रेड पान्डाको विचरण-विमर्श
सुन्दर जीव रेड पान्डा लोप हुन नदिने हो भने यसको वासस्थान संरक्षणमा तत्काल पहलकदमी जरुरी भइसकेको छ।
सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) बारे विभिन्न अध्ययन भएका छन्। अध्ययनहरूमा यो जीव राति पनि हिंडडुल गर्ने र विशेषतः बिहान–बेलुकी बढी सक्रिय हुने लेखिएको पाइन्छ। अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयबाट रेड पान्डामा विद्यावारिधि गरिरहेका डम्बर विष्टका अनुसार, रेड पान्डा बिहानको झिसमिसेदेखि घाम उदाएको दुई–तीन घण्टासम्म सक्रिय हुन्छ।
रेड पान्डाले दिनमा मात्र नभई राति पनि बढी समय आहारा खोजीमै खर्चिन्छ। यसले विशेषतः चार–पाँच मिटरसम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र युशानिया जाति अन्तर्गतका वनस्पतिका पात र मुन्टा खान्छ। गाउँघरमा अघिल्ला तीन जातिलाई निगालो र चौथोेलाई मालिङ्गो भनिन्छ। यी चार जातिका वनस्पति प्राकृतिक रूपमा दक्षिण र दक्षिणपूर्व एशियामा मात्र पाइन्छन्। यी जाति अन्तर्गतका वनस्पतिमा पौष्टिक तत्त्व एकदमै कम हुन्छ। आहारमा पौष्टिक तत्त्व कम भएकै कारण रेड पान्डाले चौबीसै घन्टा खाइरहनुपरेको हो।
रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ। लजालु स्वभावको यो जीव हामीकहाँ २४ जिल्लामा पाइन्छ। तर, यसको वासस्थान खण्डित छ। एक वासस्थानबाट अन्यत्र जाने जङ्गल मासिएका छन्।
घुमीफिरी कालपोखरी
अध्येता विष्टले रेड पान्डाको दिनचर्या थाहा पाउन करीब एक वर्ष यो जन्तुमा स्याटेलाइट जीपीएस कलर जडान गरे। वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा इलाम र पाँचथरका रेड पान्डामा उक्त अध्ययन गरिएको थियो। कारणवश भू–उपग्रहसँग सम्बन्ध कायम हुन नसके एन्टेनाबाट पनि गतिविधि थाहा पाउन सकिने भीएचएफ प्रविधि पनि जडान गरिएको थियो।
रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ। लजालु स्वभावको यो जीव हामीकहाँ २४ जिल्लामा पाइन्छ। तर, यसको वासस्थान खण्डित छ।
अध्ययनका लागि २०१९ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म रेड पान्डाका ६ वटा पोथी र चार वटा भाले समातिएका थिए। जसमध्ये चार पोथी र तीन वटा भाले पूर्ण वयस्क, दुई पोथी र एउटा भाले वयस्क हुने क्रममा थिए। घाँटीमा जडान गरिएका उपकरणले प्रत्येक दुई–दुई घन्टाको अन्तरालमा तिनीहरू कहाँ पुगे भन्ने जानकारी उपलब्ध गराउँथे। तीमध्ये एक उपकरणले जडान गरेको केही सातापछि नै सूचना पठाउन छाडेको थियो भने अर्को एउटाले मार्च २०२१ सम्म सूचना पठाइरहेको थियो।
विष्ट, सोनाम टासी लामा लगायतले लेखेको मुभमेन्ट एन्ड डिस्पर्सल अफ अ ह्याबिट्याट स्पेसिअलिस्ट इन ह्युमन–डोमिनेटेट ल्यान्डस्केपः अ केस स्टडी अफ द रेड पान्डा (सन् २०२१) शीर्षक लेख अनुसार, वर्षभरिमा भालेले १.७३ र पोथीले ०.९४ वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेका थिए। अर्थात्, मानव बसोबास क्षेत्र नजिकका जङ्गलमा एउटा रेड पान्डा वर्षमा औसत १.४१ वर्ग किलोमिटर क्षेत्रमा विचरण गर्दो रहेछ। यस्तै, दैनिक विचरण हेर्दा भने भालेले ९५३ मिटर र पोथीले ६०५ मिटर घुमफिर गर्दा रहेछन्। तर, संसर्गको याममा भालेले औसतभन्दा झण्डै दोब्बर दूरीसम्म चहार्दो रहेछ।
