‘समय तब बदलिन्छ, जब हामी समयलाई बदल्न अघि बढ्छौं’
भारतीय इतिहासकार, महिला अधिकारकर्मी र वृत्तचित्र निर्माता उमा चक्रवर्ती (८१) का लेख र फिल्म समावेशी दृष्टिकोणका लागि प्रख्यात छन्। इतिहास राजा–महाराजाको पराक्रमको दस्तावेज हो भन्नेलाई उनी इतिहासमा महिला र दलितको अनुहार खोज्न लगाउँछिन्। पूँजीवाद र बजारले प्रकृति, आदिवासीको जीवन र समग्र पृथ्वीमाथि गरिरहेको अत्याचारबारे विमर्श गर्छिन्। ‘फिल्म साउथ एशिया २०२२’मा सहभागी हुन वैशाख पहिलो साता काठमाडौं आएको समय पारेर चक्रवर्तीसँग सरला गौतमले गरेको संवादः
पछिल्लो समय भारतको लोकतन्त्र विभिन्न हिसाबले चर्चा र टिप्पणीको केन्द्रमा रहेको हिसाबले यसबाटै कुराकानी शुरू गरौं। रामचन्द्र गुहाले आफ्नो पुस्तक इन्डिया आफ्टर गान्धीमा फिप्टी फिप्टी डेमोक्रेसी भन्नुभएको छ, तपाईंले पचास पचास होइन हाम्रो लोकतन्त्र ३० स्क्वायर फिटमा छ भन्नुको कारण के हो?
दिल्लीको छत्तीसगढ भवन अगाडि एउटा विरोध प्रदर्शनमा मानिसहरू जम्मा भएका थिए। म पनि सहभागी हुन त्यहाँ पुग्दा त एउटै मान्छे देखिनँ। स्थानीयलाई सोध्दा थाहा भयो, प्रहरीले प्रदर्शनकारीलाई लखेटेछ। शान्तिपूर्ण प्रदर्शनसम्म गर्न नपाइने यो कस्तो लोकतन्त्र हो? त्यही वेला लाग्यो, गुहाले भने जस्तो पचास पचास होइन, हाम्रो लोकतन्त्र तीस स्क्वायर फिटमा उभिएको छ। अब त तीस पनि होइन, जिरो स्क्वायर फिटमा छ।
भारत त संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भएकाे देश मानिन्छ, तपाईंले सीधै शून्य लोकतन्त्र भनिदिनुभयो नि!
अहिले भारतको अवस्था हेरौं त, भयको राज्य छ। अल्पसङ्ख्यकमाथि भएको ज्यादतीले लोकतन्त्रको चीरहरण गरिरहेको छ। दलित, मुस्लिम, महिला त्रासमा छन्। यो समाज राम्रो बनाउनुपर्छ भनेर सोच्न र बोल्नसम्म पाइन्न। बोलेकै कारण हजारौं मानिस जेलमा छन्। कोही मानिस आफ्नो समाजका लागि सुन्दर सोचेकै कारण जेलमा पुग्छ, यातना भोग्छ र मारिन्छ भने त्यसलाई लोकतन्त्र भन्न मिल्छ? दलित, मुस्लिम अल्पसङ्ख्यकमाथि ज्यादतीको विरोध गर्नेहरूलाई थुनेर, यातना दिएर सरकार मानिसहरूमा त्रास सिर्जना गर्न चाहन्छ।
भारतमा बोल्नै कठिन भइरहेको हो?
सामाजिक सञ्जाल हेर्नुस् न, कसैले फरक विचार राखेमा हदैसम्मको अपमान, गालीगलौज र धम्कीको सामना गर्नुपर्छ। राजनीतिक र धार्मिक अतिवादीहरूले स्वतन्त्र विचार राख्नेहरूको सातो खाइरहेका छन्। ट्वीटर आज विचार राख्ने, बहस गर्नेे थलो नभएर आधुनिक रणभूमि भएको छ। कवि फैज अहमद फैजले भनेका छन्, ‘बोल के लब्ज आजाद हे तेरे।’ तर, आज भारतमा को छ आजाद? असम प्रहरीले जिगनेस मेहमानी नामका व्यक्तिलाई पक्राउ गर्यो। उनको दोष थियो, दलितलाई भीडले पिटिपिटी मारेको विषयमा बोल्नु। त्यसबारे ट्वीटर मार्फत कसैले सरकारलाई पोल लगायो र उनी थुनिए।
तपाईंले कश्मीरी महिलाहरूको बहुआयामिक लडाइँलाई गहिरोसँग नियाल्नुभएको छ। यसबारे बताइदिनुस् न।
कश्मीरी महिलाहरूको लडाइँका दुई वटा आयाम छन्। पहिलो, कश्मीरभित्रको आन्तरिक आन्दोलन। दोस्रो, लोकतान्त्रिक अधिकारका लागि राज्यसत्तासँग आन्दोलन।
शुरूमा आन्तरिक अवस्थाको कुरा गरौं। कश्मीरी महिलाहरूले उठाएका मुद्दाको कुरा गर्दा बेपत्ता पारिएकाहरूका अभिभावकहरूका मुद्दा प्रमुख पर्छन्। यी समूहको नेतृत्व बेपत्ता युवा जावेद आहांगारकी आमा प्रविना आहांगारले गर्छिन्। आफ्नो छोराको खोजीमा उनले हरेकजसो जेल चहारिन्, प्रत्येक अदालत धाइन्। उनको यो अभियानमा अरू परिवारहरू पनि सामेल हुँदै जाँदा सञ्जाल विस्तार हुँदै गयो, र बृहत् अभियानको रूप लियो। उनीहरूले महीनाको एक पटक शान्तिपूर्ण धर्ना गर्थे। उनीहरूको आन्दोलन शान्तिपूर्ण भएकैले कसैले सुनेन। मूलधारका मिडियाहरूले वास्तै गरेनन्। कश्मीरभित्र महिलाहरूको अलग लडाइँ छ भनेर बुझ्न कसैले चाहेको देखिंदैन।
प्रविना आहांगारको अभियान अहिले कुन अवस्थामा छ?
