सिटामोल ब्युँताउने नवीन्द्र दाइ
नवीन्द्र दाइसँग जनसम्पर्क गर्ने कला पनि बेजोड थियो। राजनीति गर्छु भन्नेसँग हुनुपर्ने पहिलो र अपरिहार्य गुण नै त्यही हो।
पञ्चायती शासनले प्रताडित परिवार भएकाले प्रजातन्त्र र प्रजातन्त्रवादीसँग अदृश्य सामीप्य रहे पनि राजनीतिमा मेरो रुचि थिएन। यद्यपि, २०४६ सालको प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा युवा उत्साहका साथ सहभागी भइएको थियो।
एसएलसी पास गरेपछि विज्ञान पढ्न अमृत साइन्स कलेज गएपछि राजनीतिक रूपमा पनि सक्रिय हुन पुगियो। त्रि-चन्द्र क्याम्पसमा बीएस्सी पढ्दा भने विदेशमा छात्रवृत्तिमा अध्ययन गर्न छनोट भइसकेको अवस्था भएकाले फुर्सद थियो। त्यो फुर्सदले राजनीति बुझ्ने अवसर दियो। ती दुवै कलेजमा हुँदा युनियनको राजनीतिमा प्रत्यक्ष-परोक्ष सहभागिता रह्यो।
भारतबाट चार वर्षे इन्जिनियरिङ सकेर नेपाल आउँदा ३० वर्षे पञ्चायतको अवसान भइवरी पहिलो आम चुनावको माहोल थियो। हामी आम चुनावको तीन दिनअघि भारतबाट फर्केका थियौं। चुनावमा सहभागी भइयो। निर्वाचनपछि नयाँ सरकार गठन भयो।
भर्खर इन्जिनियर भएर आएका हामी जस्ता कलिला शास्त्रीहरूका लागि रोजगारीको कुनै द्वार खुलेको थिएन। सरकार गठन भएको झण्डै एक वर्षपछि स्थानीय निकायको चुनाव हुन भयो। त्यसबीचमा एउटा गैरसरकारी संस्थामा केही महीना जागीर खाएर बेरोजगार भइसकेको थिएँ। बेरोजगारका लागि चुनाव पनि रमाइलो उत्सव हुने रहेछ।
टोलको चिया पसलमा राजनीतिक चिया गफ हुन्थ्यो। चिया गफकै सिलसिलामा एक दिन एक मित्रले भने, “आज गणेशमानजीको घरमा चुनावी बैठक छ, जाऔं हिंड्।”
“ह्या, कसले चिन्छ र हामीलाई? के गर्न जानु? जान्नँ म,” भन्दै म टकटकिएँ।
“जाऔं न। के हुँदो रहेछ, हेरेर आऔं। हाम्रो के जान्छ र?” साथीले भने। उनको करबलमा परेर आखिर गणेशमान निवास चाक्सीबारी गइयो।
इतिहासको पाना पढाएर, इतिहासको गाना गाएर मात्र चुनाव जित्न सकिँदैन। चुनाव जित्न जनताको मन जित्नुपर्छ।
ठूलो बैठक कोठामा गणेशमानजी लगायत शीर्ष नेता गण सोफामा र हामी श्रोता तथा कार्यकर्ता गण भुइँमा पलेटी कसेर बसेका थियौं।
काठमाडौं नगरपालिकाका मेयर र डेपुटी मेयरका उम्मेदवारको परिचय कार्यक्रम भयो। पहिलो पटक मैले त्यहाँ नवीन्द्रराज जोशीलाई सशरीर देखें। दुब्लो पातलो धारा प्रवाह बोल्ने नवीन्द्र दाइको नाम त खूब सुनिएकै थियो, तर देखेको भने त्यो पहिलो पटक थियो।
चुनावको रणनीति तय गर्न भएको भेलामा नेताहरूले नेपाली कांग्रेसको प्रजातान्त्रिक लडाइँको इतिहासमा केन्द्रित भएर बोले। मलाई भने चित्त बुझिरहेको थिएन।
