बालेनलाई भोट किन दिएको?
बालेनलाई गीत गाउने केटो, चश्मा लाउने केटाकै रूपमा हेरिरहे। उनले कोरोनाकालमा गरेका कामहरूको नजर अन्दाज गरिरहे। फोहोर व्यवस्थापनदेखि सम्पदा संरक्षणमा उनका योजना र विचार सुन्नै चाहेनन्। सुने पनि नसुने जस्तो गरिरहे।
स्थानीय चुनावको दिन टहल्दै टोलको किराना पसलतिर पुगें। चुनावी साताभरि चोक-चोकमा उभिएका मानिसका 'मूड' र कुराकानी नियालिरहेकी थिएँ। नङमा सुक्दै गरेको मसी देखाउँदै किराना पसले दाइले भने बालेनलाई भोट हालें।
मैले सोधें- किन अरू पार्टीहरूसँग रिसाएर?
उनले भने- ‘होइन, बालेनलाई मन पराएर।’
किन मन पर्यो? मैले फेरि सोधें।
‘शुरूदेखि नै उसका कुराहरू सुन्दै आइरहेको छु। उसको बोली प्रस्तुति (यति भन्दा उनको अनुहारको मुद्रा हातको इशारामा बेग्लै लय थियो),’ अनि थपे, ‘अहिलेसम्म एउटा उम्मेदवारले अर्कोलाई गाली गरेको मात्र देखियो। बालेनले कसैलाई एकरत्ति गाली नगरी आफ्नो कुरा मात्र गर्यो। आफ्नो योजना भन्यो।’
ती पसले दाइ र अरू केही मानिसको कुरा सुनेपछि लाग्यो- मानिसहरूले भन्ने गरे जस्तो बालेन ‘क्रेज’ सञ्जालको ‘क्रेज’ होइन। स्थापित पार्टीका मानिसहरू पनि बरु बाहिर बोलेनन्, तर गोप्य मत बालेनकै नाममा दिए। नेताहरूबीचको गालीगलौजको जुहारीले पनि मानिस दिक्क भएका रहेछन्।
आम मानिसले नयाँ विचार प्रवाहमा आफ्नो भविष्य खोजिरहेको देखियो। मिडिया र बौद्धिकले सर्वसाधारण मानिसको मनोविज्ञान र विचारलाई बेवास्ता गरिरहे। समय र समाजलाई बेवास्ता गर्ने सञ्चारजगत्लाई मानिसले पनि आफ्नो ठानेको देखिन्न।
समय समाउन नसकेको मिडिया
शुुरूआतमा बालेन साहप्रतिको युवाको झुकावलाई स्थापित पार्टीहरूप्रतिको वितृष्णा मात्र ठानियो। राजनीति नबुझेका युवाको उखरमाउलोपन भनियो, भनिंदै छ। राजनीति बुझ्ने, भलाद्मी विश्लेषक र नबुझ्ने सतही जमात भनेर वर्गीकरण गर्न एउटा सानो जमात तयार छ। परिवर्तन खोजिरहेकाहरूको सेखी झार्न, तेज गिराउन लागिपरिरहेकै छ। आफ्ना कोटरीका मानिसकै लाइक-शेयरमा ब्रह्माण्ड भेट्ने केही मानिसको सदाबहार पेशा नै त्यही हो।
नयाँ पुस्ताका लेखक बौद्धिकहरू पनि परम्परागत विश्लेषणबाट माथि उठ्न सकेको देखिन्न। सञ्चार र राजनीतिका केही गिनेचुनेका मानिससँगको सरसङ्गत नै जीवनको उपलब्धि मानेर बसे जस्तो देखिन्छ। आम मानिसका विचारलाई विचारै नठान्ने पुरातन शैली उनीहरूमा उस्तै छ।
राजनीति जबसम्म केही मानिसले बुझ्ने वरिष्ठ कुरा हुन्छ तबसम्म त्यो राजनीति हुँदैन, अर्कै कुरा हुन्छ। त्यो महाभारतका दुर्योधन र उनका कपटी मामा शकुनीको झेली खेल जस्तै हुन्छ। जालझेल कपट बुझ्नु, नेताहरूको जाली उठबसबारे लम्बेतान गफ दिन सक्नु राजनीति बुझ्नु होइन। यो नीति नागरिकको जीवनको हरेक दिन हरेक पाइलामा सँगै हिंड्यो/हिंडेन भनेर बुझ्नु चाहिं राजनीति बुझ्नु हो। यति कुरा अब परिवर्तन चाहने हरकोहीले बुझिसकेका छन्।
