दोषी ‘भोगी पुस्ता’
पुर्खाले ल्याइदिएको स्वतन्त्रता र आधुनिकताको जगमा टेकेर अहिलेसम्म राजनीतिक/सामाजिक लाभ दोहन मात्र गरिरहेको ‘भोगी पुस्ता’ नै सामाजिक सञ्जालको दुरुपयोग बढाउन सक्रिय छ।
विश्वका करीब आठ अर्ब मानिसका आआफ्नै विचित्रता छन्। हरेकका औंठाछाप मात्र होइन, अनुहारको बनोट र आँखा समेत मिल्दैन। यस्तो विचित्रताबीच पनि कसैले कुन दललाई मत दिन्छ भनेर पत्ता लगाउन उसले फेसबूकमा गरेका केवल दुई-चार वटा लाइक नै पर्याप्त हुन्छन्।
फेसबूक, यूट्युब, ट्वीटर जस्ता सामाजिक सञ्जालमा करोडौं मानिसले गरेका लाइक, कमेन्ट, रिट्वीट जस्ता गतिविधि कम्प्युटर सफ्टवेयरले मिनेटभरमै पढी ती सबैको मनोवैज्ञानिक चित्र कोरिदिन सक्छ। अर्थात्, प्रायः मानिसले आफूलाई निकै फरक छु भन्ने ठाने पनि तिनले के के सोच्छन् र के चाहन्छन् भन्ने थाहा पाउन एउटा निर्जीव यन्त्र नै काफी छ।
यो तथ्यको प्रयोग केही पश्चिमा देशका चुनावमा भइसकेको पनि छ। एउटा निजी कम्पनीले अमेरिकी मतदाताले आफ्नो फेसबूकमा दुई-चार मार्काका कपडामध्ये कुनलाई लाइक गरेका छन्, त्यसकै आधारमा तिनले डोनाल्ड ट्रम्प वा हिलरी क्लिन्टनमध्ये कसलाई मत दिन्छन् भन्ने निर्धारण गरेको थियो।
साथी, छिमेकी र नजिकका आफन्तले भनेका कुरामा सबैले बढी महत्व दिन्छन्। एकअर्काका कुरा मान्ने र सुन्नेहरूको जालो नै सामाजिक सञ्जाल हो जसबाट हरेक कुरा छिटै फैलन्छ।
मान्छेले रुचाएका गाडी, गीत र भिडिओबाट तिनको राजनीतिक झुकाव, उमेर र वर्ण, आम्दानी, मानसिक स्थिति, महिलाप्रतिको रवैया जस्ता कुरा थाहा पाउन सकिने कम्युटर प्रविधिको विकास भइसकेको छ। यस्तो सम्भव बनाएको छ, सामाजिक सञ्जालका प्रयोगकर्ताको आँकडाले। ठूलो परिमाणमा यस्ता आँकडा जुटाई प्रशोधन गर्न सक्ने गणितीय र कम्युटर प्रविधिको शक्ति हिजोभन्दा आज बढिरहेको छ।
साधनबाट साध्य
शुरूका दिनमा सामाजिक सञ्जाललाई ‘ठूलो माइक’ वा सबैतिर पुग्ने पत्रिकाका रूपमा लिइएको थियो। काठमाडौं, टुँडिखेलको माइकबाट बोल्दा एक लाखले सुन्थे भने फेसबूकमा बोल्दा १० लाखले सुन्ने भए। गोरखापत्र केही हजारले पढ्थे भने ट्वीटरमा लेखेको कुरा क्षणभरमै लाखौंले पढ्ने भए।
अनुसन्धानले देखाएको छ कि साथी, छिमेकी र नजिकका आफन्तले भनेका कुरामा सबैले बढी महत्व दिन्छन्। एकअर्काका कुरा मान्ने र सुन्नेहरूको जालो नै सामाजिक सञ्जाल हो जसबाट हरेक कुरा छिटै फैलन्छ। यस्ता सञ्जाल पातलो र मोटो गरी दुई किसिमका हुन्छन्। बाटोघाटो, चियापसल, कार्यालय वा बसमा आउँदा-जाँदा भेटिने मानिस पातलो सञ्जालमा पर्छन् भने निकटका मित्र, कुराकानी भइरहने आफन्त वा छिमेकी मोटो सञ्जालमा पर्छन्। यसरी हरेक मानिस आआफ्नो परिवेशका सञ्जालमा बाँधिएको हुन्छ।
