कसले खोस्दै छ मान्छे रोज्ने हाम्रो अधिकार?
प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न सेनाको हेलिकोप्टरमा भरतपुर सवार भए। गठबन्धनको आमसभा सम्बोधन गर्न उनी नागरिकसँग धक नमानी हुइँकिए। राज्यशक्तिको दोहन, लोकतान्त्रिक मूल्य-मान्यताको अपमान गरे। लोकतान्त्रिक मुलुकका जनताले यो सबै टुलुटुलु हेरेर बस्नुपर्ने हो? दलीय गठबन्धनको सभा गर्न ठिक्क पारेको मञ्च हावाहुरी र पानीले बिथोल्यो। ट्वीटरमा आक्रोशको हुरी चल्यो। ठीकै भयो, लोकतन्त्रको मानमर्दन गर्ने दलतन्त्रलाई प्रकृतिले जवाफ दियो। जनता जवाफ खोज्दै छन्।
लोकतन्त्र भनेको केवल भोटतन्त्र हो त? एउटा नागरिकको हैसियतमा मेरो मन धेरै पोल्यो। गत हप्ता मात्र भारतीय इतिहासकार उमा चक्रवर्तीसँग मैले लोकतन्त्रकै बारेमा कुरा गरेकी थिएँ। संयोगले त्यो दिन नेपालको लोकतन्त्र दिवस थियो। लोकतन्त्रकै दिवसको दिन पनि लोकतान्त्रिक हकअधिकार सहितको नागरिक मैले महसूस गर्न सकेकै थिइनँ। दलहरूको गठबन्धनले समावेशी सहभागिताको मर्ममै हानेको थियो। यो सबै ज्यादती कसरी हेर्न सक्नु? उमा चक्रवर्ती भारतको लोकतन्त्रसँग निराश थिइन्। बोल्नसम्म नपाइने अवस्थालाई उनले लोकतन्त्रको आवरणमा रहेको भयको राज्य भनेकी थिइन्।
भारत र नेपालको अवस्था ठ्याक्कै उस्तै गरी तुलना गर्न नमिल्ला। उमाले भारतलाई भयको राज्य भनिरहँदा मलाई आफ्नो मुलुक लाज हराएको राज्य जस्तो लाग्दै थियो। नजिकिंदै गरेको स्थानीय निर्वाचनका वेला दलहरूले देखाउँदै गरेको सर्कसको स्वर कर्कश लाग्दै थियो। सत्ता गठबन्धनको बलमिचाइले समावेशिताको सिद्धान्तलाई जिस्क्याइरहेको थियो।
निर्वाचन लोकतन्त्रको सौन्दर्य हो। निर्वाचन दलहरूबीचको प्रतिस्पर्धा हो। आफूलाई ठीक लागेको पार्टी र त्यसको उम्मेदवार छनोट गर्ने अवसर पनि हो। यो दलहरूको एकजुट हैकम मान्ने दिन होइन। नागरिक केवल एक भोट होइन। मूल्य, मान्यता र दर्शनको प्रतिनिधि हो। बहुदलको सौन्दर्यमा हिलो छ्यापेर दलहरू एक भएका छन्। एकदलीय शासन त पञ्चायत थियो। पञ्चायतको रिमिक्स भर्सनको गीत कसका लागि गाइएको हो? पञ्चायतको भूत बौरेर गाउँ गाउँ नगर नगर बरबराउँदै हिंडेको छ। नागरिकहरू अलमलमा छन्।
