नेपालका रेड पान्डा अमेरिका र युरोपका चिडियाखानामा, लाभांशबारे सरकार बेखबर
अमेरिका र युरोपका कतिपय चिडियाखानामा नेपालबाट लगिएका रेड पान्डा (हाब्रे) राखिएका छन्। जैविक विविधता महासन्धि विपरीत उनीहरूले ती रेड पान्डालाई आम्दानीको स्रोत बनाएका छन्। तर, नेपालले ‘रोयल्टी’का लागि पहलै गरेको छैन।
अभिनेता दयाहाङ राई रेड पान्डा संरक्षण सद्भावना दूत हुन्। रेड पान्डा नेटवर्कले राईलाई दूत नियुक्त गरेको हो। यसैकारण, अभिनेता राई रेड पान्डा संरक्षण कार्य तथा यसको अवैध चोरी शिकारीविरुद्ध जनचेतना अभिवृद्धि अभियानमा संलग्न छन्।
जीवाश्म अनुसार यो जन्तु उहिले युरोपमा पनि थियो। उत्तर अमेरिकामा रेड पान्डा जस्तै राकून भनिने वन्यजन्तु पाइन्छ। यी दुई प्रजाति करीब चार करोड वर्षपहिले छुट्टिएका हुन्। रेड पान्डा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा करीब १० हजार संख्यामा छन्। यो विश्वकै संकटापन्न वन्यजन्तु हो।
नेपालमा भने पूर्वको ताप्लेजुङदेखि पश्चिमको कालीकोटसम्म २३ जिल्लामा ५०० वटाको हाराहारीमा भएको अनुमान छ। यद्यपि, यसबारे बृहत् अध्ययन भइसकेको छैन। सुदूरपश्चिमका जंगलमा अझै यसको अध्ययन हुन बाँकी छ। स्थानीयवासीले संकटापन्न वन्यजन्तु भएको थाहा नपाउँदा मार्ने गरेका छन्। अर्कोतिर, यसको छाला तथा हाड महँगो मूल्यमा बिक्री हुन्छ भन्ने भ्रमले चोरी शिकारी हुने गरेको छ।
रेड पान्डा पर्यापर्यटनका लागि आकर्षक वन्यजन्तु हो। विश्वका धेरै देशका चिडियाखानामा यो जन्तु राखिएका छन्। कैयौं वन्यजन्तुप्रेमी प्राकृतिक वासस्थानमा रेड पान्डा हेर्न नेपाल, चीन, भारत, भुटान र म्यानमार पुग्छन्। वाइल्ड लाइफ फोटोग्राफरहरू तस्वीर खिच्न हप्तौं जंगलमै बिताउँछन्।
काठमाडाैंका चुङ्बा शेर्पा रेड पान्डाको तस्वीर लिन गएको मंसीरमा इलाम पुगेका थिए। उनले सन्दकपुर आसपासका क्षेत्रका जंगलमा सात दिन चहारे। त्यहाँ उल्लेख्य संख्यामा रेड पान्डा भए पनि शेर्पालाई भने तस्वीर खिच्न निकै सकस भयो। किनभने मंसीरमा उच्च भेगको घना जंगलमा हुस्सु लागिरहन्छ। प्रकाश पुग्ने ठाउँमा रेड पान्डा भेटिन गाहै्र हुन्छ। त्यस्तोमा तस्वीर खिच्न पुग्ने उज्यालो हुँदैन।
यसको आकर्षक स्केच गरिएको टी–शर्ट पनि किन्न पाइन्छ। काठमाडाैंको ‘जुजु वेयर्स’ ले यस्तो टी–शर्ट बेच्छ। यो सचेतना अभिवृद्धि गर्ने प्रचार सामग्री हो। यस्ता सामग्रीले संरक्षण कार्यमा इँटा थप्छन्।
नेपालमा अध्ययन तथा अनुसन्धान