इतिहासको पाना पढाएर, इतिहासको गाना गाएर मात्र चुनाव जित्न सकिंदैन। फ्लोर ओपन भएपछि म उठें र ‘केही बोल्न सक्छु’ भनेर अनुमति मागें।
नेता गणले स्वीकृति दिएपछि मैले आफ्नो कुरा एकै सासमा राखें। मेरो भनाइको सार थियो- चुनाव जित्न जनताको मन जित्नुपर्छ, इतिहास हाम्रा लागि ‘प्लस प्वाइन्ट’ हुन सक्छ, तर विरोधीको प्रहारलाई प्रतिप्रहार नगरीकन र हामीले सहरबासीको हितमा यो यो काम गर्छौं भन्ने आडिलो भरोसा नदिईकन चुनाव जित्न सकिंदैन।
मैले ठीक भनें कि बेठीक थाहा भएन, तर मेरो कुरा सकिनासाथ पररर ताली बज्यो। मिटिङ सकियो।
कांग्रेसका नेता-कार्यकर्ताको भेलामा म एक गैरकार्यकर्ता थिएँ। औपचारिक मिटिङपछि अनौपचारिक गफगाफको समयमा मेयरका उम्मेदवार पीएल सिंह र उपप्रमुखका उम्मेदवार आदरणीय नवीन्द्र दाइ मेरो नजिक आउनुभयो। उहाँहरूले मेरो घर-थर-ठेगाना सोध्नुभयो। भनिदिएँ।
मन्त्री भएपछि नेपाल औषधि लिमिटेडमा लागेको ताला खोलेर औषधि उत्पादन पनि थाल्नुभयो। सिटामोल पनि बन्न थाल्यो।
उहाँहरूले भोलिपल्टदेखि हुने चुनाव प्रचारमा आउन आग्रह गर्नुभयो। म अल्छी, गइनँ।
आफ्नै टोलमा भएको चुनाव प्रचारको भेलामा भने जान कर लाग्यो। त्यहाँ दोस्रो पटक नवीन्द्र दाइसँग भेट भयो। उहाँले वडाका स्थानीय कांग्रेस गण र वडा अध्यक्षका उम्मेदवारहरूलाई यसलाई बोल्न लगाऊ भनेर कानेखुसी गर्नुभयो। अनि स्थानीय सभामा पहिलो पटक राजनीतिक भाषण गर्नुपर्ने भयो। गरें।
सो सभापछि पीएल दाइ र नवीन्द्र दाइ दुवैले अन्त नआए पनि भित्री शहरको वडाका घरदैलो र कोणसभामा आइदिनुपर्यो भन्नुभयो। उहाँहरूले त्यसरी आग्रह गरेपछि मलाई नाइँनास्ती गर्न अप्ठेरो पर्यो। अब त अल्छी मान्न पनि लाज लाग्ने अवस्था भयो।
त्यसपछिका सभा र घरदैलो कार्यक्रममा सामेल भएँ। चुनाव भयो, भोट गनियो। नगरपालिकामा बहुसङ्ख्यक वडाध्यक्ष सहित मेयर तथा डेपुटी मेयर दुवै उल्लेख्य मतले विजयी भए। आफूले मिहिनेत गरेको काम सफल भएको सन्तुष्टि पनि थियो। त्यही सन्तोषका साथ घर गएर सुतें। विजयी घोषणा हुनुअघिका दुई रात सुत्न पाएको थिइनँ। राष्ट्रिय सभा गृहमा शपथ-ग्रहण समारोह भयो। त्यहाँ पनि गएँ र कार्यक्रम सकिएपछि घर आएर सुतें।
अनिंदो रातपछिको मध्याह्नमा भात खाएर सुतेको भाते निद्रा गहिरो परेछ। सुतिरहेका वेला चोकबाट कसैले मलाई बोलाए जस्तो लाग्यो। को आयो भनेर झर्को मान्दै झ्यालबाट चिहाएँ। तिनै साथी आएका रहेछन्। उनलाई पर्खाएर मुख धोएर तल झरें।
“तँलाई नवीन्द्र दाइले खोज्नुभएको छ। मलाई खबर पुर्याइदिनु भनेकाले खबर गर्न आएको,” उनले भने।
“म शपथ-ग्रहणमा गएको थिएँ। नगरपालिकमा नगई आएर सुतेको। भोलि जाउँला,” मैले भनें।
