नार्पा भूमि गाउँपालिकामा जम्मा ४४८ मतदाता, काठमाडौं महानगरमा मात्रै ३ लाख (सूची सहित)
७५३ पालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा बढी र मनाङको नार्पा भूमि गाउँपालिका सबैभन्दा कम मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार, काठमाडौं महानगरपालिकामा तीन लाख २४२ मतदाता छन्। नार्पा भूमि गाउँपालिकामा ४४८ मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
जिल्लागत रूपमा भने काठमाडौंलाई मोरङ र झापाले उछिनेका छन्। मोरङमा सात लाख १५ हजार २२३, झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ मतदाता छन्। सबैभन्दा कम मनाङमा ६ हजार ४९६ मतदाता रहेको आयोगले जनाएको छ।
मतदान केन्द्र भने मधेश प्रदेशमा सबैभन्दा बढी चार हजार १८९ वटा छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ मतदान केन्द्र तोकिएका छन्।