म त्यही त भन्दै छु, भारतको लोकतन्त्र कोमामा छ। बेपत्ता नागरिकका परिवारको शान्तिपूर्ण धर्ना पनि रोकिएको छ। उनीहरूले के अपराध गरेका थिए र? आफ्ना बेपत्ता प्रियजन खोज्दा, आफूमाथि भएको अपराधको जवाफ माग्दा उनीहरूको आवाज बन्द गरियो। आफ्नो सन्तान, आफ्नो परिवार खोज्न नपाउने यो कस्तो लोकतन्त्र!
एक होइन, अनेक ठाउँमा छ लडाइँ। पितृसत्तासँग महिलाहरूको अलग लडाइँ छ। बुर्का लगाउनुपर्ने बाध्यकारी नियमबारे दिदीबहिनीहरूले भाइहरूलाई चिठी लेखेका छन्। उनीहरूले सोधेका छन्, ‘के तिमीहरू चाहन्छौं यस्तो आततायी अवस्थामा बुर्का पहिरिएर हामी हिडौं? यो त्रासदीमा, भागदौडमा बुर्काभित्र कैद भएर हामी कसरी जुध्ने, कसरी भाग्ने?’
तपाईंले कश्मीरी महिलाको बहुआयामिक लडाइँको कुरा गर्दा मैले नेपालको मधेशी महिलाको संघर्ष सम्झिएँ– पितृसत्तादेखि राज्यसत्तासँगको लडाइँ। डेढ वर्षअघि दलित युवासँग प्रेम गरेका कारण एक पिताले मान्छे लगाएर आफ्नी छोरीको हत्या गराए। आमालाई हत्याको सहयोगी बन्न बाध्य पारियो। युवतीका पिता राज्यसँग पहिचानको लडाइँ लड्न जुलुसमा हिंडे, घरभित्र छोरी मारे। देशका बुद्धिजीवीहरू मधेशी विरोधी देखिने डरले यो घटनामा मौन बसे। आफ्नो अधिकारका लागि लड्न जानेको बाबुले छोरीको अधिकार ख्याल गर्दैन, लोकतान्त्रिक मूल्यको पक्षमा बोल्ने बौद्धिकहरू युवतीको हत्याको समाचार थाहा नपाए जस्तो गर्छन्। यो कस्तो उकुसमुकुसपूर्ण एक्लो लडाइँ हो?
(केहीबेर निःशब्द भइन्) यो डरलाग्दो कुरा हो। पितृसत्ता र राज्यसत्ताको मिश्रण एक खतरनाक विष हो। यो विषाक्त हिंसासँग महिलाहरू जुध्नुपरेको छ। आफ्नो लोकतान्त्रिक अधिकारको सवाल पनि छ, घरभित्रको जेल तोड्नु पनि छ। परिवारमा इज्जतको नाममा गरिने हत्यालाई केवल इज्जत हत्या मात्र भन्दिनँ म। पितृसत्ता नामको जेलमा कैदीका रूपमा रहेका छोरीहरू मारिन्छन् भने त्यो यो ‘जुडिसियल किलिङ’ हो। भारतमा म अक्सर भन्ने गर्छु, हामीकहाँ मृत्युदण्ड छैन भन्नु बेकार कुरा हो। हरेक घरलाई हत्याको अधिकार छ, इज्जतको नाममा हुने हत्या होस् या भ्रूणहत्या।
हामीले आन्तरिक र बाह्य दुई खतरनाक सत्तासँग एकै समयमा लड्नुपर्छ। हाम्रो लडाइँले धेरै ठूलो हल्लाखल्ला गर्दैन, यसै कारण मानिसको ध्यान तान्न पनि मुश्किल छ। कश्मीरी महिलाहरूको आन्तरिक र बाह्य संघर्षलाई मधेश आन्दोलनको वेला मधेशी महिलाको दुःखसँग जोड्न सकिन्छ। कश्मीरी महिला, नेपालका विभिन्न समुदायका महिलाको संघर्ष शक्तिशाली शान्त आवाज हुन्। तर, विडम्बना, हिंसा र सैनिक सत्ताको स्वर चर्को हुने समयमा महिलाहरूको शान्तिपूर्ण आन्दोलन यसै हराउँछ।
कश्मीरमा महिलाहरूले भोगेको यौन हिंसालाई बेवास्ता गरिएको कुरा तपाईंले उठाउनुभएको छ। नेपालमा पनि दशक लामो माओवादी हिंसात्मक युद्धको वेला राज्य पक्ष र विद्रोही दुवैतिरबाट यौन हिंसाका घटना भए। परिवर्तनका लागि क्रान्ति गर्दै हिंडेको राजनीतिक शक्तिले महिलामाथि अत्याचार गर्नु दुर्भाग्यपूर्ण होइन?
