‘ऐना झ्यालको पुतली मेरै घरपरिवारको कथा हो’
‘फिल्मको बुबा पात्र पनि बुबालाई नै छानेको छु। दुर्घटनामा परेपछि मानसिक समस्या देखियो, धेरै मदिरा पिउन थाल्नुभयो।’
प्रदर्शन नहुँदै समीक्षक र प्रिमियरमा सहभागी दर्शकले प्रशंसा गरेको फिल्म ऐना झ्यालको पुतलीका निर्देशक हुन् सुजित बिडारी। यसअघि वृत्तचित्र सावित्री लेखन तथा निर्देशन गरेका बिडारीको यो ‘डेब्यू’ फिचर फिल्म हो। यस फिल्मको लेखक समेत गरेका निर्देशक बिडारीसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
फिल्म ऐना झ्यालको पुतली तपाईंकै कथा त होइन?
हो, सबै नभए पनि धेरै मेरै कथाहरू छन्। सबै आफ्नै कथाहरू राख्दा पनि आफ्नै दस्तावेज जस्तो मात्र हुन्छ। त्यसैले त्यसमा केही ‘रोमान्टिसाइज’ गरिएको छ।
त्यस भए त पूजाकोठाबाट पैसा चोरेर फिल्म हेर्न जाने पात्र पनि तपाईं नै हो कि?
हो नि। त्यस्तो त कति गरियो, गरियो। सिरानीमुनि, पूजाकोठामा भगवान्लाई चढाएको पैसा, बुबाको खल्तीबाट धेरै पैसा चोरियो।
फिल्मको बुबा पात्र पनि बुबालाई नै छानेको छु। दुर्घटनामा परेपछि मानसिक समस्या देखियो, धेरै मदिरा पिउन थाल्नुभयो। त्यस वेला मानसिक समस्या भन्ने थाहा थिएन। पछि उपचार गरेपछि निको हुनुभयो।
अनि फिल्ममा सपना पूरा गर्ने भोक भएकी दिदी पात्र पनि तपाईंकै दिदी हुन् कि क्या हो?
हो, पात्र मात्र फरक हो। तर, कथा दिदीकै थियो। अझ मैले ‘कास्टिङ’ को समयमा आफ्नै परिवारको फोटो देखाएर ‘ल, यस्तै भाइ, यस्तै दिदी चाहियो’ भनेको थिएँ। त्यस्तै पात्र पनि खोजिएको थियो। आफ्नै परिवारको प्रतिनिधित्व खोजेको थिएँ। खोज्दै जाँदा संखुवासभाका कलाकार भाइबहिनी शुटिङ क्षेत्रमा नै भेटिए।
सानैदेखि आफ्नै कथामा फिल्म बनाउने उद्देश्य पो बोकिराख्नुभएको रहेछ?
मैले ‘यो बन्छु’ भनेर आजसम्म केही निर्णय लिएको छैन। शिक्षक चाहिं बन्दिनँ भन्ने लाग्थ्यो। शिक्षक बन्न नपरोस् भनेर बीएड तेस्रो वर्षको परीक्षा नै दिइनँ।
फिल्मको पनि त्यस्तो शौखीन नै त थिइनँ, तर विज्ञापन बनाउन एकदमै मन लाग्थ्यो। त्यसैले पनि ग्राफिक डिजाइन र विज्ञापन बनाउने काम गरें। त्यसपछि भिडिओ विज्ञापन बनाउन थालें। त्यसपछि अस्कर इन्टरनेशल कलेज भर्ना भएँ। त्यहाँ भिडिओ विज्ञापनबारे पढ्दा, सिक्दासिक्दै फिल्ममा रुचि बढ्यो। र, यो फिल्म बन्यो।
किन फिल्म बनाउनुभयो? फिल्मले के भनोस् जस्तो लाग्छ?