“कहाँ भोलि? आजै आउनु भन्नु भाछ। त्यही भएर त बोलाउन आको,” उनले जोड गरे।
कसरी जनसेवा सुलभ हुन सक्छ भन्ने विषयमा दैनिक झण्डै दुई घण्टा छलफल हुन्थ्यो। उहाँलाई सबैभन्दा ठूलो चिन्ता नगरपालिकामा फस्टाएको घूसलाई कसरी निमिट्यान्न पार्ने भन्ने थियो।
“तीन बजिसकेछ, भोलि जान्छु,” म पन्छिन खोजें।
“अहिल्यै लेराउनु भन्नु भाछ। अरू कुरा थाहा छैन। हिंडिहाल्,” उनले अड्डी कसे।
“त्यसो भए लुगा फेरेर आउँछु है” भनी साथीलाई चोकमै कुराएर माथि उक्लें।
उनीसँगै नगरपालिका गएँ। साथी आफ्नो काममा लागे। म डेपुटी मेयरको कार्यकक्षमा।
कार्यकक्षमा बधाई दिनेहरूको लस्कर थियो। दाइलाई नमस्कार गरेपछि एकछिन बस्नू भन्ने इशारा गर्नुभयो। आएका, गएका, चिनेका, नचिनेकाहरूसँग अभिवादन गर्दागर्दै पाँच बज्यो। अफिस बन्द भएको अनुभूत भएपछि भीड शून्य भयो र नवीन्द्र दाइका सहयोगी जसमध्ये धेरैलाई त म चिन्दैनथें, ती र म मात्र बाँकी भयौं।
दाइले अरूसँग पहिल्यै कुरा गरिसक्नुभएको थियो होला, मलाई नै लक्षित गर्दै भन्नुभयो, “आजैदेखि हामीले काम गर्नुपर्छ। पञ्चायतले थुपारेका विसङ्गतिहरूलाई सफा गर्नुपर्छ। मलाई साथ दिनुपर्यो।”
मैले भनें, “म त अनुभवी मान्छे होइन। मैले राजनीतिक क्षेत्रमा काम गरेको पनि छैन। मैले के सहयोग गर्न सकुँला र?”
दाइले भन्नुभयो, “मैले तिम्रो शैक्षिक योग्यता, दक्षता सबै थाहा पाइसकें। तिमी कस्तो मान्छे भन्ने पनि चिनिसकें। मलाई तिम्रो साथ चाहिन्छ, नाइँ नभन्नू।”
“हुन्छ दाइ, मलाई जे काम दिनुहुन्छ, पूर्ण इमानदारी र जिम्मेवारीका साथ गर्नेछु,” मैले आफ्नो प्रतिबद्धता जाहेर गरें।
त्यहाँ एक जना प्रशासक, एक अधिवक्ता, एक शिक्षक र एक प्राध्यापक थिए। म एउटा इन्जिनियर पनि थपिएँ।
त्यही साँझ जनतालाई दुःख नहुने गरी के कसरी काम गर्ने छलफल भयो। रातको १० बजे भोलि बिहान ८ बजे पुनः भेला हुने गरी घर फर्क्यौं।
त्यति वेला के भनिन्थ्यो भने नगरपालिका मालपोत कार्यालयको पनि बाउ हो जहाँ पाइला पाइलामा दस्तुर नचढाई काम हुँदैन।
त्यति वेला के भनिन्थ्यो भने नगरपालिका मालपोत कार्यालयको पनि बाउ हो जहाँ पाइला पाइलामा दस्तुर नचढाई काम हुँदैन। नवीन्द्र दाइको इच्छा र निर्देशन थियो- मैले सही गरेको फाइलमा कुनै अनियमितता नहोस्, कसैको घर सम्पत्तिमाथि घात होस्।
भोलिपल्ट बिहानै हामी भेला भयौं। निर्वाचनअघि नगरपालिकाको दैनिक प्रशासन हाँक्ने काम मन्त्रालयबाट खटिएर आएका अधिकारीबाट हुने गरेको थियो र निर्वाचन अघिदेखि नै नक्शा पास, विकास निर्माण र नीति निर्माणका काम रोकिएका थिए।