सामाजिक सञ्जालमा सदाबहार विश्लेषणमा रहने, नेताहरू र मिडियाका खास मानिसलाई यो कुरा मन परिरहेको छैन। पार्टीहरूलाई आफ्नो सत्तामा अरू कोही आउला भन्ने डर छ। नेताका गोजी विश्लेषकलाई आफ्नो वैचारिक सत्ताको दबदबा सकिएला भन्ने डर छ। सरकारको प्रिय पप्पु कन्सट्रक्सन जस्ता मिडियाका आफ्नै ठेकेदार विश्लेषक छन्। उनीहरूलाई लाग्छ- उनीहरूले जे भन्छन् त्यही सत्य हो, शाश्वत हो।
२०६२-६३ मा लोकतन्त्रको आन्दोलनमा हिंडेको अल्लारे पुस्ता नै प्रौढ हुने बाटोतिर लम्कँदै छ। यो बीचमा समयको काप चिरेर नयाँ पुस्ता उदाइसक्यो। उसले सोच्ने तरीकामा कति बदलाव आइसक्यो। उसका चाहना र कामना मिडिया र उनका विश्लेषकको कल्पनाभन्दा धेरै पर पुगिसके। तर, नेताहरूसँगै मितेरी साइनोमा रहेका विश्लेषकहरूलाई लाग्छ, यो सबै अल्लारेहरूको उत्ताउलोपन हो। सदाबहार सत्ताका प्रतिपक्षीहरूलाई आफ्नो वैचारिक सत्ताको पासा पल्टेला भन्ने ठूलै डर छ।
यसैले बडे बडे वरिष्ठहरू बालेनको ज्योतिषको पछि लागेका छन्। बालेनलाई परम्परावादी र अवैज्ञानिक करार गर्दै धुँवाको मुस्लो ट्वीटरमा छोडेका छन्। मान्छेको टाउको काटेर सत्तामा आउनु र बोकाको बलि दिएर शपथ खानुलाई क्रान्ति र परिवर्तन देख्ने आँखाहरूको दृष्टि यति नै हो। योभन्दा बढी अपेक्षा गर्नु नै मूर्खता हो। मिडिया यिनै सदाबहार जागीरे विश्लेषकहरूको अक्षरको चलखेलबाट बाहिर आउन सकेको छैन।
लोकतान्त्रिक मुलुकमा विचार निर्माणको लागि एकै विचारका मानिसलाई ठेक्कापट्टा दिएर हिंड्ने सम्पादक नागरिकको लोकतान्त्रिक अधिकारको लागि लड्न तम्सिन्छन्। बहुल विचारको चारै ढोका बन्द गरेर विविध विचारलाई पासो लगाइदिनेले बाँकी सारासँग जवाफदेहको माग गर्छन्। यही कारण होला, विचारका पप्पु ठेकेदारहरूले अड्कल गर्ने र भन्ने कुरा समाजमा नमिल्न थालेको छ। मिडिया र बौद्धिक लागेर लोकतन्त्रका महानायक घोषणा गर्न मात्र बाँकी भएका नेता मत हाल्न गाउँमा जानै नसक्ने स्थिति भयो।
रौतहटमा भोट हाल्न गएका पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल विरुद्ध नाराबाजी भयो। पाँच वर्षमा एक पटक भोट माग्न मात्र गृहजिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नै ठाउँमा उम्मेदवारको पराजय भयो। साम, दाम, दण्ड, भेद नगरीकन प्रमुख भनिएका नेताहरूको राजनीति जोगिन गाह्रो पर्दै छ। लोकतन्त्रको सौन्दर्य यही हो, मिडिया र बौद्धिकले नलेखिदिएका कुरा नागरिकले हेरेर बस्छ। दृष्टि पुर्याउँछ र विचार बनाउँछ। समय कुरेर बस्छ र आफूमाथिको अपहेलनाको चूपचाप जवाफ फर्काउँछ।
काठमाडौंमा होस् वा जिल्लामा केही तोकिएका अधिकारीको मात्र विचार मिडियामा पेश भइरहेको हुन्छ। एउटै रटान, एकै तरीका। मै हुँ भन्ने विश्लेषकहरूको आकलनभन्दा फरक देखिएको काठमाडौं परिदृश्य यसैको परिणाम हो। समाजसँग दूरीमा रहेका नेताहरूसँग काँध मिलाइरहेको सञ्चार जगत् र विश्लेषणको संसारले समयको फेरो समाउन सकेको देखिन्न। समय निकै बलवान् चीज हो। यसले सत्ताका बादशाह, वैचारिक सत्ताका सम्राट्, सञ्चार जगत्का ठालू सबैको सातो खाइदिन सक्छ। पत्तो नपाईकन यी सबै किसिमका सत्तामा चूपचाप नयाँ तरङ्ग उदाइदिन सक्छ। समयको शक्तिसँग खेलबाड नगरेकै राम्रो।
नागरिक सुझबुझलाई किन हेपेको?