यही भनोस् भनेर प्रत्येक फिल्मलाई सामान्यीकरण गर्न मिल्दैन। तर, फिल्मको कथा अनुसार केही सञ्चार गर्ने कुरा हो। जे कुराले छोयो, जुन संवेदनशील विषयले मुटु घोच्यो, त्यही कुरा बोकेर कथा भन्ने माध्यम फिल्म हो। कहिले केही कुराले पछ्याउँछ र फिल्म बनाउन मन हुन्छ। अहिले ऐना झ्यालको पुतली बनाउँदा भने मेरै विगतले पछ्यायो, घोच्यो, छोयो, अनि बनाएँ।
अझ फिल्म लेख्दै गएपछि लेखन प्रक्रिया अनौठो हुँदो रहेछ। एउटा ‘आइडिया’ मा कथा चलाउँदा चलाउँदै दिक्क पनि लाग्दो रहेछ। मेरा तीन वटासम्म स्क्रिप्टमा त्यस्तै भयो। एकपल्ट आफ्नै परिवारको कथा भन्छु भन्ने सोचेर स्क्रिप्ट चलाइरहेको थिएँ। धेरै पटक कोर्दा पनि कथाबाट अलग भइनँ। त्यसपछि मलाई त यति लामो समयसम्म ‘रिलेट’ गर्यो भने दर्शकलाई पनि पक्कै मन गर्छ भन्ने लागेर फिल्म बनाएँ।
फिल्मको दृश्य, ध्वनि र सन्दर्भ सामग्री हेर्दा २०५२ सालअघिको कथा बोकेको देखिन्छ। किन त्यो समय देखाउन खोज्नुभयो?
आफ्नै बाल्यकालको स्मरण गर्दै जाँदा त्यही समय ठीक लाग्यो। सशस्त्र द्वन्द्व २०५२ सालतिर शुरू भयो। सशस्त्र द्वन्द्वको समयका धेरै कथा आइसकेका पनि छन्। द्वन्द्वभन्दा अघि पनि त हाम्रो समाज, परिवार र कथाहरू थिए। त्यसैले द्वन्द्वकाललाई छुँदै नछोएर त्योभन्दा अघिको कथा भन्न खोजेको हुँ।
अनि फिल्म सकिनुभन्दा सात मिनेटअघि रोल्पामा अज्ञात समूहबाट आक्रमण गरिएको छ भनेर सशस्त्र द्वन्द्व शुरू भएको सङ्केत गरेको छु। बाल्यकालका संस्मरण खोज्ने क्रममा त्यो समय आओस्, तर द्वन्द्वकाल उल्लेख नहोस् भनेर नै योजना बनाएका थियौं।
समीक्षकहरूले फिल्मको प्रशंसा गरिरहेका छन्। ससानो विषय पनि केलाइएको छ। यति मसिनो गरी केलाउन त अध्ययन अनुसन्धान पनि धेरै गर्नुपर्यो होला?
अध्ययन एकदमै महत्त्वपूर्ण विषय रहेछ। हामीले अध्ययनमा तीन जना साथीलाई खटाएका थियौं। उहिलेकै समयमा पुर्याउन बालबालिकाले पढ्ने त्यति वेलाका किताब, महेन्द्रमाला खोज्न धेरै दुःख गरियो। शिक्षा मन्त्रालय, केशरमहल पुस्तकालय, जनक शिक्षा सामग्री केन्द्र लगायत धेरै ठाउँ धायौं। जति गर्दा पनि किताब भेटिएन, पुरानो कभर मात्र भेटियो। त्यो कभरलाई प्रिन्ट गरेर स्कूल जाने भाइबहिनीको पुस्तक बनाएर देखायौं।
त्योसँगै साथीहरू गोरखापत्र संस्थानमा गएर २०५२ को मंसीर, पुस र माघका मुख्य समाचारहरू ल्याउनुभयो। त्यसलाई हामीले रेडियोमा बजाउने समाचार बनायौं। त्यस वेला कोमल ओली, हरिशरण लामिछानेको आवाजमै हामीले फिल्मका लागि समाचार वाचन गर्न लगायौं।
त्यसरी नै लुगाहरू मिलाउन पनि गाउँ गाँउमा गएर २०५० सालतिर खिचेका फोटो खोज्यौं। त्यही फोटोको आधारमा लुगा छनोट गर्यौं। कति घरबाट पुरानो भयो, अब फाल्ने भनेको लुगा पनि उठायौं।
त्यसपछि शुटिङ गर्ने स्थान खोज्न केही महीना धायौं। पहिला धादिङ, नुवाकोट रोजेका थियौं। २०७२ को भूकम्पले पुराना घर ध्वस्त भएकाले पश्चिम बाग्लुङतिर लाग्यौं। त्यहाँको बोली धेरै नै पश्चिमेली आयो। हामीलाई न पूरा पूर्वेली, न त पूरै पश्चिमेली लवज अर्थात् मिसमास चाहिएको थियो। खोज्दै जाँदा संखुवासभा पुग्यौं, र त्यहीं फिल्म बन्यो।
फिल्ममा व्यावसायिक कलाकार छैनन्। जहाँ शुटिङ गरियो, त्यहींका बालबालिकाले अभिनय गरेका छन्। किन त्यसरी बालबालिका छनोट गर्नुभयो?
