नवीन्द्रराज जाेशी जसले नेपालमा विद्युतीय गाडी भित्र्याए
३० वर्षअघि विद्युतीय गाडी त बजारमै आएका थिएनन्। यस्तो अवस्थामा भर्खरै काठमाडौं नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका स्वर्गीय नवीन्द्रराज जोशी विक्रम टेम्पो विस्थापन गरी स्वच्छ परिवहनको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेल्न पुगे।
काठमाडौंमा वायु प्रदूषण निकै उच्च छ। संसारकै सबैभन्दा बढी प्रदूषित शहरहरूको सूचीमा काठमाडौंको नाम पनि बारम्बार पर्ने गर्छ। ३० वर्षअघि काठमाडौं महानगरपालिकामा पहिलो पल्ट मेयर र जनप्रतिनिधिहरू निर्वाचित भएर आउँदा पनि उपत्यकामा वायु प्रदूषणको समस्या थियो।
त्यति वेला वायु प्रदूषणको एउटा मुख्य कारण यहाँ गुड्ने विक्रम टेम्पोहरू थिए, जुन डिजलले चल्थे र कालो धूवाँको मुस्लो फाल्दै शहरका मुख्य सडकहरूमा कुद्थे। प्रदूषण बढी गरे पनि सस्तो भएकाले यी टेम्पो सार्वजनिक यातायातका रूपमा स्थापित थिए। तिनलाई विस्थापन गर्ने वा तिनको विकल्प खोज्न सहज थिएन।
३० वर्षअघि विद्युतीय गाडी त बजारमै आएका थिएनन्। यस्तो अवस्थामा भर्खरै काठमाडौं नगरपालिकाको उपमेयर पदमा निर्वाचित स्वर्गीय नवीन्द्रराज जोशी विक्रम टेम्पो विस्थापन गरी स्वच्छ परिवहनको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेल्न पुगे।
सन् १९९३ अर्थात् २०५० सालमा काठमाडौं नगरपालिकाका तत्कालीन उपमेयर नवीन्द्रराज जोशी अमेरिकास्थित काठमाडौंको भगिनी शहर (सिस्टर सिटी) युजिन, ओरिगन जाँदा त्यहाँ उनले दुई जना अमेरिकीहरू- पिटर मोल्टन र मेरिलिन कोहेन- भेटेका थिए; जो विद्युतीय गाडीमा काम गरिरहेका थिए।
पिटर त्यति वेला काठमाडौं-युजिन शहर समितिका अध्यक्ष पनि थिए। पिटर र मेरिलिनले काठमाडौंमा भएका डिजेलबाट चल्ने विक्रम टेम्पोलाई विद्युतीय टेम्पोमा परिणत गर्न सकिन्छ भनेपछि उपमेयर जोशीले उनीहरूलाई नेपाल निम्त्याए।
नेपालमा सफा टेम्पोको विकास सम्बन्धमा विश्वप्रख्यात म्यासाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) का निम्ति सुशीला महर्जनले एक अध्ययन गरेकी छन्। त्यो अध्ययनका सन्दर्भमा उनले पिटरसँग लिएको अन्तर्वार्तामा पिटर मोल्टनले यसरी सम्झेका छन्ः ‘नवीन्द्रराज जोशीले यदि यो काम (विक्रम टेम्पोलाई विद्युतीय टेम्पो बनाउन) सम्भव छ भने यसको अध्ययन मात्र गर्ने होइन, एउटा समूह बनाएर कामै गरेर देखाऊ भने।’ उनको त्यही एउटा बोलीले मलाई काठमाडौंका विक्रम टेम्पोलाई सफा टेम्पोमा परिणत गर्न प्रेरित गर्यो।
पिटर र मेरिलिन त्यही वर्ष नेपाल आए। ग्लोबल रिसोर्सेज इन्स्टिच्यूट नामक संस्था खोलेर त्यस मार्फत एउटा विक्रम टेम्पोलाई विद्युतीय टेम्पोमा परिणत गरे र त्यसको नाम ‘सफा टेम्पो’ राखे। त्यसपछि अमेरिकी सहयोग नियोगको केही सहायतामा थप सात वटा टेम्पोलाई विद्युतीय टेम्पोमा परिणत गरियो।
सन् १९९५ मा सात वटा टेम्पोको सफल परीक्षण सम्पन्न भएपछि ती टेम्पो नेपाल इलेक्ट्रिक भेहिकल कम्पनी (नेभी) नामक नेपाली कम्पनीलाई बिक्री गरियो। ‘नेभी’ ले तिनलाई पाटन-मंगलबजारदेखि बालुवाटारको रुटमा सञ्चालन गर्न र थप सफा टेम्पो पनि बनाउन थाल्यो।
सन् २००० तिर सरकारले विक्रम टेम्पोलाई काठमाडौंमा गुड्न प्रतिबन्ध लगाएपछि यहाँ सफा टेम्पोको सङ्ख्या ह्वात्तै बढेको थियो। काठमाडौंमा अहिले पनि करीब ७०० सफा टेम्पो गुडिरहेका छन्, जसले लाखौंलाई सार्वजनिक यातायातको सेवा दिएका छन्, वायु प्रदूषण र पेट्रोलियम पदार्थको आयात घटाउन यिनको महत्त्वपूर्ण योगदान रहिआएको छ र काठमाडौंले विश्वसामु नै सफा विद्युतीय परिवहनको एउटा सानै भए पनि नमूना पेश गर्न सकेको छ।
काठमाडौं महानगरपालिका र युजिन शहरबीच भगिनी सम्बन्ध त सन् १९७५ मै स्थापना भएको थियो। तर, यो सम्बन्धको फाइदा सन् १९९३ मा आएर नवीन्द्रराज जोशीले नेपाल र काठमाडौंबासीलाई दिलाए।
यसरी नेपालमा विद्युतीय गाडी उद्योगको जग बसाल्ने श्रेय नवीन्द्रराज जोशीलाई जान्छ। यस क्रममा उनले जनप्रतिनिधिको अग्रसरतामा विज्ञ, विदेशी सहयोगकर्ता र निजी क्षेत्र समेतको सहकार्यमा देश र जनतालाई फाइदा हुने सिर्जनात्मक काम गर्न सकिन्छ भनेर पनि देखाए।
(वातावरणविद् तुलाधर सफा ऊर्जा र सार्वजनिक यातायातको क्षेत्रमा क्रियाशील छन्। यो लेख १३ चैतमा विमोचित ‘नवीन्द्रराज जोशी : व्यक्तित्व र योगदान’ पुस्तकबाट लिइएको हो।)