टुँडिखेल वा गोरखापत्रभन्दा सामाजिक सञ्जाल धेरै प्रभावकारी किन भए त? फेसबूकमा अपरिचितले होइन कि आफ्नै सरोकारको कसैले कुरा राख्ने हुँदा त्यसमा सबैले ध्यान दिन्छन् र एक कान, दुई कान हुँदै फैलाउँछन्। यसरी शुरूमा सामाजिक सञ्जालको प्रयोग आम सञ्चारकै विस्तारका रूपमा भयो। इजिप्ट र अन्य देशका आन्दोलनमा पनि सामाजिक सञ्जालको प्रयोग यसरी भयो कि ट्वीटर र फेसबूकलाई प्रजातान्त्रिक आन्दोलनका सहयोगी भन्न थालियो।
सञ्चार माध्यमको दुरुपयोग पहिले पनि नहुने होइन। तर, त्यस बखत सामाजिक-राजनीतिक परिवेश मुख्य थियो भने सामाजिक सञ्जाल सहयोगी। त्यसको केही वर्षमै सामाजिक सञ्जाल साधन मात्र होइन, साध्य सरह बनिसकेको थियो।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्ना दुवै चुनावी प्रचारमा सामाजिक सञ्जालको व्यापक प्रयोग गरे। विशेष गरी युवा र अश्वेत मतदातामाझ आशाको सन्देश दिएर उनी निर्वाचित भए। उनको दोस्रो कार्यकाल सकिनै लाग्दा बेलायतमा ब्रेक्जिटबारे जनमत सङ्ग्रह हुँदै थियो। जनमत सङ्ग्रहमा सोधिएको थियो- बेलायत यूरोपियन युनियनमा बस्ने कि निस्कने?
१४ वर्षअघिको ओबामाको अभियान र ब्रेक्जिटको मतदानबीच सामाजिक सञ्जाल प्रयोगको तरीका निकै फरक भइसकेको थियो। कतिसम्म भने यूरोपियन युनियनबाट निस्कने पक्षका राजनीतिकर्मीले आफ्नो चुनावी खर्चको आधाभन्दा बढी रकम सामाजिक सञ्जालमा खर्च गरिरहेका थिए। अर्थात्, सामाजिक सञ्जाल चुनावको मुख्य मैदान बनिसकेको थियो।
ब्रेक्जिट जनमत सङ्ग्रहको केही महीनापछि अमेरिकी राष्ट्रपति चुनावमा आम सञ्चार, विश्लेषक, नेताहरूले अपेक्षा गरेभन्दा उल्टो नतीजा आयो। पश्चिमा जगत्मा राजनीतिले नै कोल्टे फेर्ने घटनाका रूपमा ती दर्ज भए। यी अभियानका क्रममा झूटा खबर, चरम राजनीतिक ध्रुवीकरण, घृणा र सामाजिक विद्वेष बढाउन सामाजिक सञ्जाल जिम्मेवार भएको आरोप लाग्यो। लगत्तै फ्रान्स, जर्मनी, ब्राजिल, भारत जस्ता धेरै देशमा सामाजिक सञ्जाल चुनावी प्रतिस्पर्धाका मुख्य थलो बन्न पुगे। त्यसै वेलादेखि सामाजिक सञ्जालको महत्व र दुरुपयोग दुवै विषयले चर्चा पाउन थाले।
नेपाली सामाजिक सञ्जालमा भने त्यसअघि नै ध्रुवीकरण तथा नकारात्मकता देखिन थालिसकेको थियो। लोकप्रियतावादी विद्वान्हरूले अगुवाइ गरेको जत्थाको घृणा अभियानको शिकार पनि भएका थियौं हामीमध्ये धेरै। केही वर्षमै चुनाव बाहेक विश्वभरका धेरै सामाजिक र राजनीतिक मुद्दामा सामाजिक सञ्जालको भूमिका मुखर हुन पुग्यो। जस्तै, म्यानमारको रोहिङ्ग्या दमन, फिलिपिन्सको मानव अधिकार दमन, विभिन्न देशका प्राकृतिक विपत्ति, कोभिड महामारी र नेपालको हकमा एमसीसी बहस।
फेसबूक वा यूट्युब चलाउँदा जे देख्नुहुन्छ, धेरै हदसम्म त्यो तपाईंको व्यक्तित्व र मानसिक अवस्थालाई ताकेर रोजिएको सामग्री हो। यस्तो काम कम्प्युटर सफ्टवेयरले स्वचालित रूपमा गर्छ।
सबलीकरण कि निन्दा प्रचारक?
