स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता, महिलाभन्दा पुरुष धेरै
आगामी स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने भएका छन्।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुङ्ग्याएको हो। आयोगका अनुसार, महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन्।
आयोगले टुङ्ग्याएको अन्तिम मतदाता नामावली अनुसार, पुरुष ८९ लाख ९२ हजार १० रहेका छन्। त्यस्तै, महिला ८७ लाख ४१ हजार ५३० जना रहेका छन्।
निर्वाचन आयोगको बैठकले मतदान केन्द्र र मतदानस्थलको पनि टुङ्गो लगाएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनका अनुसार, स्थानीय चुनावका लागि १० हजार ७५६ मतदानस्थल रहनेछन्।
त्यस्तै, २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्। एउटै मतदानस्थलमा पनि धेरै मतदान केन्द्र रहने अर्यालले जानकारी दिए।
आयोगले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत यसअघि नै तोकिसकेको छ। उनीहरूको नामावली पनि आइतबार सार्वजनिक गरेको छ।