यही त हो विडम्बना। अत्याचारलाई कार्पेटभित्र लुकाएर ठूला प्राप्तिको कुरा गरिन्छ। दलभित्र गरिने पावर र पोजिसनको राजनीतिमा अलग संघर्ष छ। यही कारण महिलाहरूको लडाइँका तहतह छन् भनेको हो। साना भनिएका अत्याचारसँग संघर्ष गर्दै ठूला भनिएका प्राप्तिका लागि लड्नुपर्नेछ। माओवादी विद्रोहमा महिलाहरूले भोगेको सकस पनि त्यही हो। ठूलो मुक्तिका लागि राज्यसँगको लडाइँ पनि छ, पार्टीभित्रै हुने अनेक अत्याचारसँग पनि जुध्नुपरिरहेकै छ। साना र ठूला अत्याचारको सन्दर्भमा कश्मीरकी एक युवतीको भनाइ सुनाउँछु। उनलाई मैले सन् २००१ मा भेटेकी थिएँ। वकील पढ्न चाहन्थिन्। उनको आमाको मृत्युपछि पिताले उनलाई छोडिदिएका थिए। घरभित्र र बाहिरका अनेक तगारोसँग एकै पटक जुध्दै थिइन्। आफ्नो लडाइँबारे उनले भनेकी थिइन्, ‘हरेक साना अत्याचार विरुद्ध लड्दै गयौं भने ठूलो अत्याचार आफैं कम हुँदै जान्छ।’
त्यस वेला जम्मा १९ वर्षकी ती युवती कस्ती जोशिलो र जीवन्त थिइन् भने अहिले सम्झेर पनि म हुरुक्क हुन्छु। उनीबारे मलाई फिल्म नै बनाउन मन थियो। कश्मीरी महिलाहरूमा भएको अत्याचार त स्विकारिएको पनि छैन। अन्त्यहीन लडाइँका कारण उनीहरूले दैनिक भोग्नुपरेको आघात अलग छ।
महिलाहरूको संघर्ष अक्सर शान्तिपूर्ण किन हुन्छ?
उनीहरूले परिवार नामको संस्थाभित्र यति हिंसा सहेका हुन्छन् कि हिंसासँग आजित हुन्छन्। महिलाहरू अहंका लागि संघर्ष गरिरहेका हुँदैनन्, यो संसार आफूले बाँचिरहेको भन्दा सुन्दर बनाऊँ भन्ने उनीहरूको ध्येय हुन्छ। यसका लागि हिंसात्मक लडाइँ सहायक होइन, हानिकारक हुन्छ। हतियार लिएर उभिनासाथ बातचितका सबै सम्भावना समाप्त हुन्छन्। हामी पितृसत्ताको हिंसा विरुद्ध छौं भने यसै पनि सबै खालका हिंसा र युद्धको विरुद्धमा हुन्छौं। घरेलु हिंसा, समुदायमा हुने हिंसा, राज्यले गर्ने हिंसा र राज्यहरूबीच हुने युद्धका हिंसा सबै आपसमा जेलिएका हुन्छन्। एक खालको हिंसा विरुद्ध उभिनु भनेको यी सबै हिंसाका रूप विरुद्ध उभिनु हो।
सारमा, महिलाहरू मानवीय संसारको निर्माणमा लागिरहेका हुन्छन्, र हिंसाले निम्त्याउने असर विरुद्ध पनि उनीहरूको संघर्ष हुन्छ। हिंसा महिलाहरूको भाषा नै होइन, उनीहरूको संघर्ष हिंसा विरुद्धको भाषा हो। यस विपरीत शासकहरूको अहङ्कारका कारण हुने हिंसात्मक लडाइँले त कसैको हित गर्दैन। भर्खरैको रूस र युक्रेनको युद्ध हेर्दा हुन्छ। यस्तो लडाइँमा मानवीय क्षति, प्राकृतिक क्षति जस्ता गुम्ने कुरा धेरै हुन्छन्।
कश्मीर होस् वा नेपालको मधेशको कुरा, हाम्रा दुःख साझा हुन्छन् भन्नुभयो, दक्षिणएशियाको परिवेशमा एकअर्काको संघर्ष बुझ्न र साथमा उभिन कति आवश्यक छ?
