नेपाल खुला छ, खुला रहनेछ: मन्त्री कार्की
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल अभिव्यक्ति स्वतन्त्रताका हिसाबले खुला रहेको र खुला रहने बताएका छन्।
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा बिहीबार वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया २०२२’ उद्घाटन गर्दै मन्त्री कार्कीले नेपालले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए। सरकार अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्न सधैं प्रतिबद्ध रहेको बताउँदै कार्कीले भने, “नेपाल खुला छ, खुला रहनेछ।”
दक्षिणएशियाका अन्य देशमा रोक लगाइएका वृत्तचित्र तथा फिल्म पनि नेपालमा प्रदर्शन हुँदै आएका छन्। फिल्म साउथएशियामा पनि अन्य देशमा प्रतिबन्ध लागेका वृत्तचित्र पनि प्रदर्शन भएका छन्।
त्यसलाई इङ्गित गर्दै मन्त्री कार्कीले नेपालमा अभिव्यक्ति स्वतन्त्रता कायम रहने बताए। “नेपाल दक्षिणएशियाको सम्मेलन केन्द्र हुन सक्छ,” उनले भने।
फिल्म साउथएशियाकी निर्देशक मितु वर्माले महोत्सवमा ७१ वटा वृत्तचित्र प्रदर्शन हुनु ऐतिहासिक भएको बताइन्। उनले फिल्म साउथएशियाका विषयमा जानकारी दिइन्।
उद्घाटन समारोहमा बोल्दै पत्रकार कनकमणि दीक्षितले काठमाडौं दक्षिणएशियाकै राजधानीका रूपमा रहेको बताए। उनले नेपाल सधैं खुला रहनुपर्नेमा जोड दिंदै महोत्सवमा प्रदर्शन हुने वृत्तचित्रले दक्षिणएशियाका राज्यको अवस्था चित्रण गरेको बताए।
आजदेखि शुरू भएको वृत्तचित्र महोत्सव फिल्म साउथएशिया चार दिनसम्म चल्नेछ। महोत्सवमा दक्षिणएशियाका आठ देशका ७१ वृत्तचित्र प्रदर्शन गरिनेछन्।