के बालेनले विवेकशीलको ‘क्रेज’ लिएका हुन्?
रञ्जु दर्शनाले पाँच वर्षअघि पाएको चर्चा र युवाको समर्थन यति वेला काठमाडौंको मेयरका उम्मेदवार बालेन साहले पाइरहेका छन्। के उनले विवेकशीलको ‘क्रेज’ लिएका हुन्?
काठमाडौंमा रेल हैन, साइकल कुदाउनुपर्छ। हामी टायर बाल्ने राजनीति हैन, फूल रोप्ने राजनीति गर्दैछौं।
पाँच वर्षअघि विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले चुनावी सभामा यसरी फरक राजनीतिको कुरा गर्दा गढगढ ताली बज्थ्यो। सामाजिक सञ्जाल मात्रै होइन, सञ्चार माध्यममा पनि चर्चा हुन्थ्यो।
उनी विकल्पको राजनीति रोजेको दाबी गर्दै काठमाडौंमा चुनावी प्रचारमा होमिएकी थिइन्। युवा मात्रै होइन, वृद्धवृद्धाले पनि उनको हाइहाइ गरेको सुनिन्थ्यो। कमजोर संगठन संरचनाले चुनाव जित्न नसके पनि तेस्रो नम्बरमा रहेकी उनले २३ हजार ४३९ मत पाएकी थिइन्। जुन नेकपा (एमाले) र नेपाली कांग्रेस बाहेक २८ उम्मेदवारको भन्दा बढी हो।
रञ्जुकै चुनावी अभियानको झल्को दिने गरी यस पटक काठमाडौंको मेयरका उम्मेदवार बालेन घरदैलोमा जुटिरहेका छन्। सडक, सार्वजनिक स्थानदेखि सामाजिक सञ्जालका भित्तामा साहका समर्थक उर्लिएका देखिन्छन्। उनलाई विवेकशील साझाका पूर्व कार्यकता, कलाकार तथा युवाले समर्थन र भोटको अपील गरिरहेका छन्।
उनले सञ्चार माध्यममा दिएका अन्तर्वार्ता र भोट माग्न गरिरहेको घरदैलो कार्यक्रमका सामग्री अत्यधिक रुचाइएका छन्। यतिवेला उनी चर्चाको शिखरमा छन्। यति धेरै चर्चा पाउनुको कारण के होला?
रञ्जु र बालेनको साझा विषय दुवै उम्मेदवार परम्परागत पार्टी र तिनको सैद्धान्तिक, राजनीतिक, चारित्रिक, वैचारिकताबाट अघाएर उठेका युवा भएकाले चर्र्चा बटुलेको राजनीतिक विश्लेषक इन्द्र अधिकारी बताउँछिन। “यति हुँदाहुँदै पनि रञ्जु संगठनबाट आएकी हुन्। उनको क्रेज अलिक स्थापित थियो। बालेनको क्रेज स्थापित लाग्दैन। उनलाई कलाकार भएर पनि बढी माया गरिएको हुनसक्छ,” अधिकारी भन्छिन्।
अधिकारीको विचारमा अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि सहमत देखिन्छन्। पोखरेलका अुनसार बालेनले रञ्जुको राजनीतिक यात्रा र चर्चाको विडो थामेको भन्न सकिँदैन। किनकि, रञ्जुको अभियान एउटा ‘मुमेन्ट’ नै थियो। विकल्पको राजनीतिको संगठित प्रयासमा रञ्जुप्रति दूरदर्शी योजनाले आम जनतालाई लालयित बनाएको थियो। तर, अहिलेको राजनीतिबाट असन्तुष्ट भएका युुवाले मात्र बालेनको स्वरमा स्वर थपेको पोखरेलेको बुझाइ छ। “फेरि यो वर्ष विवेकशील साझाबाट चर्चा कमाउने गरिको रञ्जु जस्तो उम्मेदवार नभएर पनि होला, बालेनलाई युवाले समर्थन गरेको छ,” उनी भन्छन्।
