आधुनिक शिक्षा प्रणालीमा प्रवेश गरेको एक सय वर्ष पुगिसक्दा पनि मुलुकको शिक्षाको गन्तव्य कस्तो हुने भन्ने तय गर्न सकिएको छैन।
शिक्षालाई राजनीतिज्ञ तथा शिक्षाविद्ले विकासको पूर्वाधारको पनि पूर्वाधार भन्दै आएका छन्। तर, अन्तर्यमा नपसी दिइने अभिव्यक्तिले सार्थक सन्देश दिँदैन। विषयको अन्तरवोधपछि मात्र शिक्षा किन ‘विकासको पूर्वधारको पनि पूर्वाधार हो’ भन्ने अर्थवत्ता सिद्ध गर्न सकिन्छ। र, कसरी पूर्वाधारको पनि पूर्वाधार विकास गर्ने भन्ने वोध हुन्छ।
त्यसो नहुँदा शिक्षा संरचना विस्तार र अक्षरको भारी मात्र बनेको छ। जसले गर्दा समाजको विवेकशील पुनर्निर्माणका लागि चाहिने नागरिक ज्ञान, सीप, क्षमता र चरित्र निर्माण गर्न सकिएको छैन।
मानसिक चेतनाको क्षितिज उघारिदिने भएकाले आधुनिक समाजमा शिक्षालाई धेरै नै महत्त्व दिइएको छ। पश्चात्य चिन्तक सुकरात, प्लेटो र आरस्तु एवं पूर्वीय चिन्तक चाणक्य, विदुर सबैले शिक्षालाई वैयक्तिक क्षमता र विकासको आधार मानेका छन्।
त्यस्तै, चिन्तक युभल नोह हरारी अनिश्चय र तीव्र परिवर्तनशील विश्वमा शिक्षा चार प्रकारका क्षमता निर्माणमा केन्द्रित हुनुपर्ने मत राख्छन्। पहिलो समीक्षात्मक सक्षमता, दोस्रो सञ्चार क्षमता, तेस्रो सहकार्य सीप र चौथो सिर्जनशीलता। यी सार्थक जीवनका आधार पनि हुन्। त्यसैले, विषयवस्तु वा अवसरप्रति सही दृष्टकोण राख्ने, आफ्ना मत÷अभिमत स्पष्ट सञ्चार र संवाद गर्ने, समस्याको निकास गरी सहज परिस्थिति निर्माण गर्ने र वैयक्तिक सीपमार्फत नवप्रवत्र्तन गर्नसक्ने सक्षमता शिक्षा हो।
यो उर्जा, सीप, स्वाभिमान र भविष्यपर्यन्तको आशाको सामथ्र्य पनि हो। त्यसैले शिक्षा अक्षर तथा संरचना होइन। ज्ञान त दिन्छ नै सीप, सम्बन्ध र सिर्जना दिन सकेन भने त्यो शिक्षा बेकार हुन्छ। किनकि, ज्ञान, सीप, सम्बन्ध र सिर्जना नभएको जीवन बेकार छ।
शिक्षाबाट प्राप्त क्षमताले जीवनका आवश्यकता पूरा गर्न, प्रतिस्पर्धात्मक बजारमा बिक्न र सिर्जनाबाटै भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मवोध दिन सकेको छैन।
शिक्षाको स्तरले मुलुकको सम्वृद्धिलाई द्योतन गर्छ। समाजको चाहनाले शिक्षाको उद्देश्यलाई प्रभाव पार्छ भने शिक्षाले समाज रुपान्तरणको गति निर्धारण गर्छ। त्यसैले शिक्षा सामाजिक आवश्यकता, राष्ट्रिय माग र अन्तर्राष्ट्रिय परिवेश अनुरुप हुनुपर्छ।
