‘अन्य देशमा प्रतिबन्धित फिल्म देखाउने मञ्च हो, नेपाल’
साढे दुई दशकअघि शुरू भएको फिल्म साउथएशिया महोत्सवको २५औं संस्करण ८ वैशाखदेखि ललितपुरमा शुरू हुँदै छ। चार दिनसम्म चल्ने यो फिल्म महोत्सवकी निर्देशक हुन्, मितु वर्मा। वर्मा अभिव्यक्ति स्वतन्त्रताको हिसाबले नेपाल दक्षिणएशियामै अब्बल रहेको बताउँछिन्। महोत्सवका लागि नेपाल आएकी वर्मासँग हिमालखबरका लागि अनिता भेटवालले गरेको संवादः
फिल्म साउथएशियाको २५ वर्षे यात्रालाई कसरी हेर्नुभएको छ?
पहिलो पटक यो कार्यक्रम गर्दा हामी बढी नै उत्साही थियौं। त्यति वेला यो नयाँ काम थियो। यो सबै लेखक पत्रकार कनकमणि दीक्षितको सोच थियो।
हिमाल साउथएशिया म्याग्निमा म भारतबाट जोडिएकी थिएँ। वृत्तचित्र पत्रकारिता जस्तै अर्को माध्यम भएकाले हामीलाई यो काम गर्ने विचार आयो। पत्रकारले जसरी प्रतिबद्ध भएर काम गर्छ जसको पारिश्रमिक पनि त्यति वेला थोरै हुन्थ्यो। वृत्तचित्र बनाउनेहरूको अवस्था पनि उस्तै थियो।
चलचित्र बनाउने तर आम्दानी नहुने र प्रदर्शन गर्न पनि नपाउने भएकाले कनकले यसरी महोत्सव गर्ने भनेर शुरू भएको थियो। यसबारे धेरै ज्ञान थिएन, तर हामीसँग पर्याप्त उत्साह थियो। सन् १९९७ सालको फिल्म महोत्सवमा दिल्लीबाट आउने चलचित्र निर्देशकहरूलाई जम्मा गरेर हवाईजहाजमा नेपाल ल्याउने मेरो काम थियो। त्यति वेला कमलादीस्थित रसियन कल्चर सेन्टरमा फिल्म देखाइएको थियो र प्रमुख अतिथि हुनुहुन्थ्यो महान कवि गुल्जार।
त्यस वेला नेपालमा धेरै होटलहरू थिएनन। हामी धेरै राति आइपुग्यौं, होटल सबै बन्द थिए र खाना खान नपाएर हवाईजहाजमा खाएको खानाले रात कटाएको क्षण अविस्मरणीय बन्यो। त्यति वेला भारत, पाकिस्तान, बाङ्लादेशका नागरिकलाई एकअर्काको देशमा जान भिसा पाउन सजिलो थिएन। तर, नेपालमा आरामले आएर एकअर्काले बनाएको चलचित्र हेर्ने, छलफल गर्ने, सिक्ने सिकाउने अवसर अन्य दक्षिणएशियाका मुलुकमा सम्भव थिएन।
प्राविधिक कठिनाइहरू पनि थिए। स्रोतसाधन सीमित थिए। फिल्म कुमारी हलमा देखाइन्थ्यो। साउन्डमा जहिल्यै समस्या आउँथ्यो। एक-दुई सय वृत्तचित्रहरू मात्र आउँथे।
मेरो मतलब अहिले कुनै पनि चुनौती छैन भन्ने चाहिं होइन। कहिले नाकाबन्दी, कहिले कोरोना महामारी जस्ता चुनौती समय समयमा आउँछन्। तर, हामीले महोत्सव गर्नु नै छ। फिल्मकर्मीहरूलाई यो सुन्दर प्लेटफर्म उपलब्ध गराउनु छ।
२०७२ सालमा नाकाबन्दी भयो। त्यो समयमा हाम्रा बेग्लै कठिनाइ थिए। तर, यो सबैभन्दा माथि हाम्रो फिल्म महोत्सव व्यक्ति, समाज र देशको आवाज बन्दै आयो। श्रीलंकामा नो फायर जोन देखाउन त्यहाँको सरकारले रोक लगायो। बीबीसीको त्यो वृत्तचित्र २०१३ मा यही यलमाया केन्द्रमा देखाइयो। महोत्सवकै कारण वृत्तचित्रमा उठाइएको आवाज बाहिर आयो।
चलचित्र प्रदर्शनमा रोक लागेपछि महोत्सवमा देखाइयो भन्नुभयो। दक्षिणएशियाको अहिलेको अवस्था कस्तो? यस पटक पनि सम्बन्धित देशमा रोक लागेका फिल्म देखाइँदै छन् कि?