मुख्य कलाकारका रूपमा बालबालिका नै चाहिने थिए। उनीहरूले धान काट्नुपर्ने, खोसेलाले भाडा माझ्नुपर्ने, परालको भारी बोक्नुपर्ने, रूखमा चढेर घाँस काट्नुपर्ने अभिनय गर्नु थियो। काठमाडौंबाट बालबालिकालाई लगेर गाउँमा ती काम गराउँदा मौलिकपन आउँदैन भन्ने लाग्यो। त्यसैले सकेसम्म गाउँका बालबालिकालाई नै लिएर काम गरौं भन्ने निर्क्योल गर्यौं।
त्यसपछि संखुवासभा, खाँदबारी लगायत धेरै ठाउँमा लामो समय कलाकार खोज्नमै बितायौं। गाउँ, विद्यालय, टोल टोलमा खोजी गर्यौं र चाहिए जस्तै बालबालिका भेट्यौं। त्यसपछि केदार श्रेष्ठजीले बालबालिकालाई अभियनका लागि तयार पार्नुभयो। उनीहरूलाई बोल्ने बनाउनुभयो। सिनेमा सक्दासम्म ‘नबोल्ने छोराछोरी कसरी बोल्ने भए’ भनेर अभिभावक दङ्ग पनि परे। उनीहरूमा धेरै परिवर्तन नै आयो। उनीहरूले अभिनय सँगसँगै नाच्न, गाउन, चित्र बनाउन पनि सिके। यो क्रममा उनीहरूको अभिनयले हाम्रो अपेक्षा पूरा गरेपछि मात्रै लिएका हौं।
अढाई-तीन दशकअघिको कथा भन्दा कतिपय कुरा त अहिले असान्दर्भिक पनि भए जस्तो लाग्दैन? कि मेल खाइरहेका छन्?
एक त गाउँको कुरामा शहरको मान्छेले र पुरानो पुस्ताको कुरामा नयाँ पुस्ताले कसरी अपनत्व लिन्छ भन्ने विषयले मलाई सोचिरहने बनायो। त्यसमा पनि बुझ्दै गएपछि लाग्यो- गाउँ, शहर, धनी, गरिब जे भए पनि पारिवारिक संरचना उही हो। हामी आमाबुबासँगै बस्छौं।
गाउँमा बस्ने आमाबुबाले एउटा कुराका लागि संघर्ष गर्नुहुन्छ, शहरमा बस्ने आमाबुबाले अर्को कुराका लागि। संघर्ष त संघर्ष नै हो। उहिले छोराछोरीलाई विद्यालय पठाउन गाह्रो थियो होला, अहिले अस्ट्रेलिया पठाउन दुःख गरिरहेका छन्। समस्या त शिक्षाका लागि नै भइरहेको छ। त्यसैले कुन कुरामा संघर्ष भइरहेको छ भन्नेमा जानुभन्दा पनि के कुरा प्राप्ति गर्न संघर्ष भइरहेको छ भन्नेले छुन्छ। र, त्यो नै हरेक समयको कथा बनिरहेको हुन्छ जस्तो लाग्छ।
नेपाली फिल्मलाई बलिउडको कथा नक्कल गरेको आरोप लाग्ने गरेको छ। पछिल्लो समय केही फिल्मलाई समीक्षकसँगै दर्शकले पनि मन पराएका छन्। अब आफ्नै कथा भन्न थालिएको हो?