सीपयुक्त, सिर्जनशील र प्रतिस्पर्धात्मक नागरिक निर्माण नै राष्ट्रको चाहना हुन्छ। शिक्षा नीति कति सफल भयो भनेर हेर्ने मापो पनि यही हो। यसरी हेर्दा नेपालमा शिक्षा प्रणालीले व्यक्ति, समाज र राष्ट्रको आवश्यकता पूरा गर्न सकेको देखिँदैन। त्यस्तै, शिक्षाबाट प्राप्त क्षमताले जीवनका आवश्यकता पूरा गर्न, प्रतिस्पर्धात्मक बजारमा बिक्न र सिर्जनाबाटै भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मवोध दिन सकेको छैन।
आधुनिक शिक्षाका सय वर्ष
नेपालमा शिक्षा विकासको इतिहास त्यति लामो छैन। करीब १६८ वर्षअघि राणा शासकका सन्तानलाई शिक्षा दिने उद्देश्यले स्थापना गरिएको शैक्षिक अनुष्ठान नै पहिलो प्रयास थियो। त्रिचन्द्र कलेजको स्थापनालाई आधुनिक शिक्षाको प्रयास मान्दा नेपालको शैक्षिक इतिहासले एक शताव्दी नाघेको छ।
२०१४ सालमा त्रिभुवन विश्वविद्यालय स्थापनासँगै नेपाल विश्वविद्यालय शिक्षाको युगमा प्रवेश गर्यो। अहिले करीब ३५ हजार जति प्रारम्भिक बाल विकास केन्द्रलाई गणना नगर्दा पनि ३६ हजार विद्यालय, ११ विश्वविद्यालय अन्तर्गत एक हजार ४३२ कलेज, ६ स्वास्थ विज्ञान प्रतिष्ठान, एक हजार १३१ प्रविधिक तथा व्यावसयिक शिक्षालय छन्। यस अर्थमा शिक्षाले विस्तारको चरण पार गरेको छ।
शताब्दीभन्दा लामो समय आफैमा ठूलो लगानी हो। यति ठूलो संरचना सञ्जाल शैक्षिक नेपालको आवश्यकता पूरा गर्न पर्याप्त छन्, अझ बढी छन्। अब प्रश्न गुणस्तरको मात्र छ।
शैक्षिक गुणस्तर त्यत्तिकै प्राप्त हुँदैन। पहिलो त शिक्षाको गन्तव्यमा स्पष्टता चाहिन्छ। त्यसका लागि विशिष्टीकृत लक्ष्यको घोषणा गर्नुपर्छ। गन्तव्य र रणनीति स्पष्ट भएपछि मात्र लक्ष्य प्राप्ति गर्न सकिन्छ।
शिक्षाको गन्तव्य निर्धारण गर्दा पहिलो नागरिक सिर्जनशीलता, दोस्रो राष्ट्रिय रणनीतिक प्राथमिकतासँग आवद्धीकरण र तेस्रो अन्तर्राष्ट्रिय परिवेशलाई केन्द्रबिन्दुमा राख्नुपर्छ। नागरिक जीवनका लागि चाहिने ज्ञान, सीप र स्वभाव निर्माण शिक्षाको बैयक्तिक पक्ष हो। राष्ट्रिय लक्ष्यमा नागरिक सीप सामथ्र्यले पृष्ठाधार दिनुपर्छ, राज्यइच्छाको मूर्तिकरणबाट शिक्षा अलग रह्यो भने त्यसले समाज र राष्ट्रलाई खोक्रो पार्छ, सकारात्मकता दिदैन। राष्ट्र निर्माण गर्न सकिए मात्र नागरिक विकास हुन्छ।
अन्तर्राष्ट्रिय परिवेशको गतिशीलतासँग शिक्षा अनुकूलित भएन भने नागरिक सर्जक होइन, उपभोक्ता बन्छन््, चुनौती सामना गर्न सक्दैनन्। यसर्थ व्यक्ति, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशसँग शिक्षा नीति आवद्ध हुनुपर्छ।
कस्तो शिक्षा नीति?
