नेपाललाई बनाउन सकिन्छ हिन्दकुश क्षेत्रकै केन्द्र
म्यानमारदेखि इरान, तिब्बतदेखि माल्दिभ्ससम्म शान्त र खुला रहेको नेपाललाई हिन्दकुश क्षेत्रकै केन्द्र बनाउन सकिन्छ।
एशियाका १० वटा देशका १५० युवाले समसामयिक विषयमा विचार विमर्श गरेको ‘एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन (ईआईएमयूएन)’ वैशाख ८ गते काठमाडौंमा सकियो। काठमाडौंस्थित अमेरिकी दूतावासको सहयोग र संयोजनमा भएको ईआईएमयूएन सकिएकै दिन ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया २०२२’ प्रारम्भ भयो।
यो महोत्सवमा भाग लिन दक्षिणएशियाका आठ वटा देशका ७१ वृत्तचित्र प्रदर्शन भइरहेका छन्। कतिपय वृत्तचित्र सम्बन्धित देशमा प्रतिबन्धित पनि छन्। यसमा सहभागी हुन विभिन्न देशबाट आएका फिल्म निर्देशक, निर्माता र विज्ञको काठमाडौंमा जमघट छ।
एशिया र मूलतः दक्षिणएशियालाई लक्ष्य गरी आयोजना गरिएका यी दुवै कार्यक्रमका केही महत्त्वपूर्ण पाटा छन्। पहिलो, कार्यक्रम स्थल नेपाल बनेको छ। अहिलेको भूराजनीतिक अवस्था हेर्दा समग्र दक्षिणएशिया वा हिन्दकुश क्षेत्र (म्यानमारदेखि इरान र तिब्बतदेखि माल्दिभ्ससम्म) को भूभागमा यस्ता कार्यक्रम गर्न नेपालमा मात्रै सम्भव छ।
हिन्दकुश क्षेत्रका अधिकांश देशमा सहभागीलाई सजिलैसँग ल्याउन र व्यवस्थापन गर्न सम्भवै छैन। नेपालमा भने प्रायः जस्तो सबै मुलुकका नागरिकले भिसा पाउन सजिलो छ, भलै अरू देशले नेपाललाई गर्ने व्यवहार समान छैन।
दोस्रो, खुलापनको छनोट। यो क्षेत्रमै नेपाल यस्तो देश हो, जहाँ सबै खालका वादविवाद र बहस गर्न सम्भव छ। धैरै देशमा दबाइएका स्वर यहाँ सुनिन्छन् र सुनाउन पाइन्छ। धेरै देशमा प्रतिबन्ध लगाइएका फिल्म र कथा यहाँ खुला आकाशमुनि बसेर हेर्न र सुन्न पाइन्छ।
तेस्रो, शान्ति र सुरक्षा। अहिले नेपाल तुलनात्मक रूपमा सुरक्षित र शान्त छ। जुन जोकोहीलाई पनि मन पर्छ। झन् कार्यक्रम आयोजकका लागि त यो महत्त्वपूर्ण शर्त हुने नै भयो।
ठूलो जनसङ्ख्या, तर खुम्चिएको सम्बन्ध
जनसङ्ख्याको हिसाबले दक्षिणएशिया संसारकै सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र हो। यो सानो अर्थात् संसारकै ३.५ प्रतिशत (५१ लाख ३४ हजार ६४१ वर्ग किलोमिटर) भूभागमा झण्डै दुई अर्ब अर्थात् संसारको २४ प्रतिशत मानिस बसोबास गर्छन्। तर, आर्थिक र सामाजिक हिसाबले यो भूभाग छिन्नभिन्न छ।
दक्षिणएशियाको वैदेशिक व्यापारमा क्षेत्रीय व्यापार (आपसी व्यापारी) को अंश करीब पाँच प्रतिशत जति मात्रै छ। तर, दक्षिणएशिया जस्तै अरू क्षेत्र जस्तो दक्षिणपूर्वी एशियाली देशको आपसी व्यापार झण्डै ५० प्रतिशत छ भने सब-सहारा अफ्रिकन देशबीच आपसमा करीब २२ प्रतिशत व्यापार हुने गर्छ।
अझ भुटान, नेपाल, अफगानिस्तान जस्ता देशको व्यापार मूलत: भारतसँग छ, तर भारतको भने कुल वैदेशिक व्यापारको चार प्रतिशत मात्रै क्षेत्रीय/छिमेकी देशसँग छ। यो तथ्याङ्कले दक्षिणएशिया क्षेत्रको आपसी सम्बन्ध र अन्तरनिर्भरतालाई झल्काउँछ।
वस्तु व्यापारको अवस्था त यस्तो छ भने सेवा र पर्यटनको तथ्याङ्क झनै तल छ। सोह्रौं शताब्दीतिर विश्वको झण्डै एक चौथाइ कुल गार्हस्थ्य उत्पादन रहेको यो भूभाग अहिले आर्थिक हिसाबले पनि कमजोर छ। यसमा क्षेत्रीय रूपमा उपलब्ध स्रोतको मिलेर उपयोग तथा आपसी सहयोगको कमीको पनि भूमिका छ।
दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजित हुन थालेको यो भूखण्ड चाँडै मिलेर विकासमा हातेमालो गर्ने आधार तत्काल देखिंदैन। जसको उदाहरण दक्षिणएशियाली सहयोग संगठन (सार्क) को कमजोर प्रभावकारिता नै काफी छ।
नेपाललाई अवसर
सार्क लगभग निष्क्रिय जस्तै देखिएको छ। यसको सचिवालय नेपालमा छ। नेपाल बाहेक अन्य सदस्य देशमा चाहेर पनि राख्न सम्भव देखिंदैन। त्यसको एउटै कारण हो, नेपालको सबैसँगको असल सम्बन्ध। त्यस बाहेक नेपाल एक खुला समाजको हिमायती देश पनि हो।
त्यसैले, यी दुवै कुरालाई आफ्नो शक्ति र स्रोत ठानेर नेपालले थप रणनीति अपनाउन सक्यो भने फाइदा लिन सकिन्छ। यसले नेपाललाई मात्रै नभएर समग्र दक्षिणएशियालाई फाइदा पुग्छ।
कूटनीतिक केन्द्र
ईआईएमयूएन र फिल्म साउथएशिया मात्रै हैन, नेपालले नियमित रूपमा यस्ता ‘नरम कूटनीति’ का सभा र कार्यक्रम गर्न सक्छ। सार्क, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) सँगै अन्य अन्तर्राष्ट्रिय संघसंस्थालाई आतिथ्यता प्रदान गर्न सकिन्छ। साथै, जनस्तरमा सहजै आवतजावत गर्न पाइने देश हुँदा यस्ता कार्यक्रमले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्छ।
खुला र सहिष्णु देशका रूपमा स्थापित गराउँदा अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले दीर्घकालमा नेपालीको इज्जत र प्रतिष्ठा पनि बढाउँछ। क्षेत्रीय केन्द्रका रूपमा विकास हुँदा पर्यटनको विकाससँगै आर्थिक केन्द्रका रूपमा पनि उदाउन सक्छ।
त्यसैले नेपालले खुला समाज प्रवर्द्धन र आर्थिक विकासलाई सँगसँगै लग्नुपर्छ। अनि, मात्रै सुनमा सुगन्ध हुन्छ।