भरतपुर मतपत्र विवादबारे देवी ज्ञवाली भन्छन्- मैले त आफूलाई सम्हालें, अरूलाई यस्तो नहोस्
रेणु दाहाललाई देवी ज्ञवालीको जवाफ, “त्यो दुर्घटना थिएन। एकदमै सुनियोजित, षड्यन्त्रकारी र अपराधपूर्ण क्रियाकलाप थियो। आकस्मिक दुर्घटना हुँदै होइन।”
२०७४ जेठ १५ गते भरतपुर महानगरपालिका-१९ को मतगणना भइरहँदा मध्यरातमा मतपत्र च्यातियो। पाँच वर्षअघिको उक्त स्थानीय निर्वाचनमा मेयर पदका लागि चुनावी मैदानमा नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) की साझा उम्मेदवार रेणु दाहाल र नेकपा (एमाले) का देवी ज्ञवाली आमनेसामने थिए। एमालेले उक्त घटनालाई माओवादी उम्मेदवार हार्ने पक्का भएपछि रचिएको नियोजितपूर्ण षड्यन्त्र भनेर आरोप लगाउँदै आएको छ।
यो घटना भएको पाँच वर्षपछि भरतपुर महानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धन दल कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट पुनः दाहालले उम्मेदवारी दिएकी छन्।
तीन दिनअघि ग्यालेक्सी टेलिभिजनको जिबेट कार्यक्रमका प्रस्तोता निमेष बन्जाडेले दाहाललाई अघिल्लो चुनावमा मतपत्र च्यातिएको विषयमा प्रश्न सोधेका थिए। उक्त प्रश्नको जवाफमा उनले मतपत्र च्यातिनु दुर्घटना भएको अभिव्यक्ति दिएकी छिन्। “त्यति वेला मतपत्र च्यातिएको कुरालाई दुर्घटना भन्छु म। त्यो आकस्मिक हो। हामी मतगणनाको लगभग अन्तिम-अन्तिममा पुगेका थियौं। त्यही वेला एकखाले दुर्घटना भयो। त्यो दुःखद थियो,” दाहालले भनेकी छन्।
दुर्घटना भएको भन्ने दाहालको टिप्पणी गलत भएको त्यति वेलाका प्रतिद्वन्द्वी देवी ज्ञवालीको तर्क छ। उनी भन्छन्, “त्यो दुर्घटना थिएन। एकदमै सुनियोजित, षड्यन्त्रकारी र अपराधपूर्ण क्रियाकलाप थियो। आकस्मिक दुर्घटना हुँदै होइन।”
२०७४ सालको स्थानीय चुनावमा रेणु दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। दाहाल र महान्यायाधिवक्ता रमण श्रेष्ठ बसी रेणुले हार्ने भएपछि मतपत्र च्यात्ने र पुनः चुनाव गराउने योजना बनाएको ज्ञवालीको आरोप छ।
उनी भन्छन्, “वडा नं. २० को मतगणना गर्दैगर्दा मैले ७०० मतले अग्रता लिएपछि उहाँहरूलाई सह्य भएन। त्यसपछि काठमाडौंबाट षड्यन्त्रको तानाबाना शुरू भएको हो।”
मतपत्र च्यातिएको अवस्थामा आफू गणनास्थलमै भएको बताउँदै ज्ञवाली प्रजातन्त्रको धज्जी उडाउनेहरूले आफूमाथि ठूलो अन्याय गरेको बताउँछन्। उनी निर्वाचन आयोग, मानव अधिकार आयोग र अदालतले पनि न्याय नदिएको गुनासो गर्छन्।