नेपालले लामो समयसम्म शिक्षा नीति नै पाएन। नयाँ शिक्षाका नाममा राजाले जारी गरेका नीतिभन्दा पनि कार्यक्रम थिए। राष्ट्रिय परिवेशसँग सापेक्ष गर्न खोजिएको थियो, तर वैयक्तिक उद्देश्य र बाह्य परिवेशसँग भने निरपेक्ष थियो। समाजले अन्तरवोध गरेको थिएन।
आधारभूत शिक्षाले दैनन्दिनी आवश्यकता पूरा गर्न सामान्य चेतना, माध्यमिक शिक्षाले जीवन सीपको विकास र उच्च शिक्षाले प्रतिस्पर्धात्मक सामर्थ्य निर्माण गर्ने उद्देश्य राख्नुपर्छ।
अहिले मुलुकले शिक्षा नीति त पायो, तर पूर्तिपक्षीय दृष्टिको हाबी भयो। वैयक्तिक प्राज्ञ र अन्तर्राष्ट्रिय परिवेशलाई सम्बोधन गरिएन। व्यक्ति, समाज र राष्ट्रको मूल्यभन्दा तर्जुमाकारको आग्रह अभिव्यक्त भयो।
अहिले ‘शिक्षा, श्रम र समृद्धि’को चक्रीय आवद्धतामा नीति केन्द्रित छ। यो संरचनागत पक्षसँग नजिकिएको छ। नीतिगत मूल्य राष्ट्रिय मूल्यबाट विस्तार भएर वौश्विक बन्दै छन् र खुम्चिएर व्यक्तिकरण पनि हुँदै छन्।
आधुनिक सिंगापुरका निर्माता ली क्वान यूले मानव साधन विकासमा उपयुक्त नीति ल्याएर नै आर्थिक-सामाजिक रुपान्तरणको जग हालेका थिए। उनको रणनीति थियो ‘टिच लेस, लर्न मोर (थोरै पढाऊ, धेरै सिक)’। व्यक्ति र शिक्षाको अन्तरसम्बन्ध कायम भएपछि त्यो सम्भव हुन्छ। शैक्षिक अनुष्ठानमा जति पढाइन्छ, त्यसलाई व्यावहारमा उतार्ने सामथ्र्य दीक्षितमा हुन्छ। शिक्षा बोझिलो हुँदैन। शिक्षाले बोझ दिए भने त्यो बेकार छ, समय र स्रोतको बर्बादी मात्र हो।
पढाउने नाममा अक्षरहरूको भारी, सिद्धान्तको बोझ र सुत्रहरूले व्यक्तिमा अन्तरनिहित क्षमता प्रस्फुटनमा सहयोग पुर्याउँदैन, बरू बिर्को लगाउँछ। जटिल समस्याका सरल समाधान खोज्ने सामथ्र्य निर्माण गनुपर्ने बाटोबाट शिक्षा रगमगिन्छ। भारिलो नभै सरल शिक्षा विधिले नै यो जटिल कुराको सरल समाधान सम्भव गराउँछ।
चाणक्यले भने झैं ज्ञान शक्ति र आत्मशुद्धीको आधार हो। ली क्वानले यिनै सरल कुरा बुझे। राजा वीरेन्द्रले यसलाई आंशिक रुपमा मात्र बुझे, त्यसपछि यान्त्रिक रुपबाट बुझेर अनुकरण मात्र गरियो। परिणामतः उच्च शिक्षाबाट दीक्षित व्यक्ति पनि आफूले प्राप्त गरेको शिक्षाको भारीमा थिचिएको छ। न व्यक्तिमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुन सक्यो, न त सामाजिक-राष्ट्रिय आवश्यकता नै पूरा हुनसक्यो।
शिक्षाका मूल्य मान्यतासँग तादाम्यता मिलाएर शिक्षा नीतिको पुनसंरचना गरिनु पर्छ। जसबाट आधारभूत शिक्षाले दैनन्दिनी आवश्यकता पूरा गर्न सामान्य चेतना, माध्यमिक शिक्षाले जीवन सीपको विकास र उच्च शिक्षाले प्रतिस्पर्धात्मक सामर्थ्य निर्माण गर्ने उद्देश्य राख्नुपर्छ।
यो उद्देश्य पूरा गर्न सार्थक कदम पनि चाल्नुपर्छ। यसका लागि पाठ्यक्रम, पाठ्य विधि, शिक्षक तयारी र शिक्षण वातावरण महत्वपूर्ण हुन्छ। त्यसमा पनि शिक्षक तयारी सबैभन्दा महत्वपूर्ण छ। कस्ता व्यक्तिलाई शिक्षक बनाउने, कसरी सिकाइ परिवेश निर्माण गर्ने र त्यसका लागि प्रेरणा छ कि छैन भन्ने कुराले अर्थ राख्छ।
यहाँनिर बुझ्नु पर्ने कुरा के हो भने शिक्षक भनेको प्रतिभा विकासको सहजकर्ता हो। व्यावसायिक सदाचारिता शिक्षकको पहिलो आचरण हो। शिक्षाका नीतिशिल्पी, अभ्यासकर्ता र राजनीतिज्ञ सबैले यो कुरा कहिले बुझ्लान्?