यस पटक त्यस्तो अवस्था आएको छैन। तर, धेरै पटक यस्तो भइसकेको छ।अहिलेको अवस्था पहिलाभन्दा केही सहज पक्कै भएको छ। मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रताका कुराहरूले महत्त्व पाएका छन्। तर पनि, समसामयिक विषयवस्तुलाई लिएर हाम्रा फिल्महरू बन्ने गरेका छन्। तिनलाई कति हदसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुण्ठित पार्न कोशिश गरिन्छ।
अहिले हामीसँग घरका पता भन्ने वृत्तचित्र प्रदर्शनमा छ। काश्मीरमा पण्डित परिवारकी ६ वर्षीय बालिकालाई लखेटेको सन्दर्भ छ। बालिकाले श्रीनगर पुगेसम्म आफ्नो मनको कुरा रेकर्ड गरेको कुरालाई लिएर बनाइएको छ। अहिले काश्मीर फाइल फिल्मको टिप्पणी भए जस्तै टिप्पणी हुन सक्ने वृत्तचित्र बन्न सक्नेछ। तर, हामीले यस्ता फिल्मलाई पनि स्थान दिएका छौं। अहिलेको लडाइँ पनि यस्तै यस्तै अप्रत्यक्ष छ।
त्यसो भए यो महत्त्सवको सुन्दर पक्ष यही हो त?
जहाँ फिल्मबारे कुरा गर्न उचित स्थान नभएको अवस्थामा पूरा साउथएशियामा नेपाल र फिल्म साउथएशिया एउटा मञ्च हो। स्वतन्त्र, निडर भएर नयाँ सोच बन्ने ठाउँ हो। यो फिल्मकर्मीहरूको अनुभव सुन्ने, सिक्ने र साथी बनाउने अवसर हो। आफ्नो सिर्जनालाई प्रदर्शन गरेर आफूलाई ठूलो फिल्म क्षेत्रको समुदायमा लिएर जाने सुनौलो अवसर हो।
यहाँ कसैको फिल्म रुचाइनु भनेको निर्देशकको उज्ज्वल भविष्य बन्दै जानु पनि हो। जस्तै- कबीर खानले १९९९ मा उनको वृत्तचित्र फरगटन आर्मी नेपालमा आएर यही महोत्सवमा देखाए। आज उनी भारतका चर्चित फिल्म निर्देशक बनेका छन्। त्यसरी कबीरका लागि पनि यो एउटा राम्रो मञ्च बनेको थियो।
अहिले पनि उनले महोत्सवमा आउने उत्साह देखाएका थिए। हाम्रो प्रदर्शनीमा सामान्य वृत्तचित्र बनाएका व्यक्तिहरूले अहिले सफल फिल्महरू बनाएका छन्। जहाँसम्म लाग्छ, यो फिल्म प्रदर्शनीले उनीहरूलाई केही सिकायो उनीहरूले पनि केही सिकाए। त्यसैले पनि होला, अहिले विश्वव्यापी सफल निर्देशकहरू यो महोत्सवलाई माया र सम्मान गर्छन्।
यो महोत्सवले कस्तो संस्कार बनाएको छ?
