बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि दिनहुँ किन भेला हुन्छन् युवाहरू?
प्रतिष्ठानको आकस्मिक कक्षमा पुग्दा बिरामीलाई भुइँमा राखेर उपचार भइरहेको देखे। अप्रेशनका लागि महीनौं पालो पर्खिरहेका बिरामी भेटे। सिटी स्क्यान र ल्याबमा हुने जाँचका लागि अनावश्यक ढिलाइ हुने गरेको अनि जतासुकै बिरामीको लामो लाइन देखे।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेट अगाडि सडकमा केही समययता हरेक दिउँसो युवाहरू भेला हुन्छन्। ‘घोपा बचाउ अभियान’ लेखिएको ब्यानर छेउमा बसेर उनीहरू प्रतिष्ठान सुधार्न आह्वान गरिरहेका हुन्छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवासीहरूका लागि ‘घोपा क्याम्प’ नामले बढी परिचित छ। पहिलेको घोपा गाउँ पञ्चायत र बाँझगरा गाउँ पञ्चायत मिलेर धरान बनेको थियो। घोपा क्षेत्रमा ब्रिटिश लाहुरे भर्ती केन्द्र खुलेपछि त्यसलाई ‘घोपा क्याम्प’ भन्न थालियो। भर्ती केन्द्र पोखरा सरेपछि २०५० सालमा त्यो ठाउँमा प्रतिष्ठान स्थापना भयो। तर, स्थानीयवासीको मुखबाट घोपा क्याम्प हट्न सकेन।
भारतको प्रसिद्ध स्वास्थ्य संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्था (एम्स) को मोडलमा स्थापना गरिएको यो प्रतिष्ठान पछिल्लो समय समस्याग्रस्त छ। विभिन्न छानबिन आयोगका प्रतिवेदनहरूले प्रतिष्ठानमा खरीद, निर्माण लगायतमा भ्रष्टाचार भएको उल्लेख गरेका छन्। नेपाल सरकारले सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको छानबिन समितिले पदाधिकारीहरूलाई कारबाहीको सिफारिस गरेको थियो, तर कारबाही गर्न सकेको छैन।
२० चैतमा प्रतिष्ठानका सह–कुलपति समेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सिनेट बैठक डाके पनि प्रतिष्ठानका पदाधिकारीहरूले अदालतबाट अल्पकालीन अन्तरिम आदेश पाएपछि बैठक बस्न सकेन।
यही अस्तव्यस्त वातावरणबीच १० दिनदेखि काठमाडौंको ‘हामी नेपाल’ समूहले प्रतिष्ठान बाहिर ‘घोपा बचाउ अभियान’ सञ्चालन गरिरहेको छ। अभियानमा विशेष गरी धरानका युवापुस्ताले साथ दिइरहेका छन्। उनीहरू हरेक दिउँसो ४ बजे डेन्टल गेट बाहिर जम्मा भएर प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार्न माग गर्छन्। अभियानको संयोजन गरिरहेका सुदन गुरुङ भन्छन्, “पहिला आफ्नै कामले धरान आउँदा यो अस्पतालमा बिरामीको बिजोग देखें, अध्ययन गर्दै जाँदा यहाँका हरेक क्षेत्र अस्तव्यस्त रहेछन्। साथीहरूसँग छलफल गरेर १९ दिनको तयारीपछि अभियान लिएर यहाँ आएका हौं।”
‘हामी नेपाल’ का सदस्यहरू प्रतिष्ठानको आकस्मिक कक्षमा पुग्दा बिरामीलाई भुइँमा राखेर उपचार भइरहेको देखे। अप्रेशनका लागि महीनौं पालो पर्खिरहेका बिरामी भेटे। सिटी स्क्यान र ल्याबमा हुने जाँचका लागि अनावश्यक ढिलाइ हुने गरेको अनि जतासुकै बिरामीको लामो लाइन देखे। त्यसपछि उनीहरू यो अवस्था सुधारको आग्रह गर्दै प्रतिष्ठान प्रशासनदेखि मन्त्रालयसम्म पुगे। संयोजक गुरुङ भन्छन्, “हामी प्रतिष्ठानभित्र समस्या भएका ठाउँमा स्वयंसेवकका रूपमा पनि खट्ने गरेका छौं। अनि प्रतिष्ठानभित्र डिस्टर्ब नहोस् भनेर गेट बाहिर शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं।”