चुनावी माहोलले गाउँशहरमा मानिसको मुहारमा जुन रौनक ल्याउन सक्नुपर्ने हो त्यो देखिंदैन। बीसौं वर्ष रोकिएको स्थानीय निर्वाचनले पाँच वर्षअघि गति पायो। आफ्नो दैलाका प्रतिनिधि चुन्न पाउने हर्षले गाउँशहरमा उल्लास छायो। निर्वाचनका वेला म मधेश पुग्दा सीमा वारिपारि नै मानिसहरू झुरुप््प भएर बात मार्दै थिए। गाउँका आँगनहरू मध्यरातसम्म गुलजार थिए। बोटहरूमा राता-पहेंला ध्वजाहरूले लोकतन्त्रको महिमा गाइरहे झैं लाग्दथ्यो। पूरै मधेश एक महोत्सवमा परिणत भएको थियो। एक युगमा एक दिन एक चोटि आउँछ भने झैं मानिसहरूले युग फर्केको महसूस गरिरहेका थिए। राज्य संरचनामा महिलाहरूको अनिवार्य उपस्थिति चुनावी रौनकको अर्को सौन्दर्य थियो। यति त हो हामीलाई चाहिएको। नागरिकको मुहारमा आशा र उत्साह, जनप्रतिनिधिको मुहारमा प्रतिबद्धता र इमानदारी।
जुन आश र अपेक्षा नागरिकमा थियो त्यसको कति प्रतिशत पूरा भयो? हिसाबकिताब त राम्रोसँग हुने नै छ। तर, मानिसहरूमा निर्वाचनलाई लिएर त्यो उल्लास किन छैन, जुन हुनुपर्ने हो। जनप्रतिनिधिहरूको कार्य मूल्याङ्कनको आधार मानिसहरूको मुहार नै होला। उनीहरूले आफ्नो हैसियत नागरिकको अनुहारमा नियालेकै होलान्। आफ्नो आफ्नो दल र प्रतिनिधि रोजेर उल्लासमा होमिने अधिकार पनि दलीय गठबन्धनले खोसेको छ यो पटक।
चुनाव भनेको नेताले भनेको ठाउँमा भोट हाल्ने र औंला रङ्ग्याउने खेल होइन। यो छनोटको अधिकार प्रतिबिम्बित गर्ने दिन हो। कुन नीति-नियम र सिद्धान्तलाई समर्थन गर्ने भन्ने हक दाबी गर्ने कुरा हो। दलहरूको स्वस्थ प्रतिस्पर्धाले जनताको मन जित्ने उत्सव पनि हो। दलहरूले एकअर्कालाई खबरदारी गर्ने र नागरिकलाई आफ्नो मुद्दाले आकर्षित गर्न मिहिनेत गरिरहने वेला हो। अहिलेको अवस्थामा त दलहरू पक्ष र नागरिकहरू प्रतिपक्ष भएका छन्। दलहरूले एकअर्कालाई खबरदारी त परको कुरा भयो, आपसका बदमासीलाई सदर गर्न मिले जस्तो देखिन्छ। नागरिकको चाहना के हो, उनीहरूलाई दलहरूले घाँटी जोडेको मन परेको छ/छैन, कसलाई मतलब छ? वर्षौं कुरेर एक दिन आउने भोट हाल्ने दिन। भोट हाल्ने ठाउँमा हुने लाइन। आफ्नो ठाउँका विकासका कुरा। भिन्न भिन्न पार्टीका मतदाताहरूको आपसी छेडखानी। औंलामा लगाइने नीलो रङले दिने उज्यालो उत्साह। एकबद्ध भएर उभिएको लामो लाइनमा समाहित भएका बहुल स्वरहरू। बहुल मान्यता र दर्शनहरू जनप्रतिनिधिबीचको स्वस्थ प्रतिस्पर्धा र नागरिकको मन जित्ने होडबाजी।
कसले किन खोस्दै छ हामीबाट यो सबै?