सूचना प्रवाह सहज पारिदिएको सामाजिक सञ्जालबाट हरेकलाई मन परेका स्रोत छानीछानी पछ्याउने सुविधा पनि मिलेको छ। यससँगै अभिव्यक्ति सहज बनेको छ, आम मानिसको सबलीकरण भएको छ। अर्कातिर घृणा, निन्दा अनि भ्रामक समाचार आगो जसरी फैलाउन सहयोग गरेर स्वास्थ्य, सुरक्षा र सामाजिक सद्भाव नै खतरामा पर्ने स्थिति पनि देखिएको छ।
कोभिड-१९ महामारी नियन्त्रण प्रयासमै खोपबारे सामाजिक सञ्जालका भ्रम चिर्न सरकारहरूलाई हम्मे हम्मे परेको छ। सामाजिक सञ्जालकै सहयोगमा अमेरिकामा चुनावी नतीजा नस्विकार्ने, उल्टै सामाजिक दङ्गा गराउने र प्रजातन्त्र नै जोखिममा पार्ने समूह बलियो बनेको ठानिन्छ। कतिपयको विचारमा सामाजिक सञ्जालले समाजलाई धेरै घाटा गरिरहेको छ। आखिर यस्तो किन र कसरी भइरहेको छ?
अर्बौं मानिसले सामाजिक सञ्जाल प्रयोग गर्ने हुँदा तीसँग विभिन्न विषयमा अनगन्ती आँकडा जम्मा गर्न सजिलो हुँदै गयो। त्यसले गर्दा मानिसका आनीबानी र स्वभाव झन् मसिनो गरी केलाउन सजिलो भयो। हुँदाहुँदा ब्रेक्जिट मतदान र ट्रम्प विजयी भएका चुनावसम्म पुग्दा स्थानविशेषका ससाना समूहलाई पनि ताकेर राजनीतिक सन्देश प्रवाह गर्न सम्भव भएको थियो।
आफ्नो राजनीतिक नाराप्रति कुन उमेर, वर्ण र वर्गको झुकाव बढी छ, कुन कुन जिल्लाका मतदाता तान्न सजिलो छ, कुन कुन समूहका प्रतिस्पर्धी मतदातालाई घरमै बस्न र मतदान नगर्न उक्साउन सकिन्छ, राजनीतिक प्रचार सामग्रीमा कस्ता शब्द र भिडिओ राखे प्रभावकारी हुन्छ, यी सबै कुराको उपयोग सामाजिक सञ्जाल मार्फत गरियो। यस्तो क्रम हालैका चुनाव र अन्य सामाजिक-राजनीतिक मुद्दामा झन् विकास हुँदै गएको छ।
फेसबूक वा यूट्युब चलाउँदा जे देख्नुहुन्छ, धेरै हदसम्म त्यो तपाईंको व्यक्तित्व र मानसिक अवस्थालाई ताकेर रोजिएको सामग्री हो। यस्तो काम कम्प्युटर सफ्टवेयरले स्वचालित रूपमा गर्छ। तर, तपाईंले फेसबूक वा युट्युब चलाउँदा जे देख्नुहुन्छ, छिमेकीले त्यसको ठीक विपरीत कुरा देखिरहेको हुन सक्छ। तपाईंलाई खोपमा षड्यन्त्र छ भन्ने लाग्छ भने त्यस्तै कुरा गर्ने भिडिओ तपाईंको मोबाइलमा सुझावका रूपमा आउन सक्छ।
सामाजिक सञ्जालमा तपाईंका आँखा, औंला, लाइक, क्लिक र शेयरका निम्ति प्रतिस्पर्धा भइरहेको हुन्छ, किनकि तिनकै बलमा आम्दानी, राजनीतिक जित वा सामाजिक मुद्दामा अग्रसरता मिल्छ।
तपाईंका छिमेकी पारिवारिक कुण्ठाले ग्रस्त छन् भने त्यस्तै कुरा गर्ने बाबाहरू फेसबूक र यूट्युबमा प्रवचन दिइरहेका हुन सक्छन्। भिडिओ वा अरू सामग्री जति हेरियो, तिनलाई बनाउनेको आम्दानी उति बढ्छ। त्यस कारण जसले धेरै हेर्ने र शेयर गर्ने सम्भावना हुन्छ, तिनैलाई ताकेर ती सामग्री प्रस्तुत गरिन्छ।