यस पटक विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा मेयरको उम्मेदवार बनेकी छन्। उनले विकल्पको राजनीति गरिरहेको बताए पनि त्यतिधेरै ध्यान खिच्न सकेको छैन। पोखरेलको विश्लेषणमा चर्चा नै जितको आधार हैन, तर चुनावमा चर्चाले नयाँ मतदातासँग परिचित गराउँछ। त्यस परिचयले सकारात्मक प्रभाव प¥यो भने भोटमा परिणाम हुन सक्छ।
बालेनको जित्ने भोट नआए पनि अन्य पार्टीलाई टक्कर दिनसक्ने भोट आउने उनको आकलन छ। “रञ्जुको जस्तो हाइहाइ नहुनु विवेकशील साझाले गरेको घातले पनि होला। यो पार्टीसँग रुष्ट भएका युवाको समर्थन पनि स्वतन्त्र उम्मेदवार भएकाले बालेनमा गएको हुनसक्छ,” पोखरेल भन्छन्।
विवेकशील सझालाई भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टी जस्तो मानेका युवा रुष्ट पनि छन्। विवेकशील साझा आफै पनि टुक्रिएको छ। केही युवा नेता अलग भएका छन्।
२०७४ को चुनावमा अलगअलग लडेका विवेकशील र साझा पार्टीबीच पुरातनवादी सोचको काम गर्ने शैलीलाई दूरुत्सान गर्न भन्दै ११ साउन, २०७४ मा एकीकरण भएको थियो।
त्यो एकीकरण लामो समय टिकेन। विवेकशील साझाका रवीन्द्र मिश्र समूहले पार्टीलाई एक्लै चलाउन खोजेको भन्दै एक वर्षपछि २७ पुस, २०७५ मा अर्का संयोजक उज्ज्वल थापासहितको समूह अलग भएको थियो। थापाको नेतृत्वमा विवेकशील पार्टी बनेको थियो।
त्यसको दुई वर्षपछि २४ मंसीर, २०७७ मा फेरि विवेकशील र साझाबीच एकीकरण भयो। तर, एक वर्ष नपुग्दै संयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डे समूहबीच असहमति उत्पन्न भयो। अहिले दुवै समूह अलग भएका छन्।
आफ्नो सिद्धान्तमा अडिक हुन नसक्ने र राप्रपा पार्टीसँग मिल्न जाने विषयले मिश्रको अजेन्डा असफल हुनु पनि यो वर्ष विवेकशील साझाको उम्मेवारको चर्चा नभएको विश्लेषक पोखरलेको भनाइ छ।
यस्तो वेलामा बालेनको ‘आउटलेट’ देखा पर्दा युवा आकर्षित भएको ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्ग बताउँछिन्। रञ्जुको ठाउँ अर्को युवाले नलिँदा शिक्षित, प्रभावकारी वाक कला, कलाकार, स्पष्ट अजेन्डा राख्ने शैलीले गर्दा बालेनप्रति युवाको समर्थन बढेको उनको भनाइ छ। बालेनको चर्चा हुनुमा विवेकशील साझा ओझेल पर्नु पनि भएको बताउँदै प्रधानाङ्ग भन्छिन्, “यो पटक खै त विवेकशील साझा कहाँ छ, थाहै छैन।”
अहिले युवा र सेलिब्रेटीले उनको समर्थन गरिरहेका छन्। तर, वैचारिक हिसाबले उनले कस्तो राजनीति गर्न खोजेको हुन भन्ने बाहिर आएको छैन। उनी विकल्पको राजनीति गर्ने ढंगबाट आएका छैनन्। फोहोर व्यवस्थापन, पानीको व्यवस्थापन, सफा बाटो, ढलको व्यवस्थापन, सार्वजनिक सवारी र हरियाली बनाउने लगायतका काम गर्न आएको बताइरहेका बालेनको स्थानीय र प्रदेशबाटै राजनीतिमा परिवर्तन ल्याउन होमिएकी रञ्जुसँग तुलना गर्न नसुहाउने विश्लेषक पोखरेलको भनाइ छ। “बालेन असन्तुष्टिलाई रिलिज गर्ने माध्यम बन्दा चर्चा कमाएका मात्र हुन,” उनी भन्छन्।
