चुनावमा कांग्रेसले माओवादीबाट धोका पाउन सक्छ, ओली विरोधी भाष्य बलियो भएन
कांग्रेस र माओवादीले जुन भाष्य टिपेर चुनाव लडिरहेका छन् अहिले, त्यो पूरा गलत छ। यदि भोलि गएर कसैलाई फाइदा हुन्छ भने एमालेलाई हुन्छ।
स्थानीय चुनावको चहलपहल अघिल्लो चुनावको जस्तो छैन। धेरै मान्छेहरू घरबाट बाहिर निस्किएकै छैनन्।
नेकपा (माओवादी केन्द्र) ले अघिल्लो चुनावमा भन्दा आधा पालिका जोगाए पनि ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ। तर, त्यति जोगाउन गाह्रो छ। किनभने, माओवादीको चुनावी अभियान चितवनको रेणु दाहालबाटै शुरू हुन्छ, त्यहीं गएर अन्त्य हुन्छ। माओवादीले स्थानीय तहको चुनाव लड्दै छ भन्न त सकिन्छ, तर कहाँ भन्दा चितवनमा। पुष्पकमल दाहाल पनि त्यहीं सीमित हुनुभएको छ।
वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महराको प्रभाव रहेको रुकुम, रोल्पातिर माओवादीको केही प्रभाव नभएको होइन। त्यस बाहेक अन्त भने आफैं जित्न पुग्ने भोट भएको ठाउँ विरलै छ। मेरो विचारमा पहिलेको शक्तिमा आधा कमी आउँछ। प्राप्त मत प्रतिशत पनि आधा कम हुन्छ, सीट पनि आधा घट्छ। त्यति जित्दा पनि सम्मानजनक मान्नुपर्ने हुन्छ।
पुष्पकमल दाहालले भने जस्तो दोब्बर जित्न त उम्मेदवारै उठेका छैनन्, के जित्नु! सबैतिर तालमेल पनि छैन, जित्ने वातावरण पनि छैन। यो कुरा प्रचण्डजीलाई किन थाहा नहुनु, हामीलाई भन्दा बढी थाहा छ।
त्यही भएर न कमसेकम भरतपुर जित्दा इज्जत जोगिन्छ भनेर लागिरहनुभएको छ। भरतपुरमा रेणु दाहाल त साइडमा भइसक्नुभयो, उहाँले जित्नुभयो भने त्यो प्रचण्ड, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको जित हुन्छ।
कांग्रेस देशभरि हार्दाखेरि पनि त्यहाँ जित्यो भने शेरबहादुर र रामचन्द्रलाई देशै जितेको जस्तो हुने भयो। किनकि, दुवै आफ्नो जिल्ला त मिलाउन जानुभएन। अहिलेसम्म डडेल्धुरा र तनहुँमा के भन्ने चिन्ता शेरबहादुर र रामचन्द्रले लिएको देखिएन।
यो चुनावमा पनि कांग्रेस र एमाले नै प्रतिस्पर्धी पार्टी हुन्। जहाँ एमालेले कांग्रेससँग प्रतिस्पर्धा गर्छ, त्यहाँ दुइटाको टक्कर पर्छ। जहाँ एमालेले माओवादी या समाजवादीसँग टक्कर पर्छ, त्यहाँ एमाले लाभान्वित हुन्छ। एमालेलाई सजिलो प्रतिस्पर्धी माओवादी, एकीकृत समाजवादी र जसपा नै हुन्। कांग्रेस बाहेकका प्रतिस्पर्धी एमालेलाई गाह्रो छैन। धेरै हदसम्म माओवादी र अरू पार्टीलाई एमालेले सहज रूपमा लिइरहेको छ। मैले मोरङ, सुनसरीमा पनि त्यही देखें।
कांग्रेसले स्थानीय चुनावमा माओवादीबाट धोका पाउँछ कि जस्तो लाग्छ। माओवादीहरूले देखिने गरी कांग्रेससँग गठबन्धन गरेका छन्, नदेखिने गरी विभिन्न किसिमका गतिविधि गरेको मैले अनुभव गरेको छु। उनीहरूमाथि शङ्का छ र यो शङ्का ठूलो छ। चुनाव अगाडि धेरै शङ्काको कुरा गर्दा तिक्तता बढ्ने भएकाले अहिले थप बोल्न चाहन्नँ।