धेरै ‘भीआईपी’ विचार निर्माणकर्ताले बालेनलाई शुरूमा पत्याएनन्। गन्दै गनेनन्। परम्परागत अड्कलबाजीमै आफ्नो बौद्धिकता प्रकाशित भइरहेको देखे। बालेनलाई गीत गाउने केटो, चश्मा लाउने केटाकै रूपमा हेरिरहे। उनले कोरोनाकालमा गरेका कामहरूको नजर अन्दाज गरिरहे। फोहोर व्यवस्थापनदेखि सम्पदा संरक्षणमा उनका योजना र विचार सुन्नै चाहेनन्। सुने पनि नसुने जस्तो गरिरहे। बालेनले अपत्यारिलो केही कुरा गरेनन्। शीर्ष नेतालाई चोर औंलो ताकी ताकी नसराप्नु उनको अर्को भुल थियो। यसैले ‘भीआईपी’ ले उनमा सम्भावना देखेनन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई धक्का दिए भनिरहनै नपर्ने कुरा हो। अब उनलाई टक्कर दिन तम्सेका दलहरूका युवा नेताहरूको क्रियाकलापको एक-दुई नमूना सम्झौं त। डेढ वर्षअघि प्रतिपक्षमा रहेका दलहरूको बेमौसमी आमसभाको दृश्य सम्झनलायक छ। जसले युवा नेताको सादगी र लोकतान्त्रिक चरित्र उदाङ्गो पारेको थियो।
देशभरिबाट आफ्नो काम छोडेर आएका नागरिकको हुलमा रामकुमारी झाँक्री फिल्मी शैलीमा ‘इन्ट्री’ मार्छिन्। आफूलाई सुन्न सारा काम छोडेर आएका जनतासँग विनयशील भएर धन्यवाद भन्दिनन्। दुःख पाएकोमा ‘सरी’ भन्दिनन्। भाषण गर्न स्टेजमा पुगेपछि स्वाट्ट ज्याकेट खोल्छिन् र दर्शकतिर मिल्काउँछिन्। यसको मतलब के हो? उनी कुनै फरिस्ता हुन्? उनलाई सुन्न बसेका मानिस कमिला हुन्? आफ्नो र नागरिकको हैसियत फरक देखेको होइन यो? यो नागरिकलाई गरेको सीधा अपमान हो।
झाँक्रीसँगै ख्याति कमाएका अर्का युवा गगन थापा पनि मिडियाको वाहवाही र भाइहरूको सानो झुन्डमा क्रमशः सीमित हुँदै जान थालेको भान हुन्छ। नयाँ समय र समाजले पर्खिरहेको परिवर्तनको अजेन्डा उनीबाट कम सुनिन्छ। प्रतिपक्षी दलका नेतासँग जुहारी बढी सुनिन्छ।
मानिसहरू चर्का भाषण र गालीगलौजको जुहारीसँग वाक्क भइसके। वैकल्पिक भनेर उदाएको पार्टीका बडे-छोटे नेताले पनि वैकल्पिक राजनीतिक संस्कार देखाउन सकेका होइनन्। उनीहरूको अधिकांश समय पनि अन्य पार्टीलाई सराप्दैमा बित्यो। यो सबै कुरा चनाखो भएर हेरिरहेका बालेनले यस्तै तरीका दोहोर्याएनन्। आफूलाई सराप्दै हिंडिरहेको प्रतिपक्षी उम्मेदवारलाई समेत मुख फर्काएनन्। अन्य उम्मेदवारले जस्तो चुनावी माहोललाई हाजिरी जवाफ प्रतियोगिता बनाएनन्। आफ्नै धुनमा आफ्नै चाल चालिरहे।