झण्डै पाँच हजार नक्शा पास हुने कुराइमा थिए। नक्शा पासको अन्तिम लालमोहर उपप्रमुखले लगाउने जिम्मा परेकाले जनसरोकारका प्राथमिक विषय नक्शा पासलाई पहिलो प्राथमिकतामा राख्यौं। पहिलो दिनको दुई घण्टा सम्बन्धित अधिकारी, इन्जिनियर समेत राखी एउटा नक्शा फाइलको एक-एक अक्षर केलायौं।
नवीन्द्र दाइको इच्छा र निर्देश थियो- मैले सही गरेको फाइलमा कुनै अनियमितता नहोस्, कसैको घर सम्पत्तिमाथि घात नहोस्।
त्यो दिन १० बज्नुअघि नै हामीले ८-१० फाइललाई स्वकृतिका लागि उपप्रमुखको टेबुलमा पुर्याइदियौं।
हामी भने भित्रको एउटा कोठामा बसेर एक-एक फाइल केलाउन थाल्यौं। केही बुझ्नुपरे सम्बन्धित अधिकारीसँग छलफल गर्थ्यौं। केही शङ्कास्पद फाइललाई मुल्तबीमा राख्यौं। एउटा फाइललाई प्रशासनिक, इन्जिनियरिङ र अधिवक्ताको कानूनी दृष्टिकोणले निरीक्षण गर्थ्यौं।
सङ्क्रमणकालको फाइदा उठाउन खोज्नेहरू सक्रिय हुँदा काम गर्दा दायाँ-बायाँ सबै विचार गर्नुपर्थ्यो। हामी फाइलमा जोतिइरहेका हुन्थ्यौं, वेलावेला नवीन दाइ आउनुहुन्थ्यो र चियानास्ताको व्यवस्था गरिदिनुहुन्थ्यो। हामी तलब सुविधाका लागि होइन, जनताका सेवाका लागि खटिएका थियौं।
पहिलो दिन काम गर्दागर्दै रातको नौ बज्यो। काम गर्दै जाँदा पहिलो दिन मात्र होइन, त्यसपछिका कैयौं दिन रातको आठ नबजी घर फर्कन नपाइने भयो। दिनभर फाइलमा घोटिएको घोटियै। खाजा, खानाको व्यवस्था त नवीन्द्र दाइले मिलाइदिनुभएकै थियो। बिहान आठ बजेदेखि साँझको आठ बजेसम्म नगरपालिकामै बास हुन थाल्यो।
यसरी नवीन्द्र दाइसँगको थोरै समयको चिनजानमा सम्बन्ध भने प्रगाढ भइसकेको थियो। दैनिक झण्डै दुई घण्टा के गरे जनसेवा सुलभ हुन सक्छ भन्ने छलफल हुन्थ्यो। उहाँलाई सबैभन्दा ठूलो चिन्ता नगरपालिकामा फस्टाएको घूसलाई कसरी निमिट्यान्न पार्ने भन्ने थियो।
उहाँलाई सहयोग गर्न गएको हामी सहयोगीहरूको टोली अवैतनिक र विना पदका स्वयंसेवी थियौं। हामी पनि नवीन्द्र दाइहरूको नगरपालिकाको नेतृत्व र पुरानो छवि बदल्न सहयोग गर्न समाहित भएका थियौं।
नवीन्द्र दाइ कर्मचारीलाई भन्नुहुन्थ्यो- तपाईंहरूलाई के पुगेन भन्नुस्, सुविधा थप्नु परे थपौंला, तर जनतालाई दुःख दिने काम नगर्नुस्।
म चाहिं मेयर र उपमेयरका सचिवालय र उच्च पदाधिकारी बाहेक अरू कसैलाई चिन्दैनथें। त्यसको फाइदा पनि भयो हामीलाई। कुन शाखामा बढी रकमको चलखेल हुन्छ, कस्ता काममा लेनदेन हुन्छ भन्ने जानकारी बटुल्न हामी आफैं जासूस भएर खटियौं। आफैं सेवाग्राहीका रूपमा कर्मचारीका अघि पुग्दा तिनलाई रङ्गेहात समात्न सकियो।