नेपाली कांग्रेसको उर्दी नटेरेर मेयरका उमेदवार भएका भरतपुरका जगन्नाथ पौडेलको समर्थनमा आएका मानिसहरूको आक्रोश हेर्नलायक थियो। नैतिक मूल्य-मान्यता वास्तै नगरी गरिएको दलीय गठबन्धन विरुद्ध उनी अडिग रहे। उनका समर्थक प्रधानमन्त्री शेरबहादुरको हुकुमी शैलीसँग निकै चिढिए। हुकुमी शैलीमा आदेश मान्ने जनता कसैका खेताला/गोठाला होइनन् भन्ने उनीहरूको तर्क थियो। कोही आक्रोशित छन्, कोही विरक्त।
भरतपुरकै एक मतदाता महिला 'आफ्नै मान्छे काटेको पार्टीलाई कसरी भोट हाल्ने' भन्दै छिन्। कांग्रेस र माओवादी मिलेको उनलाई मन परेकै छैन। मन नपराउन नपाउने? नागरिकको मतअधिकारसँग दलतन्त्रले गरेको नमीठो ठट्ठा हो गठबन्धन। युवा नेताहरू गठबन्धनमा नभएका शक्तिसँग शेर गर्जनमा जुहारी खेलेर बसेका छन्। आफ्ना पार्टी प्रमुखको आँखामा हेरेर नागरिकका मानमर्दनको जवाफ माग्ने आँट छैन। साख गिर्दै गएको पार्टीको तेजोवध हुँदै गरेको अवस्थाबारे सचेत गराउने तागत छैन। आफैं तेज मुर्झाएर गठबन्धनको जुलूसमा हिंडेका छन्। यो एक भद्दा दृश्य हो।
आफूले गरेको वाचा र पूरा गरेको भूमिकामा दलहरूलाई विश्वास छैन। जनताकहाँ गएर आँखा जुधाएर भोट माग्ने हैसियत छैन। लोकतन्त्र उनीहरूलाई सत्ताको कौडा हान्ने खाल भएको छ। कसैले दाउ हानेका छन्, कोही च्याँखे थापेर बसेका छन्। यो निर्वाचन हो कि जुवाको खालको तमाशा?
दलतन्त्रको मारमा समावेशिताको मुद्दा परेको छ। घर समाजको सारा अवरोधसँग लडेर राजनीतिमा होमिएका महिलाहरूको अपमान भएको छ। बोल्नै नसक्ने महिलाहरू समाज र देशको बागडोर सम्हाल्न अघि सर्दै थिए। अघि बढिरहेको कदममा प्रहार भएको छ। राज्य संरचनामा महिला सहभागिताको सुनिश्चितता स्थानीय निर्वाचन ऐनको दफा १७ (४) ले गरेको छ। कानून नै मिचेर दलहरू साँढे भएर हिंडेका छन्। भागबण्डाको दूषित राजनीतिले समावेशी सिद्धान्तलाई मैलो बनायो।
प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनैपर्ने व्यवस्थाले समावेशितालाई पूर्णता दिंदै थियो। गएको निर्वाचनमा ४१ प्रतिशत महिला प्रतिनिधि देशले पाएको थियो। यो पटक भने उम्मेदवारी नै ३८ प्रतिशत छ। गएको चुनावमा उपप्रमुखमा विजयी भएका धेरै महिलाहरूले यो पटक गाउँशहरको प्रमुखको जिम्मेवारी पाउने सम्भावनालाई गठबन्धनले कमजोर पारिदियो। यो अन्याय लोकतन्त्रमा सह्य हुने कुरै होइन। समावेशितामा प्रहार गरेका छन्, नागरिकको छनोटको अधिकारमा बन्चरो हानेका छन्। कुन मुख लिएर नेताहरू घरदैलोमा हिंडेका छन्।
दलहरूले घाँटी जोडेर हिंडिरहँदा नागरिकको गलामा भने पासो लागेको छ। त्यो पासो हो निर्दलीयताको। बहुदलको आवरणमा ज्यादती मच्चाइरहेको निर्दलीय निरंकुशतालाई यो पटक नागरिकले जवाफ दिऊन्। यसरी जवाफ दिऊन् कि आगामी निर्वाचनमा दलतन्त्रले शिर उठाउनै नसकोस्।