यो निकै महत्त्वपूर्ण कुरा हो। यस्तो एकता र सहकार्य पहिलो पुस्ताका नारीवादी अभियन्ताहरूमा गहिरो थियो। विभिन्न कार्यक्रम र उत्सवहरूले पनि त्यो वातावरण तयार गरिरहेका हुन्छन्। कतिपय सवालहरूमा साझा घोषणापत्र पनि निकालिएको हो। सन् १९९१ मा साउथएशियन फेमिनिस्ट स्टेटमेन्ट ब्याङ्लोरमा तयार गरिएको थियो। त्यसमा कमला भसिन पनि सहभागी थिइन्। त्यो स्टेटमेन्टले सम्बन्ध र सहकार्यका लागि ढोका खोल्यो। कमलाले पनि धेरै हदसम्म दक्षिणएशियाको मुद्दा र मानिसलाई एकआपसमा जोड्ने कोशिश गरेकी हुन्। हाम्रा धेरै गीतहरू दक्षिणएशियाली देशहरूको प्रतिनिधित्व गर्दै सामूहिक रूपमा लेखिएका छन्।
मैले ६ वर्षसम्म पाकिस्तानमा पढाएँ। पाकिस्तान र भारतका महिलाहरूको त पारिवारिक सम्बन्ध पनि छ। तर, विभाजनका कारण हामीले हाम्रो आत्मीयता बाँच्न पाएका छैनौं। शासकहरूको सोच र वैमनस्यताको पर्खालले हाम्रो सम्बन्ध फक्रिन पाएको छैन।
पाकिस्तानबाट बाङ्लादेश अलग भएको ३० वर्षपछि दक्षिणएशियाली नारीवादीहरू एकै ठाउँमा उभिएर स्वतन्त्रता आन्दोलनका वेला पाकिस्तानी सेनाले गरेका यौन हिंसा र बलात्कारका घटनामा बंगाली महिलाहरूसँग माफी माग्नुपर्ने माग गरे। त्यस्तै, गुजरात दङ्गापछि अन्तर्राष्ट्रिय न्यायिक छानबिन समिति बन्यो, जसमा श्रीलंकाका महिलाहरू पनि बसे। एकअर्काको मर्का बुझ्ने र सँगै उभिने काम हुँदै आएको छ। तर, यतिले मात्र पुग्दैन, यस्तो सहकार्य अझ गहिरो र फराकिलो हुनुपर्छ। बृहत् लोकतन्त्र बलियो बनाउन हाम्रा साझा संघर्ष अवश्य फलदायी हुनेछन्।
आजका महिलाले धेरै थोक पाए जस्तो देखिन्छ, भने जस्तो खाना, कपडा, जागीर, भ्रमणको अवसर, महँगा ग्याजेट। यो समयमा आधुनिक युवतीले आइफोन १३ बाट आफ्नो कन्यादानको फोटो खिच्दै छन्। आधुनिकता र परम्पराको यस्तो विरोधाभासबारे के भन्नुहुन्छ?
डिजाइनर लेहेङ्गा लगाएर महँगा क्यामेराले कन्यादानको फोटो खिचिरहेको यो समय आधुनिकता फेल भएको अवस्था हो। हामीले बाहिरी आवरणमा आधुनिकता खोजिरहेको समय छ। जब आफैंलाई गरिरहेको दानको अर्थ थाहा पाउँदैनौं भने हामीले जस्तोसुकै महँगा पहिरन लगाए पनि, आधुनिक उपकरण चलाए पनि त्यसको के अर्थ भयो र! आधुनिक सरसामान र आधुनिक सोच अलग कुरा हुन्। बजारिया वस्तु नभएका महिलाहरूमा पनि प्रशस्त आधुनिक सोच हुन्छ, गलत परम्परा र रीतिथितिको विरोध गर्ने हैसियत हुन्छ। असली आधुनिकता मूल्य र मान्यतामा आउनुपर्छ, सोच्ने तरीकामा आउनुपर्छ। आधुनिक हुनु के हो भन्नेमै आधारभूत बहसको खाँचो देखिन्छ।
अहिलेसम्म सामाजिक न्याय र राजनीतिक समानताकै वरिपरि कुरा गरिरहेका छौं। बढ्दो प्राकृतिक विनाशमा प्राकृतिक न्यायको कुरा गरिनु कति जरुरी छ? प्राकृतिक न्याय नभई सामाजिक न्याय सम्भव छ त?