जीपीएस जडान गरिएका वयस्कोन्मुख दुई पोथी (लगभग सात–आठ महीना) मध्ये फेब्रुअरीमा एउटा तीन साता र अर्को पाँच सातापछि आमाको विचरण क्षेत्रबाट छुट्टिएर नयाँ वासस्थान खोज्न निस्किए। पहिलो ४२ दिन र अर्को २६ दिन लगातार हिंडेर नयाँ क्षेत्रमा पुगे। ती दुईले उपयुक्त वासस्थान खोजीमा थप ४२ देखि ४४ दिन खर्चिए। त्यस क्रममा इलामको सन्दकपुर गाउँपालिकाको छिनटापुबाट कालपोखरी हुँदै भारत दार्जीलिङको सिंहलीला क्षेत्रमा पुगेको एक पोथी फेरि कालपोखरी क्षेत्रमै फर्कियो।
सन्दकपुरबाट भारत पुगेको पोथी रेड पान्डा किन फर्केर आयो? पङ्क्तिकारको जिज्ञासामा विष्टको जवाफ थियो– रेड पान्डा निश्चित क्षेत्रमा एक्लै बस्न रुचाउने एकान्तप्रिय वन्यजन्तु हो। विशेषतः एउटा पोथी रेड पान्डा एउटा क्षेत्रमा एक्लै बस्छ। त्यहाँ उसलाई कुनै अर्को पोथीको उपस्थिति सह्य हुँदैन। भालेको पनि आफ्नै निश्चित क्षेत्र हुन्छ। तर, भाले चाहिं संसर्गको सिजनमा तीन–चार वटा पोथीको क्षेत्र चहार्छ।
सन्दकपुरबाट भारत पुगेको वयस्क हुँदै गरेको पोथीले भारतमा सुरक्षित ठाउँ चहार्यो। विष्टका अनुसार, रेड पान्डाले नयाँ वासस्थान छान्दा विशेषतः तीन कुरामा ध्यान दिन्छ। पहिलो, जङ्गल क्षेत्रमा बाँस, निगालो लगायत आहारा छन् कि छैनन्। दोस्रो, मानिसको आवतजावत र आफ्ना लागि खतरा हुने अन्य वन्यजन्तु छन्, छैनन्। र, तेस्रो, त्यो ठाउँ खाली छ कि छैन।
रेड पान्डाको सन्दर्भमा भने कुनै कारण नभई भ्रम र हल्लाकै भरमा महँगोमा बिक्री हुने भनेर तस्करी हुने गरेको छ। त्यही कारण यो सुन्दर जीवको अस्तित्व सङ्कटमा परेको छ।
भारत पुगेको रेड पान्डाले सम्भवतः आहारा भएको वन र सुरक्षाको दृष्टिले पनि उपयुक्त ठाउँ पाएकै हुनुपर्छ। किनभने, नेपालभन्दा भारतमा वनको अवस्था राम्रो छ। तर, त्यो रेड पान्डा जुन ठाउँमा पुग्यो, त्यहाँ अर्को पोथी पहिल्यैदेखि बसेको र खाली ठाउँ नभेटेपछि नेपालमै फर्केर आएको हुनुपर्छ भन्ने विष्टको आकलन छ।
जोखिमका आधार
रेड पान्डाको सुरक्षाको दृष्टिले जनवरीदेखि अप्रिलसम्म संवेदनशील समय हो। यो समयमा मानिस र अन्य जीवजन्तुसँग यसको जम्काभेट हुने सम्भावना बढी हुन्छ। यसको पहिलो कारण, जनवरी–अप्रिल रेड पान्डाको संसर्ग गर्ने याम हो। एउटा भाले तीन–चार वटा पोथीको वासस्थान क्षेत्रमा पुग्छ। पोथीहरू छुट्टाछुट्टै बस्ने भएकाले निकै दूरी तय गर्नुपर्छ। भाले पोथी नजिक पुगे लगत्तै संसर्ग भइहाल्दैन। भालेले पोथीलाई चिने जस्तो, माया गरेको व्यवहार गर्छ। यस क्रममा पोथी सहमत भई घन्टौं पछाडि मात्र यौन कार्यमा सहभागी हुन्छ।
दोस्रो कारण, माथि चर्चा गरे झैं अर्धवयस्क बच्चाहरू फेब्रुअरीमा अक्सर आमालाई छाडेर नयाँ वासस्थान खोज्न निस्किँदा कहिलेकाहीं महीना दिनसम्म यात्रा गर्छन्। त्यस क्रममा नयाँ ठाउँमा कहाँनेर अन्य जन्तुसँग जम्काभेट हुन्छ वा गाउँबस्ती नजिक पुगेर मानिस भेटिन्छन् भन्ने टुङ्गो हुँदैन। तेस्रो कारण, रेड पान्डाको आहारा मालिङ्गो र निगालोका पात वर्षायाममा जस्तो हिउँदमा रहँदैन। बाँस र मालिङ्गोका टुसा पनि खासै पलाउँदैन।