माओवादी सिद्धान्तमा आधारित पार्टी होइन। यसको न संगठनको अनुभव छ, न नेतृत्वप्रतिको विश्वास नै छ। उनीहरू केका लागि राजनीति गर्दै छन् भने यताउता तामझाम मिलाएर सत्तामा पुगिहाल्ने। चाहे त्यो तल होस् वा माथि। प्रचण्डजीले जे गरिरहनुभएको छ, त्यो त तलैसम्म प्रतिबिम्बित भइरहेको छ। यसले गर्दा, यसो हेर्यो कांग्रेससँग मिल्यो, भोलि ठेक्कापट्टा पाइँदैन भने बरु एमालेसँग अहिले नै मिलिहालौं भन्ने देखिन्छ ।
कम्युनिष्टहरू फुटेकाले कांग्रेसलाई त्यसको फाइदा छ। भर्खर १४औं महाधिवेशन नभएको भए कांग्रेसलाई अझै राम्रो हुन सक्थ्यो। कांग्रेसको आजको दिनको समस्या भनेको अरू पार्टीसँगको प्रतिस्पर्धाभन्दा पनि आन्तरिक जीवनको प्रतिस्पर्धा हो। पार्टीभित्रकै घात–अन्तर्घात समस्या हो। यस पटक पनि खोजी खोजी अलोकप्रिय उम्मेदवार बनाइएको छ। झण्डै ४५० देखि ४७५ सीट जित्ने कांग्रेसले खोजी खोजी को उम्मेदवार कहाँ उठ्दा हार्छ, त्यसैलाई उम्मेदवार बनायो।
अर्को, कांग्रेसभित्र महाधिवेशनका वेला सांगठनिक चुनाव भयो, त्यसको पनि असर देखिन सक्छ। त्यस कारण २०० सीट कांग्रेसको शीर्ष नेतृत्वले गरेको गल्ती र उम्मेदवार चयनका कारणले घट्ने देखिन्छ। उसले १५० सीट प्रतिस्पर्धामा जानुअघि नै गुमायो।
तर पनि, कांग्रेसको शक्ति कहाँ छ भने कम्युनिष्ट मन नपराउने सबैले कांग्रेसलाई भोट दिन्छन्। यो पार्टीले जतिसुकै नराम्रो काम गरे पनि २५ प्रतिशत परम्परागत भोट घट्दैन। विश्वेश्वरप्रसाद कोइरालाको निधन भएको ४० वर्ष भइसकेको छ, तर पनि कांग्रेसको २५ प्रतिशत भोग सुरक्षित गरिदिएका छन्। बीपीको पार्टी हो भन्ने छ। मेरी आमा ९० वर्ष कट्नुभयो, तर बीपीको पार्टी, रूख, कांग्रेसप्रति उत्तिकै लगाव राख्नुहुन्छ।
व्यापार व्यवसाय गर्नेहरू वा निजी सम्पत्तिको सुरक्षा खोज्नेहरूले पनि कांग्रेस बाहेक अरू पार्टी रोज्दैनन्। मध्यम वर्गीय परिवारमा पनि कांग्रेस लोकप्रिय छ।
अहिलेसम्म कांग्रेसको भोट ३७ प्रतिशत कट्न सकेको छैन। तर, नेताहरूले गल्ती नगरेको भए यो चुनावमा ५० प्रतिशत भोट सजिलै आउँथ्यो। त्यसका लागि अनुसन्धानमा आधारित उम्मेदवार दिने, जनमतमा जोडिने र आफ्नो सबल पक्षमा अगाडि बढ्नुपर्थ्यो।
कांग्रेसले साढे चार वर्ष ठीकठीकै काम गर्छ, तर चुनाव आउने वेलामा यसले यति धेरै गल्ती गर्छ, आफ्नो पाँचदेखि १० प्रतिशत भोट नघटाई यसलाई खाएकै पच्दैन। जस्तै, अहिले शेरबहादुर देउवाले चुनावको मुखमा आएर आइजीपी प्रकरण, गभर्नर प्रकरण गर्नुभयो। कांग्रेसले चुनाव आएपछि खोजी खोजी गल्ती गर्छ।
कांग्रेसको १० लाख आसपासमा क्रियाशील सदस्य छन् भने भोट ३०–४० लाख छ। कांग्रेसमा क्रियाशील नभएकाहरू शुभचिन्तक हुन्। मतदाताले जुन गल्ती कांग्रेसले नगरिदियोस् भनेर सोचिरहेका हुन्छन् नि, त्यही गल्ती गरिरहेको हुन्छ। केन्द्रीय सदस्य आरजु देउवा राणाले सार्वजनिक ठाउँमा विवादित अभिव्यक्ति दिनुभयो। ए बाबा! यो २००७ सालअघिको नेपाल त होइन नि। सरकारको पैसा कहाँ कसरी खर्च हुन्छ, यसको सिस्टम छ। कांग्रेसले मेयरमा जितेन भने पैसा पठाउँदिनँ भन्न उहाँको के हैसियत?