सामाजिक न्याय र प्राकृतिक न्यायलाई अलग गरेर हेर्नै मिल्दैन। प्रकृतिमाथिको अति दोहनले कसलाई फाइदा पुगेको छ र को भोकै परेको छ, नियालेर हेर्न जरुरी छ। जुन समुदायले जङ्गल र 'मिनरल्स' को रक्षा गर्छ उही समुदाय भोकसँग लडिरहेको हुन्छ। भोकसँगको मुक्तिको संघर्ष प्राकृतिक स्रोतमाथिको अधिकारको लडाइँ हो। समुदायले हुर्काएको जङ्गलमा जनताकै पहुँच हुँदैन, दोहनकारीहरूको मनपरी चल्छ। जल, जमीन, जङ्गलमाथिको हकको लडाइँ सामाजिक, राजनीतिक, प्राकृतिक सबै हो। भूमि, अन्नमाथि आँखा गाडिरहेको बहुराष्ट्रिय कम्पनीहरूसँग जुध्न सजिलो छैन। बजारले भन्छ- तिमी जे चाहन्छौ म सबै दिन्छु। तर, त्यसको मूल्य पनि त हेर्नुपर्यो। शासन सत्तामा हुनेहरूले बजारबाट पैसा आइरहेको छ भने सबै ठीक छ भन्ने ठान्छन्। तर, नोट नै सबै कुराको समाधान होइन। महिलाहरूको दूरदृष्टि हुन्छ, उनीहरूले प्रगतिलाई केवल पैसाको चलखेलसँग जोडेर हेर्दैनन्, सन्तान अनि पृथ्वीको भविष्य हेर्छन्।
हिजो महिलाहरूको लडाइँ पारिवारिक, सामाजिक, राज्यसत्ताको नीति–नियमसँग थियो। अहिले बजार थपिएको छ। कृत्रिम खाना र कृत्रिम बौद्धिकताको साम्राज्य फैलिरहेको छ। महिलाहरूको ज्ञान र नीतिगत हस्तक्षेप अब झनै बढेको देखिन्छ। यसबारे के भन्नुहुन्छ?
हाम्रा दुःख धेरै छन्। जहींतहीं बिग्रेका कारण हामीले विचार पुर्याउनुपर्ने विषय धेरै छन्। पूँजीवादी तृष्णाको कुनै अन्त्य छैन। बजारले भन्छ- म तिमीलाई हरेक कुरा दिन सक्छु, तिमी किन्न सक्षम मात्र बन। तर, त्यसको लागि चुकाउनुपर्ने मूल्य होला। यसमा प्रकृतिको डरलाग्दो दोहन, अनियन्त्रित र अव्यवस्थित आर्थिक वृद्धिको कुरा पर्छन्। अर्कातिर, विकासको नाममा भइरहेको विनाश छ। यो अनियन्त्रित र भद्रगोल विकासबाट केही मानिसले फाइदा लिएका होलान्, तर मर्कामा परेकाहरूबारे विचार गरिएको छैन।
भारत झारखण्डकी एक आदिवासी अधिकारकर्मीको कुरा सुनाउँछु। उनका पिताको जमीन खोसियो। आमा घरेलु कामदार बनिन्। ती युवतीले जेनतेन गरेर पढिन्। पत्रकार बनिन् र आदिवासीको अधिकारका लागि वकालत गर्न थालिन्। एउटा कार्यक्रममा उनलाई प्रश्न सोधियो, ‘तिमी किन विकास विरोधी कुरा गर्छ्यौ?’
उनको उत्तर थियो, ‘म विकास विरोधी होइन। हेर्नुस्, तपाईं कसरी प्रकृतिको दोहन गरिरहनुभएको छ। प्रकृतिबाट असीमित फलाम निकालिएको छ। कुनै मापदण्ड र नियन्त्रण त चाहिन्छ। यस्तो जथाभावी दोहन भइरहे अन्न कसरी फलाउने? जब भोक लाग्छ, तपाईं फलाम त खान्न सक्नुहुन्न, अन्न नै चाहिन्छ। हेर्नुस्, बाहिर हावा चलिरहेछ, हामी कोठाभित्र एअर कन्डिसनर चलाएर बसिरहेका छौं। यो अति सुविधाका लागि कति मानिसको जीवनको प्राकृतिक लय खोसिएको छ। अनि फेरि तपाईं नै भन्नुहुन्छ, प्रकृतिमा सङ्कट आयो। अनि तपाईंहरू नै जलवायु अभियन्ता बनेर अभियान चलाउन थाल्नुहुन्छ। यस्तो सर्कस देखाउनुभन्दा पहिला नै सोच्नुपर्यो, प्रकृतिको कति दोहन गर्ने।’
ती युवतीले भने जस्तै हाम्रो जीवन र प्रकृतिको लय बुझ्न आवश्यक छ। नभई नहुने भौतिक विकासका लागि दोहन गर्नैपरे पनि जति सम्भव हुन्छ उति कम गर्नुपर्यो।
तपाईं इतिहासविद् पनि हुनुहुन्छ, इतिहासको पुनर्लेखनमा जोड दिइरहनुहुन्छ। किन होला?