पक्राउ परेका कर्मचारीलाई डेपुटी मेयरको कार्यकक्षमा पुर्याइदिन्थ्यौं। त्यस्ता लोभीपापी कर्मचारीलाई नवीन्द्र दाइले सम्झाइ-बुझाई गर्नुहुन्थ्यो। तपाईंहरूलाई के पुगेन भन्नुस्, सुविधा थप्नुपरे थपौंला, तर जनतालाई दुःख दिने काम नगर्नुस्। आइन्दा यसरी पैसा लिएको थाहा पाए जागीर जान्छ भनेर नसिहत दिनुहुन्थ्यो।
दुई-चार जनालाई यसरी कारबाही गरेपछि त्यस्ता गतिविधि घट्दै गयो। यद्यपि, बन्दै चाहिं भएको थिएन। हामीले निगरानी गर्दा घूस लिनेदिने स्थान परिवर्तन भएको रहेछ। कार्यकक्षबाट शौचालय र चिया पसलमा सौदा हुन थालेको रहेछ।
त्यता पनि निगरानी बढायौं र धेरै जना कारबाहीमा परे। पछि घूस दिनुपरेको गुनासो कम भयो। नक्शा पासको निस्सा लिन आउनेको भीड कम भइसकेको थिएन। हरेक दिन २ बजेपछि मात्र नक्शा पास प्रमाणपत्र दिइने सूचना जारी गरेका थियौं।
एक दिन त्यो भीडमा पास हुन योग्य भनी सङ्केत गरिएको फाइल नवीन्द्र दाइको सचिवालयमा दर्ता भएछ। दर्ताका कर्मचारीले फाइल खोली हेर्दा फाइलभित्र दुई वटा हात्ती विराजमान रहेछन्। त्यो वेला म नवीन्द्र दाइकै कार्यकक्षमा थिएँ। कर्मचारी साथीले त्यो फाइल भित्र ल्याउँदै ‘दाइ यसमा त दुइटा हात्ती छ’ भने।
नवीन्द्र दाइले यो फाइल ल्याउने मान्छेलाई भित्र पठाइदिनुस् भन्नुभयो। ती हात्तीधनी धनुष्टङ्कार प्रणाम गर्दै भित्र आए। दाइले सो फाइल उनको हो भनी सोध्नुभयो। उनले सो फाइल आफ्नो भएको सहर्ष बताए।
दाइले सोध्नुभयो, “यो दुइटा हजारको नोट नि?”
“त्यो पनि मेरै हो,” उनले भने।
“किन हाल्नु भा? घूस खुवाउन?” दाइले केरकार गर्नुभयो। हात्तीधनी महानुभाव बोल्न सकेनन्।
“कसले भन्यो यहाँ घूस खुवाउनुपर्छ भनेर? हामी जनताले चुनिएर आएका प्रतिनिधि। जनताको सेवा गर्न आएको हामीलाई तपाईंले घुस्याहा सम्झिने?” दाइले आफ्नो कुरा जारी राख्नुभयो।
ती महानुभाव अवाक् भए। कपाल कन्याउन थाले।
“ल भन्नुस् त यहाँ घूस दिनुपर्छ भनेर तपाईंलाई कसले भन्यो?” दाइले नम्र भएर सोध्नुभयो।
“नक्शा पास गराउन दुई-तीन पटक आइसकें। तर, काम भएन। हाकिमले तपाईंले घूस दिनुभएन होला अनि काम भएन, दुई-तीन हजार फाइलभित्र हालेर दिनु न, काम भइहाल्छ नि भन्नुभयो। त्यही भएर दुई हजार हालेर दिएको,” उनले साविती बयान दिए।
ती व्यक्तिलाई नवीन्द्र दाइले सम्झाइ-बुझाई गरेर उसकै अगाडि फाइल र नक्शामा सही गरेर मृदु मुस्कान सहित बिदा गरिदिनुभयो।
सो दृश्यको साक्षी भएपछि लाग्यो, नवीन्द्र दाइसँग जनसम्पर्क गर्ने कला पनि बेजोड छ। राजनीति गर्छु भन्नेसँग हुनुपर्ने पहिलो र अपरिहार्य गुण नै त्यही हो।
यसरी दुई-तीन महीनामा नगरपालिका स्वस्थ गतिमा चल्न थाल्यो। सहयोगी टोलीका सबैजसो व्यक्तिहरू आआफ्नो काममा लागे। तर, मेरो त केही काम नै थिएन। कहाँ जानु?