वन्यजन्तु अध्येता डम्बर विष्टले द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्टे«लियाबाट रेड पान्डाको पर्यावरणमा विद्यावारिधि गर्दैछन्। उनले रेड पान्डा नेटवर्कसँग सहकार्य गरेर इलाम र पाँचथरका १० वटा रेड पान्डामा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरी तिनका गतिविधि अध्ययन गरिरहेका छन्।
वन्यजन्तु अध्येता डम्बर विष्टले द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्टे«लियाबाट रेड पान्डाको पर्यावरणमा विद्यावारिधि गर्दैछन्। उनले रेड पान्डा नेटवर्कसँग सहकार्य गरेर इलाम र पाँचथरका १० वटा रेड पान्डामा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरी तिनका गतिविधि अध्ययन गरिरहेका छन्।
उनका अनुसार जीपीएस जडित रेड पान्डाको गतिविधि अस्ट्रेलियाबाटै कम्प्युटरमार्फत अध्ययन भइरहेको छ। ती जीपीएसमा ‘भेरी हाई फ्रिक्वेन्सी’ (भीएचएफ) कोलर प्रविधि पनि जडित छ। यो अध्ययन सन् २०२२ को मध्यसम्ममा सम्पन्न हुनेछ।
रेड पान्डा नेटवर्क सम्बद्ध सोनाम टासी लामाले वेला बखत एन्टेना प्रयोग गरेर स्थलगत रूपमा जानकारी लिँदैछन्। जीपीएसमा प्राविधिक गडबडी उत्पन्न भए भीएचएफबाट जानकारी हासिल गरिन्छ।
रेड पान्डामा जीपीएसबाट गरिएको विश्वकै यो पहिलो अध्ययन हो। यो अध्ययनबाट अहिलेसम्म थाहा हुन नसकेको रेड पान्डाको धेरै गतिविधि र जानकारी प्राप्त हुने अपेक्षा छ। विष्टका अनुसार जीपीएस खरिद र जडान खर्च मात्रै करीब रू.३० लाख लागेको थियो।
स्व. प्रह्लाद योञ्जन रेड पान्डामा विद्यावारिधि गर्ने पहिलो दक्षिण एसियाली हुन्। उनले सन् १९८६ मा ६ वटा रेड पान्डामा भीएचएफ कोलर राखेर अध्ययन गरेका थिए। रेड पान्डामा पहिलोपटक चीनमा सन् १९८५ मा भीएचएफ कोलर प्रयोग भएको थियो। एउटा रेड पान्डामा यो यन्त्र जडान गरिएको थियो। यसैगरी, चीनमा सन् १९९१ र २००२ मा क्रमशः दुई र ६ वटा रेड पान्डामा भीएचएफ कोलर जडान गरिएको थियो।
सन् २००३ मा दार्जिलिङस्थित एक जन्तु उद्यानले दुई वटा रेड पान्डामा भीएचएफ कोलर जडान गरी जंगलमा छाडेको थियो। स्व. योञ्जनपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका हरि शर्माले ताइवानबाट रेड पान्डाको इकोलोजीमा विद्यावारिधि गरे। रेड पान्डा सम्बन्धी शर्माका सात वटा लेख प्रकाशित छन्।
रेड पान्डाका दुई प्रजाति
स्मल मामल कन्जरभेसन एन्ड रिसर्च फाउन्डेसनका अर्जुन थापाले सन् २०२० मा चीनबाट रेड पान्डामा विद्यावारिधि गरे। हु यिबो, अर्जुन थापा र अरूहरूद्वारा लिखित ‘जेनोमिक इभिडेन्स फर टु फाइलोजेनेटिक्स स्पेसिस् एन्ड लङ–टर्म पपुलेसन बोट्लनेक्स इन रेड पान्डाज्’ (फेब्रुअरी २०२०) शीर्षक लेख अनुसार रेड पान्डा दुई प्रजातिका छन्। यसअघि यी दुई प्रजातिलाई उप–प्रजाति मानिएको थियो। यो तथ्य रेड पान्डाको डीएनए अध्ययनपछि प्राप्त भएको हो।