इतिहास भनेको राजा–महाराजाहरूले बाँचेको जीवन र उनीहरूको जयजयकारको कथा मात्र होइन। संसार पूर्ण हुन त्यहाँ धेरै मानिसको जीवनको कथा हुन्छ। इतिहासलाई गहिरो गरी नियाल्ने हो भने महिला र दलितको त नामोनिशान भेटिंदैन। शक्तिशाली मानिसहरूले इतिहास लेखे, र तिनले सर्वसाधारण पनि इतिहासका पात्र हुन् भन्ने कुरा वास्तै गरेनन्। अब हाम्रो कर्तव्य हो, साधारण मानिसका कथा टिपेर आर्काइभ गर्न थाल्ने, इतिहास निर्माण गर्दै जाने, लेखिरहेको र लेखिसकेको इतिहासमा पनि उनीहरूको कथा खोज्ने र इतिहासलाई पूर्णता दिने।
साधारण मानिसहरूको दुःख, पराक्रम र ज्ञानका कुरा कहाँ गए, ती सबै खोजेर दस्तावेजीकरण गर्नुपर्छ।
यही सन्दर्भमा एक अन्तर्वार्तामा तपाईंले ‘लेखिएका सबै इतिहासका किताब हामीले जलाएर सक्दैनौं, छुट्टै लेख्दै जानुपर्छ’ भन्नुभएको छ। तर, हाम्रो इतिहासले मूलधार भनिएको इतिहासमा किन हस्तक्षेप नगर्ने? हस्तक्षेप नगरी किन हामी वैकल्पिक हुने?
हामी वैकल्पिक हुने भनेको होइन। हामीले लेखिएका इतिहासमा मनग्य आलोचनात्मक दृष्टि पेश गरिसक्यौं, गर्दै पनि छौं। सधैं त्यही अपूर्ण दस्तावेजको पछि कति लाग्नु? अब हामीले मिथक पात्रहरूको प्रस्तुतिमा ध्यान दिन थाल्नुपर्छ। मानिसहरूका कथा टिपेर मौखिक इतिहास पनि बनाउनुपर्छ। त्यसलाई व्यवस्थित आर्काइभ गर्दै इतिहास निर्माणको प्रक्रियामै समावेश हुन थाल्नुपर्छ। जस्तो, हिजो लेखिएका कुरामै ध्यान दिने हो भने पनि राजाले घिउ खान्थे, नोकरले चौलानी पानी भनेर लेखिएको हुन्छ। अब हामीले किन चौलानी पानी खान दिइयो, त्यसको भरमा उसले कसरी काम गर्यो, उनीहरूको जीवन कसरी धानियो, सामाजिक संरचना कसरी चल्यो भन्ने दृष्टिले हेर्न थाल्नुपर्छ। जे लेखियो, त्यही पढ्यो र घोक्यो भने त कुनै अर्थ भएन।
इतिहासको कुरा गर्दा तिथि, मिति घोक्ने कुरामा तपाईंले प्रहार गर्नुको कारण के हो?
त्यो भन्नुमा मेरो आशय तिथि र मितितिर अल्झिनुभन्दा गुह्य कुरातिर पस्नुपर्यो, दृष्टि फराकिलो पार्नुपर्यो भन्ने हो। जस्तो, बुद्ध कहिले जन्मे, कहाँ जन्मे, कहिले निर्वाण प्राप्त गरे भन्ने कुराले केही अर्थ राख्ला, सम्पूर्ण अर्थ त राख्दैन नि। बुद्धले दिएका सन्देश पो प्राथमिकतामा हुनुपर्यो। उनले के ज्ञान दिए, त्यो ज्ञान तिमी कति शिरोपर गर्छौ, मुख्य कुरा त त्यो हो। जब हामी दृष्टि अलि फराकिलो पार्न थाल्छौं, मिथ बनेर आउने कुरा पनि रुचिकर हुन्छ। जस्तै, बुद्ध किन दुःखको पछि यति लागे? किन उनलाई मानव जीवनका अनेक प्रकारका दुःखले छोयो होला? जन्म, मृत्यु आदिबारे बुद्ध किन यति गहिरिए होलान्? मलाई लाग्छ, बाल्यकालमै उनले आमा गुमाए। उनले सानी गौतमीबाट प्रशस्त माया त पाए, तर सानैमा भोगेको मातृवियोगले उनको मनमा अमिट छाप छोड्यो। आमाको मृत्युपछि दरबारमा छाएको सन्नाटा, पितामा देखिएको विरक्ति, यो सबै उनले सानै उमेरमा गहिराइमा भोगे। दुःख उनको जीवनको केन्द्रमा बसिरह्यो। यही दुःख उनको निर्वाण प्राप्तिको उत्प्रेरक बन्न पुगेको हुुनुपर्छ।
तिथि र मितिको लडाइँ छाडेर हामीले इतिहासमा नयाँ कोण भेट्ने गरी दृष्टि फराकिलो पार्न जरुरी छ। जब हामीले पढेका इतिहासमा फरक प्रश्नहरू गर्न थाल्छौं, उत्तरहरू पनि फरक भेटिन थाल्छन्।
तपाईं सामाजिक र सांस्कृतिक इतिहासको कुरा पनि गर्नुहुन्छ। कस्तो इतिहासलाई सामाजिक–सांस्कृतिक इतिहास भन्ने? समाज राम्रो बनाउन र इतिहासलाई पूर्ण बनाउन यस्तो इतिहासको भूमिका कस्तो हुन्छ?