पछिल्लो समय केही प्रयास भएका छन्। पहिले पनि वासुदेव, परालको आगो लगायतका फिल्महरूमा नेपाली समाज देखिन्थ्यो। पछि स्वैरकल्पना, प्रेमकथा, फिक्सन मात्र बढी देखाइयो र समाजको दृश्य त्यति आएन। अहिले समाजले सिनेकर्मीलाई हेयको दृष्टिले हेर्नुको कारण पनि त्यही हुन सक्छ। तर, पछिल्लो समय धेरै सुधार भएको देख्छु।
यो फिल्मको निर्देशन त भयो नै, कथा, स्क्रिप्टदेखि पटकथासम्म आफैंले लेख्नुभएको छ। फिल्म राम्रो बन्न कुन पक्ष सबैभन्दा महत्त्वपूर्ण हुँदो रहेछ?
फिल्ममा हरेक पक्ष उत्तिकै महत्त्वपूर्ण हुन्छन्। त्यसमा पनि जब फिल्म बनाउने भन्ने धारणा आउँछ, तब त्यो धारणादेखि स्क्रिप्टसम्म पुग्दा कति सग्लो उतारिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो जस्तो लाग्छ। फेरि त्यो स्क्रिप्टबाट भिजिबलसम्म पुग्दा कतै अलमलिनु भएन। विभिन्न पक्षले काम गर्दा शुरूआतमा जुन धारणा जागृत भएर फिल्म बन्ने विचार आएको थियो, त्यो विचार र कन्सेप्टबाट फिल्म भाग्नु भएन। त्यो आइडिया फुत्किएन र फिल्मको अन्त्यसम्म रहिरह्यो भने राम्रो फिल्म बन्छ जस्तो लाग्छ।
फिल्ममा प्रविधिको प्रयोग पनि गर्नुपर्छ। प्रविधिको प्रयोग गरेर पनि यो फिल्मलाई साधारण बनाउने कोशिश गरेका छौं। धेरै प्रयास गर्दा पनि पुतली उडेको ‘शट’ लिन सकिएन। पुतलीको आयु एकदमै कम हुँदो रहेछ। कति त ल्याएर पनि सेटमा मरे। त्यसैले पुतली उडेको एनिमेशन गरिएको छ।
धेरै देशका फिल्म महोत्सवमा सहभागिता जनाइसक्नुभएको छ। त्यहाँको अनुभव कस्तो रह्यो?
हामीले अस्ट्रेलिया, बाङ्लादेश, दक्षिण कोरिया र स्वीट्जरल्यान्डका फिल्म महोत्सवमा देखायौं। यसअघि पनि धेरै नेपाली फिल्म देखाएका थिए। तर, मैले दक्षिण कोरियामा एउटा प्रतिक्रिया पाएँ। महोत्सवमा फिल्म देखाइसकेपछि आयोजकको सन्देशमा भनिएको थियो, ‘तिम्रो फिल्म हेरिसकेपछि एक जना महिला रुँदै आएर यति राम्रो फिल्म देखाएकोमा धन्यवाद भनिन्। तिमीलाई धेरै धन्यवाद छ।’
त्यसरी फिल्म महोत्सवको आयोजकले दिएको प्रतिक्रियाले मलाई भावना त विश्वव्यापी नै हुँदो रहेछ भन्ने ज्ञान दियो। विदेशीलाई पनि हाम्रो कथाले छुँदो रहेछ भन्ने लाग्यो। अझ, स्वीट्जरल्यान्डमा त विद्यालयमा लगेर पनि फिल्म देखाइयो।
नेपालमा मौलिक फिल्मलाई समीक्षकले त मन पराउँछन्, तर कमाइ राम्रो गरेको देखिंदैन, किन होला?