प्रतिष्ठानका समस्याहरू समाधान गर्न सम्बोधन गर्नुपर्ने, प्रतिष्ठानमा लामो समयदेखि भइरहेको बेथितिबारे उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषी कर्मचारी तथा पदाधिकारीमाथि कारबाही गर्नुपर्ने, वैकुण्ठ अर्यालको नेतृत्वमा तयार गरिएको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन तुरुन्त लागू गर्नुपर्ने, खरीद तथा टेन्डर प्रक्रिया पारदर्शी बनाउन सम्पूर्ण विवरण वेबसाइटमा राख्नुपर्ने, समस्या समाधान गर्न नसके जिम्मेवारीमा रहेका पदाधिकारीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अभियानकर्मीका माग छन्।
विशुद्ध रूपमा प्रतिष्ठान सुधारका लागि धरानवासीलाई जगाउन खोजेको तर उल्टै आफूहरूमाथि ‘कताबाट परिचालित हो?’ भने शङ्का गरिएको अभियानकर्मीको गुनासो छ। उनीहरूले सोमबार धरानमा पत्रकार सम्मेलन गरेर अभियानको प्रतिष्ठान सुधार बाहेक कुनै राजनीतिक वा अन्य उद्देश्य नरहेको बताए। संयोजक गुरुङले भने, “अस्पताल सुधार्न सहयोग गर्नुको साटो उल्टै अभियान रोक्न राजनीतिक दलका नेताहरूले दबाब दिन थालेका छन् ।”
आन्दोलनका क्रममा उनीहरूले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको मोबाइल नम्बर सार्वजनिक गरेर ‘घोपा बचाउ’ लेखेर एसएमएस गरी दबाब सिर्जना गर्न आह्वान गरेका थिए। उनीहरूको आह्वान अनुसार आन्दोलनमा सहभागी युवा पुस्ताले एसएमएस पनि गरे। तर, उपकुलपति गिरीले आफूलाई म्यासेज मार्फत धम्की समेत आएको भनी प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियानकर्मीलाई बोलाएर सोधपुछ गरेको छ। उपकुलपति सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनको मोबाइल नम्बर भने सांकेतिक रूपमा दबाब दिनका लागि सार्वजनिक गरेको तर कसैलाई हानि हुने काम नगरेको संयोजक गुरुङको भनाई छ। उनी भन्छन्, “राजनीतिक दलका नेताहरूले प्रहरीलाई आन्दोलन रोक्न दबाब दिएका रहेछन्।”
१९ चैतबाट शुरू अभियानमा धरानका युवा पुस्ताको उपस्थिति बढिरहेको छ, तर राजनीतिक दलहरूले भने यस विषयमा अहिलेसम्म चासो देखाएका छैनन्। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने सोमबार आन्दोलनस्थलमा पुगेर सुधार अभियानप्रति आफ्नो समर्थन रहेको बताए।
हामी नेपाल समूहले धरानसँगै काठमाडौंमा पनि ‘घोपा बचाउ अभियान’ सञ्चालन गरिरहेको छ भने पोखरामा पनि चाँडै शुरू गर्ने संयोजक गुरुङले बताए। शान्तिपूर्ण अभियानबाट समस्या समाधान नभए स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय घेर्ने, त्यसपछि पनि समस्या समाधान नभए सामूहिक अनशनमा बस्ने उनीहरूको योजना छ। “हाम्रा मागहरू राजनीतिक रूपमा आएका होइनन्, हामी कसैको झण्डा बोक्दैनौं,” संयोजक गुरुङ भन्छन्, “यस्तो भव्य अस्पताल अस्तव्यस्त हुँदा हामी चूप लागेर नबसौं भनेर धरानवासीलाई पनि जगाउन खोजेका हौं। यदि धरानवासीले यो आवश्यक छैन भन्छन् भने हामी फर्किन्छौं।”