यसैले यस वेला आहारा खोज्न बढी समय लाग्छ, धेरै ठाउँ पुग्नुपर्ने हुन्छ। आहारा कम पोषिलो हुनुका साथै यो सिजनमा खुराक पनि कम भएपछि रेड पान्डासँग सम्भावित जोखिम वा शत्रुबाट बच्ने शक्ति नै हुँदैन। चाँडै कुद्न नसक्ने र मानिस नजिकै जाँदा पनि हत्तपत्त नभाग्ने भएकाले फन्दामा पर्ने जोखिम बढी हुन्छ।
संरक्षण सूत्रः जनचेतना
वन्यजन्तुको चोरी शिकार वा आखेटोपहार ओसारपसारमा कुनै न कुनै कारण जोडिएको हुन्छ। वन्यजन्तुको छाला, मासु वा अन्य अङ्गको औषधीय, सांस्कृतिक गुणलाई आधार बनाइएको हुन्छ। जबकि, रेड पान्डाको सन्दर्भमा भने कुनै कारण नभई भ्रम र हल्लाकै भरमा महँगोमा बिक्री हुने भनेर तस्करी हुने गरेको छ। त्यही कारण यो सुन्दर जीवको अस्तित्व सङ्कटमा परेको छ।
सन् २०१५ मा विश्व प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले रेड पान्डालाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ। लोपोन्मुख वन्यजन्तुको सूचीमा समावेश गर्नुको कारण, यसको सङ्ख्या सन् १९९७ देखि २०१५ बीचमा करीब ५० प्रतिशत घटेको आकलन गरिएको थियो। आईयूसीएनले केही वर्षको अन्तरालमै ५० प्रतिशत सङ्ख्या घटेमा र घट्ने क्रम जारी रहेमा त्यस्ता जीवलाई सङ्कटापन्न सूचीमा राख्ने गर्छ। यसको अर्थ, प्राकृतिक वासस्थानमा लोप हुने सम्भावना कायम रहेको भन्ने हो।
रेड पान्डालाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ मा पनि समावेश गरिएको छ। अनुसूचीमा रेड पान्डा सहित बाघ, हात्ती, गैंडा, हिउँ चितुवा, चितुवा, जङ्गली याक आदि समावेश छन्। यो अनुसूचीमा परेका वन्यजन्तु तथा वनस्पति संसारभरि नै बिक्री गर्न प्रतिबन्ध छ।
यस्ता दुर्लभ वन्यजन्तुका कारोबारी समाउन विभिन्न देशले कानून बनाएका छन्। सजायको मात्रा देश अनुसार फरक फरक छ। वन्यजन्तु अपराध सम्बन्धी संसारमै सबैभन्दा कडा कानून नेपालकै छ। नेपाल सरकारले रेड पान्डा जस्ता वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण गर्न सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ जारी गरेको छ। जसमा दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा सोको नमूना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा अनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ। ऐन अनुसार रेड पान्डाको तस्करी र कारोबार गर्ने अभियुक्तहरूले कम्तीमा १० वर्ष जेल सजाय पाइरहेका छन्।
रेड पान्डा जोगाउन सबैभन्दा मुख्य कुरा त प्राकृतिक वासस्थान नै सुरक्षित बनाउनुपर्छ। निगालो र मालिङ्गो पाइने जङ्गल जोगाई त्यस्ता जङ्गलमा मानिसको आवागमन कम गरिनुपर्छ। यस्तै, जनवरीदेखि अप्रिलसम्म रेड पान्डाको निम्ति जोखिमयुक्त छ भन्ने सन्देश सरकारी निकाय, संरक्षणसँग सम्बद्ध सङ्घसंस्था र विद्यालय तहबाट प्रचार गरिनुपर्छ। यसका साथै दुर्लभ वन्यजन्तुको शिकार तथा तस्करी गरे कठोर सजाय हुने कानूनबारे पनि सार्वजनिक रूपमा बुझाउनुपर्छ।
(वनस्पतिविद् मादेन जैविक विविधताका विविध आयामबारे लेख्न रुचाउँछन्। हिमालको २०७९ जेठ अङ्कबाट।)