मैले पनि सोचिरहेको विषय हो। आर्ट फिल्महरू जब हलमा लाग्छन्, खासै चल्दैन र नचलेपछि दर्शकले नबुझेको भन्ने गरिन्छ। तर, त्यो होइन। त्यो भनेको हाम्रो कथा र हाम्रै पात्र फिल्ममा देखाइए पनि दर्शकले आफूसँग ‘रिलेट’ गर्न नसकेको हो। दर्शकले आफूसँग सम्बन्धित भएको महसूस गर्न सकेनन् भने मनोरञ्जन लिन पनि सक्दैनन्।
जब आफूलाई फिल्मको कथा, पात्र, परिवेश लगायतमा दर्शकले आफू पाउँदैनन्, दिक्कलाग्दो भइहाल्छ। पशुपतिप्रसाद राम्रो हुनुको कारण यो फिल्म सबैले ‘रिलेट’ गर्न सकेर हो। त्यो ‘रिलेट’ नभएपछि कसैका लागि गएर हेरिदिएको जस्तो मात्र हुँदो रहेछ।
त्यसो भए त्यो ‘रिलेट’ गर्न सक्ने कुरा चाहिं के हुँदो रहेछ त?
यो फेरि गाह्रै कुरा हो। यही कुरा नै हो भन्नै सकिंदैन। कथा एकदमै राम्रो हुन्छ, तर त्यो पात्रसँग यात्रा नै गर्न सकिएको हुँदैन। त्यसैले यही कुराले नै निधारण गर्छ भन्ने हुँदैन। त्यो शायद फिल्मको झिल्को हो, जुन कुनै फिल्ममा राम्ररी बल्छ, कुनै राम्रो कथा भएर पनि पूर्ण लाग्दैन।
जस्तो, ससाना कथा जोडेर पूर्ण कथा बन्छ। जब दुई वटा फरक फरक पात्र भेटिंदा फिल्मको टुक्रा जोडिन्छ, त्यहाँ ‘क्लास’ हुन भएन। त्यहाँ त मीठो भावना जागृत हुनुपर्छ। दुई जना बेग्लाबेग्लै चरित्र निभाएका पात्र भेटेपछि पनि अर्थपूर्ण हुनुपर्छ। केही ‘शट’ लाई आकर्षक बनाएर मात्र पनि नहुँदो रहेछ।
फिल्म बनाउँदा कुनै निर्देशकबाट प्रभावित हुनुभएको छ?
छैन, ‘आइडल’ नै भन्ने छैन। नेपाली होस् वा विदेशी निर्देशक, म यहीसँग प्रभावित भएको छु भन्नै सक्दिनँ। कुनै फिल्म मन परेपछि निर्देशक पनि मन पर्छ। पछि फेरि उसैको फिल्म मन परेन भने निर्देशक पनि मन पर्न छोड्छ। त्यसैले बरु फिल्मका घटनाले प्रभावित भएको छु। मलाई त फिल्मका साधारण कुराले छोइरहेका हुन्छन्, त्यसमा रमाइरहेको हुन्छु।
त्यस्तो कुनै सिद्धान्तमा बनेको नेपाली फिल्म छ, जुन फिल्म तपाईंलाई मन पर्छ?
फिल्म निर्माणका विभिन्न सिद्धान्त हुन्छन्। मलाई मन पर्ने फिल्मको ‘मुभमेन्ट’ बारे इटालियन ‘नवयथार्थवाद’ एकदमै मनपर्ने सिद्धान्त हो। शायद हाम्रो समाजमा मिल्ने भएर पनि होला।
नेपालमा पनि नवयथार्थवादमा आधारित भएर फिल्म बनेका छन् कि छैनन् भन्न त सक्दिनँ। तैपनि, मलाई नेपाली फिल्ममा मन परेको नुमाफुङ हो। खास त्यो समयमा त्यस्ता केही फिल्म बनेका भए नेपाली फिल्मको ढाँचा नै परिवर्तन हुन सक्थ्यो।