पुरुषभन्दा महिला मतदाता किन कम?
पुरुषभन्दा करीब तीन प्रतिशत जनसङ्ख्या बढी भए पनि स्थानीय निर्वाचनका लागि सार्वजनिक मतदाता नामावलीमा पुरुषभन्दा महिला कम छन्।
निर्वाचन आयोगले १३ चैतमा सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, आगामी स्थानीय निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। आयोगका अनुसार, महिलाभन्दा पुरुष मतदाता धेरै छन्।
कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन्। जबकि, तथ्याङ्क विभागले पुरुषभन्दा महिलाको जनसङ्ख्या धेरै भएको आँकडा सार्वजनिक गर्दै आएको छ।
विभागले सार्वजनिक गरेको राष्ट्रिय जनणना, २०७८ को प्रारम्भिक नतीजा अनुसार, महिला एक करोड ४९ लाख एक हजार १६९ र पुरुष एक करोड ४२ लाख ९१ हजार ३११ जना छन्।
जनसङ्ख्या महिलाको बढी हुँदाहुँदै मतदाता सङ्ख्या किन कम भयो त? पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका अनुसार, महिला मतदाता सङ्ख्या पुरुषभन्दा कम हुनुमा तीन वटा प्रमुख कारण छन्। महिलालाई राजनीतिक अधिकार दिन कन्जुस्याइँ गर्नु, घरायसी कामले बेफुर्सदी हुनु र नागरिकता समस्याले गर्दा महिला मतदाता सङ्ख्या कम भएको उनको विश्लेषण छ।
“जनसङ्ख्याको अनुपातमा महिला मतदाता थोरै हुनुको अर्थ अझै पनि महिलालाई अधिकार दिन कन्जुस्याइँ गर्दा रहेछौं भन्ने हो,” उप्रेती भन्छन्, “अर्को कारण नागरिकता हुन सक्छ, किनभने जनगणना गर्दा नागरिकता चाहिंदैन, मतदाता नामावालीमा नाम लेखाउन चाहिन्छ।”
राजनीतिक विश्लेषक इन्द्र अधिकारी महिला मतदाता कम हुनुले अझै पनि उनीहरू राजनीतिक रूपमा स्वतन्त्र छैनन् भन्ने देखाएको बताउँछिन्। उनी भन्छिन्, “अझै पनि धेरै महिला बुबा, श्रीमान्, दाजुभाइ वा छोराले रोजेकै पार्टीमा भोट हाल्छन् भन्ने सङ्केत पनि हो यो।”
परिवारका अन्य सदस्यले महिलाको राजनीतिक अधिकारलाई प्राथमिकता नदिएको र उनीहरू स्वयं पनि यसमा सचेत नदेखिएको हुन सक्ने अधिकारीको विश्लेषण छ।
जनसङ्ख्याका प्राध्यापक योगेन्द्रबहादुर गुरुङ आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा मतदाता नामावलीमा धेरै महिलाको नाम छुटेको हुन सक्ने बताउँछन्। सामाजिक तथा राजनीतिक कारणले उमेर पुगेका सबै महिलाको नाम मतदाता नामावलीमा नपरेको उनको निष्कर्ष छ।