देश कोरोनाले आक्रान्त थियो। घरमा कुरा हुँदा घरका सदस्यले सुनाउँथे- बजारमा सिटामोल पनि छैन, के गर्ने होला? सोचें- अब त न नवीन्द्र दाइ हुनुहुन्छ न त उहाँले पुनः उत्पादन थालेको सिटामोल नै छ।
सहयोगी साथीहरू आवश्यक परेका वेला आउने गरी बिदा भए। मलाई भने नवीन्द्र दाइले नगरपालिकाकै कर्मचारीका रूपमा काम गर्न आग्रह गर्नुभयो। बेरोजगारका लागि ‘के खोज्छस् कानो आँखो’ जस्तै भयो।
तर, त्यो वेला नगरपालिकामा कुनै दरबन्दी खाली रहेनछ। नयाँ दरबन्दी स्वीकृत भएको थिएन। बल्लतल्ल मन्त्रालयको एउटा परियोजनामा अस्थायी दरबन्दी पाएँ। र, काजमा नगरपालिकामा वैतनिक कर्माचारीका रूपमा इन्जिनियरिङ विभागमा सहायक स्तरमा काम गर्न थालें।
केही समयपछि निर्माण शाखाको तत्कालीन प्रमुखमाथि अनियमितताको आरोप लाग्यो। अनि मैले नै निर्माण शाखाको पनि जिम्मेवारी लिनुपर्ने भयो। जिम्मेवारी दिने नवीन्द्र दाइ नै हुनुहुन्थ्यो। उहाँले त्यो वेला मलाई भन्नुभएको मैले कहिल्यै भुल्नेछैन। दाइले भन्नुभएको थियो, “मलाई विश्वास छ, तिमीले हाम्रो विश्वासमाथि घात गर्नेछैनौं। तिमीलाई चाहिने राजनीतिक सहयोग म गर्छु। नडराई इमानदारीपूर्वक काम गर्नू। त्यहाँको विकृति विसङ्गति हटाउनू। मेरो साथ रहनेछ।”
यति ढाडस पाएपछि पहिले कहिल्यै कुनै जिम्मेवारी नबोकेको म २६ वर्षीय ठिटो हौसिएँ नै। निर्माण शाखाको कार्यभार सम्हाल्दा त्यहाँ कुनै औपचारिक प्रणालीको थिति नै रहेनछ। लागत अनुमानमा रामप्रसादको घरदेखि श्यामप्रसादको घरसम्म ढल बनाएको रु.३० हजार भन्ने उल्लेख हुने रहेछ।
कति मिटर ढल, कुन साइजको, कुन गुणस्तरको पाइप, कति गहिरो खाडल केहीको पनि लागत अनुमान नहुने रहेछ। लागत अनुमान स्वीकृत भएपछि टेन्डर गर्नुपर्ने। ती सबै थिति बसाल्नु मेरो पहिलो काम भयो। ठेक्कापट्टामा हुने अघोषित लेनेदेनलाई खारेज गरिदिएँ । आफ्नै आँखाले कुनै काम नदेखी नजाँची भुक्तानीका लागि सिफारिश गरिनँ।
मेरा काम-कारबाहीप्रति दाइले सधैं धाप मार्नुभयो। हामीले खोजेको मान्छे र व्यवस्था यही हो भनेर हौस्याउनुहुन्थ्यो। राजनीतिक पूर्वाग्रह सहित अख्तियारमा उजुरी दिने, विशेष प्रहरीमा नालिस दिने थुप्रै काम भए।
दाइ भन्नुहुन्थ्यो, “तिमीले गल्ती गरेका छैनाै भने डराउनु पर्दैन, म सधैं साथ हुन्छु।” आफूले गल्ती र बदमासी नगरेकाले ती सबै मुद्दाको सामना गरियो र आरोपमुक्त पनि भइयो।
आफ्नो वर्कतले भ्याएसम्म काम गरें। नेतृत्व वर्गलाई अवगाल आउने कुनै कर्म गरिनँ। नगरपालिकामा अनेक उतारचढाव आए गए। काम गर्दै गएँ। धेरै नयाँ कर्मचारीहरू आए। संस्था ठूलो हुँदै गयो र अनियमिततामा रमाउनेहरू जुर्मुराउन थाले। तथापि हार मानिनँ।