अर्की विश्लेषक अधिकारी पनि बालेनको समर्थन व्यवहारिक भन्दा पनि चर्चामा सीमित हुने दाबी गर्छिन। “बालेनले आकर्षक नारा उठाएका छन्, तर राजनीति गर्ने आधारभूत तत्व नारा हैन, टिम हो। जुन उनीसँग छैन,” अधिकारी स्पष्ट पार्छिन, “एउटा मात्र मान्छेले मेयर जितेर केही पनि हुँदैन भन्ने नबुझ्नेहरूको समर्थन मात्र हो।”
उनी काठमाडौं महानगर भनेको प्रधानमन्त्रीपछि दोस्रो शक्तिशाली कार्यपालिका भएको सरकारका रुपमा ठम्याउँछिन्। त्यसैले संगठन विना राजनीति टिक्दैन भन्ने रञ्जुले बुझेको तर बालेनले नबुझेको उनको भनाइ छ।
एक्लो व्यक्तिले सुशासन र व्यवस्थापन गर्न नसक्ने उदाहरण भारतको आम आदमी पार्टीका नेता अरविन्द केजरिवाल भएको पेश गर्छिन्। सन् २०११ मा केजरिवालले अन्ना हजारेको अगुवाइमा प्रशान्त भुषण, किरण वेदी जस्ता अभियन्तासँग मिलेर भ्रष्टाचारविरुद्धको अभियान चलाएका थिए। त्यसबाट चर्चामा आएका केजरिवालले काम गर्न पार्टी नै चाहिने ठानेर आम आदमी पार्टी खोले।
सन् २०१४ को पहिलो चुनावमा ७० मध्ये ३१ सिट जिते। कांग्रेसको समर्थनमा मुख्यमन्त्री बने पनि काम गर्ने स्वतन्त्रता नमिलेको भन्दै राजनीनामा दिए। यसलाई उल्लेख गर्दै विश्लेषक अधिकारी भन्छिन्, “आन्दोलनले खबरदारी गर्छ भने सुधार ल्याउन सही राजनीतिको ‘इस्टेरिङ’ नै चलाउनुपर्छ। आफ्ना योजना अनुकूल संरचना र कानून नै नभए कसरी काम गर्ने?”
त्यसपछि सन् २०१५ मा भएको निर्वाचनमा उनले ७० मध्ये ६७ सिट जिते। अनि उनले सरकारी विद्यालयको गुणस्तरमा त सुधार गरे नै सबै क्षेत्रमा जनताले महसुस गर्नेगरी परिवर्तन ल्याए। दिल्लीमा गरेको कामको प्रभावले अहिले पञ्जाबमा पनि सरकार बनाएका छन्।
त्यसैले चर्चाको राजनीति गर्ने कि दिगो र व्यवहारिक राजनीतिमा लाग्ने बालेलने बुझ्न आवश्यक भएको अधिकारीको भनाइ छ। “बालेनले देखेको सपना हरेक युवाले देखेको सपना हो,” अधिकारी भन्छिन्, “विकल्प खोज्नु नराम्रो हैन, तर चर्चा भए पनि रञ्जुको जति भोट नआउला कि!”
रञ्जुले पार्टीमा संलग्न भएर काम गरेकाले समाजका हरेक तह र तप्काका लागि आशा बनेकी थिइन्। तर, अहिले उनीहरूको पार्टी स्थिर हुन नसक्दा युवाले स्वतन्त्र उम्मेदवारप्रति विश्वास गर्दा बालेन छनोटमा परेको प्रधानाङ्गको मत छ। उनी भन्छिन्, “काठमाडौंको हकमा माटो सुहाउँदो समुदाय नै विजेता बनेकोे इतिहास छ।”