तलका कार्यकर्ता र शुभेच्छुकहरूले कांग्रेस फैलिएको हेर्न चाहन्छन्। कांग्रेसका केन्द्रीय नेताहरू फैलिएको कांग्रेस सम्हाल्न सकिंदैन भनेर होला खुम्च्याउन चाहन्छन्। यो साइजको कांग्रेस अहिलेको लिडरलाई ठूलो भएको छ।
कांग्रेस नेताहरूले भरतपुरमा गएर रेणु दाहालको त्यत्रो पुराण लेख्नुभयोे। अरू पार्टीका मान्छेलाई पाँच वर्ष काम गर भन्नुको सट्टा बरु कांग्रेसकै मान्छेलाई यस्तो काम त सबै कांग्रसीले स्थानीय निकायमा गर्नुपर्छ है भन्नुपर्ने हो।
कांग्रेसले जितेका स्थानीय तहमा यति धेरै राम्रो काम गरेका छन्, मैले देखेको छु। हिमाल, पहाड र तराईमा यति राम्रो काम गरेका छन्, ती अद्भुत छन्। त्यो ठाउँमा गएर भाषण गरेको भए, त्यसलाई 'बुस्ट' गरेको भए, 'स्टार' बनाएर प्रचार गरेको भए कांग्रेसले गौरव महसूस गर्थे। अब कांग्रेसले केमा गौरव गर्नुपर्यो भने, हाम्रो दुवै (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) नेताहरूले रेणु दाहालले भव्य काम गरेको छ भनेर मञ्चमा उभिएर भन्नुभयो। यसको मतलब सारा कांग्रेसीहरूले खराब काम गरेको छ भन्ने भयो। यी नेताहरू सद्दे हुन् कि खुस्केका भन्ने भएको छ। या त यिनीहरू सठियाएका हुन् या बुद्धि बिग्रेका हुन्।
काठमाडौंमा नेताहरूले गठबन्धनको घोषणा गरे पनि एक तिहाइ पालिकामा पनि लागू हुन सकेन। ८० प्रतिशत ठाउँमा तालमेल भएन, त्यो हुनै सक्दैनथ्यो। जति ठाउँ भएको छ, त्यहाँ पनि परिणाममा इमानदारी झल्किंदैन।
ठूलै इमानदारी भएको ठाउँ भनेको रेणु दाहालकै उम्मेदवारीमा हो, त्यहाँ पनि कति इमानदारी भएको होला? कांग्रेसले बागी दिएको छ। कांग्रेस र माओवादी भनेको पानी र तेल जस्तै हुन्। एकै ठाउँमा मिसिनै सक्दैन। जति मिलाउन खोजे पनि पानी तेलमा तैरिहाल्छ।
कांग्रेस र माओवादीको काम गर्ने तौरतरीका यति धेरै फरक छ, एउटै मिशन भयो भने मात्रै मिल्न सक्छ। सानोतिनो मिशनका लागि मिल्नै सक्दैन। राजाबाट दुवै पीडित थिए, त्यसमा मिलिहाले।
अहिले तिनीहरूले आफू कोबाट पीडित भइएको छ भन्दा केपी शर्मा ओलीबाट भन्छन्। ओली विरुद्ध मिलेको भन्छन् नि, त्यो कुरा मान्छेले पत्याएनन्। चुनावमा ओली विरुद्ध मिलेर उठेको हो भनेर कसले पत्याउँछ? ओलीको इच्छा होला, म संविधान, गणतन्त्र फ्याँकुँला भन्ने, तर ओलीको इच्छा पूरा गर्ने जनमत नै छैन। राजालाई फर्कने इच्छा होला, तर राजाको इच्छा त पुरा भइरहेको छैन, राप्रपा भन्ने पार्टीले 'राजा ल्याउँछौं, राजतन्त्र