सधैं अस्थायी जागीरे जिन्दगी चल्दैन। धेरैले स्थायीका लागि प्रक्रियामा जान आग्रह गरे। राजनीतिक खिचातानी र मध्यावधि निर्वाचनपछि फेरिएको सत्ता समीकरणले त्यो प्रक्रियामा बाधा पर्यो। मलाई लाग्यो- यसरी सधैं अस्थायी जागीरमा बसिरहनु हुन्न। लोक सेवा दिनुपर्छ।
लोक सेवा दिएँ। पास पनि भएँ। पास भएपछि दाइकहाँ गएँ र म सरकारी जागीरमा जाऊँ कि यही बसूँ भनी सोधें। दाइले भन्नुहुन्छ भने यहीं बस्छु भनें।
दाइले यथार्थ कुरा राख्नुभयो, “तिमी मलाई चाहिन्छ, तर म तिम्रो भविष्य बिगार्न चाहन्नँ। यो पोलिटिकल अखडा हो। यहीं स्थायी भए पनि भोलि नेतृत्वमा को आउँछ भन्न सकिन्न। सरकारी सेवामै जाऊ।”
त्यसपछि नगरपालिकाको जागीर राजीनामा दिएर श्री ५ को सरकारको सेवामा प्रवेश गरें। सरकारी सेवामा रहे पनि म वेलामौकामा नगरपालिका जान्थें। दाइले सधैं आफ्नै भाइ सरह सम्झिनुहुन्थ्यो। आवश्यक परेको वेला प्राविधिक सहयोग पनि गरिरहन्थें।
समयको गतिसँगै म उच्च अध्ययनका लागि अमेरिका पुगें। कालान्तरमा देशमा ठूला परिवर्तन भए। प्रजातन्त्रले नपुगेर लोकतन्त्र र त्यसलाई पनि पछि पार्दै गणतन्त्र आयो। संसदीय चुनाव भयो। दाइले जित्नुभयो। खुशी लाग्यो।
मन्त्री हुनुभयो। मन्त्री भएपछि नेपाल औषधि लिमिटेडमा लागेको ताला खोलेर औषधि उत्पादन पनि थाल्नुभयो। सिटामोल पनि बन्न थाल्यो। त्यही वेला घर आएको मौकामा दाइको निवासमा पुगें।
लामो समयको अन्तरालमा आउँदा मलाई त्यहाँ कसैले चिन्ने कुरा भएन। आफ्नो पालो आएपछि दाइको कोठामा पुगें। जीवन जगत्का कुरा भए। अन्त्यमा दाइले केही सहयोग चाहिन्छ भने भन म सहयोग गर्छु भन्नुभयो।
मैले दाइको आशीर्वाद लिन मात्र आएको मेरो कुनै काम छैन भनें। आशीर्वाद थापेर अमेरिका फर्कें।
फेरि चुनाव भयो। उहाँ थोरै मतले हार्नुभयो। दुःख लाग्यो। केही समयपछि दाइको स्वास्थ्यस्थिति बिग्रेको कुरा सुनें। स्वास्थलाभको कामना गरिरहें। तर, उहाँको अवस्था झन् झन् खराब हुँदै गएको खबर पाएँ। असल मान्छेलाई भगवान्ले पनि माया गर्ने रहेछ। दाइलाई भगवान्ले लगे।
देश कोरोनाले आक्रान्त थियो। घरमा कुरा हुँदा घरका सदस्यले सुनाउँथे- बजारमा सिटामोल पनि छैन, के गर्ने होला?
सोचें- अब त न नवीन्द्र दाइ हुनुहुन्छ न त उहाँले पुनः उत्पादन थालेको सिटामोल नै छ।
(पिताजीको सुनको तक्मा पुस्तकका लेखक ताम्राकार सङ्क्रमण विज्ञका रूपमा अमेरिकामा कार्यरत छन्।)