विचार र धारणा बनाउने किसिमका वृत्तचित्र प्रदर्शनमा रहँदा अहिले भने युवा र नयाँ पुस्ताको चासो बढेको देखिन्छ। पहिला यस्ता फिल्म हेर्ने र बनाउने उमेर धेरै भएको व्यक्तिले मात्र हो भन्ने सोच थियो। त्यो बदलिएर युवाहरूको मिहिन अध्ययन, खोज र फिल्म निर्माणमा चासो बढाउन फिल्म साउथएशियाले एउटा संस्कार विकास गरेको लाग्छ।
पहिला फिल्म साउथएशियामा पनि केही समय काम गर्ने र महोत्सव सकिएपछि टाढा हुने हुन्थ्यो। तर, हामीले पनि यो काम सदाबहारको बनाएर युवाहरूलाई कामको अवसर दिएर फिल्मतर्फ आकर्षित गर्ने कोशिश गरेका छौं। हामीले एउटा प्रदर्शनको मञ्च बनाएकाले पनि युवाहरू आफ्नो सिर्जना देखाउन लागिपरेको देखिन्छ।
यस पटक छनोट नभए अर्को पटक अर्को फिल्म पठाउने कामले पनि उनीहरूलाई निखार ल्याउने मौका भएको छ। मुख्य कुरा फिल्म हेर्न हल नै पुग्नुपर्छ भन्ने सोच बदलिंदै छ। फिल्मका दर्शकहरू बढाएको छ। साथै, हाम्रो जस्तो फिल्म महोत्सवले राम्रो फिल्मबारे बुझाउन, अन्यत्र प्रदर्शन गर्न नसकिएका फिल्म देखाउन, फिल्म मोह बढाउन र फिल्मको दर्शक बढाउन सहयोग गरेको लाग्छ। यो पनि महोत्सवले विकास गरेको एउटा राम्रो संस्कार नै हो।
फिल्म साउथएशियाबाट नेपालले चाहिं के कस्ता लाभ लिन सक्छ?
सबैभन्दा ठूला फाइदा नेपालमा फिल्म प्रदर्शन संस्कृतिको विकास भएको छ। यसले भोलि नेपाललाई वृत्तचित्र हब हनाउन सक्छ। अझ नेपालको विविधतामाथि चलचित्र बनाउँदै गए भोलि यस्तै मञ्चले नेपालका फिल्महरू विश्वव्यापी हुने र फिल्मका लागि नेपाल उर्वर बन्न सक्छ।
आठ देशका फिल्मकर्मीहरूको सोचले बनेका फिल्महरूबारे नेपालीहरूको छलफलको पहुँचले नयाँ ज्ञान, सोच र सिर्जना बढाउँछ। दक्षिणएशियामा यसरी सबै मिल्ने, बस्ने, छलफल गर्ने अन्य ठाउँहरू छैनन्। अन्य मुलुकहरूमा प्रदर्शन गर्न जान पनि सबैको पहुँच हुँदैन। त्यसैले यो नै गतिलो स्थान बन्यो।
अहिले नेपालमा यस्तो कार्यक्रम हुँदा अन्तर्राष्ट्रिय, क्षेत्रीय दुवै मञ्च नेपाललाई पनि मिलेको छ। साउथएशियाको सांस्कृतिक पहिचान नै अलग छ। सबै कुराहरूको सञ्चार सजिलै हुन्छ। यसरी साथ मिलेर अघि बढदै गए नेपाल लगायत साउथएशियाको नै विकास हुनेछ।
हाम्रो विविधता, प्रकृति, रहनसहन उस्तै छ। सबै मिलेर काम गरे हामीलाई केहीले रोक्दैन। हामीले जुटेर यस्ता कार्यक्रम गरे पश्चिमा देशहरूलाई पनि हाम्रो क्षमता थाहा हुन्छ। यस्तो सम्भावना भएको कार्यक्रम नेपालमा हुनुले नेपालको चर्चा र नेपाली फिल्म, साहित्य विश्वबजारमा पनि पुगेको छ।
महोत्सवबाट नेपाली दर्शकले कसरी बढीभन्दा बढी फाइदा लिन सक्छन्?
सबैभन्दा पहिला आउनुस्, बस्नुस्, वृत्तचित्रहरू हेर्नुस्, मनन गर्नुस्, आठ देशहरूको समाज बुझ्नुस्, हामीसँग भेट्नुस् र आफ्ना अनुभव राखेर अरूको अनुभव सुनेर फाइदा लिनुस्।
फिल्म हेरिसकेर विभिन्न विषयमा छलफल सत्र पनि राखिएका छन्। लैङ्गिकता, जाति, फिल्म लगायत ६ वटा विषयमा छलफल सत्रहरू छन्। त्यहाँ आएर कुरा सुनौं।
चार दिनमा आठ देशका ७१ वटा फिल्म हेरौं। यसले तपाईंको मस्तिष्कमा नयाँ ज्ञान र नौलो कुरा थप्नेछ। आफ्नो दृष्टिकोण फराकिलो बनाउन पनि विश्व समाज बुझ्न फाइदाजनक हुन सक्छ। अरू केही नभए पनि जीवनभरका लागि एउटा अनुभव त पक्का मिल्नेछ।
वृत्तचित्रका विषयवस्तुले मानिसको बुझाई फराकिलो बनाउनुका साथै निर्णय गर्ने क्षमता बढाउँछ नै। तर, यहाँ प्रदर्शन गरेका फिल्महरूले नीति निर्माण तहमा के प्रभाव पार्लान्?