फर्काउँछौं' भनेर चुनावमा कोशिश गरिरहेको छ। त्यो उसको इच्छा होला। ओलीको अर्को इच्छा होला। त्यो इच्छा पूरा गर्न नेपालको सामाजिक बनोट, राजनीतिक हैसियत नै छैन। कांग्रेसले चाहँदैमा केही हुँदैन। त्यसैले हाउगुजी देखाएर, ओलीको भयमा यो एकता टिकाउन खोजिएको छ, त्यो जनताले पत्याएकै छैन। त्यो गलत भाष्य बनाउन खोजिएको छ। गलत भाष्य टिक्दैन।
अस्ति भर्खरै ओलीलाई लिएर शेरबहादुरजीले एमसीसी पास गर्न खोज्दै हुनुहुन्थ्यो। अस्तिसम्म प्रचण्डजीले शेरबहादुरले भने जस्तै सीट नदिए ओलीेसँग गठबन्धन गर्न सक्छु भनेर भन्नुभएको थियो। उनीहरूले बोलेको कुरामा हामी पत्याइरहेका छौं, क्या। प्रचण्डजीलाई इच्छा लाग्दा पनि ओलीसँग मिल्ने, शेरबहादुरलाई एमसीसी पास गर्न इच्छा लाग्दा पनि ओलीसँग मिल्ने, यहाँ कसरी हामीले तिनै दुइटाले भनेको पत्याउने। उनीहरू मिल्दा ऊ निरङ्कुश नहुने, संविधान च्यात्न हुने, अब उनीहरूले प्रतिस्पर्धी देख्ने बित्तिकै ऊ निरङ्कुश हुने?
यो कसरी पत्याउने? हामी सबै घाँस खाएर हुर्केका त होइनौं नि। त्यस कारण गलत भाष्यमा चुनाव लडेको हुनाले, यसपालिको चुनावमा खतरनाक के छ भन्दा अर्को बाटो पनि जान सक्छ। कांग्रेस र माओवादीले जुन भाष्य टिपेर चुनाव लडिरहेका छन् अहिले, त्यो पूरा गलत छ। यदि भोलि गएर कसैलाई फाइदा हुन्छ भने एमालेलाई हुन्छ।
शेरबहादुरजी र प्रचण्डको व्याख्या मान्छेहरूले पत्याइरहेका छैनन्। बरु पत्याउँछन् भने फाइदाका लागि यिनीहरु मिलेका हुन्। भोलि फेरी एमालेसँग मिल्छन् र कम्युनिष्ट एकताको नयाँ 'न्यारेटिभ' निकाल्छन्, र यो पत्याउँछन्। कांग्रेसभित्र बलियो मत के छ भने प्रचण्डजीले फेरि धोका दिन्छन्। प्रचण्डजीको प्रवृत्ति के छ भने उहाँले प्रयोग गरेर फ्याँक्दिने स्वभावको हो। प्रचण्डजीले चितवनमा के भन्नुभयो भने, पत्याउनुस् गठबन्धन २० वर्षसम्म लान्छु। तर, पत्याउने आधार नै उहाँले दिइरहनुभएको छैन। एक त गठबन्धन नै किन २० वर्षसम्म लग्नुपर्यो? त्यस्तो हो भने त एउटै पार्टी बनाए भइहाल्यो नि, गठबन्धन किन बनाइराख्नुपर्यो।
मानौं, रेणुजीले हार्नुभयो। रेणुजीको जितहारमा यो गठबन्धन टिक्ने हो कि ओली विरुद्ध हुनका लागि हो? रेणुजीले हार्ने बित्तिकै गठबन्धन भत्काउने त? रेणुजीले हार्ने बित्तिकै कांग्रेस त धोकेबाज रहेछ, हामी वैचारिक रूपमै दुई किनारा हौं भन्न प्रचण्डजीलाई समय लाग्दैन। उहाँले अहिले नभनेका कुरा मान्छेले भनिरहेका छन्।