सावधान! भरतपुरमा चुनाव हुँदै छ
माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी भएकैले रेणु उम्मेदवार बन्न पाउनु हुँदैन भन्ने किमार्थ होइन, तर उनीभन्दा योग्य र योगदान भएका, शहीद परिवारका सदस्य तथा घाइतेहरू दाहालका सन्तान नभएकैले पटक पटक अवसरबाट वञ्चित हुनु चाहिं विडम्बना नै हो।
वैशाख २२ गते भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रभावशाली नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने भनेर जोडतोडले प्रचारप्रसार गरियो। पोस्टरमा थापा र कोइरालाको तस्वीर राखेर प्रचार गरिए पनि सभामा दुवै नेता गएनन्।
सभा शुरू हुनुभन्दा केही घण्टा अघिसम्म डा. कोइरालालाई यो सभामा जानुपर्छ भन्ने औपचारिक जानकारीसम्म थिएन। उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले सभा हुने दिन बिहान बल्ल फोन गरेर कोइरालालाई आमन्त्रण गरेका थिए। सभापतिको फोन आउँदा विराटनगरमा चुनाव प्रचार गरिरहेका कोइरालाले पूर्व निर्धारित कार्यतालिकामै व्यस्त हुने भन्दै भरतपुरको सभामा सहभागी नहुने जवाफ दिए।
कार्यव्यस्ततालाई कारण देखाएर सभामा सहभागी हुन इन्कार गरेका नेता कोइराला शुरूदेखि नै कांग्रेस चितवनका कार्यकर्ताको भावनाको कदर गर्नुपर्ने पक्षमा छन्। २०७४ सालको निर्वाचनमा भरतपुरकाे मेयरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई कांग्रेसले सघाएको थियो। यस पटक भने आफ्नो पार्टीले मेयरमा उम्मेदवारी दिन पाउनुपर्ने कांग्रेस चितवन जिल्ला र भरतपुर नगर समितिको निर्णय थियो। तर, स्थानीय नेता, कार्यकर्ताको भावना विपरीत केन्द्रले चुनावी तालमेलको निर्णय गर्यो।
भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल लगायतको विरोधमा आयोजित सभामा महामन्त्री थापा र डा. कोइराला सहभागी नहुनु आश्चर्यको कुरा भएन। तर, उनीहरू सहभागी हुँदैनन् भन्ने जान्दाजान्दै सभामा सम्बोधनका लागि आउँदै छन् भनेर प्रचारप्रसार गर्नु किमार्थ उचित होइन। खास गरी गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी रेणु दाहालका समर्थकले महामन्त्री थापा र कोइरालाको तस्वीर सहितको पोस्टर बनाएर झुटो प्रचार गरेका थिए।
भरतपुरमा दोहोर्याएर मेयरमा उम्मेदवारी दिएकी दाहालले वैशाख १८ गते पनि यस्तै भ्रम फैलाउने प्रयास गरेकी थिइन्। त्यस दिन बिहान साढे ७ बजे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका नेता विमलेन्द्र निधि, वंशीधर मिश्र, रामजी दाहाल लगायतसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा खिचिएको तस्वीर सार्वजनिक गर्दै रेणुले लेखिन्- काठमाडौंबाट भरतपुरतर्फ। रेणुको फेसबूक स्टेटसलाई आधार बनाएर समाचार आयो- माधव नेपाल र विमलेन्द्र निधि रेणु दाहालको निर्वाचन क्षेत्रमा।
जबकि, त्यो दिन पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल र नेता निधि कोही पनि दाहालको निर्वाचन क्षेत्रमा गएकै थिएनन्। अध्यक्ष नेपालको टोली बारा र निधिको टोली विराटनगर गएको थियो। हेर्दा सामान्य जस्तो लाग्ने यी दुई घटना भरतपुरमा जसरी पनि चुनाव जित्न कतिसम्म झूटको साहरा लिइएको छ भन्ने दृष्टान्त हो।
झूट त छँदै थियो केन्द्रीय बस टर्मिनलमा निर्मित जलमग्न मञ्चमा सभा शुरू भएपछि धम्कीको वर्षा हुन थाल्यो। माओवादीका अध्यक्ष दाहालले आफ्नी छोरीलाई भोट नदिए मुलुक दुर्घटनामा जाने धम्की दिए। उनले भने, “हालिंदैन, हँसिया-हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ। उत्साहपूर्ण ढङ्गले भोट हालेर रेणु दाहालको टीमलाई विजय गराउनुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिबद्धता छ।”
