृनाल सेनका भुवन सोम, जेनेसिस जस्ता हिन्दी तथा एक दिन प्रति दिन, अकालेर सन्धाने जस्ता बङ्गाली सिनेमाले गम्भीर कथा पनि सरस किसिमले भन्न सकिन्छ भन्ने प्रमाणित गरिसकेका छन्।
हामीकहाँ हलमा हप्तैपिच्छे उस्तै प्रकृतिका सिनेमा लाग्ने जस्तो परिस्थिति छ। हरेक साता हलमा गएर नेपाली फिल्म हेर्ने दर्शक कति होलान्? अर्कातिर, बोझिलो विषयवस्तुका कारण कलाकै गम्भीर पारखी पनि हल छिर्न हिचकिचाउँछन्। सिनेमा नचल्नुमा यी पाटा पनि कारक बने कि? अझ महत्त्वपूर्ण चाहिं, हिजोसम्म नेपाली सिनेमालाई हिन्दी सिनेमाबाट मात्र चुनौती थियो, अब त अंग्रेजी फिल्म हेर्ने युवा जमात ह्वात्तै बढेको छ। यसले हाम्रा सिनेमा दोहोरो मारमा पर्ने निश्चित छ।
स्विकार्नुपर्छ, सिनेमाका दर्शक आआफ्ना विधागत रुचिका हुन्छन्। ‘आर्ट फिल्म’मा व्यावसायिक सिनेमा सरह दर्शकको ओइरो लाग्दैन। तर, उत्साह जगाउने जति दर्शकको उपस्थिति पनि नभएपछि सिनेमा कसका लागि? सिनेकर्मी बाँच्ने कसरी? सिनेकर्मीले कुन उमङ्गले नयाँ सिनेमा बनाउने? यो अप्ठेरोबीच अलग धारका फिल्मले युवा पुस्ताको साथ पाए नेपाली सिर्जनशील सिनेकर्मीले अहिलेसम्म बनाएको गोरेटोले राजमार्ग भेट्न सक्छ।
(सिभिल इन्जिनीयरिङमा स्नातक खनिया अंग्रेजी साहित्यका विद्यार्थी हुन्। हिमालको २०७९ भदौ अङ्कबाट।)