डीएनए अध्ययन अनुसार नेपाल, उत्तरपूर्व भारत र भुटानमा पाइने प्रजातिको वैज्ञानिक नामकरण ‘आइलुरस फुल्जेन्स’ गरिएको छ। वैज्ञानिक नामका अतिरिक्त यसलाई हिमालयन रेड पान्डा उपमा दिइएको छ। अर्को प्रजातिको वैज्ञानिक नाम ‘आइलुरस स्टेनी’ हो। यसलाई चाइनिज रेड पान्डा पनि भनिन्छ।
डीएनए अध्ययन अनुसार नेपाल, उत्तरपूर्व भारत र भुटानमा पाइने प्रजातिको वैज्ञानिक नामकरण ‘आइलुरस फुल्जेन्स’ गरिएको छ। वैज्ञानिक नामका अतिरिक्त यसलाई हिमालयन रेड पान्डा उपमा दिइएको छ। अर्को प्रजातिको वैज्ञानिक नाम ‘आइलुरस स्टेनी’ हो। यसलाई चाइनिज रेड पान्डा पनि भनिन्छ। पछिल्लो प्रजाति सुदूर उत्तरपूर्वी भारत, चीन र म्यानमारमा पाइन्छ।
अगस्ट २०२० मा प्रकाशित ‘न्यु इन्साइटस् अन स्पेसिस् डाइभर्जेन्स इन रेड पान्डा’ शीर्षक लेख अनुसार हिमालयन र चाइनिज रेड पान्डाका वासस्थान सांगपो नदीले छुट्ट्याएको छ। यसअनुसार अघिल्लो र पछिल्लो प्रजाति क्रमशः सांगपो नदी पश्चिम र पूर्वमा मात्र पाइन्छन्।
आनुवंशिक अध्ययन अनुसार यी दुई प्रजाति करीब दुई लाख ५० हजार वर्र्षअघि छुट्टिएका हुन्। सन् १८५९ मै प्रकाशित पुस्तक ‘द ओरिजन अफ स्पेसिस्’ मा चाल्र्स डार्बिनले एकै प्रजाति भिन्दाभिन्दै भूगोलमा बस्दा हजारौं, लाखौं वर्षपछि तिनीहरू पृथक् प्रजाति हुने उल्लेख गरेका छन्।
सांगपो नदी तिब्बतस्थित मानसरोवर तालनजिक आङ्सी ग्लेसियरबाट उद्भव भई हिमालय शृंखलासँग उत्तरतर्फ समानान्तर हुँदै करीब ११ सय किलोमिटर पूर्व बगेको छ। हिमालय शृंखला तिब्बतको नाम्चा बर्वा हिमालमा टुंगिन्छ। त्यहींबाट सांगपो नदी अंग्रेजी अक्षर ‘यू’ आकारमा मोडिएर भारतको अरूणाञ्चल प्रदेश प्रवेश गर्छ।
सांगपो नदीलाई अरूणाञ्चल, असम र बंगलादेशमा क्रमशः दिहांग, ब्रह्मपुत्र र जमुना नदी भनिन्छ। अरूणाञ्चलको दिहांग नदीभन्दा पूर्वी भागका अतिरिक्त म्यानमार र चीनको युनान तथा सिचुवान प्रान्तमा चाइनिज रेड पान्डा पाइन्छ। हिमालयन रेड पान्डा अहिलेसम्म पश्चिममा नेपालको कालीकोट जिल्लास्थित तिला नदीसम्म पाइएको छ।
यी दुई प्रजाति दुरुस्तै देखिन्छन्। नियालेर हेर्दा मात्र भिन्नता ठम्याउन सकिन्छ। चाइनिज रेड पान्डाको गालाको हाड ठूलो हुन्छ। टाउको ठूलो हुन्छ। पुच्छरमा सेतो रौंको घेरा, अनुहारमा रातो रौंको मात्रा बढी हुन्छ।
युरोपियनले लिए अनधिकृत लाभ