अर्थात्, कांग्रेस कार्यकर्ताले हँसिया-हथौडामा भोट नहालेर रेणुले चुनाव हारे अध्यक्ष दाहाल निरुत्साहित हुनेछन्। उनको भनाइको अर्थ रेणुले चुनाव हार्नु देश दुर्घटनामा जानु हो, गठबन्धन टुट्नु हो। पूर्व प्रधानमन्त्री रहिसकेका दाहालको यो भनाइले पाँच दलीय गठबन्धन रेणुलाई मेयर बनाउनकै लागि भएको हो भन्नेहरूको तर्कलाई बल दिएको छ।
त्यसअघि नै बालुवाटारमा हुने गठबन्धनको बैठकमा दाहालले पटक पटक भरतपुर माओवादीले पाउनुपर्ने अडान राख्दै आएका थिए। बैठकमा निरन्तर सहभागी एक शीर्ष नेताका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरको मेयर कांग्रेसलाई छाडे कम्तीमा १० पालिकाको नेतृत्व माओवादीलाई दिन सकिने प्रस्ताव राखेका थिए। “प्रधानमन्त्रीले राख्नुभएको त्यो प्रस्तावमा प्रचण्डजीले भरतपुर माओवादीले नपाए गठबन्धन टुट्ने बरु एमालेसँग सहकार्य गर्छौं भन्नुभयो,” नाम उल्लेख गर्न नचाहने ती नेताले हिमालखबरसँग भने।
अध्यक्ष दाहालले जसरी पनि भरतपुरको मेयर चाहिन्छ भनेपछि आफूहरूले पाउनुपर्ने भन्दा कम पालिकामा नेतृत्व पाएको विषय माओवादीभित्र पनि उठ्ने गरेको छ। यही आलोचनाको जवाफमा दाहालले २०७४ सालमा भन्दा दोब्बर स्थानमा चुनाव जित्छौं भन्ने गरेका छन्। तर, उनको अभिव्यक्ति वस्तुगत यथार्थभन्दा निकै टाढा छ।
गत स्थानीय निर्वाचनमा कांग्रेसकै सहयोगमा माओवादीले १०६ पालिका प्रमुख जितेको थियो। दाहालको दाबी सत्य हुन कम्तीमा २१२ पालिका जित्नुपर्ने हुन्छ। तर, उनको परिवारवाद, आन्तरिक द्वन्द्व तथा रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायत नेता एमालेमा गएकाले यो दाबी आंशिक सत्य पनि नहुने माओवादी नेताहरूको विश्लेषण छ। माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, “हाम्रो पार्टीभित्रको द्वन्द्व तपाईंहरूले थाहा पाउनुभएकै छैन, आन्तरिक विवादले चुनावी परिणाम प्रभावित गर्ला जस्तो लाग्छ।”
१० वर्षे सशस्त्र द्वन्द्वबाट आएका माओवादी अध्यक्ष दाहालले आफ्नी छोरीलाई लगातार मेयर बनाउने कुराको माओवादीमा आलोचना भए पनि बाहिर आउन सकेको छैन। शहीद परिवारका सदस्य, द्वन्द्वका घाइते, अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्नेमा दाहालले सधैं परिवार र नातागोतालाई अवसर दिने गरेको कुरा लुकेको छैन। माओवादी अध्यक्ष दाहालकी छोरी भएकै कारणले रेणु उम्मेदवार बन्न पाउनु हुँदैन भन्ने होइन। तर, उनीभन्दा योग्य र योगदान हुनेहरू अध्यक्ष दाहालका सन्तान नभएकैले अवसरबाट वञ्चित हुनु विडम्बना हो।
माओवादीले देशभरिका पालिकामध्ये यस पटक करीब आधामा मात्रै उम्मेदवारी दिन सक्यो। ७५३ मध्ये १७४ पालिकामा प्रमुख र २९० पालिका अध्यक्षमा उम्मेदवारी दिएको छ। मौन अवधि शुरू हुन केही दिन मात्रै बाँकी छँदा छोरीलाई भोट माग्न बहालवाला प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ लगायतलाई भरतपुर ओरालेको हेर्दा दाहाल चुनाव जित्न साम, दाम, दण्ड र भेद प्रयोग गर्न पछि पर्दैनन् भन्ने बुझ्न सकिन्छ। किनभने, आफ्नो पार्टीले उम्मेदवारी दिएका ४४६ पालिकामै माआवादी हार्दा दाहाललाई त्यति चोट पर्दैन जति चोट छोरीले भरतपुरमा हार्दा पर्छ।
धाक, धम्की र राज्यशक्तिको दुरुपयोग गरेर मेयर बनिने हो भने स्वच्छ, निष्पक्ष र धाँधलीरहित नारा दिएर चुनाव गर्नुको के अर्थ?