बीबीसीले बनाएको नो फायर जोन वृत्तचित्र सन् २००९ मा श्रीलंकाको गृहयुद्ध अन्तिम समयमा पुग्दा हजारौं मारिएका तामिलहरूको कथामा बनेको थियो। जसलाई श्रीलंका सरकारले सार्वजनिक ठाउँमा देखाउन रोक लगाएपछि हामीले यो महोत्सवमा देखायौं।
यसपछि संसारले त्यहाँ मानव अधिकार कसरी हनन भयो र कस्ता हिंसा भए भनेर थाहा पायो। त्यसपछि मानव अधिकारवादीहरूले न्यायको आवाज उठाए। यसरी नै नीति निर्मातालाई एउटा पाठ सिकाएको हो। यस्ता धेरै फिल्मले प्रभाव पारेका उदाहरण हामीसँग प्रशस्तै छन्। जसरी पत्रकारिताले खबरदारी गर्छ, त्यस्तै वृत्तचित्रले पनि अडिओ र भिडिओको मार्फत खबरदारी नै गर्ने हो।
वृत्तचित्र हाम्रो समाजको ऐना नै हो। पछिल्लो समय हाम्रो समाज जसरी बाँच्यो त्यसैको प्रतिनिधित्व यस वर्षको फिल्म महोत्सवले गर्दै छ। त्यसैले यस वर्ष महामारीमा मानिसले आफूलाई बचाएका, गुमाएका र सिकेका घटनामा बनेका केही रोचक फिल्महरू छन्। जस्तै- २३ जना गैरफिल्मकर्मीले झ्यालमा २३ वटा मोबाइल राखेर बन्दाबन्दीको जीवन कैद गरेको फिल्म रमाइलो छ। अन्य केही नवीन फिल्महरू त छँदै छन्, त्यो थाहा पाउन यहीं आउनुहोला नि।
राम्रो वृत्तचित्र बनाउन कुन कुरा चाहिन्छ? नयाँ फिल्मकर्मीलाई यहाँको सुझाव के छ?
एउटा राम्रो खोजकर्ता नै उत्कृष्ट वृत्तचित्र निर्देशक हो। सामाजिक र राजनीतिक समस्यालाई बुझ्न सक्ने अध्ययन चाहियो। समाज अध्ययन र अध्ययनको निष्कर्ष राम्रो डकुमेन्ट्री हो। एउटा राम्रो पत्रकारले पनि सफल फिल्म बनाउन सक्छ।
उसले जसरी आफ्नो रिपोर्टलाई प्रमाणित गर्न अध्ययन गर्छ, यथार्थ बुझ्छ अनि मात्र कलम चलाउँछ, यो क्षेत्र पनि त्यस्तै हो। एउटा क्यामेरा उठायो अनि खिच्न थालिहाल्ने होइन। लामो समय पृष्ठभूमि अध्ययन गर्नुपर्छ। सिर्जना निखार्ने अभ्यास पनि यही हो।
फेरि शुरूमा वृत्तचित्र बनाउनेलाई आर्थिक सहयोग प्राप्त हुँदैन। त्यति वेला निराश हुनु हुँदैन। किनभने, अहिले अवसर पनि छन्। पैसा छैन भनेर वृत्तचित्र नबनाउने हैन, आफूलाई मन परेको विषयमा फिल्म कसै गरी बनाउन सकिन्छ। यूट्युबको प्लेटफर्म छ, विज्ञापन खिचेर पैसा जम्मा गरेर पनि आफ्नो वृत्तचित्र बनाउने प्यासन पूरा गर्ने आज सफल निर्देशक भएका छन्।