‘इम्बोस्ड नम्बर प्लेटमा सरकारले धम्की दियो, नागरिकले अवज्ञा गर्छन्-सरकारको मुख कालो हुन्छ’
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेटको विषयमा सरकारले आफ्नो गल्ती लुकाउन नागरिकलाई धम्की दिएको बताएका छन्।
१ मंसीरदेखि अहिलेसम्म सरकारले आफूले जडान गर्न नसकेको इम्बोस्ड नम्बर प्लेटमा जनतालाई एक महीनाभित्र गर्ने भए गर नत्र कारबाही गर्छु भनेर धम्की दिएको र यसलाई पुनरावलोकन नगरिए जनताले अवज्ञा गर्ने थापाले बताए।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा उनले भने, “धम्कीको यो भाषा गलत छ, यो तत्काल पुनरावलोकन होस्, होइन भने नागरिकले अवज्ञा गर्नेछन्, सरकारको मुख कालो हुन्छ।”
अन्य देशको तुलनामा इम्बोस्ड नम्बर प्लेटको लागत पनि ५–६ गुणा बढी भएको उनले बताए। नम्बर प्लेटमा देवनागिरी लिपि प्रयोग गर्न समेत थापाले माग गरे।
सरकारले असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएपछि यसको सर्वत्र विरोध भएको छ।