चौतर्फी विरोधपछि सरकारले भन्यो–साउनदेखि सबै गाडीमा इम्बोस्ड नम्बर अनिवार्य भनेको होइन
चर्को आलोचनापछि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने विषयमा सरकार केही लचक देखिएको छ।
४० दिनभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्ने निर्णय अव्यावहारिक भएको भन्दै चौतर्फी विरोध भएको थियो। विरोधपछि मंगलबार यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरेर क्षमायाचना गरेको हो।
विभागद्वारा जारी बेनामे विज्ञप्तिमा भनिएको छ, “साउन १ गते बिहान देशभर गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको हुनुपर्नेछ भन्ने आशय विभागको अलिकति पनि होइन।”
२०७८ मंसीरदेखि नयाँ दर्ता हुने सवारी साधन, १ फागुनदेखि नामसारी हुने सवारी साधन र १ जेठ २०७९ देखि सवारीधनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको विभागले जनाएको छ।
इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने, अन्य देशको तुलनामा लागत अत्यधिक महँगो भएको लगायत विषयमा भने सरकारले स्पष्ट पार्न सकेको छैन।
विभागद्वारा जारी बेनामे विज्ञप्ति