रेड पान्डाका लागि असुरक्षित छ नेपाल
लोपोन्मुख जनावर रेड पान्डाको चोरी शिकारसम्बन्धी नेपाल, भारत र भुटानमा गरिएको ९ वर्षको तुलनात्मक अध्ययनले नेपालमा सबैभन्दा बढी जोखिम देखाएको छ।
विश्वभर करीब १५ हजार हाराहारीमा रेड पान्डा रहेकोमा नेपालमा त्यसको करीब दुई प्रतिशत अर्थात् ३१७ देखि ५८२ वटासम्म भएको आकलन छ। तर, यसको अवैध चोरी शिकारको जोखिम भने छिमेकी देशहरूभन्दा नेपालमै धेरै भएको हालैको एक तुलनात्मक अध्ययनले देखाएको छ।
२०१० जुलाईदेखि २०१९ जूनसम्म नेपाल, भारत र भुटानमा भएका रेडपान्डाको अवैध व्यापार सम्बन्धी अध्ययनले तीन देशमध्ये बढी जोखिम नेपालमा रहेको देखाएको हो। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) भारत र विश्वव्यापी रुपमा वन्यजन्तुको अवैध व्यापार अनुगमन गर्ने सञ्जाल ‘ट्राफिक’ ले संयुक्त रुपमा गरेको ‘भारत र छिमेकी देशहरुमा रेड पान्डाको अवैध व्यापारसम्बन्धी खतराको आकलन’ अध्ययनको निष्कर्ष छ– तीन देशमध्ये रेड पान्डाको अवैध व्यापारसम्बन्धी बढी घटना नेपालमा भएका छन्।
यसरी गरियो अध्ययन
‘ट्राफिक’ र डब्लूडब्लूएफ भारतले अध्ययनका लागि पाँच विधिबाट तथ्यांक संकलन गरेका थिए। अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार ९ वर्षको अध्ययन अवधिमा तीन वटै देशका सञ्चारमाध्यममा आएका रेड पान्डाको चोरी शिकार र व्यापारसम्बन्धी समाचार संकलन गरिएको थियो। त्यस्तै, उक्त अवधिमा यस सम्बन्धी घटनाको सरकारी निकायले राखेका सबै तथ्यांक र साइटिसको सन् २०१० देखि २०१८ सम्मको ‘ट्रेड डेटाबेस’ पनि हेरिएको थियो।
यी तीन देशमा रेड पान्डा पाइने क्षेत्रमा कार्यरत ३२ जना विषय विज्ञसँग इमेल मार्फत कुराकानी गरेको, भारतका ५४ र नेपालका दुई वटा बजारमा सर्भे गरेको र एक हजार ९०० जनासँग अन्तर्वार्ता गरेर तथ्यांक संकलन गरिएको थियो। यस्तो अन्तर्वार्ता भने भारतका तीन प्रान्त अरुणाञ्चल, पश्चिम बंगाल र सिक्किमका २८९ गाउँमा मात्र गरिएको थियो। साथै, वन्यजन्तुको व्यापारसम्बन्धी १८ वटा ‘ई–कमर्स पोर्टल’ पनि नियमित हेरिएको थियो।
जुन अध्ययनबाट भारत र भुटानमा भन्दा नेपालमा बढी चोरी शिकार र बेचबिखनका घटना पाइएको हो।
नेपालः कानून कडा, चोरी शिकार पनि बढी
भारत, भुटान र नेपालमध्ये रेडपान्डा लगायत लोपोन्मुख वन्यजन्तुको चोरी शिकार र अवैध व्यापारका विरुद्ध सबैभन्दा कडा कानून नेपालकै छ।
भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२ ले रेडपान्डालाई माथिल्लो स्तरको कानूनी संरक्षण दिएको छ। त्यहाँ रेड पान्डालाई पासोमा पार्ने, नियन्त्रणमा राख्ने, जिउँदो वा मरेको वा कुनै अंगको खरीद बिक्री गर्ने काम अपराध मानिन्छ। त्यस्तो कार्यमा संलग्नलाई तीनदेखि सात वर्षसम्म कैद वा भारु. १० हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
भुटानमा वन तथा प्रकृति संरक्षण ऐन, १९९५ ले रेड पान्डालाई कानूनी संरक्षण दिन्छ। रेड पान्डासँग सम्बन्धित अपराधमा तीनदेखि पाँच वर्षसम्म कैद हुनसक्छ ।
नेपालमा भने यही अपराधमा भारत भन्दा दुई गुणा र भुटान भन्दा तीन गुणासम्म बढी सजाय हुनसक्ने कानूनी व्यवस्था छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, १९७३ अनुसार अपराधमा संलग्नलाई पाँचदेखि १५ वर्षसम्म कैद वा रु. ५० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। साथै, यस्तो अपराधबारे सूचना दिएर व्यक्ति पक्राउ वा अंग बरामद गर्न सहयोग गर्ने व्यक्तिलाई रु. २५ हजारसम्म पुरस्कार दिने व्यवस्था छ।
रेडपान्डालाई सन् १९९५ देखि साइटिसको अनुसूची १ मा समावेश गरिएको छ। त्यसबाट यो वन्यजन्तु वा यसका अंगहरुलाई अन्तर्राष्ट्रिय बजारमा किनबेच गर्न प्रतिबन्ध लगाइएको छ। त्यस्तै, ‘इन्टरनेसनल यूनियन फर कन्जरभेसन अफ नेचर’ को ‘रेड डेटा बुक’ मा पनि रेड पान्डा लोपोन्मुख जनावरको सूचीमा छ।