ललितपुरस्थित सदर चिडियाखानामा दुई वटा हिमालयन रेड पान्डा रुकुमबाट ल्याएर राखिएका छन्। चिडियाखाना प्रवेश गर्नेमध्ये धेरैको ध्यान रेड पान्डाले पनि तानेको छ। युरोप, अमेरिकाका चिडियाखानामा उल्लेख्य संख्यामा रेड पान्डा राखिएका छन्।
रेड पान्डाविज्ञ हरि शर्माका अनुसार युरोप र अमेरिकाका कतिपय चिडियाखानामा नेपालबाट लगिएका रेड पान्डा राखिएका छन्। रेड पान्डा अध्येता डम्बर विष्टका अनुसार नेपालबाट रेड पान्डा कहिले र कसरी युरोप तथा अमेरिका पुर्याइए, अध्ययन भएको छैन।
‘अन्डरस्टान्डिङ द ट्र्यू भ्याल्यु अफ चाइनिज पान्डा डायोस्पोरा’ शीर्षक एक लेख बीबीसीको अनलाइन संस्करणमा सन् २०१९ मा प्रकाशित भएको थियो। उक्त लेख अनुसार अस्ट्रेलियाको एड्लेट चिडियाखानामा एक जोडी जाइन्ट पान्डा राखेबापत उक्त चिडियाखानाले चीन सरकारलाई वार्षिक एक मिलियन अस्ट्रेलियन डलर बुझाउँछ। अर्थात् चीनले वार्षिक रु.९ कडोड ८० लाख पाउँछ। तिनबाट बच्चा जन्मिए छुट्टै हिसाब हुने बताइएको छ।
अस्ट्रेलियाको एड्लेट चिडियाखानामा एक जोडी जाइन्ट पान्डा राखेबापत उक्त चिडियाखानाले चीन सरकारलाई वार्षिक एक मिलियन अस्ट्रेलियन डलर बुझाउँछ। अर्थात् चीनले वार्षिक रु.९ कडोड ८० लाख पाउँछ। तिनबाट बच्चा जन्मिए छुट्टै हिसाब हुने बताइएको छ।
‘जूलोजिकल सोसाइटी’ लन्डनले सन् २०२० मा प्रकाशित गरेको ‘द डिभलपमेन्ट अफ द रेड पान्डा फ्रम अ फलिङ क्याप्टिभ पपुलेसन टु अ स्टेबल पपुलेसन ड्याट प्रोभाइड्स इफेक्टिभ सपोर्ट टु इन सिटु कन्जरभेसन’ शीर्षक लेख अनुसार युरोपका १८२ संघ, संस्थामा जम्मा ४०७ वटा रेड पान्डा छन्।
युरोपमा रेड पान्डा संरक्षण गर्न सन् १९८५ मा ‘द रेड पान्डा युरोपियन इन्डेन्जर्ड स्पेसिस् प्रोग्राम’ शुरू भयो। यसले संकटापन्न जन्तु त जोगाएको छ, तर उनीहरूले नेपाल लगायतका देशबाट लगेर आम्दानीको स्रोत बनाएका छन्। एक देशको जैविक स्रोत अर्को देशले यसरी अनधिकृत रूपमा प्रयोग गर्न मिल्दैन। नेपाल जैविक विविधता महासन्धि पक्ष राष्ट्र हो। जैविक स्रोत प्रयोगका सवालमा उक्त महासन्धिका केही बुँदा आकर्षित हुन्छन्। यो विषय युरोपियनलाई थाहा नहुने भन्ने हुँदैन।
नेपाल सरकारले यसबारे अवश्य खोजबिन गर्नुपर्छ। नेपालको १५औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ‘आनुवंशिक स्रोतमा पहुँच र लाभको न्यायोचित बाँडफाँडका लागि कानूनी व्यवस्था र संरचना निर्माण गरी कार्यान्वयनमा लगिनेछ’ भनिएको छ। (पृष्ठ १८१)
यस अनुसार पनि सरकारले नेपालबाट विदेश लगिएका रेड पान्डाको रोयल्टी उठाउन पहल गर्नुपर्छ। तर, अहिलेसम्म यसबारे छलफल नै भएको छैन। जन्तुविज्ञ पनि बेखबर भए जस्तै छन्। आशा गरौँ, नेपालले यसबारे जानकारी लिन पहल थाल्नेछ।