मानिसको जीवनको फराकिलो चित्र नै सामाजिक–सांस्कृतिक इतिहास हो। जहाँ मानिसले के खान्छन्, कस्तो कपडा लगाउँछन्, कसरी सोच्छन्, कस्तो सामाजिक संरचना बनाउँछन्, यी सबै कुराको फेहरिस्त होस्। उनीहरूलाई के कुराले खुशी वा दुःखी बनाउँछ, आफ्ना भावना गीत वा कवितामा कसरी पोख्छन्, यी सबै कुराले अर्थ राख्छन्। कस्ता कथा लेख्छन्, कस्तो कला बनाउँछन् र कस्तो प्रविधि प्रयोग गर्छन्, यी सबै मानव इतिहासको दायरा हो। मैले एउटा पुस्तक तयार गर्दै छु, जहाँ सयौं तस्वीर सङ्कलित छन् र ती सबैको विस्तृतमा व्याख्या पनि गरिएको छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा कुँदिएका चित्रहरूको कुरा गरौं। बुद्ध जन्मिने वेला मायादेवी वृक्ष समातेर उभिएकी छन्। प्रसूति व्यथाले च्यापेपछि वृक्षको सहारा लिएको देखिन्छ। उनी लुम्बिनीमा किन पुगिन् भने, त्यस वेला सन्तानको जन्म दिन माइती जाने चलन थियो। यसैबाट एउटा कथा थाहा हुन्छ। चित्रमा एउटा हात्ती पनि छ, मायादेवीको शरीरमा प्रवेश गरिरहेको। उनको बच्चा हिपको साइडबाट निस्किएको देखाइएको छ। अर्को चित्रमा बच्चा देखिन्छ।
पौराणिक कथाहरूको कुरा गर्दा अनेकौं चित्र र मूर्तिहरू छन्, जसले आफैं कथा भनिरहेका छन्। हामी बाँचिरहेको समयमा पनि शहरका भित्ता भित्तामा इतिहास छ। गाउँका चौताराहरूमा इतिहास छ। मानिसहरूले बाँचेको जीवनमा जीवन्त इतिहास छ। यसको खोजी जीवन्त र फराकिलो हुनुपर्यो।
अब तपाईंले उठाउने गरेको राजनीतिक इतिहासको कुरा गरौं। भर्खरै फिल्म साउथ एशिया–२०२२ मा प्रदर्शित ए लो बयान हमारे फिल्ममा नक्सलाइट मुभमेन्टमा भाग लिएका महिलाहरूको अनुभूति चित्रण गर्नुभएको छ। दीपा धनराजको प्रश्न सापटी लिएर सोध्न चाहन्छु, राजनीतिक अभियानमा होमिएका महिलाहरूको जीवनले किन तपाईंलाई यति धेरै आकर्षित गर्छ?
राजनीति सम्बन्धी महिलाहरूका अनुभूति मलाई बढी नै रुचिकर लाग्छ। यसको कारण छ। समाजमा महिलाको दायरा घरपरिवारमा सीमित गरिएको छ भने राजनीति चाहिं पुरुषको विषय मानिएको छ। यस्तो कसरी हुन्छ? हरेक मानिस समाजको र राज्यको अङ्ग हो। यही कारण महिला पनि राजनीतिक प्राणी हो। आफ्नो वरिपरिका विषयवस्तुप्रति महिला सचेत हुन्छन्, मानिससँग जोडिएको, न्याय–अन्याय र परिवर्तनको कुरामा उसलाई चासो हुन्छ।
पारिवारिक दायरा छिचोलेर समाजमा महिला उभिनु भूकम्पीय झड्का बराबर हो। उसलाई जहाँसम्म बस् भनेर सीमा कोरिएको छ, त्यो नटेरेर निस्केकी छ। ऊ आफ्नो परिवार, बालबच्चा, आफ्नो भूमिको उन्नति र न्यायिक समाजका लागि उभिएकी हो। अनेक समस्यालाई जितेर जब ऊ राजनीतिमा प्रवेश गर्छे, उसको उपस्थिति र अनुमान नै गर्न नसकिने शक्तिसँग राज्य पनि तर्सन थाल्छ। अनि उसलाई जेलमा पठाउँछ र यातना दिन थाल्छ। जेलभित्रका महिलाहरूको अनुभूति समयलाई नै हल्लाउने खालको सशक्त हुन्छ। नक्सलाइट मुभमेन्टका वेला जेलमा पुगेकी मिनाक्षी नामकी महिला धर्मसङ्कटमा पर्छिन्। एक दिन २०० युवालाई मारिंदै हुन्छ, कति मानिसहरू भागिरहेका हुन्छन्, उनले त्यही वेला महाभारतको कर्ण–कुन्ती संवाद सम्झन पुग्छिन्। कुन्तीले कर्णलाई पाण्डवको पक्षमा लाग्न भन्दा कर्णको जवाफ हुन्छ, ‘मैले जुन पक्ष रोजें, यो सङ्कटको अवस्थामा छोडेर हिंड्न कसरी सक्छु? म जहाँ उभिएँ उभिएँ।’ यो सम्झेपछि उनी अडिग भएर जेलमै बस्छिन्।
जब महिलाहरू राजनीतिक दलमा प्रवेश गर्छन्, त्यहाँ पनि उनीहरूको तागत र भूमिकासँग दलका पुरुष नेताहरू हड्बडाउन थाल्छन्। हरेक तहमा महिलाहरू संघर्ष गरिरहेछन्। योभन्दा शक्तिशाली के हुन सक्छ!