सामाजिक सञ्जालमा तपाईंका आँखा, औंला, लाइक, क्लिक र शेयरका निम्ति प्रतिस्पर्धा भइरहेको हुन्छ, किनकि तिनकै बलमा आम्दानी, राजनीतिक जित वा सामाजिक मुद्दामा अग्रसरता मिल्छ। तपाईंलाई कुनै फरक धारको विवादित कुरा सामाजिक संचारमा लेख्दा एकदम अनुपम कुरा गरेँ गरेँजस्तो लागे पनि तपाईं केवल कसैको स्वार्थको निम्ति प्रयोग भइरहनुभएको हुनसक्छ।
कसो गर्दा मानिस सजिलै प्रभावित हुन्छन् त? मनोवैज्ञानिकहरू भन्छन्- हामी सबैमा केही आदिम गुण र अवशेष छन् जसलाई जगाउन सबैभन्दा सजिलो छ। मानिसमा प्रेम, मित्रता, सहयोग र समभाव मात्र होइन, द्वेष, घृणा, लोभ, हिंसा जस्ता अवगुण पनि छन्। असुरक्षा भाव प्रधान हुँदा यस्तै अवगुणले प्रश्रय पाउँछन्। चर्को विवाद र विभाजनका कुरा उचालेर असुरक्षाको भाव बढाउँदा सामाजिक सञ्जालमा धेरैको ध्यान तान्न सजिलो हुन्छ।
त्यस कारण व्यक्तिलाई ताकेर धेरैभन्दा धेरैमाझ सामग्री पुर्याउने काममा आज निकै ठूलो उद्योग स्थापित भइसकेको छ। विशुद्ध सूचना र लाभदायक सामग्री दुर्लभ बन्दै गएको छ। सबैतिरका सामाजिक सञ्जालमा विभाजक, भ्रामक र झूटा सामग्रीको बोलवाला छ। यद्यपि, यसको बाछिटाले नछोएका केही कुना संसारमा बाँकी छन्।
भोगी पुस्ता
सामाजिक संजालको पछाडि समाज हुन्छ। त्यसकारण, अपत्यारिलो गतिमा बदलिरहेको सामाजिक संजालको प्रभाव बुझ्न समाजको बनोट पनि बुझ्न जरुरी हुन्छ।
सामाजिक सञ्जालको भ्रामक र विभाजक पाटोले नपिरोलेको समूह कमै छ। युवा-प्रौढ, धनाढ्य-गरीब, अमेरिका-एशिया, शिक्षित-असाक्षर सबै समूहमा यसका शिकार भेटिन्छन्। तर, यीमध्ये एउटा विशेष समूह छ जो सामाजिक सञ्जालको खराब पाटोको निर्दोष शिकार मात्रै होइन, त्यसको सक्रिय मतियार पनि भएको कुरा धेरै देशको अध्ययनबाट देखिएको छ।
सामाजिक सञ्जालको भ्रामक र विभाजक पाटोले नपिरोलेको समूह कमै छ। युवा-प्रौढ, धनाढ्य-गरीब, अमेरिका-एशिया, शिक्षित-असाक्षर सबै समूहमा यसका शिकार भेटिन्छन्।
दूषित र विषाक्त सामग्री फैलाउन र त्यसमा उम्रने अनुदार राजनीतिको मलजलमा पनि यो समूह एकपछि अर्का घटनामा जिम्मेवार पाइएको छ। ज्यादा वफादार हुने आकलन गरेर ट्रम्पको चुनावदेखि ब्रेक्जिटसम्मका अभियानले यिनैलाई ताकेर विभाजक नारा सामाजिक सञ्जालभरि फैलाएका थिए।
हाल युक्रेनमा हमलाको पक्षमा पनि रूसमा यसै समूहको समर्थन बढी देखिएको छ जबकि लडाइँमा मर्न जाने कोही पनि यो समूहका सदस्य होइनन्। रुसमा ‘बबुस्का’ भनिने यो समूहमा पेन्सनधारी उमेरका महिला पर्छन्। तर, अन्य देशका सन्दर्भमा चाहिँ पेन्सनधारी उमेरका पुरुषहरू यो समूहका सबैभन्दा सक्रिय सदस्य देखिन्छन्।