“च्यातिएका मतपत्र एक सय जति थिए। मैले तिनलाई छुट्याएर अरू गनौंसम्म पनि भनें। तर, मेरो आवाजलाई राज्यशक्ति हातमा लिएर बसेकाहरूले गुपचुप गराइदिए,” उनी सम्झन्छन्, “त्यस वेला यतिसम्म भएको थियो कि आयोगका एक जना महिला आयुक्त बारा जिल्लाको स्थलगत भ्रमणमा भएका वेला अर्को पटक पनि आयुक्त बनाउने आश्वासनमा रातारात बोलाएर घटना मिलाउने काम भयो। यसरी शक्तिको प्रदर्शन भयो।”
मतपत्र च्यातिएको समयमा निर्वाचन आयुक्तले शौच गर्न गएको भन्नु र प्रजिअले खाना खान गएको भन्नुले सत्यको अगाडि शक्ति हावी भएको ज्ञवाली बताउँछन्। यस वर्ष पनि यस किसिमका घटना दोहोरिन सक्ने सम्भावना धेरै भएकाले यस्ता षड्यन्त्रलाई परास्त गर्न निर्वाचन आयोग चनाखो हुनुपर्नेमा उनको जोड छ। “आफ्ना छोराछोरीका निम्ति राज्यका उच्च तहका नेता अपराधपूर्ण काम गर्न पनि पछि नहट्ने विगत देखिएकाले मानव अधिकार आयोग, निर्वाचन आयोग, सुरक्षा निकायले कडाइ गरून्,” उनी सुझाउँछन्।
ज्ञवालीसँग गरिएको कुराकानी उनकै शब्दमा:
अन्तिम घोषणा गर्दा मेरो मत ४२,९२४ र रेणु दाहालको ४३,१२७ आयो। मेरो विजय सुनिश्चित थियो। तर, आफ्ना छोराछोरीका निम्ति राज्यका नेताहरू कति गलत काम गर्दा रहेछन् भन्ने उदाहरण देख्नुपर्यो। फेरि मानव अधिकार, लोकतन्त्र, कानून पनि नेताहरूका लागि त देखाउने शब्द मात्र रहेछन् !
संस्कार बसिसकेकाहरूले यस वर्ष पनि त्यसो नगर्लान् भन्न सकिंदैन। त्यसैले निर्वाचन आयोग सचेत होस्। खास गरी निर्वाचनको समयमा आयोगले हुललाई संवेदनशील स्थलमा पस्न दिनु भएन। मतपत्रको संरक्षण गर्न बारबन्देज गर्नैपर्छ। मेरो पालामा निर्वाचन आयोगले न्याय दिएन।
निर्वाचन क्षेत्रमा रहनुभएको निर्वाचन आयुक्त हुनुहुन्थ्यो, उहाँले पनि शौच गर्न गएकाले देखिनँ भनिदिनुभयो। प्रमुख जिल्ला अधिकारीले पनि खाना खान गएको थिएँ भन्नुभयो। प्रशासनको उदासीनता कस्तो हुन्छ भन्ने आफ्नै घटनाबाट थाहा पाएँ।
उहाँहरूको नियत लोकतन्त्रका पक्षमा छैन। जसरी पनि आफ्नो सन्तानलाई जिताउन गलत काम गर्न पनि पछि नहट्ने भएकाले यस वर्ष पनि घटना हुन सक्छ। यसो नहुनका लागि हाम्रो खबरदारी चाहिन्छ। चनाखो बन्नुपर्छ।
राजनीतिमा घात-प्रतिघात सहन सक्ने सामर्थ्य चाहिने रहेछ भन्ने मलाई त त्यो घटनाले सिकायो। अरूलाई यस्तो नहोस्। मैले त आफूलाई सम्हालें र उठाएँ। यस घटनाले मलाई संसारभर चिनायो, सहानुभूति पनि प्राप्त भयो, तर जनताको सेवा गर्न भने पाइनँ।
चितवनको भाग्यमाथि पाँच वर्ष कालो धब्बा लाग्यो। चितवनको विकासका लागि काम गर्ने अवसरबाट वञ्चित हुनुपर्यो। विजयको उत्सव मात्र मनाउन बाँकी रहेको अवस्थामा हार भोग्नुपर्दा मन कति दुःखी हुन्छ, त्यो भनिरहनुपर्ने कुरै होइन।