महिलाहरूसँग राज्य र सहकर्मी पुरुष डराउने प्रसङ्गलाई अहिले हामीले बाँचेको समयसँग तुलना गरौं। एउटा समयमा पुरुषहरूलाई लाग्यो, यी महिलाहरूलाई केही आरक्षण दिन थालौं। राजनीति, मिडिया लगायत सबैतिर स्थान सुरक्षित हुन थाल्यो। अहिले सबैजसो क्षेत्रमा महिलाको बलियो उपस्थिति देखिन थाल्यो। पुरुषहरू अलि बढी नै डराएको त होइन? नेपालमा हुन लागेको स्थानीय तह चुनावकै कुरा गरौं, संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भने पनि महिलालाई उम्मेदवार बनाउन वास्तै गरिएन।
महिलाहरू बाहिर आउनुपूर्व नै अनेक साना–ठूला संघर्ष पार गरेर अघि बढेका हुन्छन्। यसैले उनीहरूको उपस्थिति शक्तिशाली हुन्छ। जबसम्म पुरुषलाई असर पर्ने देखिंदैन, तबसम्म उत्प्रेरित गरे जस्तो गर्छन्। जब उनीहरूलाई महिलाहरू हाम्रा लागि खतरा हुन् भन्ने लाग्छ, तब व्यवधान खडा गरिन थाल्छ। फिल्म क्षेत्रमा पुरुषलाई महिलाको उपस्थिति अझै पनि नगण्य लाग्छ, त्यसैले त्यस्तो प्रहार छैन। महिलाको उपस्थिति राजनीतिमा र त्योभन्दा पनि बढी मिडिया र लेखनमा छ। यसलाई पुरुषहरूले सहनै नसकेको देखिन्छ।
मिडियामा महिलाको उपस्थितिले पुरुष किन डराएका होलान्?
यो क्षेत्रमा डरलाग्दो प्रतिस्पर्धा छ। महिलाहरू जब राम्रो लेख्छन्, राम्रो सामग्री तयार पार्छन्, उनीहरू अडियन्समा चिनिन्छन्। उनीहरूलाई पद र सुविधामा नियन्त्रण गर्न सकिएला, तर प्रतिभा र उनीहरूले आफ्नो अडियन्समा छोडेको प्रभाव नियन्त्रण बाहिर हुन्छ। यही कारण पुरुषहरूमा ईर्ष्या बढ्न थाल्छ। कमजोर जस्तो लागे उत्प्रेरणा दिए जस्तो गर्छन्। शक्तिशाली भयो भने दुःख दिन थाल्छन्। महिलाहरूले प्रतिभाको बलमा सीधै आफ्नो बजार बनाउन सक्ने भएकाले पुरुषहरू डराएको देखिन्छ।
महिलाहरू हरेक कालखण्डमा संघर्ष गरिरहेकै छन्। परिवर्तन भए जस्तो लाग्छ, फेरि पनि परिवर्तनका लागि लागेकै छौं। यो अवस्था कहिले बदलिएला?
फेरि कश्मीरकै सन्दर्भमा लैजान्छु। सन् २००० मा तथ्य सङ्कलन गर्न म कश्मीर पुगेकी थिएँ। एक जुझारु युवती भेट भइन्। उनी डाक्टर पढ्न चाहन्थिन्। तर, यो सबै परिस्थिति बदलिएपछि पढ्छु भन्थिन्। उनलाई सोधें, ‘हालात कब बदलेगा?’ उनले मेरो आँखामा हेरेर भनिन्, ‘हालात तब बदलेगा, जब तुम हालातको बदलोगे।’ त्यसैले समय तब बदलिन्छ, जब हामी यसलाई बदल्न उभिन्छौं। यो एक दिनको कुरा होइन, निरन्तरको यात्रा हो।