उमेरले ६०-६५ देखि ७५-८० वर्षसम्मका प्रौढहरू द्वेष, घृणा र भ्रम-खेतीको मतियार हुनुको कारण उनीहरू प्रविधिप्रति अनभिज्ञ हुनु होइन। वैज्ञानिकले प्रविधि नजान्ने वा तथ्य र झूट छुट्याउन नजान्ने अन्य उमेरका मानिससँग दाँजेर हेर्दा पनि यो समूह जति जिम्मेवार अरू कमै भेट्टाए। पश्चिमा देशमा यो पुस्तालाई ‘बेबी बुमर’ भनिन्छ, किनकि दोस्रो विश्वयुद्धपछिको उच्च प्रजनन दर भएको समयमा यिनको जन्म भएको थियो।
पश्चिमा देशसँग नेपालको स्थिति हुबहु मिल्दैन। तर, जेजति आँकडा उपलब्ध छन्, तिनका आधारमा नेपालमा भ्रम फैलाउन सबैभन्दा बढी प्रयोग हुने यूट्युब च्यानलका अधिकांश दर्शक यस्तै उमेर-समूहका छन्। फेसबूकमा पनि उस्तै स्थिति देखिन्छ।
मध्य र अल्प आय हुने देशमध्ये नेपाल त्यस्तो दुर्लभ देश हो जहाँ प्रजनन दर घट्दो छ। नेपाल छिटै प्रौढहरूको देश बन्दै छ र केहि दशकमै हाम्रो जनसंख्या बढ्ने होइन घट्ने क्रम शुरु हुनेछ।
अहिले पनि नेपालमा सामाजिक सुरक्षा भत्ता ८० देखि ९० प्रतिशत प्रौढहरूको हातमा जान्छ जसमा वृद्धभत्ता, निवृत्तिभरण जस्ता कार्यक्रम पर्छन्। युवा तथा वयस्कले कमाएको र तिरेको करको अधिकांश मात्रा नेपालको प्रौढ पुस्ताको हातमा पुग्छ। जनसङ्ख्या घट्ने र खर्च नपुग्ने हुँदा आज हरेक पाँच युवाको करले एक प्रौढ पालिन सम्भव होला भने भोलि त्यो सङ्ख्या १०-२० हुँदै बढ्नेछ।
२०१० साल आसपास र त्यसभन्दा अघि जन्मेका हाम्रा हजुरबुबा पुस्ता त्यागी हुन्। जेल बसेर, सम्पत्ति सकेर भए पनि तिनले नेपालमा आधुनिकता र स्वतन्त्रताको जग बसाले। भावी पुस्ताका निम्ति सहज वातावरण निर्माण गर्नैमा त्यो पुस्ता तल्लीन रह्यो। २०१० देखि २०२५ साल आसपास उच्च रहेको नेपालको प्रजनन दर त्यसपछि क्रमशः घट्न थालेको हो।
त्यसबीच जन्मेको पुस्ता हुर्केको पञ्चायतकालमा नेपालमा अमेरिकादेखि रूससम्मका शक्तिराष्ट्रको सहयोगको लहर चहेको थियो। विशेषतः सरकारी जागीरमुखी समूह र त्यसमध्ये पनि ब्राह्मण पुरुषका लागि अवसरको फैलावट हुँदै गर्दा २०४६ सालको आन्दोलनले ल्याएको नयाँ लहरमा नेपाल प्रवेश गरेको थियो।
त्यही समयमा यो पुस्ता कमाउने र बालबच्चा पाउने उमेरमा पुग्दै थियो। प्रजातन्त्रले ल्याएका विकास, स्वास्थ्य सेवा र अन्य अवसरले गर्दा यो वेलासम्म एकल परिवार र थोरै बच्चा जन्माउन सकिने स्थिति बन्यो। औसत उमेर कम रहेको हुँदा यो पुस्ताको करबाट पालिनुपर्ने प्रौढको सङ्ख्या पनि कम थियो।
अभूतपूर्व अवसर पाएको यो पुस्ताले राजनीतिक द्वन्द्वबाट देशलाई दशकौंपछि धकेलिदियो। भविष्यको पुस्ताबाट आफूले पाएको अवसर खोसिदियो। अहिले राजनीति, न्यायालय, कर्मचारीतन्त्र, प्राज्ञिक, सामाजिक क्षेत्र र नागरिक समाज सबैतिर यही पुस्ता शीर्ष स्थानमा देखिन्छ।