युवा मात्र होइन, परिपक्व हुँदै वृद्ध समेतले बालेनमा भरोसा साँचेका छन्। परम्परावादी विश्लेषक र समाजले यो स्विकार्न सकेको छैन। उनीहरूको अहंले मान्दै मानेको छैन। बालेनले आर्जेको ख्यातिलाई केवल चमत्कार देखेको छ। कतिले यसलाई पाँच वर्षअघि विवेकशील पार्टीले पाएको समर्थनको चिट्ठा पनि भनेका छन्। यस्तो भन्नु सरासर नागरिक सुझबुझ र विश्लेषणमाथि गरिएको अपहेलना हो।
बालेनको ‘क्रेज’ लाई रन्जु दर्शनासँग तुलना गरिएको छ। रन्जु मैदानमा नभएको फाइदा बालेनलाई पुगेको तर्क गरिंदै छ। रन्जु र बालेनको ‘क्रेज’ फरक छ। रन्जु उठ्दा वैकल्पिक राजनीतिक दलप्रति मानिसहरूको आकर्षण तीव्र थियो। संगठित शक्तिको साथ थियो उनलाई। मुलधारका मिडियाका मूल काम नै उनलाई एकोहोरो ‘प्रोजेक्सन’ गर्नु थियो। कतिसम्म भने उनी अनौपचारिक पार्टीमा जाँदा ‘निलो सारी लगाएर पुगिन रन्जु चियापान समारोहमा’ भनेर समाचार लेखिन्थे। तर, बालेनलाई मूलधारको मिडियाले धेरै समयसम्म देखेर पनि आँखा छोपेर बसेको हो।
उनको प्रभावको उज्यालो यसरी फैलियो कि आँखैमा लाइट बलेपछि त हेर्नैपर्यो। बालेन मिडिया ‘प्रोजेक्टेड’ प्रभाव होइन। यो भित्रैदेखिको जागरण हो। उनको जागरणमा जागेका मानिसहरूको साथ हो। उनी मुखमा करौती लिएर मैदानमा आएनन्। लगातार संयमित भएर आफ्ना मिहिनेत र अध्ययन पेश गरिरहे।
राजनीति केही अहंधारीहरूको विश्लेषणको विषयबाट अब नागरिकको दैनिकीमा प्रवेश गर्ने वेला भएको हो। नागरिकको आँगन र पाइलामा नआउँदासम्म यो बन्द कोठाको फोहोरी खेल हो। नयाँ पुस्ताको नयाँ सोचमा प्रवाह हुँदैन भने यो जमेको तलाउको गन्हाउने पानी हो।
विचारधाराको प्रवाह बग्न खोज्दै छ। नदीको रूप धारण गर्न खोजिरहेको सङ्केत नै बालेनप्रतिको भरोसा हो। यही कुरा तलाउका ढाडे पाहाहरूलाई मन परिरहेको छैन। तर, परिवर्तन खोजिरहेको वेगले सारा ‘क्राफ्टेड’ विश्लेषकहरूको सातो खाइदिन सक्छ। पासा पल्टाउन सक्छ।
बालेनको काठमाडौंको प्रभावले देखाएको कुरा के हो भने मिडिया समाजबाट धेरै पर छ। उसको हातमा केही मानिस छन्, ऊ केही मानिसको हातमा छ। बालेनको पुस्तालाई उसले वास्ता गर्दैन। बालेनको पुस्ताले पनि यस्ता मिडियालाई वास्ता गर्दैन।
नेपालीहरूको कर्म नै यस्तै हो- उनीहरू आफ्नै बलमा अघि बढ्नुपर्छ। राजनीतिक दल र सञ्चारगृह कहिल्यै उनीहरूको साथमा देखिन्नन्। मनोभावना र बदलिएको आकाङ्क्षा उठाइरहेको देखिन्न। तर, समय बलवान् छ। राजनीति, समाज, सञ्चारमा केही मानिसहरूको दबदबा र बनिबनाउ सम्बन्धमा यही समयले आँधीहुरी ल्याउनेछ।