अध्ययन गरिएको अवधिमा भारत र भुटानमा चोरी शिकार र अवैध व्यापारका क्रममा रेड पान्डा वा यसका अंगहरु बरामद भएका घटना रेकर्ड भएका छैनन्। तर, नेपालमा भने पछिल्ला तीन वर्ष (सन् २०१६–२०१९) मा नै अवैध व्यापारसँग सम्बन्धित १३ वटा घटना भए। जसमा प्रहरीले रेड पान्डाका २९ वटा छाला बरामद गर्यो। १३ मध्ये ११ वटा घटना काठमाडौंमा भएका थिए भने एउटा जाजरकोट र एउटा इलाममा।
त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आर्थिक वर्ष २०७४/७५ मा प्रकाशन गरेको ‘वन्यजन्तु अपराध प्रतिवेदन’ का अनुसार उक्त आर्थिक वर्षमा रेड पान्डाको छाला ओसारपसार गरेको घटनामा राष्ट्रिय निकुञ्ज (लाङटाङ) मार्फत एउटा र जिल्ला वन कार्यालयहरु मार्फत ११ वटा मुद्दा चलेका थिए। ती मुद्दामा १७ वटा रेड पान्डाको छाला बरामद गरिएको थियो भने ३३ जना पक्राउ परेका थिए। उक्त समयमा वन्यजन्तुको अवैध व्यापारसम्बन्धी देशभर चलेका ५९ थान मुद्दामध्ये चितुवाको छाला ओसारपसार (१२ थान) पछि रेड पान्डाको मुद्दा दोस्रो ठूलो संख्याका थिए।
सरकारी तथ्यांक, विज्ञसँगको छलफल, बजार सर्भे र गाउँलेसँगको व्यक्तिगत अन्तर्वार्ताका आधारमा भने नगन्य मात्रामा भारतमा पनि यसको शिकार हुने गरेको पाइएको छ।
“बाघ, हात्ती, गैंडा जस्ता जनावरका अंग अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छन्, तर रेड पान्डाका अंगहरु त्यसरी कतै किनबेच भएको पाइँदैन, रेड पान्डाको अवैध व्यापारमा संलग्न मानिस पक्राउ परेको समाचार सुनेर यसबाट राम्रो कमाइ हुँदोरहेछ भन्ने भ्रममा परी यसको शिकार गर्छन् । यसको अवैध व्यापार र मूल्य दुवै छैन भनेर सम्झाउन सके चोरी शिकार धेरै हदसम्म रोकिन्थ्यो।”
- हरिभद्र आचार्य, सूचना अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
नेपालले सन् २०१९–२०२३ का लागि बनाएको पाँच वर्षे ‘रेड पान्डा संरक्षण कार्ययोजना’ मा पनि चोरी शिकार र अवैध व्यापारलाई एउटा प्रमुख खतराको रुपमा औंल्याइएको छ। सन् २००८ देखि २०१६ सम्मको ९ वर्षको अवधिमा रेड पान्डाको अवैध ओसारपोसारका ७४ वटा घटना भएको उक्त कार्ययोजनामा छ। जुन वार्षिक रुपमा औसतमा ८ वटा हो।
रेड पान्डा रौंसहितको छालाका लागि मात्रै नभएर मासुका लागि समेत मार्ने गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य मानिसलाई हानि नगर्ने, नजिक जाँदा पनि नभाग्ने रेड पान्डा सजिलै निशानामा पर्ने गरेको बताउँछन्।
“बाघ, हात्ती, गैंडा जस्ता जनावरका अंग अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छन्, तर रेड पान्डाका अंगहरु त्यसरी कतै किनबेच भएको पाइँदैन, रेड पान्डाको अवैध व्यापारमा संलग्न मानिस पक्राउ परेको समाचार सुनेर यसबाट राम्रो कमाइ हुँदोरहेछ भन्ने भ्रममा परी यसको शिकार गर्छन्”, आचार्य भन्छन्, “तर, ग्राहक नभेटेर भौंतारिएर हिंडेका मानिस पक्राउ पर्छन् । यसको अवैध व्यापार र मूल्य दुवै छैन भनेर सम्झाउन सके चोरी शिकार धेरै हदसम्म रोकिन्थ्यो।”
सन् २०१४ मा प्रकाशित डम्बर विष्ट र राजीव पौडेलको अनुसन्धान ‘एन ओभरभ्यू अफ द स्टाटस एण्ड कन्जरभेसन इनिसिएटिभ्स् अफ रेड पान्डा इन नेपाल’ मा भने रेडपान्डालाई लक्षित गरी शिकार गरिएका घटना भन्दा अन्य जंगली जनावरका लागि थापिएका पासोमा परेका घटना धेरै पाइएको उल्लेख छ।
नेपालमा सन् २०१६ मा पहिलो पटक राष्ट्रिय रेड पान्डा सर्भे भएको थियो। जस अनुसार नेपालका २४ जिल्ला र सात वटा संरक्षित क्षेत्रमा रेडपान्डा पाइएको थियो। तर, यसअघि रेडपान्डा पाइएका गोर्खा, कास्की र मनाङ जिल्लामा भने उक्त सर्भेमा रेड पान्डा भेटिएन।