नेपालको इतिहासमा यति धेरै भोग मात्र गर्ने मौका शायदै अरू पुस्ताले पाएका होला। त्यसैले यसलाई ‘भोगी पुस्ता’ भन्नु उपयुक्त हुन्छ, यीमध्ये पनि विशेष गरी सरकारी निवृत्तिभरण वा अन्य मानो खाने पुरुषलाई।
यो पुस्ताको खूबी भन्नु राजनीतिमा भ्रष्टाचार, सामाजिक मुद्दामा सङ्कीर्णता, आर्थिक रूपमा भोगी र बौद्धिक-आध्यात्मिक दरिद्रता हो। सात सालतिर बनेका विचार रट्ने बाहेक यो पुस्ताले राजनीतिमा नयाँ विचार दिन सकेको छैन। दान, धर्म, सहिष्णुता र अरू आचरण पनि यो पुस्ताबाट नयाँ पिढीले सिक्न सक्ने केही देखिंदैन।
भोगी पुस्ताले आफू बाहेक अरू कसैबारे नसोचेको हुँदा त्यसपछिको ‘अलपत्र पुस्ता’ (२०२५ को दशक आसपास जन्मेका) दोस्रो तहको नेतृत्वमै घिसिपिटी गर्दै छ, समाजका सबै तप्काहरूमा। त्यसपछिको ‘देश धान्ने पुस्ता’ (२०३५/४० देखि २०५०/५५ आसपास जन्मेका) ले विदेशमा पसिना बगाएर पठाएको पैसाले देशको अर्थतन्त्रमा भरथेग गरेको छ।
भोगी पुस्ताले देश बस्नलायक नछोडेको हुँदा यो पुस्ता हुल बाँधेर दिनदिनै विदेश निस्कँदो छ। न महिलाका निम्ति पेशागत र शैक्षिक प्रगति गर्ने सहयोगी पारिवारिक वातावरण छ, न पुरुषका निम्ति आफ्नो सपना पूरा गर्ने चाहिने कुण्ठामुक्त परिवेश। देशभित्रै पनि यही पुस्ता अहिले काम गर्ने र कमाउने उमेरमा प्रवेश गरेको छ। तर, करमाथि कर तिर्दा पनि देशको अर्थव्यवस्था सङ्कटोन्मुख किन छ भनेर उसलाई कसैले बुझाएको छैन।
यस्तो सामाजिक संरचनाले उत्पादन गर्ने सामाजिक सञ्जाल कस्तो होला? भोगी पुस्ताका पनि सबैभन्दा शिक्षित र सचेत तप्काका प्रतिनिधि पात्र मान्न सकिने पूर्व सचिवहरूले एमसीसीबारे दिएको झूटो भाषण नै यसलाई बुझ्न पर्याप्त छैन र?
सामाजिक सञ्जालमा विभाजन कसरी कम गर्ने, तिनमा प्रवाह हुने भ्रामक सामग्रीको प्रभाव कसरी घटाउने र तिनको सकारात्मक पाटोलाई कसरी बढाउने भन्ने विषयमा मैले केही समय प्राज्ञिक शोध गरेको थिएँ। त्यहाँ मैले नयाँ गणितीय सूत्र बनाएर, त्यस मार्फत सामाजिक सञ्जालमा विभाजन कम गराउन सकिने निष्कर्ष पनि प्रस्तुत गरेको छु। सोही शोधका आधारमा हालै यूरोपमा एउटा प्रयोगात्मक अध्ययन पनि हाम्रो टोलीले सम्पन्न गरेको छ।
त्यसबाट के देखिएको छ भने मोटो सामाजिक सञ्जाल मात्रै होइन, पातलो सामाजिक सञ्जालमा सक्रिय हुनेहरूको सूचनाको स्रोत पनि विविध र स्वस्थ हुन्छ। सामाजिक सञ्जालको भ्रामक र हानिकारक पाटोबाट बचेर यसका राम्रा पक्षको फाइदा लिन हामीले आफ्ना दैनिक र इन्टरनेट जीवन दुवैमा विविधता खोज्नुपर्छ। मोटो सामाजिक सञ्जालमा मात्रै खुम्चिने होइन, पातलो सञ्जालसँग पनि अद्यावधिक भइराख्नुपर्छ।
(पौडेल अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक हुन्। हिमालको २०७९ वैशाख अङ्कबाट।)